सत्ताबाट बाहिरिएका प्रचण्डमाथि बाबुरामको निरन्तर प्रहार, समाजवादी मोर्चा आफूबाट चोरेको आरोप – Nepal Press

सत्ताबाट बाहिरिएका प्रचण्डमाथि बाबुरामको निरन्तर प्रहार, समाजवादी मोर्चा आफूबाट चोरेको आरोप

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पछिल्लो समय सत्ताबाट आउट भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि आक्रोश पोखिरहेका छन् । प्रचण्ड सत्ता बहिर्गमन भएपछि बाबुरामले निरन्तर प्रहार गर्दै आइरहेका छन् ।

प्रचण्ड सत्ताबाट हटेपछि समाजवादी मोर्चा ब्यूँताएको छन् । मोर्चामा प्रचण्डले बाबुरामलाई अटाएनन्। तर, अहिले उनैको पार्टीबाट अलग भएर आएका महेन्द्र यादवलाई समावेश गराएपछि थप रुष्ट बनेका छन् ।

उनले भनेका छन्, ‘पहिले सत्तामा छँदा उहाँहरूलाई सांसद संख्या पुर्याउनु थियो । अर्को पार्टीबाट निर्वाचन लडेको र जितेको (ऐनको प्रावधान अनुसार नै साझा चुनावचिन्ह लिएको) मान्छेलाई जबर्जस्ती आफ्नो पार्टीको सांसदको रूपमा प्रस्तुत गर्नुभयो! हामीले स्वीकार्यौं !’

उनले गण्डकी प्रदेशको मुद्दामा सर्वोच्च अदालतले जुन दलको उम्मेदवार हो सोही दलको सांसद रहने अन्तरिम आदेश दिइसकेको उल्लेख गरेका छन् । उनले दल त्याग गरिसकेको यावद समूहलाई कानून बमोजिम सबै प्रक्रिया पुर्याएर पार्टीबाट बिदा गरिसकेको जिकिर गरेका छन् ।

अध्यक्ष भट्टराईले भनेका छन्, ‘अहिले उहाँहरू सडकमा पछारिनु भएको छ ! ‘समाजवादी मोर्चा’ को पातलो ढोक्सा÷ढडिया थापेर केही भुरा माछा पर्छन् कि भनेर यताउति हेरिरहनु भएको छ ! केही नभेटेपछि फेरि उही आफ्नै ढोक्सामा रहेका पुराना माछालाई अर्को दलको नामबाट प्रस्तुत गरेर मोर्चाको आकार ठूलो भएको देखाउन खोजिरहनु भएको छ ।’

उनले निवर्तमान प्रम र पूर्वप्रमहरूले अदालतको आदेश र निर्वाचन आयोगको निर्णय मान्नुपर्दैन? भन्दै प्रश्न गरेका छन् ।

प्रचण्डलाई लक्षित गर्दै उनले थपेका छन्, ‘उहाँहरू संविधान र कानून भन्दामाथि हो ? राजनीतिमा नैतिकता र मूल्यमान्यता भन्ने केही जिनिस हुँदैन ? सत्ता नै सबै थोक हो ? यसरी आउँछ ‘समाजवाद’ ?’

उनले त्यसअघि प्रचण्डको तेस्रो पटकको लज्जास्पद सत्ता बहिर्गमनपछि माओवादीले कुनै अदृश्य षड्यन्त्रको सिद्धान्त आविष्कार गरेर सत्यतथ्यलाई विषयान्तर नगर्न भनेका थिए । आत्मरति लिनु सट्टा गम्भीर आत्मसमीक्षा गर्नु उपयुक्त हुने उनको सुझाव छ ।

त्यसअघि प्रचण्डलाई नै प्रहार गर्दै उनले लेखेका थिए, ‘अब समाजवादी केन्द्रको नयाँ ढोक्सा/ढडिया/जाली त्यो पनि अरूबाट चोरेको ।’

समाजवादी मोर्चा बनाउनेदेखि पार्टी एकता गरेर अघि बढ्ने सहमति गत निर्वाचनमा प्रचण्ड र बाबुरामबीच भएको थियो। तर, निर्वाचनपछि प्रचण्ड प्रधानमन्त्री बने सहमति तोडियो । बाबुरामलाई नै बाइपास गरेर प्रचण्डले एकलौटी रुपमा समाजवादी मोर्चा घोषणा गरेपछि बाबुराम रुष्ट छन् ।

मोर्चामा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र उपेन्द्र नेतृत्वको जसपा सहभागी थियो । तर, एमाले अध्यक्ष ओलीसँग मिलेर सरकार सरकार जोगाउन पार्टी फुटाएपछि अहिले जसपा मोर्चाबाट बाहिरिएको छ । जसपा बाहिरिएपनि महेन्द्र यादव नेतृत्वको नेसपाका नेताहरू हिजोको मोर्चाको बैठकमा सहभागी भएपछि थप आक्रोश पोखेका छन् ।

त्यसो त कांग्रेस-एमाले मिलेर प्रचण्ड सत्ताबाट बाहिरिने बित्तिकै उनले सबैलाई सधैंभरि ठग्न नसकिने टिप्पणी गरेका थिए ।

उनले भनेका थिए, ‘चर्चित भनाइ छ–केहीलाई सधैंभरि ठग्न सकिन्छ, सबैलाई केहीबेर ठग्न सकिन्छ तर सबैलाई सधैंभरि ठग्न सकिन्नँ । सन्दर्भ बुझौं ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर