६ गते नै विश्वासको मत लिन प्रधानमन्त्री ओली आन्तरिक छलफलमा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनमै विश्वासको मत लिने तयारी गरेका छन् । आउँदो ६ गते (आइतबार) विश्वासको मत लिने बारे आज आन्तरिक छलफल भएको प्रधानमन्त्री निकट स्रोतले बतायो ।
ओली असार ३० गते प्रधानमन्त्री नियुक्त भएर भोलीपल्ट सपथग्रहण गरेका थिए । संविधानतः प्रधानमन्त्री नियुक्त भएको ३० दिनभित्र संसदबाट विश्वासको मत लिनुपर्ने हुन्छ । प्रधानमन्त्री ओली विश्वासको मत लिइहाल्ने सोचमा रहेको स्रोतको भनाइ छ ।
आज केही मन्त्री र सत्तापक्षका सचेतकहरुसँग ओलीले छलफल गरेका हुन् । ६ गते विश्वासको मत माग्नेबारे छलफल भए पनि टुंगोमा पुगिनसकेको स्रोतले बतायो ।
प्रधानमन्त्रीले ६ गते संसदबाट देशवासीका नाममा संवोधन गर्ने कार्यक्रम पनि छ । सोही दिन प्रधानमन्त्रीको नियुक्ती प्रक्रिया नमिलेको भन्दै सर्वोच्च अदालतमा दायर भएको रिटमाथि सुनवाइ पनि हुँदैछ ।