रेशम-रन्जिता घर कलह क्लाइमेक्समा, केन्द्रदेखि प्रदेशसम्म दलको नेतामाथि ‘कू’ – Nepal Press

रेशम-रन्जिता घर कलह क्लाइमेक्समा, केन्द्रदेखि प्रदेशसम्म दलको नेतामाथि ‘कू’

कैलाली । नागरिक उन्मुक्ति पार्टी नाउपामा अध्यक्ष रन्जिता श्रेष्ठ र नेता रेशम चौधरीबीच शक्ति सङ्घर्ष चुलिँदा त्यसको बाछिटा प्रदेशहरूमा पनि पुगेको छ ।

असार १६ गते अध्यक्ष रन्जिता श्रेष्ठलाई प्रतिनिधि सभा संसदीय दलको नेताबाट बहुमत सांसदहरूले हटाएका थिए । केन्द्रमा नाउपाका चार सांसद छन् । रन्जितालाई दलको नेताबाट हटाउने निर्णयमा रन्जिता बाहेकका अन्य तीन सांसद गङ्गा चौधरी, अरुण चौधरी र लालवीर चौधरीले हस्ताक्षर गरेका छन् ।

गङ्गा सुरुबाटै रेशम पक्षमा थिए भने अरुण रन्जिता पक्षमा थिए । लालवीर रेशमका बुवा तथा रन्जिताका ससुरा हुन् । प्रचण्डलाई अघिल्लो पटक विश्वासको मत लिँदा लालवीर र अरुण रन्जिताको पक्षमा उभिएर विश्वासको मत दिएका थिए भने गङ्गा विश्वासको मत दिने बेला सांसदमै उपस्थित भएनन् ।

रन्जिता दलको नेता हुँदा उनी प्रमुख सचेतक थिए । तर, असार १६ पछि बहुमत सांसदहरूले रन्जितालाई हटाउँदै प्रमुख सचेतक रहेका गगांलाई दलको नेता बनाए भने लालवीर चौधरीलाई प्रमुख सचेतकको जिम्मेवारी दिएका थिए ।

यता केन्द्रमा रन्जितालाई दलको नेताबाट हटाए लगत्तै सुदूरपश्चिम प्रदेशमा रन्जिता निकटका सांसदहरूले रेशम निकटका संसदीय दलका नेतालाई बहुमतबाटै हटाए । यहाँ ७ सांसद छन् । पूर्व मुख्यमन्त्री कमल बहादुर शाहको सरकार रहँदा सम्म सुदूरपश्चिममा रेशम पक्षमा पाँच जना र रन्जिता पक्षमा दुई जना सांसद रहेका थिए ।

तर, त्यसपछि रेशम पक्षमा रहेका खुसीराम चौधरी पनि रन्जिता पक्षमा उभिएपछि चार- तीनको अङ्कगणित पुगेको थियो । असार २९ गते लक्ष्मण किशोर चौधरीलाई पनि लिएर रन्जिता पक्षले रेशम पक्षका संसदीय दलका नेता घनश्याम चौधरीलाई हटाए । उक्त जिम्मेवारी खुसीराम चौधरीलाई दिइयो ।

त्यस्तै उपनेतामा रन्जिता पक्षका कैलाश चौधरी र प्रमुख सचेतकमा रन्जिता पक्षकै टिका थापालाई नियुक्त गर्ने निर्णय गरिएको छ । २९ गते काठमाडौँमा बसेको बहुमत सांसदहरूको निर्णयले यस्तो निर्णय गरेको हो ।

उक्त निर्णयमा सात जना मध्ये खुसीराम चौधरी, कैलाश चौधरी, टिका थापा र लक्ष्मण किशोर चौधरीले हस्ताक्षर गरेका छन् भने, घनश्याम चौधरी, रामेश्वर चौधरी र इन्दिरा गिरीले हस्ताक्षर गरेका छैनन् ।

आफूहरूलाई जानकारी नै नदिएर बैठक बसेर बहुमतले आफूलाई हटाएको घनश्याम चौधरीले बताए । ‘बैठकबारे हामी तीन जनालाई खबर गरिएन । उहाँहरूले बहुमत पुर्‍याउनु भयो र हामीलाई हटाउनुभयो ’ उनले भने ‘मैले पनि आफै हटेको कुरा समाचारबाटै थाहा पाए ।’

लक्ष्मण किशोर चौधरी लामो समयदेखि काठमाडौँमा उपचाररत छन् । तीन- तीन जना सांसद दुबैतिर हुँदा उनी निर्णायक थिए । लक्ष्मणकिशोर चौधरीकै जन्मदिनको दिन घनश्याम चौधरीलाई दलको नेताबाट हटाउने निर्णय गरिएको थियो । पार्टी बनाउने कुरा दिएर आएको हुँदा आफूले दलको नेता फेर्ने निर्णयमा हस्ताक्षर गरेको उनले बताए ।

‘एउटा रेशमको मान्छे अर्को रन्जिताको मान्छे भनेर कुरा हुन थाल्यो अनि हामीले पार्टीको मान्छे कहिले बनाउने त ’ उनले भने, ‘सबैलाई मिलाएर लैजानु पर्छ भनेर हामीले दलको नेता फेरेका हौँ । उहाँले पनि पहिलेको जस्तै गर्नू भयो भने फेरि हामी सोच्न बाध्य हुन्छौँ ।’

रेशम चौधरी र रन्जिता श्रेष्ठको शक्ति सङ्घर्ष उत्कर्षमा हुँदा सुदूरपश्चिममा दुवैले आफू निकटकालाई दलको नेता बनाएका थिए । घनश्याम चौधरी बहुमत सांसदबाट दलको नेता थिए भने रन्जिता चौधरीले दलको नेता नियुक्त गरेका कैलाश चौधरीसँग त्यो बेला बहुमत थिएन । तर, अहिले रेशमपक्षका घनश्याम भन्दा रन्जिता पक्षका कैलाशसँग बहुमत देखिएको छ । २९ गतेको बैठकले कैलाशलाई उपनेताको जिम्मेवारीमा ल्याउने निर्णय गरेको छ ।

यसअघि पनि नाउपामा दलको नेता फेरिएका थिए । सबैभन्दा पहिले दलको नेता रहेका रामेश्वर चौधरीलाई मन्त्री बनाउने भन्दै उनलाई हटाउँदै घनश्याम चौधरीलाई उक्त जिम्मेवारी दिइएको थियो । अहिले केन्द्रमा रन्जितालाई हटाएको दुई साता नपुग्दै प्रदेशमा घनश्याम चौधरी पनि हटेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर