शैक्षिक कायापलटका लागि यी अपेक्षासहित शिक्षामन्त्रीलाई पत्र
माननीय शिक्षामन्त्रीज्यू !
शैक्षिक अभिवादन !
राजनीतिक स्थिरताको उद्घोषसहित बनेको केपी ओली नेतृत्वको क्याविनेटमा शिक्षामन्त्रीको रूपमा तपाईँको आगमनले शिक्षा क्षेत्रमा नयाँ उत्साहको सञ्चार भएको छ । सामुदायिक विद्यालय व्यवस्थापनको कोर्सअन्तर्गत शिक्षाको स्तरोन्नति र शैक्षिक गुणस्तरको क्षेत्रमा क्रियाशील हाम्रो पंक्तिलाई पनि थप खुशी तुल्याएको छ । हामी सबैमा बिहानीको सूर्योदय समयको आभा झैँ चहकमहक छाएको छ ।
यो हाम्रो खुशीलाई सूत्रबद्ध ढंगले संगठित गर्न सक्नुहोस् ! अपेक्षित सफलताको सिँढी चढ्नका लागि तपाईँको कार्यकाल तपाईँको राजनीतिक जीवनका लागि मात्र होइन, नेपालको शिक्षा क्षेत्रको कायापलट गर्न कोशे ढुंगा सावित हुन सकोस् ! धेरै-धेरै शुभकामना भन्दछु ।
पढ्ने लेख्ने समुदायको प्रतिनिधित्व गर्ने अखिल एकताको पाँचौँ निर्माणकालको विद्यार्थी नेताको भूमिकामा रहँदै १७ वर्षसम्म स्नातकोत्तर तहको अध्यापनको समेत अनुभव आर्जन सँगसँगै राजनीतिमा आउनुभएको तपाईँ नामले पनि विद्या हुनु संयोगमात्र नभएर सौन्दर्य हुनुपर्ने हो भन्ने लाग्छ ।
देशभरि नै सामुदायिक विद्यालय शिक्षा र शिक्षणका क्षेत्रमा आधारभूत रूपमा सुधार गर्नुपर्ने थुप्रै विषयवस्तुहरू छन् । कतिपय व्यवस्थापन र प्रशासनका कार्यकक्षमा छन् भने कतिपय यत्तिकै देख्न सकिने तहमा असरल्ल छन् । सार्वजनिक महत्त्वका हिसाबले यसतर्फ सरोकारवाला सबैको ध्यान पुग्न जरुरी छ । समस्याको वस्तुगत पहिचान र सुक्ष्म समाधानस्वरूप तत्काल गर्न सकिने विषयहरू के-के हुन् वा हुन सक्छन् ? यो पछिल्लो पत्रांशमा प्रयुक्त रायसुझावका रूपमा केही विषयवस्तु अघि सार्दछु ।
सिद्धान्तमा समानता व्यवहारमा असमानता
देशको संविधानले नागरिकको शिक्षा, स्वास्थ्य क्षेत्रमा पहुँच र प्रत्याभूतिलाई नैसर्गिक हक र अधिकार किटान गर्छ । यद्यपि, देशमा प्रचलित शिक्षा व्यवस्थापनले दुई प्रकारको नागरिकको परिचय कमाइरहेको छ, पहिचान बढाइरहेको छ र क्रमशः दुई खाले नागरिक जन्माइरहेको छ । स्वास्थ्यस्थिति पनि झण्डै यस्तो यस्तै हो । यद्यपि, मैले यहाँ शिक्षासम्बन्धी विषयोपर राय अघि सार्न चाहेको छु । सरकारको तहबाट भएको शिक्षाको सामुदायीकीकरण वा सार्वजनिकीकरण र निजीकरणले उत्पादित जनशक्ति पनि अविभाज्य छैन, विभाजित छ र परस्पर बेमेलको अवस्थामा छ । सबैखाले शिक्षा राज्यकै निगाह, नियमन र नियन्त्रणमा छन् ।
अस्तित्व र सहअस्तित्वमा रहँदै सवल र समृद्ध राज्य निर्माणमा योगदान पुर्याइरहेका छन् तर उत्पादन र उत्पादित जनशक्तिमाझ मेल छैन बरु फराकिलो बेमेल छ । आज पनि समाजमा औसत कमजोर आयआम्दानीमुनिका नागरिकका छोराछोरीहरू तमाम सामुदायिक विद्यालय पढ्छन् र हुनेखाने वर्गाश्रित नागरिकका छोराछोरीहरू निजी विद्यालय पढ्छन् भन्ने भाष्य जनजिब्रोमा कायम छ । यो आफैंमा बेमेल हो । बेमेलको यो दूरी कसरी कम गर्ने ? कसरी छोट्याउने ? तपाईँ राज्यको उपल्लो निकायले सुक्ष्म ढंगले सोच्न, सरोकारवालासँग परस्पर सहकार्य गर्न र यसबीचमा एकरुपता खोज्न जरुरी छ ।
विद्यालय व्यवस्थापन समिति
विद्यालय व्यवस्थापन समिति स्थानीय अभिभावकसहित सिंगो समुदायको प्रतिनिधि संस्था हो । विद्यालय विकासमा यसले समुदाय आधारित रहँदै सम्बन्ध-सेतुका हिसाबले काम गरेको छ र हुन्छ । समुदायले आफ्नो दैनन्दिन आवश्यकता र कतिपय रहरलाई बन्दक राखेर सामुदायिक विद्यालय बनाएको, चलाएको र व्यवस्थापन गरेको पृष्ठभूमिमा आधारित रहँदै विद्यालय व्यवस्थापन समिति सामुदायिक विद्यालयको जीवनमा यसको अपरिहार्य अंगको रूपमा क्रियाशील छ ।
निजी विद्यालय व्यवसायको पहुँच वृद्धि भएसँगै यसको प्रभावबाट आकर्षित केही नीति निर्माताहरूले विद्यालय व्यवस्थापन समितिलाई कुनै अस्तित्वपूर्ण भूमिकामा देख्न सक्नुभएन । विडम्बना ! विघटनको संघारमा हुनुहुन्थ्यो निवर्तमान शिक्षामन्त्री । यस्तो हुनु खेदजनक मात्र थिएन, दुर्भाग्यपूर्ण थियो । सामुदायिक विद्यालयलाई समुदायसँग जोड्नुको सट्टा यसको जुइँनु चुडाल्नु भनेको निजी विद्यालयको प्रहारले सामुदायिक विद्यालय उठ्न नसकेर ऐंठन भएको बेला घाँठी निमोठ्नुसरह नै हुन्थ्यो । सामुदायिक विद्यालय शिक्षाको प्रतिफलस्वरुप पालितपोषित तपाईँले अब यसलाई अर्थात् विद्यालय व्यवस्थापन समितिलाई थप कामकाजी, कार्यकारी र व्यवहारिक बनाउनु जरुरी छ ।
संरचनागत पक्षमा सुधार
सामुदायिक विद्यालयको जीवनलाई व्यवस्थापन र प्रशासनका दुई फरकफरक आँखाले हेर्नुपर्छ । व्यवस्थापकीय पक्ष समुदायको प्रतिनिधि पक्ष हो । यो राजनीतिक वा गैरराजनीतिक दुबै हुनसक्छ । तर, प्रशासकीय पक्ष पेशासँग जोडिएको सेवासुविधासहितको पक्ष हो । समुदायका छोराछोरीहरू प्रशासनको अधिन र मातहतमा हुन्छन् । यसमा राजनीतिक पहुँच वा कित्ताबन्दीको झल्को आउने तहमा दलीय सहभागिता देखिनुहुँदैन ।
सैद्धान्तिक कुरा के हो भने सामुदायिक विद्यालयको प्रतिस्पर्धा निजी विद्यालयसँग हुन्छ, अथवा सामुदायिक विद्यालयको प्रतिस्पर्धी शक्ति भनेको निजी विद्यालय नै हो । शक्ति सन्तुलन र शैक्षिक जनशक्ति सञ्चयका दृष्टिकोणले यो दुबै विद्यालयबीच मित्रवत् प्रतिस्पर्धा हुन्छ । मित्रवत् प्रतिस्पर्धाका लागि पनि केही मानकहरू हुन्छन् । निजी विद्यालयको लगानीकर्ता सामुदायिक विद्यालयको शिक्षण पेशामा रहनुहुँदैन । वस्तुतः लगानीमोहका कारण यो उपस्थितिले परस्पर मित्रवत् प्रतिस्पर्धालाई कमजोर पार्दछ र सामुदायिक विद्यालयको शिक्षा अपेक्षित मात्रामा उठ्न सक्दैन । यसनिमित्त नियमन र नियन्त्रण जरुरी छ ।
पहाडी क्षेत्रमा कार्यरत शिक्षक कर्मचारीको व्यवस्थापन तराई मधेशभन्दा नितान्त भिन्न छ । एकैपटक सोरपटार पढाउने वा आलोपालो पढाइमा शिक्षक सामेल रहँदै लामो समयसम्म बिदामा रहने बस्ने गरेको पनि देखिन्छ । यसलाई निरुत्साहन गर्न शिक्षकले पाउने सेवासुविधाको बढोत्तरीसहित व्यवस्थामा सुधार ल्याउनुपर्छ ।
यसवर्ष पनि अंग्रेजी माध्यमभन्दा नेपाली माध्यममा अध्ययनरत विद्यार्थी धेरै अनुत्तीर्ण रहेको देखियो । दुवै माध्यममा सञ्चालित पठनपाठनको क्षेत्रमा गणितमा अनुत्तीर्ण रहेको देखियो । यसको सुक्ष्म लक्षण खोजिनु र उपचारमा जानु अनिवार्य छ । गणितको पठनपाठनलाई प्रयोगमा आधारित अर्थात् प्रयोगात्मक विधिमा ल्याउन जरुरी देखिन्छ ।
समाजमा बढ्दो सामाजिक अराजकता, नकारात्मकता, घीनलाग्दा टिकाटिप्पणी, घृणा, द्वेषादिलाई न्यूनीकरण गर्न नैतिक शिक्षा जरुरी छ । एकातिर मानिसमा नैतिक जिम्मेवारीबोधको अभाव छ भने अर्कोतिर हाम्रा पुर्खाले अँगालेको जीवनदर्शन, जीवनशैली, मौलिक मूल्यमान्यता, रैथाने कला संस्कृतिलाई पूनर्जागृत गर्न जरुरी छ । हामीमाथि पश्चिमा शक्तिको प्रहारको निशाना हाम्रो मौलिक शिक्षा र रैथाने संस्कृतिमाथि गडेको छ, यो जबरजस्ती छ । यसलाई निस्तेज तुल्याउँदै आफ्नोपनको समाजवादको आधार निर्माण गर्न जरुरी छ । हाम्रा आफ्नै तौरतरिकामा प्रविधिमिश्रित पठनपाठन वातावरण र पाठ्यपुस्तक निर्माण गर्न सकिन्छ ।
मानसिक विकासका अलावा शारीरिक विकासको सुसंगठित आधार आज प्रचलित शिक्षाले गर्न सक्नुपर्छ । यसतर्फ विगतमा आशलाग्दो मति र गतिका साथ ध्यान पुग्न नसकेको देखिन्छ । योग्य र ऊर्जावान जनशक्तिको व्यवस्थापनका लागि शिक्षकलाई समयसमयमा तालिम प्रशिक्षण, सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीका छोराछोरीले अनिवार्य सम्बन्धित विद्यालयमा पढ्नु पढाउनुपर्ने विषयोपर नियमनसहित व्यवस्थापन, अभिभावकमात्र सामुदायिक विद्यालय व्यवस्थापन समितिमा रहन सक्ने वा रहन पाउने विषयको व्यवस्थापन, रणनीतिक योजना निर्माण कार्यशालाका अलावा वर्षमा दुईटासम्म व्यवस्थापन समिति, आमअभिभावक र शिक्षकबीच विषयगत विमर्श, विभिन्न प्रकारको अनुचित र अदृश्य नियुक्तिलाई निरुत्साहन गर्दै विद्यालयको आवश्यकतामा आधारित योग्यतम् पात्रलाई खुला प्रतिस्पर्धाको लड्न, भीड्न र उत्तीर्ण हुन सक्ने वातावरण व्यवस्थापन, विद्यालयमा प्रशस्तै पठनपाठन सहयोगी सामग्रीको व्यवस्थापन आदि पक्षमा अविलम्ब ध्यान पुग्न र कार्यनिर्देशित ढंगले गति लिन जरुरी छ ।
नियमन र व्यवस्थापन
कतिपय सामुदायिक विद्यालयमा विभिन्न निहुँ, नाउँ र बहानामा निजी व्यापारिक व्यवसायिक पब्लिकेशनका पाठ्युपुस्तक पढाइन्छ । यसबाट अभिभावकलाई ठूलो भार र मार पर्न गएको छ । राज्यले निःशुल्क उपलब्ध गराएको पुस्तक सामग्री तलतलसम्म पुग्न पाएको छ । यसमाथि नियमन, नियन्त्रण र व्यवस्थापनसहित जनक शिक्षा सामग्री केन्द्रद्वारा मुद्रित वा प्रकाशित पाठ्यपुस्तकमा आधारित पठनपाठन विधिमा जानुपर्छ ।
कक्षा ८ लाई पालिकाले परीक्षा लिने र उपाधि दिने भएपछि एसईई र कक्षा १२ सम्मलाई प्रदेश सरकार सामाजिक विकास मन्त्रालयको अधिनमा ल्याउनुपर्छ । जिल्लागत शैक्षिक जनशक्तिको आवश्यतालाई परिपूर्ति गर्न जिल्ला शिक्षा आयोग गठन गर्नुपर्छ । यो आयोगले मात्र यहाँको वस्तुगत आवश्यकता र विशेषतालाई सम्बोधन र व्यवस्थापन गर्न सक्छ । भू-राजनीतिक मानचित्रमा बैतडी र मोरङ आफैंमा धेरै हिसाबले फरक हुन् भन्ने तथ्यलाई हृदयांगम गर्नुपर्छ ।
विद्यालयको हाजिरी र आन्तरिक जीवन व्यवस्थापनको पक्षलाई एकद्वार अर्थात् बैंक प्रणालीमा लैजानुपर्छ । सामुदायिक विद्यालयतर्फको आकर्षणता वृद्धि विकास गर्न अध्ययनरत विद्यार्थीले मात्र होइन, पूर्णकालीन र अंशकालीन शिक्षक कर्मचारी स्वयंले पनि विद्यालय समय र पोशाक पहिरनलाई अनिवार्य गर्नुपर्छ । विषयगत शिक्षकको मूल्यांकन निजले पढाएका विद्यार्थीले पाएको सफलता वा उत्तीर्ण प्रतिशत अनुपातका हुनुपर्छ ।
निर्धारित विषय शिक्षामा गुणस्तर पाउने भनेको विषय शिक्षकबाट नै हो । शिक्षकको सहज उपस्थिति, प्रस्तुति र उपलब्धतालाई ध्यान दिनुपर्छ । मूलतः शिक्षकको दैनन्दिन साह्रोगाह्रोको सम्बोधन र व्यवस्थापन गर्दै जाने हो कार्यस्थलमा विषयगत शिक्षकको पूर्वतयारी अर्थात् लेसन प्लान कस्तो छ ? उपलब्ध हाम्रा सिकाइ क्रियाकलाप के-के हुन् ? हाम्रा सिकाइ उपलब्धि के कस्ता छन् ? भाषाको विषयमा विद्यार्थीको फरर पठनशैली कस्तो छ ? पठनपाठन समयको परिपालना कस्तो छ ? मोबाइल फोनबाट हुने शिक्षण के के हुन् ? पठनपाठनमा प्रविधिको प्रयोग कस्तो छ ? व्यवहारिक विषयोपर ज्ञानमाला कस्तो छ ? विद्यार्थी शिक्षक दुवैमा पोशाक पहिरनको अवस्था कस्तो छ ? आमरूपमा विद्यार्थीदेखि लिएर शिक्षक कर्मचारीमा पनि देखिने श्रृंगारको सामान्य असामान्य अवस्था कस्तो छ ? पूर्णकालीन शिक्षक पूर्णकालीन व्यवस्थानप्रति कति जवाफदेही हुनुहुन्छ ? जस्ता मूलभूत विषयोपर दोहोरो अनुगमन, मूल्यांकन र पदोन्नतिसहितको व्यवस्थापनको तहमा जान जरुरी छ । यसो गर्न सकियो भने निराशा चिर्न सकिन्छ र अपेक्षित सफलता प्राप्त गर्नु अवश्यंभावी छ । तपाईँले यस कामको सहजै अगुवाइ गर्न सक्नुहुने छ ।
शुभकामनासहित बिदा !
(लेखक सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको केन्द्रीय सदस्य हुन् ।)
राम्रो सुझाव छ। बिध्यालय मा भन्दा कलेज हरूमा त पढाइ नै हुदैन। बिजोग छ कुनै पनि कोर्स मा दुई तिन मैना भन्दा बढि प्रोफेसर हरू पढाऊदैनन। नतिजा BA, Bcom बिध्यार्थि को पुरा जवानि पढाइ मा जान्छ र आयोग त पास गर्नै सक्दैनन्।
अन्ततः सरकारि जागिर थोरै छोडेर प्राइभेट पढ्ने बिध्यार्थि कै नाम हुन्छ जो पहिले देखी नै समृद्ध हुन्छ