महेश बर्तौलाको राजनीतिक छलाङ: एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी – Nepal Press

महेश बर्तौलाको राजनीतिक छलाङ: एकपछि अर्को महत्वपूर्ण जिम्मेवारी

हेटौंडा । चौथो पटक प्रधानमन्त्रीको सपथ लिएको दोश्रो दिन प्रधानमन्त्री केपी शर्मा ओलीले मकवानपुर क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित महेशकुमार बर्तौलालाई अर्को महत्वपूर्ण जिम्मेवारी हस्तान्तरण गरे ।

प्रधानमन्त्री ओलीले बर्तौलालाई सत्तारुढ दलबाट मुख्य सचेतक नियुक्त गरेपछि उनको राजनीतिक उचाईमा थप एउटा इँटा थपिएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा तत्कालीन काङ्ग्रेस– माओवादी– एकीकृत समाजवादी गठवन्धनका नेता विरोध खतिवडालाई पराजित गर्दै ३९ वर्षको उमेरमा पहिलो पटक संघिय संसदमा प्रवेश गरेका बर्तौलालाई प्रतिनिधिसभा प्रवेश गर्नासाथ एमालेले महत्वपूर्ण तथा गहन जिम्मेवारी दिएको थियो ।

पहिलो पटक संघीय संसद प्रवेश गर्नासाथ संघीय संसद नियमावली लेखनको जिम्मेवारी प्राप्त गरेका बर्तौलालाई त्यसपछि एमाले संसदीय दलले सचेतकको जिम्मेवारी प्रदान गरिएको थियो ।

तर फागुन २१ मा एमाले- माओवादी गठबन्धनको पछि सरकार निर्माण भएपछि तत्कालीन एमाले प्रमुख सचेतक पदम गिरी क्याविनेटमा सहभागी भएलगतै उनलाई एक तह बढुवा गर्दै संसदीय दलका नेता ओलीले उनलाई एमाले मुख्य सचेतकको जिम्मेवारी दिए ।

संसदीय क्षेत्रमा देशको दोश्रो ठूलो पार्टीको हैसियत भएको एमालेको तर्फबाट मुख्य सचेतक भएपछि बर्तौलाको चर्चा देशभर चुलियो ।
त्यसयता एमाले अध्यक्ष समेत रहेका ओलीको विश्वासपात्रको रुपमा निरन्तर देखिएका बर्तौलालाई अध्यक्ष ओलीले एकपछि अर्को महत्त्वपूर्ण जिम्मेवारी दिँदै आए ।

राष्ट्रपति निर्वाचनको समयमा एमालेले उम्मेदवार बनाएको राष्ट्रपति उम्मेदवार स्वर्गीय सुवासचन्द्र नेम्वाङको निकट रहेर काम गरेका बर्तौलाले पार्टीले दिएको जिम्मेवारीलाई बखुवी निभाएको कारण उनलाई टिआरसी विधेयकको विषयमा बनेको समितिमा एमालेको तर्फबाट सदस्य रहेर काम गर्ने मौका पाए ।

हाल सरकारको गृहमन्त्री रमेश लेखक र पूर्व गृहमन्त्री तथा माओवादी नेता जनार्दन शर्मा रहेको कार्यदलमा बर्तौला एमालेको तर्फबाट सदस्य छ्न् ।

अध्यक्ष ओलीको दुतको भुमिकामा उनले महत्त्वपूर्ण निर्णय र अवसरहरुमा सत्तारुढ दल तथा प्रतिपक्षी दलमा रहदा पार्टी अध्यक्षको मत जितिरहे । परिणाम स्वरुप प्रधानमन्त्री नियुक्तिपछि उनलाई अध्यक्ष ओलीले अर्को महत्वपूर्ण भूमिकाको लागि छनोट गरेका छ्न् ।

एमालेले युवालाई अब तयार रहनु भन्ने सन्देश दिएको छ: बर्तौला

पार्टीको निरन्तरको महत्वपूर्ण जिम्मेवारीको विषयमा नेपालप्रेससँग कुरा गर्दै बर्तौलाले एमालेले युवालाई जिम्मेवारी दिँदै अबको नेतृत्वमा लाउँदैछ भन्ने सन्देश नयाँ पुस्तालाई दिएको बताए ।

आफू भन्दा निकै अनुभवी तथा संसदीय अभ्यास भएका माननीयहरु एमालेमा हुँदाहुँदै पनि युवा पुस्तालाई पार्टी र संसदीय फाटमा पार्टीले विश्वास गरेको बताउँदै यस्को श्रेय पार्टी अध्यक्ष र एमाले संसदीय दललाई जाने उनले बताए ।

उनले भने,‘हाम्रो पार्टीलेअब युवा पुस्ताको सहभागितामा पार्टी र संसदीय राजनीति अघि बढ्नुपर्छ भन्ने स्पष्ट सन्देश दिएको छ, यो देशको हरेक पार्टी र क्षेत्रले अनुशरण गर्नुपर्ने हुन्छ ।’

उनले आफूलाई पार्टी अध्यक्ष, सिङ्गो एमाले पार्टीले दिएको जिम्मेवारी निकै महत्त्वपूर्ण रहेको भन्दै उक्त जिम्मेवारीलाई अति गम्भीरतापुर्वक निभाउने बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर