सुदूरपश्चिममा एक वर्षमा विपद्का कारण ४७ को ज्यान गयो
डोटी । गएको एक वर्षमा सुदूरपश्चिममा भएका विभिन्न विपद्का घटनामा ४७ जनाको ज्यान गएको छ । मृत्यु हुनेमा २३ पुरुष र २४ महिला रहेका छन् ।
सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/०८१ मा भएका बिपद् सम्वन्धी घटनाको विवरण अनुसार एक वर्षमा आगलागीमा परी चार महिला र ७ पुरुष गरी ११ जनाको गएको छ ।
सो अवधीमा भएका २ सय ६७ आगलागीका घटनामा परी २९ जना घाइते भएको छन् । आगलागीबाट १२ करोड १० लाखको अनुमानित क्षति भएको विवरण उल्लेख छ ।
एक वर्षको अवधिमा सर्पको टोकाईबाट चार पुरुष र चार महिला गरी ८ जनाको ज्यान गएको छ । यस्तै, चट्याङ्ग र हावाहुरीमा परी एक वर्षको अवधीमा सात पुरुष र सात महिला गरी १४ जनाको ज्यान गएको छ । यस अवधिमा भएका चट्याङ्ग र हावाहुरीका ८१ घटनामा परी ६० जना घाइते भएका थिए ।
मन्त्रालयले सार्वजनिक गरेको ०८० साल साउन १ गतेदेखि ०८१ साल असार ३० गतेसम्मको बिवरण अनुसार बाढी र पहिरोमा परी सात जनाको ज्यान गएको छ । बाढी र पहिरोमा परी १५ जना घाईते भएका छन् ।
यस अवधीमा जंगली जनावरको आक्रमणबाट चार जनाले ज्यान गुमाएका छन् भने ४७ जना घाइते भएका छन् । यस्तै लेक लागेर एक जना र भूकम्पबाट एक जनाको ज्यान गएको छ । एक वर्षमा ५४ पटक गएको भूकम्पमा परी २९ जना घाइते भएका सो विवरणमा उल्लेख छ ।
यस अवधिमा विपद्का बिभिन्न घटनाबाट १ सय ४४ घर पूर्ण रुपमा क्षति भएका छन् । यस्तै, ८ सय २१ घर आंशिक क्षति भएका छन् भने ९६ गोठमा क्षति भएको छ ।
विपद्का कारण ४ सय ५४ पशु चौपाया मरेका मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ । यस प्रदेशमा विपद्का सवै घटनाबाट एक वर्षको अवधीमा १२ करोड ७५ लाख ४२ हजार क्षति भएको अनुमान गरेको छ ।