प्रचण्डको हाउभाउ नक्कल गर्दै बालेनको डान्स, सामाजिक सञ्जालमा भिडिओ भाइरल – Nepal Press

प्रचण्डको हाउभाउ नक्कल गर्दै बालेनको डान्स, सामाजिक सञ्जालमा भिडिओ भाइरल

काठमाडौं । काठमाडौंका मेयर बालेन्द्र शाहको डान्स स्टेप अहिले सामाजिक सञ्जालमा भाइरल बनिरहेको छ । उनले निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको हाउभाउ नक्कल गर्दै नाचेको भिडिओ क्लिप धेरैले मजा मान्दै सेयर गरेका छन् ।

मेयर शाह सार्वजनिक कार्यक्रममा निकै कम देखिन्छन् । जहाँ जाँदा पनि भीड जम्मा भइहाल्ने भएकाले उनी आफूलाई आउने धेरै निम्ताहरु पन्छाउने गर्छन् । कतै गइहाले भने उनको फोटो र भिडिओ भाइरल हुने निश्चित नै हुन्छ ।

शाह गत बुधबार एउटा वैवाहिक समारोहमा सहभागी भएका थिए । एकदमै आत्मीय भाइको विवाहमा जाँदा उनले साथीहरुसँग गरेको डान्स भाइरल बनेको हो । रोचक के छ भने विवाहमा जन्ती जाँदा दुलाहा चढेको गाडी बालेन आफैंले हाँकेका थिए । ताहाचलबाट सोह्रखुट्टे जन्ती गएको थियो । विवाहमा बालेन निकै रमाइलो मुडमा थिए र खुलेर नाचेका थिए ।

बालेनको डान्सलाई लिएर सामाजिक सञ्जालमा अनेकथरि टीकाटिप्पणी भइरहेका छन् । सार्वजनिक ओहदामा रहेका व्यक्तिहरुको पनि निजी जीवन हुने र आफ्नो तरिकाले रमाउन पाउनुपर्ने धेरैको मत छ । कतिले चाहिँ जिम्मेवार जनप्रतिनिधि भएर देशको प्रधानमन्त्रीलाई मजाक बनाएको भन्दै आलोचना पनि गरेका छन् ।

संयोगले बालेनको यो डान्स बाहिर आउनु र प्रचण्डको सत्ताबाट बहिर्गमन एकैपटक भयो । कतिले प्रचण्ड प्रधानमन्त्रीबाट हटेको खुशीमा बालेन नाचेको भन्दै भ्रम पनि फैलाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *