मन्त्रीको स्टन्ट कि सुरक्षा अंगका प्रमुखहरूको चाकडी ? – Nepal Press

मन्त्रीको स्टन्ट कि सुरक्षा अंगका प्रमुखहरूको चाकडी ?

प्रहरी महानिरीक्षक कुँवर भन्छन्- बधाई दिन गएका हौँ, ब्रिफिङ गरेका होइनौँ

काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले बुधबार तीन सुरक्षा निकायका प्रमुखहरूसँग सामूहिक भेटको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गरे । त्यसमा उनले निजहरूसँग सुरक्षा अवस्थाबारे जानकारी लिएको उल्लेख गरेका छन् ।

एउटा तस्बिरमा नेपाल प्रहरीका आईजीपी वसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी प्रमुख राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख हुतराज थापा नवनियुक्त मन्त्री सिंहसँग उनको कार्यकक्षमा बसेर छलफल गरिरहेको देखिन्छ । अन्य तस्बिरमा तीनैजनाले फुलगुच्छासहित बधाई ज्ञापन गरेका छन् ।

स्मरणीय छ कि मन्त्री सिंह सुरक्षा अंगका प्रमुखहरूका तालुकदार मन्त्री होइनन् । सरकार परिवर्तनपछि नयाँ बन्ने गृहमन्त्रीसँग सुरक्षा निकाय प्रमुखहरूले भेट्ने र ब्रिफ्रिङ गर्ने सामान्य हो । तर, असम्बन्धित मन्त्रीलाई भेटेर सुरक्षा ब्रिफिङ गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।

यस विषयमा नेपाल प्रेससँग कुरा गर्दै प्रहरी महानिरीक्षक वसन्त कुँवरले आफूहरू बधाई दिनका लागि मात्र गएको बताए ।

उनले भने, ‘हामीले सुरक्षा ब्रिफिङ गरेका होइनौँ, बधाई दिएर फर्केका हौँ । मन्त्रीज्यूले तस्बिर फेसबुकमा राख्नुभयो, त्यो उहाँको महानता हो ।’

कुँवरका अनुसार सिंहभन्दा अगाडि अर्का अर्थमन्त्री विष्णु पौडेललाई पनि उनीहरूले संयुक्तरुपमा भेटेर बधाई दिएका थिए ।

मन्त्रीपिच्छे भेटेर बधाई दिन आवश्यक हुन्छ ? भन्ने प्रश्नमा कुँवरले भने, ‘सबैलाई भेटेको होइन, उपप्रधानमन्त्रीज्यूहरुलाई मात्रै हो ।’

तीनैजना एकै पटक गएकोबारे उनले प्रष्ट्याए, ‘पछिल्लो समय हामीले यो बानी बसाएका छौँ कि जहाँ जाँदा पनि तीनैजना सँगै जाने । यसबाट आपसी सम्बन्ध र सहकार्य पनि गाढा हुन्छ । अर्थमन्त्रीज्यूलाई पनि सँगै भटेका हौँ ।’

यद्यपि, यसरी सुरक्षा अंगका प्रमुखहरूले एकसाथ नारिएर असम्बन्धित मन्त्रीहरूलाई बधाई दिँदै हिँड्नुलाई जानकारहरूले सहजरुपमा लिएका छैनन् ।

गृह मन्त्रालयका एक उच्च अधिकारीले नाम नखोल्ने शर्तमा यो अस्वाभाविक भएको बताए ।

उनले भने, ‘उहाँहरूको तालुकदार मन्त्री भनेको गृहमन्त्रीज्यू हुनुहुन्छ । गृहमन्त्रीज्यूसँग सबैको भेट पनि भइसकेको छ । अन्य मन्त्रीलाई फुलगुच्छा बोकेर सामूहिक भेट्दै हिँड्नु स्वाभाविक होइन । त्यसमाथि शहरी विकास मन्त्रीज्यूले ब्रिफिङ लिएको भन्ने कुरासमेत आएको छ । यो दुवै तर्फबाट भएको पदीय सीमाको उल्लंघन हो ।’

पूर्व डीआईजी हेमन्त मल्ल सिंह आफैँ विवादमा जोडिएका व्यक्तिका आफन्त भएकाले सुरक्षा प्रमुखसँगको उनको भेटघाटले चर्चा पाएको हुन सक्ने बताउँछन् ।

‘उहाँको दिदी सायद बाल मन्दिरको विवादमा जोडिनु भएको छ । त्यही भएर पनि यो भेटघाटले चर्चामा आएको हो । नत्र भने सुरक्षा निकायका प्रमुखले भेटिहाल्नुपर्ने मन्त्रालयमा यो पर्दैन,’ मल्ल भन्छन् ।

पूर्व एआईजी देवेन्द्र सुवेदी गठबन्धनको सरकार भएको र सरकारभित्र दोस्रो वरियताको मन्त्री भएकाले सिंह र सुरक्षा प्रमुखबीच भेटघाट भएको हुन सक्ने बताउँछन् ।

‘यो सबै मूल्य र मान्यताको कुरा हो । अहिले नेपालमा यी चिजहरू पाउन मुस्किल छ । प्रधानमन्त्री एमालेको भएको र आफू दोस्रो वरियताको मन्त्री भएकाले सिंह आफैँले यो कुराहरू बाहिर ल्याउन खोजेको हुन सक्छ । सुरक्षा निकायका प्रमुखले पनि गठबन्धनको सरकार भएकाले भेटेका हुन सक्छन्,’ सुवेदीले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर