वुमन्स एसिया कप: भाग्यले जुराएको सहभागिता, इतिहास रच्ने अवसर – Nepal Press

वुमन्स एसिया कप: भाग्यले जुराएको सहभागिता, इतिहास रच्ने अवसर

पोखरा । श्रीलङ्कामा शुक्रबारबाट एसिया कप महिला टी-२० क्रिकेट सुरु हुँदैछ । जुलाई २८ सम्म चल्ने प्रतियोगितामा नेपालसहित ८ देश सहभागी छन् । ८ टीमलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’मा नेपालसहित भारत, पाकिस्तान र यूएई छन् । समूह ‘बी’मा थाइल्यान्ड, मलेसिया, श्रीलङ्का र बङ्गलादेश छन् ।

एसिया कपमा नेपालको यो तेस्रो सहभागिता हो । यसअघिका दुई संस्करण खेलिसकेको नेपाल अहिलेसम्म जीतविहीन छ । सन् २०१२ र २०१६ मा भएको एसिया कपमा नेपालले सहभागिता जनाएको थियो ।

सन् २०१२ मा चीनमा भएको एसिया कपमा नेपाल श्रीलङ्का, बङ्गलादेश र आयोजक चीनसँग पराजित भएको थियो । सन् २०१६ मा पनि नेपालले जीत निकाल्न सकेन । थाइल्याण्डमा भएको प्रतियोगितामा नेपाल ५ वटै खेलमा पराजित हुँदै घर फर्किनुपर्‍यो । दुवै सहभागितामा नेपालको प्रदर्शन सम्झन लायक हुन सकेको थिएन ।

सन् २०१६ मा नेपाल पाकिस्तानसँग ४७ र भारतसँग २१ रनमा अलआउट भएको थियो । तेस्रो पटक सहभागी हुन लागेको नेपालका ३ खेलाडीसँग एसिया कप खेलेको अनुभव छ । कप्तान इन्दु वर्मा, पूर्वकप्तान रुविना क्षेत्री र सीता रानामगरले यसअघिका दुई संस्करणको एसिया कप खेलेका छन् ।

भाग्यले जुराएको सहभागिता

गत फेब्रुअरीमा भएको एसीसी महिला प्रिमियर कपमा नेपाल मलेसियासँग पराजित हुँदा एसिया कप खेल्ने ढोका बन्द भएको थियो । तत्कालीन समयमा फाइनल पुग्ने टोलीमात्र एसिया कप खेल्ने प्रावधान थियो । सेमिफाइनलमा मलेसियासँग रोकिँदा नेपालको एसिया कप खेल्ने सपना चकनाचुर भएको थियो । नेपालले एसिया कप खेल्ने आश मारिसकेका थिए ।

फाइनल पुगेका मलेसिया र यूएई एसिया कपमा छनोट भएका थिए । त्यतिबेला ६ टीम एसिया कपमा सहभागी हुन्थे । तर, एसियन क्रिकेट काउन्सिल (एसीसी)ले एसिया कपमा सहभागी हुने टीमको संख्या ६ बाट ८ पुर्‍याउँदा नेपालको भाग्य खुल्यो । आश मारिसकेको नेपाललाई तेस्रो पटक सहभागी हुने स्वर्णिम अवसर मिल्यो । प्रिमियर कपको सेमिफाइनलमा पुगेका टीमलाई समेट्ने निर्णयसँग नेपालसँगै थाइल्यान्ड पनि एसिया कपमा छनोट हुन पुग्यो ।

तोड्ला त जीतको खडेरी ?

नेपालले ८ वर्षपछि तेस्रो पटक एसिया कपमा सहभागिता जनाउँदैछ । नेपालले समूह चरणमा बलिया राष्ट्र भारत, पाकिस्तानसँगै यूएईको सामना गर्नेछ । शुक्रबार यूएईसँग खेल्दै प्रतियोगिता सुरु गर्ने नेपालले आइतबार पाकिस्तान र मङ्गलबार भारतसँग खेल्नेछ । आईसीसी टी-२० वरियतामा भारत तेस्रो, पाकिस्तान आठौं, यूएई १६औं र नेपाल २१औं स्थानमा छ । तुलनात्मक रूपमा समूहमा नेपाल कमजोर मानिन्छ ।

नेपालको समूहमा रहेका भारत र पाकिस्तानले सधैं उत्कृष्ट प्रदर्शन गर्दै आएका छन् । नवौं संस्करणमा आइपुग्दा भारतले ७ र बङ्गलादेशले एक पटक एसिया कपको ट्रफी जितेका छन् । यूएईले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । नेपाल सेमिफाइनलबाट बाहिरिएको एसीसी प्रिमियर कपको उपाधि यूएईले जितेको थियो ।

पछिल्ला खेलहरुमा नेपालले खासै राम्रो प्रदर्शन गर्न सकेको छैन । एसिया कपको तयारीस्वरुप भर्खरै श्रीलङ्काको स्थानीय टीमसँग भएको टी-२० सिरिज नेपालले २-१ ले गुमायो । ३ वटै खेलमा नेपालको ब्याटिङ चल्न सकेन । नेपालले यूएईसँग पछिल्लो पटक सन् २०२१ मा खेलेको थियो । उक्त खेलमा नेपाल ४८ रनले पराजित भएको थियो ।

रुविना, सीताबाहेकका खेलाडीको ब्याटबाट खासै रन बन्न सकेको छैन । नेपाली महिला टोलीको फिटनेसमा पनि निकै प्रश्न आउने गरेको छ । गत फेब्रुअरीमा भएको प्रिमियर कप सेमिफाइनलमा मलेसियाविरुद्ध ‘थकान’ ले पराजित हुन पुगेको भन्दै आलोचनासमेत भएको थियो । यसो त नेपाली टीमले एसिया कपका लागि निरन्तर अभ्यास गरेको छ । टीयू क्रिकेट मैदानमा लगातार ४५ दिनको ट्रेनिङपछि नेपाली टीम श्रीलङ्का प्रस्थान गरेको हो ।

बिदाई कार्यक्रममा टोलीका मुख्य प्रशिक्षक मनोज कटुवालले ४५ दिनको तयारी राम्रो भएको र सबैले मेहनत गरेको बताएका थिए । टोलीकी कप्तान इन्दु वर्माले पाएको समय र स्रोतअनुसार राम्रो तयारी गरेको सुनाएकी थिइन् ।

यसको बावजुद पनि नेपाली टीमलाई एसिया कपमा जीतको खडेरी तोड्न सजिलो हुनेछैन । ब्याटिङ, बलिङ र फिल्डिङको समन्वय हुन सक्यो भने मात्र नेपालका लागि जीतको अवसर बन्नेछ । एउटामात्रै जीत निकाल्न सके पनि नेपालका लागि ऐतिहासिक हुनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *