मधेशका मुख्यमन्त्री सिंह संकटमा, अर्थ मन्त्रालय नपाएपछि कांग्रेसले समर्थन फिर्ता लिँदै – Nepal Press

मधेशका मुख्यमन्त्री सिंह संकटमा, अर्थ मन्त्रालय नपाएपछि कांग्रेसले समर्थन फिर्ता लिँदै

जनकपुरधाम । मधेश सरकारलाई दिएको समर्थन नेपाली कांग्रेसले फिर्ता लिने भएको छ । मन्त्रालय बाँडफाँटमा सहमति नभएपछि कांग्रेसले समर्थन फिर्ता लिने चेतावनी दिएको हो ।

स्रोतका अनुसार कांग्रेसले अर्थसहित चार मन्त्रालय मागेको छ । तर मुख्यमन्त्री सतिश कुमार सिंहले अर्थ आफैं राख्ने अडान लिएका छन् । पटक पटक छलफल भएपनि मुख्यमन्त्रीले अर्थ दिन अस्वीकार गरेपछि कांग्रेस वर्तमान सरकारको विकल्प खोजेको छ ।

कांग्रेस मधेश प्रदेशका प्रमुख सचेतक कुमरकान्त झाले सरकारलाई दिएको समर्थन फिर्ता लिने बताए । उनले नेपाल प्रेससँग भने, ‘भोलि संसदीय दलको बैठक बस्दैछ । बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय लिन्छ ।’

उनले आफूहरुसँग मुख्यमन्त्रीले गरेको सहमति पालना नगरेको आरोप लगाए । उनले सहमतीको पालना नगरेकाले समर्थन फिर्ता लिएर नयाँ सरकार गठन प्रक्रियामा अगाडी बढ्ने बताए । उनले अर्थ मन्त्रालय नदिएपछि समर्थन फिर्ता लिन लागेकोबारे खुल्न चाहेनन् ।

कांग्रेसले जनार्दनसिंह क्षेत्री, सुनिल यादव, शेषनारायण यादव र कौशलकिशोर रायलाई सरकारमा पठाउने निर्णय गरिसको छ । स्रोतका अनुसार असार २३ मै मन्त्रीहरु शपथग्रहणका लागि तयार भइसकेका थिए । तर मुख्यमन्त्रीले अर्थ मन्त्रालय नदिने भनेपछि कांग्रेस पछि हटेको थियो ।

मधेशका मुख्यमन्त्री सिंह जनमत पार्टीका हुन् । कांग्रेस समर्थन फिर्ता लिएसंगै उनी नेतृत्वको सरकार अल्पमतमा पर्नेछन् ।

नेकपा एमाले र माओवादीसहितका दलको गठबन्धनले मधेशमा जसपा नेपालका सरोज कुमार सिंहलाई मुख्यमन्त्री बनाएको थियो ।

तर जसपा नेपाल विभाजन भएपछि विकसित राजनीतिक परिस्थिति अनुसार मधेश सरकारबाट एमाले र माओवादी बाहिरिएको थियो । त्यसपछि मुख्यमन्त्री यादव विश्वासको मत गुमाएपछि एमाले र माओवादीले जनमतका सिंहलाई मुख्यमन्त्री बनायो ।

केन्द्रमा नेकपा एमाले र नेपाली कांग्रेसबीच गठबन्धन बनेपछि मधेशका मुख्यमन्त्री सिंहले माओवादी, नेकपा एस, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका ६ मन्त्रीलाई बर्खास्त गरे । उनले सोही दिन सोही दिन कांग्रेस र लोसपालाई सरकारमा सहभागी गराउने तयारी गरेका थिए ।

कांग्रेस सरकारमा नगएपछि लोसपा पनि बाहिरेबाट समर्थन दिएको छ । स्रोतका अनुसार लोसपाले दुई मन्त्रालय मागेको छ । लोसपा पनि मन्त्रालय बाँडफाँडमा सन्तुष्ट छैन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर