वुमन्स एसिया कप: यी ५ खेलाडीमा नेपालको धेरै आशा – Nepal Press

वुमन्स एसिया कप: यी ५ खेलाडीमा नेपालको धेरै आशा

काठमाडौँ ।  श्रीलङ्कामा शुक्रवारदेखि सुरु हुने एसिया कप टी–२० महिला क्रिकेटमा नेपालले पहिलो खेलमा युएईसँग खेल्दै छ । उक्त खेल श्रीलङ्काको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार सवा २ बजेदेखि सुरु हुनेछ ।

दुवै टोली जीत निकाल्दै एसिया कपमा सुखद सुरुआत गर्न चाहन्छ । यी टोलीबिच मिश्रित नतिजा आउने गरेको छ । २०१९ मा भएका दुई खेलमा नेपाल विजयी भएको थियो । नेपालले एक खेलमा ६ विकेटले पराजित गर्दा २०१९ मा भएको टी–२० विश्वकप एसिया छनोटमा युएई ४१ रनमा अलआउट भएको थियो ।

त्यसपछि २०२१ मा भएको छनोट खेलमा नेपाल नेपाल युएईसँग ४८ रनले पराजित भएको थियो । २०२२ मा भएको खेलमा युएई ८१ मा अलआउट भएको थियो । तर, दोस्रो इनिङ हुन नसक्दा खेल नतिजाविहीन भएको थियो । २०२३ को सेप्टेम्बरमा पनि यी टोलीबिचको खेल मौसमका कारण हुन सकेको थिएन ।

करिब १ वर्षपछि यी दुई टोली आमनेसामने हुँदै छन् । यो बिचमा गत फेब्रुअरीमा भएको एसिया कप छनोटमा युएई विजेता बन्दा नेपाल सेमिफाइनलबाट बाहिरिएको थियो ।

युएईले भने श्रीलङ्का, जिम्वाब्बे जस्ता बलियो राष्ट्रसँग एकपछि अर्को गरी प्रतिस्पर्धा गरिरहेका छन् । त्यसयता नेपालले कुनै पनि अन्तर्राष्ट्रिय खेल खेलेको छैन । नेपालले करिब ४५ दिन बन्द प्रशिक्षणपछि नेपाली टोली श्रीलङ्का प्रस्थान गरेको हो । विपक्षविरुद्ध खतरा हुन सक्ने मध्ये ५ नेपाली खेलाडीलाई प्रस्तुत गरेका छौँ ।

१. इन्दु बर्मा
नेपाली टीमको कप्तान हुन्, इन्दु बर्मा । अलराउन्डर भूमिकामा रहेकी इन्दुले गत वर्षको कात्तिकदेखि नेपाली टोलीको कप्तानी गरिरहेकी छन् । कप्तानीसँगै इन्दुले राम्रो प्रदर्शन पनि गर्दै आएकी छन् ।

उनी एसिया कपमा नेपालको तर्फबाट विपक्षीका लागि खतरा बन्न सक्ने खेलाडी अन्तर्गत पर्छिन् । इनिङलाई सम्हालेर अगाडि बढाउने क्षमता उनीसँग छ ।

इन्दु टी–२०आइ क्रिकेटमा पहिलो अर्धशतक प्रहार गर्ने खेलाडी हुन् । उनले २०७८ मा कतारविरुद्ध अर्थशतक प्रहार गरेकी थिइन् । दुई एसिया कप खेलेको अनुभव भएकी इन्दुले नेपालका लागि ५३ टी–२०आई खेलमा ६३९ रन र २६ विकेट लिएकी छन् । यो एसिया कपमा कप्तानबाट कप्तानी इनिङ्सको अपेक्षा गरिएको छ ।

२.रुविना क्षेत्री
टोलीमा अनुभवी भएका खेलाडी मध्ये एक हुन्, रुविना क्षेत्री । ११ वर्ष नेपाली टीमको नेतृत्वको गरेकी रुविना अझै पनि टीमको महत्त्वपूर्ण सदस्यकी रूपमा छिन् । उनले गत फागुनमा भएको एसिसि प्रिमियर कपमा शतक प्रहार गरेकी थिइन् ।

जुन नेपाली क्रिकेट इतिहासमै पहिलो हो । रुविनाले एसिया कपभन्दा अघि भएका ३ खेलमध्ये २ खेलमा नेपालको तर्फबाट सबैभन्दा धेरै रन बनाएकी थिइन् ।

उनै रुविना हुन्, जसले डेब्युमै ह्याट्रिकसहित ५ विकेट लिँदै विश्वकै सनसनी मच्याएकी थिइन् । उनले सन् २००९ मा भएको एसीसी महिला टी–२० च्याम्पियनसिपमा सिंगापुरविरुद्ध ५ बलमा ५ विकेट लिएकी थिइन् । रुविनाले नेपालका लागि ४६ टी–२० मा ७४१ रन र ४२ विकेट लिएकी छन् । ब्याटिङसँगै बलिङमा पनि उनले राम्रो छाप छोड्दै आएकी छन् ।

३. सीता रानामगर

टोलीकी सर्वाधिक अनुभवी खेलाडी हुन्, सीता राना मगर । नेपाली महिला टोलीले सन् २००७ सालमा पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेलेको थियो । उक्त टीमको सदस्य सीता पनि थिइन् ।

त्यसयता सीता लगातार राष्ट्रिय टोलीबाट खेलिरहेकी छन् । उनले घरेलु क्रिकेटमा सशस्त्र प्रहरी बल (एपीएफ) को कप्तानी गर्दै आएकी छन् । एपीएफ घरेलु क्रिकेटमा सर्वाधिक सफल टोली हो ।

उनले अहिले पनि नेपाली टोलीको ब्याटिङमा भ¥याङ बनेर उभिरहेकी हुन्छिन् । सीता नेपालको तर्फबाट सर्वाधिक रन र विकेट लिने खेलाडीको शीर्ष स्थानमा छिन् । उनले टी–२०आईमा ८६३ रन र ४३ विकेट लिएकी छन् । उनीसँगै विदेशी क्रिकेट लिग खेलेको अनुभव पनि छ । गत वैशाखमा भएको मलेसिया सुपर महिला लिग टी–२० क्रिकेटमा सीता सर्वोत्कृष्ट खेलाडी घोषित भएकी थिइन् ।

४. पूजा महतो

गत वर्ष मलेसियामा भएको टी–२० विश्वकप एसिया क्षेत्र छनोटबाट डेब्यु गरेकी पूजा महतोले छोटो समयमै राम्रो छाप छोड्न सफल भएकी छन् । नेपालबाट १७ खेल खेलेकी पूजाले १५१ रन र १६ विकेट लिएकी छन् । गत वैशाखमा भएको मलेसिया सुपर महिला लिग टी–२० क्रिकेटमा पूजा उत्कृष्ट बलर घोषित भएकी थिइन् ।

पूजा दुवैतर्फ राम्रो प्रभाव छोड्न सक्ने खेलाडी हुन् । उनले बलिङ र ब्याटिङ दुवैतर्फ उत्तिकै योगदान दिँदै आएकी छन् । गत फागुनमा भएको एसिसी प्रिमियर कपमा रुविनासँग पूजाले १६६ रनको कीर्तिमानी साझेदारी गरेकी थिइन् ।

५. राजमती ऐरी

पहिलो पटक राष्ट्रिय टिममा परेकी खेलाडी हुन्, राजमती ऐरी । घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरेकी अलराउन्डर ऐरी पुरुष क्रिकेट टीमका अलराउन्डर दीपेन्द्रसिंह ऐरीको बहिनी हुन् ।

घरेलु प्रतियोगितामा सशस्त्र प्रहरी बल (एपीएफ) बाट खेल्दै आएकी बायाँ हाते ब्याटर राजमतीले ओपनिङ र मध्यक्रमसहित मध्य गतिमा बलिङ गर्ने गर्छिन् ।

उनले गत पुसमा भएको प्रधानमन्त्री कपमा कर्णाली प्रदेशविरुद्ध ५५ बलमा ६७ रन बनाएकी थिइन् । गत जेठमा भएको ललितपुर मेयर्स कपमा उनले सुदूरपश्चिम प्रदेशविरुद्ध अर्थसतक प्रहार गरेकी थिइन् । पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएकी राजमतीले राम्रो प्रदर्शन गर्ने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *