न्यूरोडमा फुटपाथ विस्तारको विराेध गर्दै स्थानीय र व्यापारीले गरे अवराेध (तस्बिरहरु / भिडिओ)
काठमाडौं । काठमाडौंको न्यूरोडमा फुटपाथ विस्तार गर्न न्यूरोडका व्यवसायी र स्थानीयबासीले अवरोध गरेका छन् ।
न्यूरोडमा फुटपाथ बढाउन नहुने भन्दै उनीहरु प्रर्दशनमा उत्रिएका हुन् । उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि काठमाडौं महानगरले बुधबारबिहानदेखि न्यूरोड नयाँ सडकमा फुटपाथको काम सुरु गरी कालोपत्रे भत्काउन सुरु गरेको थियो ।
तर स्थानीय र व्यापारीहरुले न्यूरोडमा सडक घटाएर फुटपाथ बढाउन नहुने भन्दै महानगरविरुद्ध प्रर्दशन गरेका हुन् । अहिले ठूलो संख्यामा प्रहरी र नगरप्रहरी परिचालन गरिएको छ ।
यसअघि महानगर न्यूरोडको सडकको पार्किङ खाली गराएर फुटपाथ बढाउने प्रकिया अगाडि बढाएको थियो । त्यतिबेला पनि न्यूरोडका स्थानीय र व्यापारीहरुले अवरोध गरेका थिए । स्थानीय र व्यापारीको अवरोधकैबीच महानगर काम सुरु गरी कालोपत्रे समेत काटेर काम सुरु गरिसकेको थियो ।
तर सडक डिभिजन काठमाडौंले अनुमति नलिई फुटपाथ बढाउन लागेको भन्दै सामान जफत गरी फुटपाथ विस्तारमा रोक लगाएको थियो । महानगरले फुटपाथ बिस्तारको लागि काटेको सडक समेत सडक डिभिजनले पुन: पुरेर पीच गरेको थियो ।
तस्बिरहरु: उमेश कार्की /नेपालप्रेस