राष्ट्रिय सभा गृह परिसर जलमग्न (भिडिओ)
काठमाडौं ।जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिम मुक्त बनाउने स्थानीय सरकार काठमाडौं महानगरपालिका आफैँ डुवानमा परेको छ ।
बुधवार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो । राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ । बुधवार राति भएको वर्षाका कारण सभागृह डुवानमा परेको छ ।
सभागृहभित्र सञ्चालित राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफ।एम, नगर प्रहरी सुरक्षा कक्ष पनि डुवानमा परेको हो ।
केही दिनअघि परेको वर्षाका कारण काठमाडौंको वागमती, विष्णुमती तथा धोविखोला आसपासका क्षेत्र डुबानमा परेका थिए ।
त्यसबेला मेयर बालेन्द्र साहले एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए। सोही दिन उनको कार्यालय सभागृह पनि डुबेको थियो तर त्यसबारे कुनै सोधखोज भने गरिएन ।
काठमाडौं महानगरपालिकाका प्रमुृख प्रशासकीय अधिकृत प्रदीप परियारको नेतृत्वको टोलीले डुबानको अनुगमन पनि गर्यो । तर काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख एवं प्रशासकीय अधिकृतको कार्यालय रहेको सभागृह डुबानमा पर्दा भने न अनुनगमन भयो न जोखिममुक्त गराउन नगर प्रहरी नै खटियो ।
हरेक वर्षा याममा घण्टाघर, रन्तपार्कदेखिको पानीको भेल प्रदर्शनीको नाला हुँदै टुकुचा खोलामा जाने गर्दथ्यो । तर यो वर्ष सभागृहको गेटदेखि टुकुचासम्मको पैदलमार्ग करोडौ खर्च गरेर फराकिलो बनाउने क्रममा नाला बिस्थापित गरी ह्युम पाईप बिछ्याएका कारण ठूलो भेल सभागृहभित्र प्रवेश गर्ने गरेको छ ।
त्यस्तै सभागृहको पानी निकासको ढल पुलिस क्लव तर्फबाट टुकुचासम्म लगिएको थियो । अहिले महानगर आफैँले सभागृह पुनःनिर्माणका गर्दैगर्दा पश्चिम तर्फको ढलको मंगलको निर्माण गरेको तर निकास नबनाएका कारण सभागृह डुवानमा परेको हो ।
सभागृह डुवानमा परेपछि मेयर बालेन्द्र साह तथा उपमेयर सुनिता डंगोल सभागृहमा रहेको कार्यालय आएका छैनन् । मेट्रो रेडियो प्रशारण समेत प्रभावित बनेको छ । त्यस्तै राष्ट्रिय परिचय पत्र बनाउन आउने सेवाग्राही विहानैदेखि डुवानमै लाईन बसिरहेको देख्न सकिन्छ ।