कोशीमा ब्राउनसुगर कारोबारीको ग्राफ बढ्दो, भारतीय बजार लक्षित गरेर गाँजा तस्करी – Nepal Press

कोशीमा ब्राउनसुगर कारोबारीको ग्राफ बढ्दो, भारतीय बजार लक्षित गरेर गाँजा तस्करी

१० दिनमा ब्राउन सुगरसहित ४१ जना समातिए

विराटनगर । सोमबार दिउँसो विराटनगर प्रवेश नाकाबाट प्रहरीले ४ जनालाई पक्राउ गर्‍यो । लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट २.१५ ग्राम ब्राउन सुगर बरामद गर्‍यो । सोमबार नै प्रहरीले भद्रपुरस्थित मेची पुलबाट २७० मिलीग्राम ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको थियो ।

प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार असार २० गते देखि ३० गते सम्म हरेक दिन ब्राउन सुगरसहित समातिएका छन् ।

असार २० गते विभिन्न जिल्लाबाट १३ जना पक्राउ परेका छन् । २१ गते ६ जना पक्राउ परेका छन् । २३ गते १ जना, २४ गते ५ जना पक्राउ परेका छन् । त्यस्तै २५ देखि ३० गतेसम्म क्रमशः ३, ३, ४ र ६ जना ब्राउन सुगरसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

१० दिनको तथ्यांकलाई हेर्दा ब्राउन सुगरको कारोबारी र प्रयोगकर्ता अत्यधिक बढेको देखिन्छ । प्रहरीले विभिन्न सूचनाका आधारमा सक्रियता बढाइएको बताएको छ ।

पछिल्लो समय लागुऔषधविरुद्धको अभियान प्रभावकारी भएकाले प्रयोग, ओसारपसार र बेचबिखनमा संलग्नहरू पक्राउ परेको प्रहरी वरिष्ठ उपरीक्षक भीमबहादुर दाहाल बताउँछन् ।

प्रदेशका १२४ वटा पालिकामा ‘लागुऔषध विरुद्ध आमाहरू’ कार्यक्रम सञ्चालन छ । सो कार्यक्रमका कारण लागुऔषध प्रयोगकर्ताहरूको नेटवर्किङमा प्रहरी पुग्न सकेको दाहालले बताए ।

‘आमाहरूलाई छोराछोरीको आनीबानी थाहा हुन्छ । आनीबानी विश्लेषणका आधारमा हामीले बनाएका अप्रेसनका कारण ओसारपसारमा संलग्नहरू पक्राउ परेका छन्’, उनले भने ।

नेपालमा ब्राउन सुगरको उत्पादन हुँदैन । भारतीय बजारमा सहज रूपमा उपलब्ध हुने कारण नेपाली बजारमा ब्राउन सुगर सजिलै भित्रिने गरेको छ । खुल्ला सीमानाका कारण नेपालमा वर्षेनी ब्राउन सुगरका कारोबारीको संख्या बढिरहेको प्रहरीको तथ्याङ्कले देखाउँछ । प्रयोगकर्ता बढेसँगै कारोबारी पनि बढेको प्रहरीको अनुमान छ ।

प्रदेश प्रहरी कार्यालय कोशीका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ केजी ४५७ ग्राम १७४ मिली ग्राम खैरो हिरोइन बरामद गरिएको थियो ।

२०७९/८० मा भने २ केजी ७९ ग्राम ८४९ मिली ग्राम ब्राउन सुगर बरामद गरिएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । २०८०/८१ मा भने ३ केजी ७९० ग्राम ५९२ मिलिग्राम खैरो हिरोइन बरामद भएको छ ।

नेपाली बजारमा एक सय मिलिग्राम खैरो हिरोइन एक सय रूपैयाँसम्म तिरेर किन्ने प्रहरीले जनाएको छ । महँगो भएका कारण यसका प्रयोगकर्ता पनि सहरी क्षेत्रमा बढी भएको प्रहरीले जनाएको छ ।

ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा ब्राउन सुगरका सेवनकर्ता बढी भएको वरिष्ठ प्रहरी उपरीक्षक दाहालले बताए ।

उनले भने, ‘गाउँमा भन्दा शहरमा किन्न सक्नेहरू बढी हुन्छन् । महँगो भएका कारण ग्रामीण क्षेत्रको तुलनामा सहरिया युवा युवतीहरू यसको कुलतमा फसेको पाइयो ।’

भारतमा गाँजाको तस्करी

कोशी प्रदेशका पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारत लैजाने क्रम बढेको छ । प्रत्येक वर्ष भारत लैजाने दर बढ्दै गएको प्रहरीले जनाएको छ । पूर्वी पहाडी जिल्लाहरू धनकुटा, खोटाङ उदयपुरमा लुकीछिपी गाँजको खेती हुने गरेको छ । त्यहाँ उत्पादन भएको गाँजाको प्रमुख बजार भारत रहेको पाइन्छ ।

उदयपुरमा केही दिनअघि ४९ केजी गाँजासहित पक्राउ परेका ३ जना ।

भारतमा गाँजाको माग अत्यधिक भएका कारण कोशीमा गाँजा तस्करी बढेको प्रदेश प्रहरी कार्यालयका प्रवक्तासमेत रहेका दाहाल बताउँछन् ।

भारतमा गाँजाबाट चरेस बनाउने गरिएको अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । भारतीय बजारमा गाँजाको माग ठुलो भएका कारण यसको मूल्य समेत उच्च छ । नेपालमा भने गाँजा सेवनकर्ताहरू धेरै नभएको दाहालले बताए ।

प्रदेश प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष २०७८/७९ मा २ हजार २१ किलो ग्राम गाँजा प्रहरीले बरामद गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा भने ५ हजार ८१५ किलो गाँजा प्रहरीले बरामद गरेको थियो । यस आर्थिक वर्षमा भने १० हजार २९ किलो गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार गाँजा तस्करी रोक्न अभियान सञ्चालन भइरहेको छ । केन्द्रमा रहेको लागु औषध नियन्त्रण ब्युरोको स्याटलाइट टोलीले लागु औषध नियन्त्रणका लागि काम गरिरहेको छ । यस्तै रिटले पनि यस विषयमा काम गरिरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *