एआई, साइबर सुरक्षा र ब्लकचेन समेटेर नेपालमा भित्रियो आईबीएम विद्यालय कार्यक्रम – Nepal Press

एआई, साइबर सुरक्षा र ब्लकचेन समेटेर नेपालमा भित्रियो आईबीएम विद्यालय कार्यक्रम

विद्यार्थी आफैं उद्यमी बन्न सक्ने

काठमाडौं । एआई, साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा क्षेत्रहरु समेटेर आईबीएमको विद्यालय कार्यक्रमलाई नेपालमा भित्र्याइएको छ ।

विश्वव्यापी रुपमा प्रविधिमा नेतृत्व गरिरहेको आईबीएम कम्पनीले आर्टिफिसियल इन्टेलिजेन्स(मेशिन लर्निङ), साइबर सुरक्षा र ब्लकचेन गरी तीनवटा नवीनतम सूचना प्रविधिका क्षेत्रहरु समेटेर विद्यालय कार्यक्रमलाई नेपल भित्र्याइएको हो ।

आइबिएमको विद्यालय कार्यक्रम नेपाल लगायत दक्षिण एसियामै पहिलोपटक सुरु गरिएको हो । उक्त कार्यक्रममा ४० देखि ६० घण्टाका विभिन्न सात वटा कोर्सहरु समावेश रहेको एसियन इ–लर्निङका प्रबन्ध निर्देशक सुबोध त्रिपाठीले बताए ।

त्रिपाठीले भने, ‘भारतको चर्चित शिक्षा(प्रविधि कम्पनी ट्रान्सन्यूरनसँगको सहकार्यमा एसियन इ-लर्निङले कक्षा ५ देखि १२ कक्षाका विद्यार्थीहरुका लागि तयार गरिएको आइबिएमको यो कार्यक्रम नेपालमा पनि ल्याइएको हो । यसबाट विद्यार्थीहरु आफै उद्यमी समेत बन्न सक्नेछन् । अत्याधुनिक तथा समय सापेक्ष कोर्सको डिजाइन तथा निर्माण गरेको आइबिएम प्रविधि कम्पनीहरु मध्य सवैभन्दा बढी (एक लाख २२ हजार भन्दा बढी) यूएस पेटेन्ट आफ्नो नाममा दर्ता गरेको कम्पनी हो । विश्वप्रसिद्ध टेक कम्पनीको कार्यक्रम नेपालमा ल्याउन पाउनु हाम्रो लागि गौरवको कुरा हो । अहिले सुचना प्रविधिको व्यापक विकाससँगै यसका चुनौतहरु पनि देखापरेका छन् । हामीले हाम्रा बालबालिकालाई यो चुनौतीको सामना गर्न सक्ने बनाउन पनि आइबिएमको यो कार्यक्रम आवश्यक महसुस भयो । अर्को कुरा, आजका विद्यार्थीले भोलि गएर जुनसुकै क्षेत्रमा काम गरेपनि आइटीको नविनतम प्रविधिहरुको ज्ञान बिना दक्षता हासिल गर्न सम्भव छैन। त्यसका लागि पनि आइबिएमको यो कोर्ष लिनु आवश्यक छ । अझ भविश्यमा गएर आइटी क्षेत्रमै करिअर बनाउँछु भन्नेको लागि त यो कोर्ष वरदान सरह नै छ ।’

‘आइबिएमको यो कार्यक्रम अन्तर्गत तीन चरणका कोर्षहरु राखिएका छन् । पहिलो एक्सप्लोरर, दोश्रो डिस्कभरर र तेश्रो इनोभेटर । एक्सप्लोररको नारा मै ‘प्रविधिलाई माया गर्नुहोस’ भनिएको छ । त्यसका अलावा कुनै पनि कोर्ष सफलतापूर्वक सम्पन्न गरे पश्चात विद्यार्थीले विश्वका सबै ठाउँमा मान्यता पाउने आइबिएमको ग्लोबल सर्टिफिकेट पनि पाउनेछन्’, त्रिपाठीले भने ।

भारतको टेक–एडु कम्पनी ट्रान्सन्यूरन टेक्नोलोजिजले आइबिएमको यो कार्यक्रमलाई आफ्नो सिकाइ व्यवस्थापन प्रणालीमा राखेर प्रवर्द्धन गरिरहेको छ ।

ट्रान्सन्यूरनले आफ्नो सिकाइ व्यवस्थापन प्रणाली मार्फत ३ करोड भन्दा बढि प्रयोगकर्ताहरु १ लाख भन्दा बढी तालिम केंद्रहरु तथा ५० हजार भन्दा बढी रोजगारदाता कम्पनीहरुलाई व्यवस्थापन गरिरहेको ट्रान्सन्यूरनका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत शिबम शर्माले बताए ।

ट्रान्सन्यूरनका संस्थापक शिबम शर्माले भारत, नेपाल जस्ता विकासशील देशमा रहेको सीप र श्रमबजार बिचको खाडल पुर्न यस्ता कार्यक्रमहरु अत्यावश्यक रहेको बताए ।

‘कम स्रोत र समयमै ठूलो जनसंख्यालाई तालिम प्रदान गर्न प्रविधिको प्रयोगबाट मात्र सम्भव हुने भएकाले अनलाइन र अफलाइनको हाइब्रिड मोडल प्रयोगमा ल्याएका छौं । साथै हाम्रो सिकाई व्यवस्थापन प्रणाली मार्फत स्कुल, विद्यार्थी, शिक्षक र अभिभावकले छोटो अभिमुखिकरण पश्चातनै शैक्षिक गतिबिधि संचालन गर्न सक्छन्’, शर्माले भने, ‘हाम्रो सिकाइ प्रणालीमा प्रत्येक स्कुलले आफ्नो शैक्षिक क्यालेण्डर अनुसार आइबिएमका कोर्सहरुको तालिका निर्माण गर्ने सक्ने हुनाले थप स्रोतको व्यवस्था नगरिकनै उपलब्ध शिक्षक तथा ल्याब मार्फतनै पढाउन सक्छन् ।’

‘आइबिएमको यो विश्वस्तरको कार्यक्रम नेपालमा ल्याएको एसियन इ–लर्निङले यी कोर्षहरु प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्यमा देशमा सामुदायिक विद्यालयहरुमा समेत पुर्याउने लक्ष्य लिएको छ । हामीले कम्प्युटर ल्याब र कम्प्युटर शिक्षक भएका सामुदायिक स्कुल र प्लस टुका ५ हजार विद्यार्थीलाई प्रदेश तथा स्थानिय सरकारसँगको सहकार्यमा यो कार्षहरु उपलब्ध गराउने प्रस्ताव गरेका छौं’, प्रबन्ध निर्देशक त्रिपाठीले भने ।

आइबिएम विद्यालय कार्यक्रम नेपालका सल्लाकार डा. सुभाष प्याकुरेलले स्कुलका बालबालिकालाई एकदमै उपयुक्त कार्यक्रम नेपालमा भित्रिएको बताए ।

‘सही समयमा सही प्रकृतिको कार्यक्रम भित्रिएको छ । जसबाट नेपाल र नेपालीहरुले विश्वबजारको बौद्धिक वृत्तमा प्रवेश गरी देशको अर्थतन्त्रलाई टेवा पुर्याउन सक्नेछन’, प्याकुरलले भने ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर