विष्णु पाैडेलकाे ईन्ट्रीसँगै शेयर बजारमा रमझम, कति पुग्ला नेप्से ? – Nepal Press

विष्णु पाैडेलकाे ईन्ट्रीसँगै शेयर बजारमा रमझम, कति पुग्ला नेप्से ?

काठमाडौं । पछिल्ला केही दिनमा नेपालकाे शेयर बजार तीव्र गतिलाे उकालाे लागिरहेकाे छ । कांग्रेस-एमालेको सत्ता समीकरणपछि करिब साढे दुई वर्षदेखि २२०० को बिन्दुमा घुमी रहेको नेप्से परिसूचक २३०० को बिन्दुलाई पार गर्दै २४०० को बिन्दुमाथि पुगेको हो ।

यति बेलासम्म नेप्से परिसूचक २१८५ को बिन्दुमा पुगेको थियो । मन्त्रालय वाडफाँटसँगै अर्थ मन्त्रालय एमालेको रहने भएपछिको भोलिपल्ट (असार ३० गते) आइतबार शेयर बजार खुल्नासाथ निरन्तर उकालो लाग्यो ।

असार ३० गते नेप्से परिसूचक ५२.९७ अंकले बढेर २२५७ को बिन्दुमा बन्द भएको थियो । भोलिपल्ट सोमबार अर्थात् असार ३१ गते अर्थमन्त्री विष्णु पौडेलले पदभार ग्रहण गरेका दिन नेप्सेमा १७ अंकको करेक्सन देखियो । जहाँ ६ महिना यताकै उच्च कारोबार भएको थियो ।

मंगलबार नेप्से परिसूचकले २७ महिनापछि २३ सयको बिन्दुलाई पार गर्यो । यस दिन ७० अंकले नेप्से बढेको थियो । त्यस्तै, साउन २ गते अर्थात् बुधबार पनि निरन्तर बढी रहेको नेप्से ५४.०४ अंकले बढेर २३६४ को बिन्दुमा बन्द भयो । जुन करिब २७ महिनायताकै उच्च बिन्दु थियो ।

आज साताको अन्तिम कारोबारका दिन बिहीबार पनि नेप्से ५९.६८ अंकले बढेर २४२४.३२ को बिन्दुमा अडिएको छ । शेयर बजार २४०० को बिन्दुमाथि २८ महिनापछि पुगेको हो ।

आजभन्दा करिब ३ वर्षअघि नेप्सेले २०७८ भदौ २ गतेका दिन ३२०० को बिन्दुलाई छोएको थियो । यस दिन नेप्से परिसूचक ३१९८.१९ को बिन्दुमा अडिएको थियो । त्यसको भोलिपल्ट ३१८० मा झरेको दिन पनि परिसूचक ३२०० को बिन्दुमा छोएको थियो । त्यसको करिब एक वर्षसम्म शेयर बजारमा हरियाली नै रह्यो ।

२०७९ वैशाख २९ गतेसम्म नेप्से परिसूचक २३५०.४२ को बिन्दुमा अडिएको थियो भने त्यसयता करिब २ वर्ष २ महिनापछि गत साउन १ गते मात्रै नेप्से २३०० को बिन्दुमाथि चढेको हो । दुई वर्षसम्म शेयर बजारमा लगानीकर्ताहरूले उत्साह देखाएका थिएनन् । जुन अहिले अर्थमन्त्रीको आगमनसँगै बढेको देख्न सकिन्छ ।

अर्थमन्त्री विष्णु पौडेलले समग्र पूँजी बजारका समस्याहरूलाई बुझेको र सम्बोधन समेत गरेकोले शेयर बजारले पौडेललाई विश्वास गर्ने स्वतन्त्र पूँजी बजार संघका अध्यक्ष रोहन कार्की बताउँछन् । उनका अनुसार लगानीकर्ताहरूको आवाजलाई सम्बोधन गर्ने अर्थमन्त्रीका रूपमा पौडेललाई चिनिन्छ ।

‘विगतमा अर्थमन्त्री हुदाँ पनि अर्थमन्त्री पौडेलले पूँजी बजारलाई हेरेकै हुन् । र लगानीकर्ताहरूका समस्याहरू सम्बोधन समेत गरेका हुन् । अर्थमन्त्री पौडेलले शेयर बजारलाई सधैँ अर्थतन्त्रको खम्बाका रूपमा हरेका छन् । त्यसका लागि नीतिहरूमा पनि पौडेलले शेयर बजारलाई चाहिने ल्याएका छन्’, कर्की भन्छन्, ‘अब पनि दुई वर्षदेखि लयमा नआएको नेप्सेले लय समात्ने विश्वास रहेको छ । अहिलेसम्म नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालयको ट्युनिङ नमिलेर शेयर बजार बढ्न नसकेको हो । तर, अब बजारले उछालको लय समातेको देख्न सकिन्छ । जहाँ २५०० को बिन्दुमा पुग्दा करेक्सन हुनसक्ने देखिन्छ ।’

अहिले बैंकको ब्याजदर न्यून रहेको तथा राष्ट्र बैंक पनि कम्फर्टमा रहेकाले पूँजी बजार बढ्ने कार्कीको विश्वास छ ।

‘दुई वर्षअघिको शेयर बजारको अवस्था र अहिलेको अवस्था बिलकुलै फरक छ । अहिले बैंकको ब्याजदर न्यून बिन्दुमा झरीसकेको छ । बैंकहरूमा पनि तरलता पर्याप्त छ’, उनले थपे, ‘अहिले सबै कुरा राम्रो अवस्थामा रहेको छ । राष्ट्र बैंक पनि कम्फर्ट अवस्थामा रहको छ । केबल सही नीतिको पर्खाइमा बजार रहेको छ । त्यो पनि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सम्बोधन गर्छ ।’

त्यस्तै, कांग्रेस-एमाले गठबन्धनको सरकारलाई लगनीकर्ताहरुले विश्वास गरेको शेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुलेल बताउँछन् । उनका अनुसार लगानीकर्ताहरु अर्थमन्त्री विष्णु पौडेलप्रति आशावादी रहका छन् ।

‘लगानीकर्ताहरूले नयाँ सरकार प्रति अत्यन्त आशा र विश्वास पोखेका छन् । जुन सरकार परिवर्तनसँगै शेयर बजारमा देखिएको उछालबाटै प्रष्ट हुन्छ । करिब ३ वर्षदेखि उत्साह नदेखिएको शेयर बजारमा अहिले उत्साह नै उत्साह देखिएको छ । लगातार शेयर बजारमा उछाल देखिरहेको छ । निरन्तर कारोबार पनि अत्यधिक रूपमा बढ्दै गइरहेको छ’, फुलेल भन्छन्, ‘जहाँसम्म बजार बढ्ने कुरा रहेको छ । पछिल्लो समय सबैभन्दा बढी ३२०० को बिन्दुलाई छोएको थियो । अब त्यो भन्दा माथिसम्म जाने हाम्रो अनुमान हो । करिब ३४०० सम्म पुग्छ जस्तो देखिन्छ । मौद्रिक नीतिले पनि बजारलाई केही करेक्सन गर्छ । तरपनि अब यो सरकार पनि लामो समय नै टिक्छ भने शेयर बजारमा पनि उत्साह कायम नै रहन्छ ।’

अहिले बजार मौद्रिक नीतिको पूर्वसन्धयामा रहेको छ । नेपाल राष्ट्र बैंकले पनि मौद्रिक नीति ल्याउने तयारी गरिसकेको छ । लगानीकर्ताहरुले पनि मौद्रिक नीतिले आफ्ना मागहरू सम्बोधन गर्ने अपेक्षा लिएका छन् ।

शेयर बजारमा देखिएको उछाल कहाँसम्म जान्छ भन्ने कुरा मौद्रिक नीतिमा भर पर्ने लगानीकर्ता दीपेन्द्र अग्रवाल बताउँछन् । उनका अनुसार मौद्रिक नीतिले शेयर बजारले खोजेको नीति ल्याएमा नेप्सेको उछाल कायम रहन्छ ।

नेपाल राष्ट्र बैङ्कले गत मंसिर (२०८०) २२ गते नै सार्वजनिक गरेको मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाले शेयर धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाई १२५ प्रतिशत कायम गरेको थियो । उक्त जोखिमभरलाई १२५ प्रतिशतबाट १०० प्रतिशतमा लानुपर्ने शेयर लगानीकर्ता अग्रवाल बत्ताउँछन् ।

मौद्रिक नीतिले यसका साथै शेयर धितो कर्जामा लगाइएको १५ करोड र २० करोडको क्यापलाई हटाउनुपर्ने बताए । नेपाल राष्ट्र बैङ्कले गत असोज(२०८०) मा शेयर धितो कर्जाको अधिकतम सीमा व्यक्तिगततर्फ १२ करोडबाट १५ करोड र संस्थागततर्फ १५ करोडबाट २० करोड बनाएको छ ।

उक्त सीमालाइ नै हटाउनुपर्ने लगानीकर्ताहरू बत्ताउँछन् । त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूले सेयरमा लगानी गर्न पाउने कोर क्यापीटलको २० प्रतिशतको सीमालाई पनि बढाउनुपर्ने लगानीकर्ताहरुले माग गरेका छन् ।

लगानीकर्ता अग्रवाल भन्छन्, ‘करिब तीन वर्षदेखि शेयर बजार मारमा रहेको थियो । लामो समयसम्म शेयर बजार बियरमा चलिरहेको थियो । अब बुलमा बजार गइसकेको छ । यसले निरन्तरता पाउँछ भन्नेमा सकारात्मक छौँ ।’

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *