भत्कियो परीक्षा नै नदिएर कर्मचारी राख्ने ‘सेटिङ’, याक नेपालले फेरि खोल्यो पाँच जनाको विज्ञापन
कैलाली । कैलालीमा परिवर्तनको लागि कार्यरत युवा समूह, नेपाल (याक नेपाल)नामक एक संस्थाले प्रारम्भिक सूचीमै नभएका एक जनालाई जागिर खुवाउने गरि नाम निकालेको विषय सार्वजनिक भएपछि अहिले कमजोरी भएको स्वीकार गर्दै उक्त संस्थाले पुराना सबै प्रक्रिया रद्द गरेको छ ।
केयर नेपाल र आईडीईको संयुक्त साझेदारीमा याक नेपालद्वारा कैलाली जिल्लाका पाँच वटा स्थानीय तहका लागि असार ४ गते ५ जनाको लागि वास फेसिलेटर पदमा खुल्ला विज्ञापन आह्वान गरेको थियो ।
उक्त सूचनाअनुसार १३ जनाले आवेदन दिएका थिए । ती मध्ये नाम नै भएकी धनगढी उपमहानगरपालिका ८ कैलाली घर भएकी राधिका नाथलाई पाँच जनाको सूचीमा राखेर जागिर खुवाउने गरि गरेको तयारीबारे नेपालप्रेसमा समाचार प्रकाशन भएपछि अहिले पुराना सबै प्रक्रिया रद्द गरेर नयाँ विज्ञापन आह्वान गरिएको याक नेपालका अध्यक्ष तथा पदपूर्ति समितिका संयोजक बलबहादुर रोकायाले जानकारी दिए ।
साउन १ गते एक साताको लागि समय निर्धारण गरेर विज्ञापन आह्वान गरिएको उनले बताए । ‘धेरै ठाउँबाट गुनासोहरू र समाचार आएपछि हामीले सबै प्रक्रिया रद्द गरेर नयाँ विज्ञापन आह्वान गरेका छौँ ’ उनले भने ।
याे पनि- याक नेपालको कर्मचारी भर्नामा बदमासीः परीक्षा नै नदिएकी राधिका नाथ उत्तीर्ण सूचीमा !
यस्तो थियो बदमासी
जिल्लाको कैलारी गाउँपालिका, जानकी गाउँपालिका, गोदावरी नगरपालिका घोडाघोडी नगरपालिका र भजनी नगरपालिकामा नगरपालिकामा सञ्चालन हुन गइरहेको पोषण परियोजनाका लागि सूचना आह्वान गरिएको हो । उक्त सूचनाअनुसार १३ जनाले आवेदन दिएको असार १९ गते याक नेपालले जानकारी गराएको थियो ।
उक्त सूचनामा २२ गते शनिबार बिहान ९ बजे धनगढीस्थित पञ्चोदय माध्यमिक विद्यालयमा परीक्षा हुने जानकारी गराइएको थियो । त्यस दिन पनि १३ जनालाई नै परीक्षामा सहभागिता गराइएको थियो ।
तर, असार २६ गते याक नेपालले सफल उम्मेदवार भन्दै पाँच जनाको नाम र वैकल्पिक उम्मेदवार भन्दै २ जनाको नाम सार्वजनिक गरेको थियो । सन्दीप चौधरी, गीता कुमारी चौधरी, महेन्द्र ठकुल्ला, राधिका नाथ र नरेन्द्र शाहलाई कार्यालयमा हाजिर गर्न भनिएको थियो ।
ती पाँच जनामध्ये धनगढी उपमहानगरपालिका ८ कैलाली घर भएकी राधिका नाथको नाम न प्रारम्भिक सूचीमै रहेको थियो न त परीक्षामै सहभागी भएकी थिइन् । परीक्षामै सहभागी नभएकाहरूलाई याक नेपालले पास भएको भन्दै हाजिर हुन सूचना सार्वजनिक गरेको थियो ।
याक नेपालले जारी गरेको विज्ञापन सूचना, प्रारम्भिक उम्मेदवारको नाम, परीक्षामा सहभागी हुनेहरुको नाम हेर्दा उक्त संस्थाले सरासर गलत गरेको देखिन्छ ।
विज्ञापनमा आएका उम्मेदवारहरूलाई परीक्षा लिएर पनि परीक्षा नै नदिएका व्यक्तिलाई छनोट गर्नु याक नेपालको बदमासी हो । तर, अहिले आफ्नो गल्तीलाई स्वीकार गर्दै उक्त संस्थाले नयाँ विज्ञापन आह्वान गरेको हो ।