सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार कटिबद्ध : मन्त्री अधिकारी – Nepal Press

सहकारी क्षेत्रको समस्या समाधान गर्न सरकार कटिबद्ध : मन्त्री अधिकारी

एमाले सहकारी विभागले बुझायो सहकारी समस्या समाधानसम्बन्धी १२ बुँदे सुझाव

काठमाडौं । भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी क्षेत्रको वर्तमान समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

नेकपा एमालेको केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागले मन्त्रीको स्वागत एवम् आगामी तीन वर्षभित्र सहकारी मन्त्रालयले सम्पादन गर्नुपर्ने कामका सम्बन्धमा पेश गरेको १द्द बुँदे सुझावपत्र ग्रहण गर्दै मन्त्री अधिकारीले यस्तो बताएका हुन् ।

विभागका प्रमुख खगराज अधिकारीले सहकारी क्षेत्रमा अहिले भएका समस्या समाधान हुनेदेखि सहकारीलाई अर्थतन्त्रको एउटा बलियो खम्बाको रुपमा स्थापित गराउन सुझाव पेश गरिएको बताए ।

सुझावपत्रमा सहकारीका ऋणीलाई ऋण तिर्ने वातावरण सृजना गर्ने र कर्जा असुलीमा अटेर गर्ने सदस्यहरुलाई कानूनको दायरामा ल्याउन, सहकारी एकीकरणलाई प्रोत्साहन गर्न, सहकारी समस्याको दिगो समाधानका लागि उच्चस्तरीय अधिकार सम्पन्न कार्यदल गठन गर्न, सहकारी संस्था शुद्धीकरण र सुदृढीकरण अभियान थाल्न, ऋण असुली न्यायाधीकरण स्थापना गर्न, हरेक पालिकामा नमूना सहकारीहरुको विकास गर्दै लैजान, विशिष्टीकृत नियामक निकायको स्थापना र कानूनी संहिताहरुको निर्माण र कार्यान्वयनमा जोडलगायतका १२ बुँदे सुझाव मन्त्री अधिकारीलाई पेश गरिएको हो ।

सुझावपत्रमा तत्काल र तीन आर्थिक वर्षमा गर्नुपर्ने कामहरुको सम्बन्धमा ध्यानाकर्षण गराइएको छ । तत्कालका लागि सहकारीको वर्गीकरण, कर्जा सूचना केन्द्र स्थापना, सहकारी नीतिहरुको निर्माण एवम् संशोधन गर्नुपर्ने, कानूनी र प्रशासनिक अवरोधहरु हटाउनुपर्नेलगायतका विषय उल्लेख गरिएको छ ।

एमालेका विभिन्न विभागहरुले विषयगत मन्त्रालयको नेतृत्व गर्ने मन्त्रीहरुसँग संवाद गरी उक्त क्षेत्रका समस्याहरुको ठोस समाधान गर्ने र सकारात्मक परिणाम निकाल्न पहल गर्ने उद्देश्यले मन्त्री अधिकारीसँग छलफल गरिएको एमाले केन्द्रीय सहकारी विभागले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *