उत्खनन् र प्रवर्द्धनको पर्खाइमा ऐतिहासिक सिम्रौनगढ – Nepal Press
ब्लग

उत्खनन् र प्रवर्द्धनको पर्खाइमा ऐतिहासिक सिम्रौनगढ

प्राचीन इतिहास

सिम्रौनगढको स्थापना उपनिषद्काल र पौराणिककालमा प्रख्यात हिन्दू संस्कृतिको केन्द्र प्राचीन मिथिलामा भएको थियो । बौद्ध र जैन ग्रन्थहरुका अनुसार धेरै वर्षसम्मको संघर्षपछि ‘विदेह माथव’ ले अनार्यहरुमाथि विजय हासिल गरी ईपू १००० मा विदेह राज्य स्थापना गरेका थिए, जसलाई मिथिला भनिन्थ्यो । मिथिलाको सिमाना पश्चिममा सदानिरा (गण्डकी), पूर्वमा कौशिकी (कोशी), उत्तरमा शिवालिक (हिमालय) र दक्षिणमा गङ्गा नदीसम्म थियो । विदेह ‘मिथिला’ को स्थापनापछि ५५-५६ जना राजाले शासन गरेको भेटिन्छ ।

ईपू ६०० को आसपासमा यस वंशको अन्त्यपछि मिथिला अष्टवृजिकुल संघको सदस्य बन्यो । पछि ‘मगध’ हुँदै ईपू ४०० तिर ‘नन्द’ र ‘मौर्य’ साम्राज्यअन्तर्गत रहन गयो । पछि यस क्षेत्रमा ‘कुशान’ र ‘गुप्त’ हरुले शासन गरेको भेटिन्छ । पछि बंगालका गौड राजा शशांक र हर्शवर्धनले शासन गरेको पाइन्छ र सातौं शताब्दीको अन्त्यतिर पुनः ‘मगध’ का राजा आदित्यसेनको अधिनमा गएको पाइन्छ । आठौं शताब्दीमा बंगालका ‘पाल’हरुले यस क्षेत्रमा आधिपत्य जमाए । सन् १०१९ मा यस क्षेत्रमा ‘गंगेदेव’ले शासन गरेको पाइन्छ । लामो समयपछि मिथिला क्षेत्र कर्नाट साम्राज्यका चालुक्य वंशका शासक चालुक्य राजा विक्रमादित्य छैठौं (सन् १०७६-११२६) द्वारा आक्रमण गरी केही समय आफ्नो अधिनमा शासन चलाए र केही समयपछि चालुक्यले यसलाई स्वतन्त्र गरेको इतिहास भेटिन्छ ।

सिम्राैनगढको स्थापना

कर्नाट साम्राज्यका चालुक्य राजा विक्रमादित्य छैटौं (सन् १०७६-११२६)द्वारा आक्रमण गरी आफ्नो अधिनमा शासन चलाए र केही समयपछि चालुक्यले यसलाई स्वतन्त्र गरेपछि चालुक्य राजाका एक सेनापति ‘नान्यदेव’ले सन् १०९७ मा मकवानपुर, विजयपुर र पूर्वी क्षेत्र मिलाएर मिथिला क्षेत्रका भूभागसहित स्वतन्त्र राज्य तिरहुत निर्माण गरी त्यसको राजधानी सिम्रौनगढमा स्थापना गरेका थिए (क्षेत्री, २०६२, पृ.२७९)

सिम्रौनगढको नामकरण

 

गोपाल राजवंशावलीका अनुसार प्राचीन समयमा यस क्षेत्रमा रहेका सिमलका रुखहरुको घना वन फडानी गरेर ‘गढी’ बसाएको कुरालाई जनाउ दिने सिमरा ‘वन’ गढीबाट अपभ्रंस हुँदै सिम्राैनगढ भनिन थालेको बताइन्छ (क्षेत्री, २०६२, पृ. २७८) ।

भौगोलिक अवस्थिति

अहिलेको बारा जिल्लाको सदरमुकाम कलैयाबाट २० किलोमिटर तथा मोतीहारी बिहार देखि ५० किलोमिटरको दूरीमा करिब २६ वर्ग किलोमिटरमा फैलिएको यस गढी समुन्द्री सतहदेखि ३००-४०० मिटर उचाइमा अवस्थित प्राचीन सांस्कृतिक सभ्यता र इतिहास बोकेको ‘सिम्रनगढ’ गढी प्राचीन, धार्मिक, ऐतिहासिक, पुरातात्त्विक र सामाजिक रूपमा अत्यन्तै धनी मानिन्छ ।

सिम्रौनगढ (तिरहुत) राज्यका प्रमुख शासकहरु

कर्नाट वंशी तिरहुत (मिथिला) राज्यको स्थापनाको समयदेखि यस राज्यमा शासन गर्ने प्रमुख शासकहरूमा नान्यदेव (सन् १०९७-११४७), गंगासिंह देव (सन् ११४७-११८८), नरसिंह देव (सन् ११८८-१२२७), रामसिंह देव (सन् १२२७-१२८५), शक्तिसिंह देव (सन् १२८५-१२९५) र हरिसिंह देव (सन् १२९५-१३२६)ले सन् १०९७ देखि १३२६ सम्म शासन गरेका थिए । मिथिलाको इतिहासमा यस काललाई स्वर्णयुग भनिन्छ । यस समयमा यहाँको धार्मिक, सांस्कृतिक र कला साहित्यको विकास चरमोत्कर्षमा पुगेको थियो ।

सिम्रौनगढको सुदृढीकरण

सिम्रौनगढ दरबारको भुलभुलैया प्रकारको किल्ला भक्तपुर दरबारमा ढुङ्गामा कुँदिएको छ र भक्तपुरका मल्लहरूको विभिन्न सिक्काहरू संरचनामा छापिएको छ । सन् १२३६ मा सिम्रौनगढको भ्रमण गरेका तिब्बती विद्वान धर्मस्वामीले गरेको वर्णनअनुसार सिम्रौनगढ एक सुरक्षित र सम्पन्न राजधानी थियो । उनका अनुसार सिम्रौनगढ बलिया, अग्ला चक्रव्यूहाकार पर्खालद्वारा घेरिएको थियो । धर्मस्वामीका अनुसार त्यसबेला यहाँको जनसङ्ख्या ६ लाख थियो ।

त्यसैगरी इटालियन पादरी क्यासियानो (१७०८-१७९१) भारतबाट नेपाल र तिब्बत भ्रमण गर्ने क्रममा सिम्रौनगढ गएका थिए । उनले सिम्रौनगढको भुलभुलैयालाई अत्यन्त जटिल संरचनाको रूपमा वर्णन गर्दै यसको रेखाचित्र (स्केच) गरेका थिए । त्यसैगरी अंग्रेज विद्वान हडसनले सन् १८३५ मा सिम्रौनगढ पुगी अध्ययन र अनुसन्धान गरेका थिए । तत्कालीन राजा वीरेन्द्रबाट यस क्षेत्रको अवलोकनपश्चात यहाँको पुरातात्विक अवशेषको अध्ययन अनुसन्धानका लागि भएको निर्देशनबमोजिम पुरातत्व विभाग र इटालियन सरकारको तत्वावधानमा सन् १९९१, १९९२ र १९९४ मा सिम्रौनगढको उत्खनन गरिएको थियो ।

नेपाल र दक्षिण भारतका मल्लहरूसँग सिम्रौनगढ (तिरहुत/कर्नाटक)को सम्बन्ध

इतिहासकार शिवराज श्रेष्ठका अनुसार ‘१७औं शताब्दीमा काठमाडौं उपत्यकाका नेवार मल्लहरूका कार्यहरू, विशेष गरी प्रताप मल्ल र जगज्योति मल्लले नान्या देवलाई प्रधान पूर्वपुरुष (उच्च सम्मानित पुर्खा) भनेर वर्णन गरेका छन् । उनका अनुसार कर्नाटक राजाहरूले उच्च ज्ञानपूर्ण र लोककल्याणोन्मुख धर्मको विकास गरेका थिए । साथै एक सकारात्मक गतिशील सामाजिक र राजनीतिक संस्कृतिलाई संस्थागत गरेका थिए । जुन संस्कृति पछि गएर नेवार मल्ल राजाहरूद्वारा पोषित भएको थियो, जुन मध्यकालीन सिन्जा-दुल्लुबाट फैलिएको अधिक क्रूर राजनीतिक संस्कृतिको तुलनामा बढी सहिष्णु, तर्कसंगत, उदारवादी, समतावादी र सामाजिक न्यायमा आधारित थियो । नेपालका मल्लहरूले आफूलाई ‘रघुवंशी’ घोषणा गरी रघुवंशीको परिवारकी देवी तुलजा (तलेजु)लाई आफ्नै ‘कुल देवी’ भनेर पूजा गरी कर्नाट रघुवंशी नान्यदेवको ‘माण्डव गोत्र’ ग्रहण गरे ।

अर्का इतिहासकार लीलाभक्त मुनंकर्मीले स्पष्ट पारेका छन् कि देवी ‘देवीमाजू’ -नान्यदेवले पुज्ने भनिएको देवी तुलजा (तलेजु)बाहेक अरू कोही थिएन र लिच्छवि राजाहरूको पारिवारिक देवी ‘मानेश्वरी’भन्दा फरक थियो । तलेजु भवानी देवता मूल रूपमा हो । दक्षिण भारतीय राजवंशहरूको पारिवारिक देवता, विशेष गरी कर्नाटक शासकहरूको, देवतालाई ‘तुलजा भवानी’ पनि भनिन्छ र अन्य विभिन्न नामहरू जस्तै : तुलजा, तुराजा, त्वरिता र अम्बा ।

१४औं शताब्दीमा दिल्लीका तुरक गयासुद्दिनको आक्रमणलाई झेल्न नसकेपछि आफ्नो परिवारसहित पहाडी क्षेत्रतर्फ भाग्ने क्रममा दोलखाको तीन(पाटन भन्ने ठाउँमा हरिसिंह देवको मृत्यु हुन जान्छ र पछि बाँकी रहेका परिवारका सदस्यसहित उनकी पत्नी देवलदेवी भक्तपुरमा शरण लिन पुग्छिन् । देवलदेवी छोरा जगतसिंह देवको विवाह भक्तपुरका मल्ल राजा रुद्र मल्लकी विधवा छोरीसँग गराउन सफल हुन्छिन् र जगतसिंह देवकी छोरी तिरहुतका जयस्थिति मल्लसँग विवाह गरी भक्तपुरको शासक बन्न सफल हुन्छिन् (शाह, भरत, २०१९, सिम्रौनगढ) ।

सिम्रौनगढ (तिरहुत)को पतन

१४औं शताब्दीमा दिल्लीका तुरक गयासुद्दिन तुगलकले सन् १३२६ जुन ७ (विसं १३८२ , नेपाल संवत् ४४६)मा आक्रमण गरी सिम्रौनगढलाई ध्वस्त पारिदिए । आक्रमण पछि गयासुद्दिनले तिरहुत (मिथिला) राज्यको राजधानी विहारको ‘दरभङ्गा’ लाई बनाइ तिरहुत राज्यबाट कर उठाउन स्थानीय कामेश्वर ठाकुरलाई जिम्मा दिएका थिए । उनै कामेश्वर ठाकुर र उनका उत्तराधिकारीहरूले यस तिरहुत (मिथिला) राज्यमा सन् १५२६ सम्म शासन गरेका थिए ।

१६औं शताब्दीतिर मकवानपुरका सेन राजा लोहान सेनले यस सिम्रौनगढ क्षेत्र कब्जा गरस् शासन गर्दै आएका थिए । पछि मकवानपुरका राजा दिगवर्दन सेनको पालामा सन् १७६२ मा गोरखाली राजा पृथ्वीनारायण शाहले युद्धमा मकवानपुरलाई जितेर यस भूभागलाई गोरखा राज्यअन्तर्गत राखी शासन गरेका थिए । सन् १७३९ देखि १७५४ सम्म काठमाडौं उपत्यकामा आउने जाने गरेका इटालियन पादरी क्यासियानोले पनि ‘सिमानागढ’ भन्ने शब्द उल्लेख गरेको पाइन्छ ।

सिम्रौनगढ अवलोकन

सिम्रौनगढको धार्मिक, सांस्कृतिक तथा वास्तुकलाको महत्वपूर्ण धरोहर ‘इशरा तलाउ’ को पश्चितर्फ शिखर शैलीमा इँटाद्वारा निर्माण गरिएको ‘कंकाली मन्दिर’ देख्न पाइन्छ । कंकाली माताको ठूलो महिमा रहिआएको र हरेक वर्ष चैतमा राम नवमीको दिन ठूलो मेला लाग्ने गर्छ । शान्त र सौम्य मुद्रामा रहेको कंकाली माताको मूर्ति कालो प्रस्तरमा कुँदिएको छ । कंकाली मन्दिर प्राङ्गणमा विभिन्न देवीदेवताका अन्य मन्दिर छन् । एक जोर खराउ र समाधिस्थल रहेको मन्साराम बाबाको मन्दिर निर्माण गरिएको छ । मन्दिर परिसरका पीपल चौतारा, तलाउ किनारमा तुर्क आक्रमणका कारण उत्खननमा भेटिएका कर्नाटकालीन टुटेफुटेका मूर्ति तथा पत्थरहरू देख्न पाइन्छ । राजा शिवसिंह (सिबैसिंह/शक्तिसिंह देव)ले आफ्नी प्रेयसी इशराका लागि इशरा तलाउ बनाइदिएको किंवदन्ती छ ।

कंकाली मन्दिरदेखि पश्चिम करिब १.५ किलोमिटर दूरीमा रानीबास रहेको छ, जहाँ राम जानकीको मन्दिर छ । इतिहासविद्हरूका अनुसार शिकार खेल्न जाने क्रममा भेटिएको केही अग्लो स्थानमा जङ्गबहादुर राणाले क्याम्प बनाउने क्रममा दरबार र मन्दिरको भग्नावशेष पाइएको बताउँछन् । विसं १९३३ मा सिम्रौनगढमा शिकार क्याम्प सकेर फर्कने क्रममा पत्थरघट्टा भन्ने ठाउँमा जङ्गबहादुर राणाको मृत्यु भएको थियो । उनकी रानी हिरण्यकुमारीले सती जाने बेलामा व्यक्त गरेको इच्छाबमोजिम छोरा जीतजङ्गले विसं १९३५ मा सो मन्दिरको पुनर्निर्माण गरेको कुरा यहाँको घण्टामा समेत स्पस्ट उल्लेख गरी लेखिएको छ । मन्दिरभित्र राम, सीता र लक्ष्मणका धातुका मूर्तिहरु छन्, जसका अगाडि जङ्गबहादुर, हिरण्यकुमारीलगायत आफ्ना परिवारका सदस्यको प्रतिमा छ ।

मन्दिर वरिपरि भग्नावशेषको रुपमा रहेका दरबार तथा महल अझै देख्न पाइन्छ । मन्दिरकै सामुन्ने हनुमानको ठूलो मूर्ति देख्न पाइन्छ । मन्दिर प्राङ्गणको पश्चिम-उत्तर कुनाको नजिकमा त्यतिबेला खानेपानीका लागि बनाइएको इनार अझै देख्न पाइन्छ । मन्दिरको वरिपरि सत्तलसमेत निर्माण गरी गुठीको व्यवस्था गरिएको पाइन्छ । उत्खनन गर्दा प्राप्त चिल्ला काला ढुङ्गामा कुँदिएका आकर्षक तर टुटेफुटेका मूर्तिहरूलाई मन्दिरको बाहिरी भाग र वरपर स्थापित गरिएको छ ।

सिम्रौनगढ छेउछाउमा रहेका खेती हुने जग्गालाई खनजोत गर्दा अझै पनि जलेका चामलहरू प्रत्यक्ष भेट्न सकिन्छ । त्यस बेला राजाको खजाना (कोष) रहेको खजानी गाउँको क्षेत्रमा रही आएका खेत खन्दा सुनचाँदी भेट्टाइन्छ, तामापित्तलका गाग्री, सुनका गहनाहरू भाँडावर्तन पनि भेटिएको यहाँका स्थानीय बताउँछन् । हरिहरपुरमा राजाको कोतवाल कचहरी कोर्ट रहेको स्थानमा तलेजु भवानी राखेको ढुंगाको बाकस र त्यही नजिकमा देवताको मूर्ति कुँदिएको पत्थरको खम्बालगायत संरक्षणको अभावमा यत्रतत्र टुटफुट रुपमा छरिएर राखेका ११औंदेखि १३औं शताब्दीका देवीदेवताका मूर्तिहरु भेट्न सकिन्छ ।

चिल्ला काला ढुङ्गामा आवरण र आभूषणले भक्ति रस र सौन्दर्य रसको रसास्वादन गराउन सफल करुणा, शान्ति र ऐश्वर्यका साथै अलौकिक भाव अनि आकर्षक मुस्कानयुक्त मूर्तिहरुमा भाव अभिव्यक्तिको अनुपम कला देख्न पाइन्छ । उत्खनन्का क्रममा भेटिएका कर्नाटकालीन र गुप्तकालीन पुरातात्त्विक कलाकृतिहरुलाई हेर्दा सिम्रौनगढको सांस्कृतिक तथा आर्थिक समृद्धिलाई पुष्टि गर्दछ । यस समयमा यहाँको धार्मिक, सांस्कृतिक, कला तथा साहित्यको विकास चरमोत्कर्षमा पुगेको पाइन्छ ।

भनिन्छ, भोको देशको कलात्मक दृष्टि हुनै सक्दैन र भइहाले पनि त्यसलाई पेटको ज्वालाले निभाइदिन्छ । कला र साहित्यले भरपूर उन्नति गर्ने मौका पाएको यस काललाई सिम्रौनगढको इतिहासमा स्वर्णयुग मानिन्छ । उत्खनन्मा भेटिएका शिव, पार्वती, हनुमान, विष्णु, विश्वकर्मालगायतका मूर्तिहरु हिन्दू धर्म संस्कृतिसँग सम्बद्ध रहेको हुनाले यस क्षेत्रमा हिन्दू धर्मावलम्बीहरुको बाहुल्य रहेको सजिलै अनुमान लगाउन सकिन्छ ।

सिम्रौनगढको गढ क्षेत्रभित्र हालको कोटवाली, लक्ष्मीपुर, भगवानपुर, देवापुर, हरिहरपुर, कर्चोवा, अमृतजङ्ग, गोलागञ्जसहित, नयकाटोला, खजहनी, झमरीलगायत गाउँ भएर दक्षिणतर्फ नेपाल-भारत सीमासम्म पुग्छ । यस क्षेत्रमा देखिने पोखरी र इनारमध्ये इशरा, झरौखर, राजावादा, मनहर्वा, धोबिनिया, आमवा, हथाइया, नरकटी, जोकही प्रमुख हुन् ।

निष्कर्ष

सिम्रौनगढ क्षेत्रमा पुग्न आधुनिक बाटो तथा स्तरीय सडक संरचनाको निर्माण गर्नुपर्ने देखिन्छ । स्थानीय बासिन्दालाई सिम्रौनगढको इतिहास र यसको ऐतिहासिक, सांस्कृतिक सभ्यताको महत्त्वबारेमा धेरैभन्दा धेरै जानकारी गराउँदै यसको महत्त्वका बारेमा व्याख्या गर्नसक्ने केही इतिहास वाचक र पथप्रदर्शकहरु पर्यटकका लागि उपलब्ध गराउनु आवश्यक देखिन्छ । यस क्षेत्रमा सुविधायुक्त होटलको अभावले गर्दा पर्यटकहरुले धेरै समस्या व्यहोर्नुपरेको पाइएको छ ।

पुरातात्त्विक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको सिम्रौनगढको उत्खनन्, संरक्षण, सुरक्षण र प्रवर्द्धनका निम्ति बृहत योजनासहित स्थानीय, प्रादेशिक र केन्द्रीय सरकारले विशेष महत्त्व दिनुपर्ने र विभिन्न संघसंस्था तथा व्यक्तिहरुको संयुक्त प्रयास आवश्यक देखिन्छ ।

ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वका दरबारका भग्नावशेष एवं बेवारिसे रुपमा टुटेफुटेका धार्मिक र सांस्कृतिक महत्त्व बोकेका प्राचीन कलात्मक मूर्तिहरुको उचित रुपमा संरक्षण, सुरक्षण र उत्खनन् गर्न तीन वटै तहका सरकारका सम्बद्ध निकायहरुले गम्भीर रुपमा ध्यान पुर्‍याउनुपर्ने देखिन्छ । तुर्क आक्रमणबाट बचेखुचेका मिथिलाको कला-संस्कृतिको स्वर्णिम इतिहास बोकेका मूर्तिहरू संरक्षणको अभावमा चोरी हुने र हराउने क्रम तीव्र रुपमा जारी छ । सरकारले प्रभावकारी कदम चालेर चोरी हुने तथा हराउने कार्यलाई रोक्नु अत्यावश्यक छ ।

यस्तो लाग्छ, ऐतिहासिक, सांस्कृतिक सभ्यता र अद्भूत कला-संस्कृतिको अमूल्य भण्डारको इतिहासलाई पुरेर त्यसमाथि वर्तमान अव्यवस्थित सिम्रौनगढ शहर बसेको छ । प्राचीन सिम्रौनगढको उत्खनन् गरी भूगर्भमा लुकी बसेका कर्नाटकालीन, गुप्तकालीन र यीभन्दा पूर्वकालका इतिहास, संस्कृति, कला र सभ्यताको अध्ययन, अनुसन्धान गर्न ढिलो गर्न हुन्न । यसको पुरातात्त्विक, ऐतिहासिक, सांस्कृतिक महत्त्व संरक्षण र प्रवर्द्धन तथा व्यापक प्रचारप्रसार गर्दै स्थानीयस्तरमा पर्यटन विकास आवश्यक छ । जसले देशको आर्थिक विकासमा समेत टेवा पुर्‍याउन सक्ने प्रचुर सम्भावना देखिन्छ ।

सन्दर्भसामग्री सूची

  • क्षेत्री, दिलबहादुर (२०६२), प्राचीन तथा पूर्व-मध्यकालीन नेपाल, काठमाडौं : निरन्तर प्रकाशन ।
  • त्रिपाठी, चन्दप्रसाद (२०५४), तिरहुत राज्य र राजधानी सिम्रौनगढ : सिम्रौनगढ ।

(केसी कास्की पोखरास्थित पृथ्वीनारायण क्याम्पस इतिहास र सस्कृति विभागका विद्यार्थी हुन् ।)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *