अमेरिकी दूतावासलाई लेखेको ‘अशोभनीय’ पत्रले उपसभामुख विवादमा, पदीय दुरुपयोगको आरोप – Nepal Press

अमेरिकी दूतावासलाई लेखेको ‘अशोभनीय’ पत्रले उपसभामुख विवादमा, पदीय दुरुपयोगको आरोप

सचिवालय भन्छ- उपसभामुखज्यू भिसा लागेर अमेरिका जानुभयो, अरुको लागेन

काठमाडौं । उपसभामुख इन्दिरा रानाले आफ्नो पदीय मर्यादा बिर्सेर अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको छ । पत्रमा उनले आफूसहित पाँचजनालाई भिसाको अन्तर्वार्ताका लागि समय उपलब्ध गराउन आग्रह गरेकी छन् ।

सार्वजनिक भएको पत्र १७ महिना पुरानो हो । दूतावासका कन्सुलर जनरललाई सम्बोधन गर्दै सन् २०२३ को फेब्रुअरी २६ मा लेखिएको पत्रमा उपसभामुखको लेटरहेड, छाप र हस्ताक्षर रहेको छ । पत्रको भाषा हेर्दा सिकारुले लेखेजस्तो देखिन्छ ।

पत्रको व्यहोरा यस्तो छ

‘म एनजीओ c5w67 फोरममा अमेरिकाको न्यूयोर्क जान लागिरहेको छु, जुन आउँदो ६ मार्च देखि १७ मार्चसम्म आयोजना हुँदैछ ।

यहाँ म अनुरोध गर्न चाहन्छु कि कार्यक्रमको कडा तालिकाका कारण म आफ्नो टीम तथा सांसद र सहयोगीहरू सबैको एकै दिन अन्तर्वार्ताको मिति लिन चाहन्छु ।

यो कार्यक्रम सबै प्रतिनिधिहरूका लागि एकदमै महत्वपूर्ण छ, जसले महिला सशक्तीकरण विकासमा सुधार गर्न सहयोग पुग्छ । हामी अमेरिकाबाट प्राप्त निमन्त्रणको उच्च सराहना गर्छौं र यथोचित निर्णय हुने आशा गर्छौं ।’

हेर्नुहोस् पत्र

प्रतिनिधिहरूको सूची भनेर ६ जनाको नाम उल्लेख छ । पहिलो नम्बरमा उपसभामुख इन्दिरा रानाको नाम छ । त्यसपछि क्रमश उपेन्द्र गौतम, सुश्मा लामा, राजेश लामा, सुजन घर्ती मगर, धनप्रसाद गुरुङ रहेका छन् ।’

संवैधानिक परिषदको सदस्यसमेत रहने उपसभामुख राज्यको उच्च ओहदामा पर्छ । उच्चपदस्थ व्यक्तिहरूले विदेश यात्रा गर्नुपर्दा सरकारी संयन्त्रहरूले नै सबै प्रक्रियाहरू मिलाउने गर्छन् । भिसाको पहल परराष्ट्र मन्त्रालयमार्फत हुन्छ । उपसभामुखले भने सीधै आफैंले पत्र लेखेकी छन्, जुन अशोभनीय र अस्वाभाविक हो ।

उपसभामुखले आफूसँगै लान खोजेका ५ व्यक्तिहरू को हुन् भन्ने खुलेको छैन । यस विषयमा हामीले उपसभामुखका निजी सहयोगी कुमार नेपालीसँग कुरा गर्दा उनले सार्वजनिक भएको पत्र वास्तविक नै रहेको पुष्टि गरे । पत्रमा नाम उल्लेख भएकामध्ये एकजना (उपेन्द्र गौतम) मात्रै उपसभामुखको चिनजानको व्यक्ति रहेको उनको भनाइ छ ।

नेपालीले भने, ‘उपसभामुखज्यू जान लाग्नुभएको कार्यक्रममा उहाँहरुलाई पनि इन्भिटेसन आएको रहेछ । तर, आफूहरूले अन्तर्वार्ताका लागि डेट नपाएको भनेर सहयोग माग्न आउनुभयो । उहाँहरूले आग्रह गरेपछि उपसभामुखज्यूले पत्रमा हस्ताक्षर गरिदिनुभएको हो ।’

अञ्जान भनिएका व्यक्तिहरूलाई आफ्नो टीममा राख्नु, अनि अनियमित तबरबाट दूतावासलाई पत्र लेख्नुमा उपसभामुखको स्पष्ट कमजोरी र नियतमा खोट देखिन्छ । निजी सहयोगी नेपालीले भने कर्मचारीहरूको दोष देखाए ।

उनले भने, ‘त्यो पत्र सचिवालयका कर्मचारीले बनाएका हुन् । उपसभामुखज्यू नयाँ हुनुहुन्थ्यो, उहाँलाई सबै विधिविधान थाहा भएन । राम्ररी नबुझिकन कर्मचारीले बनाएको पत्रमा हस्ताक्षर गरिदिनु चाहीँ अलिकति गल्ति भयो ।’

नेपालीका अनुसार उपसभामुखको भिसा लाग्यो तर अरुको लागेन । उपसभामुख राना एक्लै अमेरिका भ्रमण गरेर फर्केको उनले बताए । भ्रमणको विषयमा सभामुख र सचिवालयलाई अग्रीम जानकारी गराएको पनि उनको भनाइ छ ।

‘उहाँ सभामुखज्यूलाई जानकारी गराएरै जानुभएको हो । अरुको चाहीँ भिसा नलागेपछि जान पाएनन्,’ उनले भने । यो प्रकरणमा कसैसँग पनि एक रुपैयाँ लेनदेन नभएको उनले दावी गरे ।

उपसभामुख राना राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्वाचित हुन् । उनी २०७९ माघ ७ गते उपसभामुख निर्वाचित भएपछि पार्टीको सदस्यता परित्याग गरेकी थिइन् । उपसभामुख भएको एक महिना पछि नै उनले अमेरिकी दूतावासलाई सो पत्र लेखेको देखिन्छ ।

यो विषय करिब तीन महिना अगाडि रास्वपामा पनि पुगेको थियो । पार्टीका तत्कालीन महामन्त्री डा. मुकुल ढकालले एकजना व्यक्ति गुनासो लिएर आएको बताए ।

‘त्यो लेटर मकहाँ आइपुगेको थियो र मैले उपसभामुखज्यूसँग बुझेको पनि थिएँ,’ ढकालले भने, ‘उहाँले पत्रमा नाम उल्लेख भएका मध्ये एकजना मात्रै चिन्छु भन्नुभयो । किन हस्ताक्षर गरेको भन्नेबारे ठोस जवाफ दिन सक्नुभएन । मैले ती मान्छेहरू कहाँ छन् भनेर गृह मन्त्रालयमा बुझ्दा उड्न नपाएको भन्ने जवाफ आयो ।’

यो विषयमा एक व्यक्ति उजुरी गर्न आएको उनले बताए । उपसभामुखको सचिवालयका एकजनाले आफ्नो मान्छेको पैसा खाइदिएको गुनासो गरेको उनको भनाइ छ ।

‘सुरुमा अलिकति एड्भान्स दिएर अरु पैसा पछि दिने भनेको रहेछ । उड्न नपाएपछि एड्भान्स दिएको पैसा फिर्ता गराइदिनुपर्यो भनेर आएको थियो । तर, पैसा दिएको भन्ने प्रमाण केही पनि थिएन । उपसभामुखज्यूलाई सोध्दा पैसाको विषय ‘थाहा छैन’ भन्नुभयो । त्यसैले मैले छानविन अगाडि बढाउन सकेको थिइनँ । पछि त्यो मान्छेले पैसा फिर्ता पाएको भन्ने अडियो मलाई प्राप्त भयो । त्यसपछि म समिक्षा यात्रामा निस्किएँ । छानविन अधुरै भयो,’ उनले भने ।

संसदको सुशासन समितिका सभापति रामहरि खतिवडाले यो निकै गम्भीर विषय भएको बताए । आफूले सभामुख देवराज घिमिरेसँग पनि यस विषयमा कुरा गरेको र अब संसदमा चर्को रूपमा उठाउने उनको भनाइ छ ।

‘उपसभामुखज्यू मानव तस्करीमा मुछिनुभएको छ, उहाँले राजीनामा दिनुपर्छ,’ उनले भने, ‘संसदीय मर्यादाविपरीतको आचरण गर्नुभएको हुँदा यो पदमा उहाँले बस्न सुहाउँदैन, ६ गते अगाडि नै राजीनामा दिएर मार्गप्रशस्त गर्दा राम्रो हुन्छ ।’


प्रतिक्रिया

One thought on “अमेरिकी दूतावासलाई लेखेको ‘अशोभनीय’ पत्रले उपसभामुख विवादमा, पदीय दुरुपयोगको आरोप

  1. सायद जान्नेलाई छान्ने भनेको यही देख्न रहेछ 😂😂😀

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर