कर्णालीमा मनाइयो देउडा दिवस – Nepal Press

कर्णालीमा मनाइयो देउडा दिवस

सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा देउडा दिवस मनाइएको छ । आज साउन १ गते कर्णाली प्रदेश सरकारले सार्वजनिक बिदा दिएको दिन । आजको दिनलाई साउने सक्रांती अर्थात् देउडा पर्वका रूपमा मनाइने गरिन्छ ।

कर्णालीका १० वटै जिल्लाका सदरमुकाममा देउडा दिवस मनाएका छन् । यस्तै, सुर्खेतको खुलामञ्चमा पनि धूमधामका साथ देउडा दिवस मनाएका हुन् ।

कर्णालीको देउडा लोक संस्कृतिको रूपमा रहेको छ । देउडा खेल यहाँका हरेक ज्येष्ठ नागरिकदेखि युवा र बालबालिकामा समेत उत्तिकै मन पर्ने सांस्कृतिक रूपमा लिइन्छ ।

कर्णालीमा देउडाको विशेष महत्त्व रहेको छ । छोराको छैटी, व्रतबन्ध, विवाहदेखि देवताका पूजापाठसम्म देउडा दोहोरी खेल्ने प्रचलन रहेको छ ।

देउडा यहाँको सांस्कृतिक कार्यक्रमको पहिलो प्रस्तुति र दर्शकहरूको पहिलो रोजाइमा पर्दछ । जसको महत्त्व बोध गरेर प्रदेश सरकारले सार्वजनिक बिदा दिँदै आएको छ ।

प्रदेश सरकारका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री दुर्ग रावतले कर्णालीको देउडा जगेर्ना गर्ने हेतुले देउडा दिवस मनाउँदै आएको बताएका छन् ।

मन्त्री रावतले देउडा, झोडा, चुट्किला जस्ता परम्परागत लोक संस्कृतिहरूको जगेर्ना गर्न एकदमै आवश्यक रहेको जानकारी दिए । कर्णाली खस सव्यताको जननी भनेर कर्णालीलाई चिनाउने देउडाको पनि महत्त्वपूर्ण भूमिका रहेको भनाइ राखे ।

देउडा दिवसका अवसरमा खुल्ला मञ्चमा दैलेख, कालिकोट, जुम्ला, मुगु, जाजरकोट र सल्यानका चर्चित देउडा खेलाउडाहरूले घम्साघम्सी देउडा खेल खेलाका थिए । साथै, सुदूरपश्चिम प्रदेशको अछाम जिल्लाका देउडा खेलाउडाहरूको सहभागिता रहेको थियो ।

कर्णालीकै देउडा सम्राट् भनेर चिनिएका नेत्रराज शाही, चर्चित देउडा खेलाउडा पुष्पराज आचार्य र अछामकी चर्चित खेलाउडी लगायतका दर्जनौँ देउडा खेलाउडाहरूको जमघटमा देउडा दिवस मनाएका थिए ।

देउडा गायक पुष्पराज आचार्यले देउडा साहित्य विद्याको एक शृङ्गारिक निकै लोकप्रिय विद्या भएको बताएका छन् । यो नयाँ पुस्ता भन्दा पुरानो पुस्तामा बढी लोकप्रिय छ उनले भने,‘ पछिल्लो पुस्तामा लोप हुने हो की भन्ने चिन्ता छ । देउडा संरक्षणका लागि सबैले आ–आफ्नो ठाउँबाट लागि पर्न आवश्यक छ ।’

केही वर्ष अघि छोराको छैटी, व्रतबन्ध, विवाहदेखि देवताको पूजापाठमा मात्र सीमित देउडा खेललाई अहिले छोरीको छैटी, विवाह, जनचेतनामूलक कार्यक्रम, दबाबमूलक आन्दोलन, विभिन्न प्रकारका दिवस, खुसीयाली कार्यक्रमहरू र अन्य विभिन्न प्रकारका पर्वहरू तथा सामाजिक सचेतनाका कार्यहरूमा समेत देउडा खेल्न थालिएको छ ।

तर, पछिल्लो पीढीहरूले देउडामा त्यति चासो नराखेको पाइन्छ । खुल्ला मञ्चमा देउडा हेर्नेहरूको बाक्लो भिड थियो । खुलामञ्चमा महिनाको १ गते र १५ गते नियमित देउडा हुँदै आइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *