उच्च अदालत तुलसीपुर बुटवल इजलासमा एक वर्ष नाघेका सबै मुद्दा फैसला – Nepal Press

उच्च अदालत तुलसीपुर बुटवल इजलासमा एक वर्ष नाघेका सबै मुद्दा फैसला

लुम्बिनीका ६ जिल्लामध्ये मुद्दाको चाप रुपन्देही र कम अर्घाखाँचीमा

रुपन्देही । लुम्बिनी प्रदेशका ६ जिल्ला कार्यक्षेत्र रहेको उच्च अदालत तुलसीपुर बुटवल इजलासले आर्थिक वर्ष ०८०/८१ मा लक्ष्यभन्दा करिब २३ प्रतिशत बढी मुद्दाको फैसला गरेको छ ।

अदालतमा एक वर्ष नाघेका सबै मुद्दा फैसला भएका छन् । अदालत प्रशासनले प्रतिशतका आधारमा देशमै सबैभन्दा बढी मुद्दा फैसला यहीँबाट भएको दाबी गरेको छ ।

प्रदेशका ६ जिल्लामध्ये सबैभन्दा बढी मुद्दाको चाप रुपन्देही र कमी अर्घाखाँचीमा रहेको अदालतले जनाएको छ । साबिक लुम्बिनीका रुपन्देही, नवलपरासी, कपिलवस्तु, गुल्मी, पाल्पा, अर्घाखाँची यसको कार्यक्षेत्र रहेको छ ।

आठ वर्षयताकै उच्च फैसला

बुटवल इजलासले आर्थिक वर्ष ०७३/७४ यताको तथ्याङ्कमा यस आर्थिक वर्षमा धेरै मुद्दाको फैसला गर्न सफल भएको छ । ०७३/७४ मा तीन हजार आठ मुद्दामा दुई हजार ९६ अर्थात् ६९.६८ प्रतिशत, ०७४/७५ मा दुई हजार २०१ मुद्दामा एक हजार ६७७ अर्थात् ७६.१९ प्रतिशत, ०७५/७६ मा दुई हजार ९६८ मा एक हजार ९९६ अर्थात् ६७.२५ प्रतिशत मुद्दा फैसला भएका थिए ।

त्यस्तै, ०७६/७७ मा दुई हजार ५०० मुद्दामा एक हजार ६८५ अर्थात् ६७.४ प्रतिशत, ०७७/७८ मा दुई हजार ५७८ मुद्दामा एक हजार २८५ अर्थात् ४९.८४ प्रतिशत, ०७८/७९ मा तीन हजार ५२४ मा एक हजार ८७१ अर्थात् ५३.०९ प्रतिशत मुद्दाको फैसला भएको थियो ।

त्यस्तै, ०७९/८० मा तीन हजार ८८९ मुद्दामा दुई हजार ३४८ अर्थात् ६०.३७ प्रतिशत मुद्दाको फैसला भएको थियो । विगत वर्षहरूमा एक वर्ष नाघेका मुद्दाहरूको चाङ रहने गरेकोमा यस वर्ष एक वर्ष नाघेका मुद्दाहरू सबै फैसला गरिएको छ ।

सबैभन्दा बढी मुद्दाको चापमा रुपन्देही

बुटवल इजलास मातहतका यहाँ ६ जिल्लाका अदालतमध्ये मुद्दाको चाप रुपन्देहीमा धेरै रहेको छ । रुपन्देहीमा यस आर्थिक वर्षमा मुद्दाको लगत नौ हजार १८४ रहेकोमा पाँच हजार ३३ थान मुद्दा फैसला भएका छन् । जुन ५४.८० प्रतिशत हुन आउँछ । यहाँ चार हजार १५१ मुद्दा फैसला गर्न बाँकी छन् ।

त्यस्तै, कपिलवस्तु जिल्ला अदालतमा चार हजार ६७५ मुद्दामा दुई हजार ७८५ अर्थात् ५९.५७ प्रतिशत फैसला भएका छन् । नवलपरासी पश्चिममा तीन हजार ९५१ मुद्दामा दुई हजार ३६३ अर्थात् ५९.८० प्रतिशत फैसला भएका छन् ।

पाल्पामा एक हजार ३१ मा ७५५ अर्थात् ७३.२२ प्रतिशत, गुल्मीमा ६७४ मा ४८० अर्थात् ७१.२१ प्रतिशत र अर्घाखाँचीमा ६४९ मा ४९५ अर्थात् ७६.२७ प्रतिशत मुद्दा यस आर्थिक वर्षको असार २८ गतेसम्ममा फैसला भएका छन् ।

एक वर्षअगाडिका सबै मुद्दाको फैसला

यो अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका एक हजार ५४१ र यस वर्ष दर्ता भएका दुई हजार ३६५ सहित तीन हजार ९०६ थान मुद्दामध्ये असार २८ गतेसम्म तीन हजार ४९ थान मुद्दा फैसला भएको छ । अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका सबै मुद्दाको फैसला भएको छ ।

अदालतबाट यस वर्ष दुई हजार ४८० मुद्दा फैसला गर्ने लक्ष्य तोकिएकोमा लक्ष्यभन्दा ५६९ थान मुद्दा बढी फैसला भएको रजिस्ट्रार प्रेमप्रसाद पौडेलले बताए । यो लक्ष्यको २२.९ प्रतिशत बढी हो ।

लक्ष्यको १२२.९ प्रतिशत मुद्दाको फैसला गर्न सफल यस अदालतमा अब बाँकी रहेका मुद्दामध्ये एक वर्ष नाघेका मुद्दा एउटा पनि छैनन् । ६ महिना नाघेका जम्मा १४५ थान मुद्दा रहेका छन् ।

अदालतका मुख्य न्यायाधीश राजेश्वर तिवारीले सेवाग्राहीलाई सकेसम्म शीघ्र सेवा प्रदान गर्ने गरी न्यायिक सुशासन कायम गर्न लागिपरेका कारण यस वर्ष धेरै मुद्दा फैसला गर्न सफल भएको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *