कांग्रेस-एमाले सहकार्यको विगत र ओली सरकारको सफलता
नेकपा एमालेका अध्यक्ष केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त भएका छन् । हुन त यो तेस्रो भए पनि प्राविधिक रुपमा चौथो कार्यकाल मानिन्छ । केपी ओली यति छिट्टै यो किसिमले प्रधानमन्त्री बन्छन् भनेर धेरैले सोचेका थिएनन् । प्रतिपक्षमा हुँदा पनि अदालत, मिडियादेखि स्वघोषित अधिकारकर्मीहरुको निरन्तर खेदाइ, अघिल्लो चुनावमा भएको गठबन्धनपश्चात पनि चुनावमा समानुपातिकमा पहिलो तथा सीट संख्याका आधारमा कांग्रेस जतिकै हैसियतको दोस्रो दलको रुपमा स्थापित गराएर आफू र एमाले कमजोर नभएको प्रस्ट संकेत दिएका ओलीले निर्वाचनपश्चात सरकार बनाउँदा होस् या त्यसपछि पुष्पकमल दाहालको धोकाधडीपूर्वक राजनीतिपछि प्रतिपक्षमा बस्दा होस्, आफ्नो राजनैतिक सक्रियतालाई अहिले नयाँ भनिएका दलहरुलाई झस्काउने गरी जारी राखे । मध्य पहाडी राजमार्गको यात्रामा उनले देखाएको सक्रियताले पूरा देशलाई नै अचम्ममा पारेको थियो ।
नेपाली राजनीतिमा केपी ओली अहिले सर्वमान्य नेता रुपमा परिचित छन् । उनै ओलीको पछिल्लो सत्ता यात्रापछि विभिन्न अड्कलबाजी भैरहेका छन् । दोस्रो पटक प्रधानमन्त्री हुँदा रहेको अपार जनसमर्थन अहिले नरहेको भन्ने विभिन्न भाष्यहरु पनि निर्माण गर्न खोजिँदैछ, तर तथ्यगत विश्लेषण गर्ने हो भने प्रधानमन्त्री ओली आफ्नै पार्टीको बहुमतको सरकारको बेलाभन्दा अहिले सुविधाजनक अवस्थामा छन् । अघिल्लो पटक भन्नलाई दुई तिहाइ नजिकको सरकार भने पनि निकै सकसपूर्ण थियो । नाकाबन्दी र भूकम्पले थिलथिलो भएको अर्थतन्त्रलाई त्राण दिनुपर्ने त छँदै थियो, नाकाबन्दी गर्ने दक्षिणी छिमेकी इगो साँधेर बसेको अवस्था थियो । विभिन्न शक्ति केन्द्रहरुको निरन्तर चलखेल एमसीसी र बीआरआईको नाममा देशमा वैदेशिक शक्ति केन्द्रहरुको स्वार्थको टकराव उस्तै थियो । यीबाहेक ओलीले सबैभन्दा ठूलो चुनौती आफ्नै दलभित्रबाट खेप्नु परेको थियो ।
प्रचण्ड जस्तो महत्वाकांक्षी र अस्थिर नेतालाई पार्टीमा भित्र्याएसँगै पार्टीभित्र अर्को ध्रुवीकरण सुरु भएको थियो । केपी ओलीले पाइरहेको अपार जनसमर्थनबाट ईर्ष्याले कुण्ठित हुँदै बसेका माधव-झलनाथ समूह मौका कुरेर बसिरहेको थियो, त्यसमा अति अवसरवादी तथा क्षणिक सोचाइका नेता भनेर चिनिने वामदेव पनि थपिएका थिए । प्रचण्डसँग मिलेर ओलीलाई कमजोर पार्न र सरकारलाई असफल बनाउन त्यो समूहले कुनै कसर बाँकी राखेन । आफूहरुको प्राविधिक बहुमत रहेको सचिवालयमा सरकारको निर्णय अनुमोदन गराउनुपर्ने जस्तो असंवैधानिक र असंसदीय निर्णय लादेर प्रधानमन्त्रीको हातखुट्टा बाँध्ने कोसिस भयो । यो समूहले ओलीलाई कर्नर गर्न हदसम्म कोसिस जारी राख्यो । मिडिया र अदालतदेखि विभिन्न स्वार्थ समूह, राजनैतिक नियुक्ति नपाएकोमा कुण्ठित जमातले ओलीविरुद्ध निरन्तर प्रहार गरिरह्यो । हरेक दिन जस्तो आफ्नै पार्टीभित्रका असन्तुष्टि मिलाउन बैठक गर्नुपर्ने अवस्था निकै टिठलाग्दो थियो ।
दोस्रो पटक प्रधानमन्त्री हुँदा रहेको अपार जनसमर्थन अहिले नरहेको भन्ने विभिन्न भाष्यहरु पनि निर्माण गर्न खोजिँदैछ, तर तथ्यगत विश्लेषण गर्ने हो भने प्रधानमन्त्री ओली आफ्नै पार्टीको बहुमतको सरकारको बेलाभन्दा अहिले सुविधाजनक अवस्थामा छन् ।
त्यो समय ओली क्याबिनेटका एक सदस्यको भनाइअनुसार प्रचण्ड विभिन्न राजनैतिक विचौलिया, व्यापारी र स्वार्थ समूहको माग लिएर बिहान बेलुकी नै बालुवाटार पुग्ने गर्थे । एक पटक प्रचण्ड एक व्यापारीलाई लिएर बालुवाटार पुगेका रहेछन्, प्रधानमन्त्री अगाडि राखेर ती व्यापारीको काम गराइदिन ती सदस्य र प्रमलाई दबाब दिएछन् । त्यसबखत निकै नोकझोक हुँदा कुरा राजीनामासम्म पुगेछ । पछि प्रधानमन्त्री ओली आफैंले फोन गरेर गलत काम नगर्न र आफ्नो काममा लाग्न भनेपछि आफूले लेखेको राजीनामा च्यातेर फालेको कुरा उनले बताएका थिए ।
हरेक दिन जस्तो बिहानबेलुकै पार्टीभित्रको गुनासो र असन्तुष्टि मिलाउन समय दिनु परेको कुरालाइ इंगित गर्दै प्रधानमन्त्री ओलीले भनेको एक भनाइले त्यतिखेर खुब चर्चा पाएको थियो— ‘बिहान एकतिर सिलाएर पठायो, फेरि बेलुकी अर्कोतिर फटाएर आइपुग्छन् । फेरि बेलुकी त्यता सिलाएर पठायो, अर्कोतिर फटाएर आउँछन् ।’ स्वर्गीय अरुणा लामाको गीत जस्तै ‘केले सिउने, केले टाल्ने हो’ भन्ने अवस्थामा ओली त्यतिखेर पुगेका थिए । संसदीय दलमा प्रस्ट बहुमतमा रहेका ओलीलाई त्यहाँ चुनौती दिन नसक्ने भएपछि प्रचण्ड-माधव समूहले मिडिया प्रयोग गरी निरन्तर प्रहार गरे । ओली निकट एक नेताको भनाइअनुसार एक जना राजदूत नियुक्ति गर्न भन्दै माधव नेपालले ३ जनाको नाम प्रस्ताव गरेछन् । ती तीन जनामध्ये तेस्रो नम्बरमा प्रस्ताव गरिएका व्यक्ति उपयुक्त देखेर नियुक्ति दिएछन् । आफैंले नाम दिएको व्यक्ति नियुक्त गर्दासमेत आफ्नो अपमान भएको, आफूलाई हेपेको भन्दै माधव नेपालले पार्टीमा खुब बबण्डर गरेछन् ।
यी यस्ता व्यक्तिहरुलाई लिएर सरकार चलाउनु भनेको फलामको चिउरा चपाउनुसरह थियो । प्रतिकूलताको बावजुद पनि केपी ओलीको ३ वर्षे कार्यकाल नेपालको भौतिक निर्माणको क्षेत्रमा स्वर्णिम युग थियो भन्दा फरक नपर्ला । वार्षिक ४ हजार ५०० किलोमिटर पक्की सडक बन्ने गर्थ्यो भने हरेक ३ दिनमा एउटा पक्की पुल निर्माण भएको थियो । सुत्केरी, अशक्त तथा सडक मानवहरुको सहयोगमा निकै काम भए । सयौं तुइनलाई झोलुङे पुलले विस्थापित गरे । तथापी केही विस्थापित हुन नसकेका तुइन देखाएर अहिले पनि केही मानिस ओलीको आलोचना गर्ने गर्छन् । अन्य सरकारले कहिल्यै प्राथमिकतामै नपारेको कार्यलाई उनले प्राथमिकता दिएर सयौं तुइन विस्थापन गर्दा पनि उनैले यसैको निहुँमा गाली खानुपर्ने अचम्मको भाष्य यहाँ निर्माण भएका छन् ।
भोलि यी दुई दलको सरकार असफल हुँदा कुन अवस्था आउँछ ? सबैले बुझेका छन् । इतिहास साक्षी छ, जब यी दुई दल मिलेका छन्, यो देशले स्थायित्व पाएको छ । जब यी दुई दलबीच फाटो आएको छ, त्यसको मूल्य देशले चुकाउनुपरेको छ ।
नेपाली जनताको ओली सरकारप्रतिको आशा निकै ठूलो थियो । हो, जनताले आशा गरेअनुरुप उक्त सरकारले डेलिभरी दिन सकेन, तर यावत प्रतिकूलताको बाबजुद जति काम भए, ती निकै उत्साहप्रद थिए । यस पटक प्रधानमन्त्री ओली अघिल्लो पटकभन्दा केही सुविधाजनक अवस्थामा छन् । नेकपा एमाले र नेपाली कांग्रेसबीचको यो सत्ता गठबन्धन निकै विषम परिस्थितिमा आएर भएको छ । अब अरु कसैलाई दोष दिएर पन्छिने छुट यी दुई दललाई छैन । हिजो जस्तो पार्टीभित्र चुनौती सामना गर्नुपर्ने अवस्था प्रधानमन्त्री ओलीलाई छैन । अहिले समाजमा देखिरहेको लोकप्रियतावादी शक्तितिरको आकर्षणले गर्दा पनि काम नगरी नहुने दबाबमा एमाले-कांग्रेस छन् । भोलि यो सरकार असफल भएमा यी दुई दलले नै बराबर जिम्मेवारी लिनुपर्ने अवस्था छ । अब ओली या एमालेमात्र असफल हुने हो भनेर कांग्रेसले असहयोग गर्दा भोलि यी दुई दलकै अस्तित्व संकटमा आउनेछ ।
अहिले पनि विभिन्न विकृतिविसंगति देख्नेवित्तिकै एमाले-कांग्रेस भनेर सोलोडोलोमा नै दोषारोपण गर्ने प्रवृत्ति छ । भोलि यी दुई दलको सरकार असफल हुँदा कुन अवस्था आउँछ ? सबैले बुझेका छन् । इतिहास साक्षी छ, जब यी दुई दल मिलेका छन्, यो देशले स्थायित्व पाएको छ । जब यी दुई दलबीच फाटो आएको छ, त्यसको मूल्य देशले चुकाउनुपरेको छ । २०४६ सालमा बहुदलीय व्यवस्था कांग्रेस र एमाले (तत्कालीन वाममोर्चा) सहकार्यले गर्दा आएको थियो, तर प्रजातन्त्र स्थापनापश्चात यी दुई दलबीच फाटो आउँदा र सत्ताको लागि राप्रपा जस्तो शक्तिलाई पालैपालो ढाल बनाउँदा देश अस्थिरताको भूमरीमा फस्न पुग्यो भने यी दुई दलबीचको सत्ताको झगडाले माओवादीको हिंसात्मक आन्दोलनलाई फाइदा पुग्न गयो । यो दुई दलबीचको तिक्तताको फाइदा उठाउँदै राजा ज्ञानेन्द्रले लोकतन्त्रको घाँटी निमोठे । देश अर्को द्वन्द्वको चक्रमा फस्यो ।
कांग्रेस-एमालेको मेल हुँदा पुनः लोकतन्त्र प्राप्तिदेखि द्वन्द्वबाट समेत देशले निकास पायो । संविधानसभा चुनाव होस् या संविधान जारी गर्दा होस्, यी दुई दलको सहकार्य महत्वपूर्ण रह्यो । त्यसैले जब यी दुई दलले सहकार्य गरेका छन्, तब देशले निकास पाएको छ । यस पटक धर्मराएको अर्थतन्त्र सुधार्न, देशमा देखिएको अव्यवस्था, विकास निर्माणमा देखिइएको ढिलासुस्ती चिर्न, पछिल्लो समय समाजमा देखिएको पुराना दलहरुप्रतिको वितृष्णा मेट्न तथा प्रधानमन्त्री ओलीमा देखिएको विकास र समृद्धिको भोक मेट्न यस पटक ओली सरकारलाई सफल बनाउनुको विकल्प कांग्रेस-एमालेसँग छैन । अहिले यी दुई दल गर कि मरको अवस्थामा छन् । अब ओली सरकार असफल हुँदा कांग्रेस-एमालेमात्रै नभएर अहिलेको व्यवस्था नै संकटमा पर्नसक्ने देखिन्छ । यसैले कांग्रेस पनि यो सरकार असफल बनाउने खेलमा लाग्ने सम्भावना कम देखिन्छ । यी यावत कारणहरुले गर्दा प्रधानमन्त्री ओली यस पटक पहिलेभन्दा सुविधाजनक अवस्थामा छन् र प्रधानमन्त्री ओली नेतृत्वको यो सरकारले नयाँ उचाइ प्राप्त गर्दै नवीन सुरुवात गर्ने उच्च सम्भावना देखिन्छ ।