बजेट पारित नभइ सुदूरपश्चिमको बजेट अधिवेशन अन्त्य – Nepal Press

बजेट पारित नभइ सुदूरपश्चिमको बजेट अधिवेशन अन्त्य

कैलाली । सुदूरपश्चिम प्रदेशमा प्रदेश सरकारले ल्याएको बजेट पारित नै नभएर प्रदेश सभाको बजेट अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले बिहीबार राति १२ बजेदेखि लागु हुने गरि जारी बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

प्रदेश प्रमुखले संविधानको धारा १८३ को उपधारा २ अनुसार चालु अधिवेशन अन्त्य गरेको पत्र प्राप्त भएको प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए ।

पूर्वनिर्धारित कार्यक्रम अनुसार प्रदेश प्रमुख काठमाडौँ पुगेपछि प्रदेश सरकारले संसद् अन्त्य गर्न पठाएको पत्र प्रदेश प्रमुख कार्यालय पुगेको थियो ।स्वास्थ्यका कारण कैलाली फर्किन नसकेपछि सरकारले गरेको सिफारिस अनुसार प्रदेश प्रमुखले बजेट अधिवेशन अन्त्य गरेका हुन् ।

असार १ गते प्रदेश सरकारले बजेट ल्याएको थियो । बजेटमाथि छलफल नभएरै निर्धारित समय सकिएपछि बजेट शून्यतामा गएर प्रदेश सरकार बेखर्ची भएको छ । राजनीतिक समीकरण फेरिएसँगै २० असारमा एमाले सरकारबाट बाहिरिएपछि सोडारी नेतृत्वको सरकार अल्पमतमा परेको छ । अल्पमतका परेको दुई साता बितिसक्दा पनि मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने कुनै तयारी गरेका छैनन् । प्रदेश सभाका ठुला दलहरूले उनको राजीनामा मागिरहेका छन् ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *