अमेरिकाबाट फर्केर रेखा थापा फेरि राप्रपामा सक्रिय, अध्यक्षसँग मनमुटाव मेटिएको दाबी – Nepal Press

अमेरिकाबाट फर्केर रेखा थापा फेरि राप्रपामा सक्रिय, अध्यक्षसँग मनमुटाव मेटिएको दाबी

काठमाडौं । अभिनेत्री रेखा थापा ६ महिनाकाे अन्तरालपछि फेरि राष्ट्रिय प्रजातन्त्र पार्टीमै सक्रिय बनेकी छन् । उनी बच्चा जन्माउन अमेरिका गएपछि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनसित मनमुटाव भएको थियो ।

रेखा ६ दिन अगाडि राप्रपाको आन्दोलन परिचालन कमिटीको बैठकमा सहभागी भएको पार्टी स्रोतले बतायो । उनले राप्रपा अध्यक्षप्रति आफ्नो समर्थन जनाएकी थिइन् ।

‘अध्यक्ष हाम्रो अभिभावक हो, हामी सबैले उहाँलाई सघाउनुपर्छ’, रेखाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो ।

अध्यक्ष लिङदेनको प्यानलबाट महाधिवेशनमा महामन्त्रीको उम्मेदवार बनेकी रेखाले कुन्ती शाहीसँग पराजय व्यहोरेकी थिइन् । पार्टीभित्र दुई गुट हुँदा उनले अध्यक्षलाई नै साथ दिँदै आइन् । तर, पार्टीलाई जानकारी नदिइकन अमेरिका गएपछि अध्यक्ष लिङदेनले उनीप्रति सार्वजनिक रुपमै असन्तुष्टि पोखेका थिए ।

एक कार्यक्रममा लिङदेनले ‘एक कलाकार आफ्नो सन्तानलाई नेपाली बनाउन नचाहेर अमेरिका पुगेको’ टिप्पणी गरेका थिए । यसलाई आफूप्रतिको कटाक्ष बुझेर रेखाले सामाजिक सञ्जालबाट कडा जवाफ फर्काएकी थिइन् ।

उनले लेखेकी थिइन्, ‘देशको माया हुनेले आफ्नो सन्तान नेपाल फिर्ता बोलाए हुन्थ्यो । किन अमेरिकामा राखेको ?’

यसरी सामाजिक सञ्जालमै अध्यक्षसँग जोरी खोजेपछि रेखा कारवाहीमा पर्न सक्ने अनुमान गरिएको थियो । तर, उनको गर्भवती अवस्था र महिला संवेदनशीलतालाई हेर्दै कुनै कारवाही भएन । यद्यपि, अध्यक्षसँग रेखाको गम्भीर अन्तरद्वन्द्व सिर्जना भयो ।

अमेरिकामा बच्चा पाइसकेर रेखा अहिले नेपाल आएकी हुन् । नेपाल आएपश्चात उनले अध्यक्ष लिङदेनसँग सम्बन्ध सुधार गर्न खोजेको स्रोतले बतायो ।

‘उहाँ विद्रोही गुटबाट फेरि संस्थापनमै समाहित हुनुभएको छ’, स्रोतले भन्यो ।

रेखा हाल राप्रपाको कार्यसम्पादन समिति र केन्द्रीय समिति सदस्य छिन् । अब फेरि अमेरिका जाने कि नेपाल बस्ने भन्नेबारे उनले केही बताएकी छैनन् ।

याे पनि पढ्नुस् : लिङदेनको टिप्पणीले रेखा थापा क्रुद्ध, अमेरिकाबाटै फर्काइन् जवाफ


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर