राप्ती प्रतिष्ठानमा अप्रेसनका बिरामी बढेपछि दुई अत्याधुनिक ओटी थपियो, पालो कुर्ने बाध्यता हट्दै – Nepal Press

राप्ती प्रतिष्ठानमा अप्रेसनका बिरामी बढेपछि दुई अत्याधुनिक ओटी थपियो, पालो कुर्ने बाध्यता हट्दै

दाङ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप दुई वटा अत्याधुनिक अपरेशन थिएटर सञ्चालनमा आएको छ । अप्रेसन गर्ने बिरामीको चाप अत्याधिक बढेपछि त्यसलाई मध्यनजर गर्दै थप दुई वटा ओटी सञ्चालनमा ल्याईएको उपकुलपति डा. विकास लामीछानेले बताए ।

सुविधा सम्पन्न रहेका दुई वटा ओटीको एक कार्यक्रमका बीच उपकुलपति डा. लामिछानेले उद्घाटन गरेका हुन् । सो अवसरमा उपकुलपति डा. लामिछानेल थोेरैमात्रै अप्रेसन थिएटर हुँदा बिरामीहरुलाई अप्रेसनकै लागि पालो कुर्नुपर्ने बाध्यता रहँदै आएकोमा अबदेखि विस्तारै हट्दै जाने बताए ।

उनले प्रतिष्ठानमा विशेषज्ञ चिकित्सहरुको थपिएसंगै सेवामा सुधार हुँदै गइरहेको बताउँदै अप्रेसन गर्नका निमित्त प्रतिष्ठानमा अप्रेसन थिएटरको संख्या ६ वटा पुगेको बताए ।

त्यस्तै, प्रतिष्ठानका निमित्त अस्पताल निर्देशक डा. जनार्दन पन्थिले अस्पतालमा अप्रेसन गर्न ओटी थपिनु सुखद पक्ष भएको भन्दै अप्रेसनका लागि बिरामी र चिकित्सकहरुले पालो कुर्नुपर्ने समस्या अबदेखि हट्दै जाने विश्वास व्यक्त गरे ।

प्रतिष्ठानका ओटी इञ्चार्ज एनेस्थेसियोलोजिष्ट डा. राजन शाक्यले सुरुमा दुई वटा ओटिवाट सुरु गरेको अप्रेसन सेवा अब ६ वटा ओटी भएसँगै सेवालाई व्यवस्थित गर्नमा थप सहजता मिलेको बताए ।

दैनिक २५ वटा बढी अप्रेसन हुँने गरेको जानकारी दिँदै उनले अप्रेसन गर्नुपर्ने बिरामीहरुको संख्या बढ्दै गएकाले ओटी विस्तारमा जोड दिईएको बताए ।

प्रतिष्ठानका मेट्रोन शर्मिला शर्माले नयाँ ओटि सञ्चालनमा आएसँगै चिकित्सक र नर्शसहितको स्वास्थ्यकर्मी जनशक्ति व्यवस्थापन भइसकेको बताउँदै थोरै ओटि हुँदा चिकित्सकहरुले अप्रेसनका लागि निकै समय पालो कुनुपर्ने समस्या रहेकोमा अबदेखि त्यो नहुने विचार व्यक्त गरे ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *