जसपा नेपाल पनि संविधान संशोधनको पक्षमा, उपेन्द्र यादव भन्छन्- यो हाम्रो एजेन्डा हो – Nepal Press

जसपा नेपाल पनि संविधान संशोधनको पक्षमा, उपेन्द्र यादव भन्छन्- यो हाम्रो एजेन्डा हो

‘समाजवादी मोर्चामा जाने नजाने छलफलमा छौँ, निष्कर्षमा पुगेका छैनौँ’

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिने बताएका छन्। सरकार बाहिरै बसेर आफूहरूले ओली नेतृत्वको सरकारलाई सघाउने बताए।

तर, सरकारमा चाहिँ किन नजानुभएको उताबाट प्रस्ताव नै नआएको हो ? भन्ने नेपाल प्रेसको जिज्ञासामा उनले भने, ‘सरकारमा जाने र नजाने कुरा अलग हो। हामीले विश्वासको मत चाहिँ दिन्छौँ। तर, कुनै सट्टापट्टा गर्न खोजेका होइनौँ।’

कांग्रेस–एमालेले संविधान संशोधनको मुद्दा अघि सारेकाले आफूहरूले बाहिरै बसेर साथ दिन लागेको सुनाए।

कांग्रेस एमालेको मिलनबारे उनले थपे, ‘संविधान संशोधनको एजेण्डा हाम्रो हो। उहाँहरूले अहिले समेट्नुभएको छ। त्यसैले अब हामी बाहिर बसेर काम हेर्छौँ। संविधान संशोधन गर्नुपर्छ भनेर हामीले घोषणा भएदेखि भन्दै आएका हौँ।’

कांग्रेस एमाले सरकारको काम गरेर सरकारमा जाने नजाने पछि निर्णय हुनसक्ने बताए। तर, प्रधानमन्त्री ओलीले कांग्रेस एमालेसहित अशोक राई नेतृत्वको जसपा र लोसपालाई समेटेर सरकारलाई पूर्णता दिइसकेका छन्। अब सरकारमा तीन जना राज्यमन्त्री मात्रै थप्न बाँकी छ।

उपेन्द्र नेतृत्वको जसपा नेपाल, जनमतले पनि विश्वासको मत दिने निश्चित भएपछि ओली सरकारले दुई तिहाइ बहुमत पाउने निश्चित भइसकेको छ। त्यसो त ४ सांसद भएको नागरिक उन्मुक्तिले पनि विश्वासको मत दिने सम्भावना छ।

समाजवादी मोर्चाबारे

अध्यक्ष यादवले समाजवादी मोर्चामा सहभागी हुने विषयमा छलफल भइरहेको बताए।

तपाईँको लागि भनेर अस्तिको मोर्चाको बैठकमा एउटा कुर्सी खाली राखिएको चर्चा थियो भन्नेबारे उनले भने, ‘कुर्सी कसलाई खाली राख्या हो भन्ने चाहिँ थाहा भएन। त्यसमा अहिले हामी छलफल गर्दैछौं।’

समाजवादी मोर्चामा सामेल हुने/नहुने भन्ने विषयमा आफूहरू आन्तरिक छलफलमा रहेको सुनाए।

पछिल्लो समय निष्क्रिय रहेको समाजवादी मोर्चा प्रचण्डले सत्ताबाट हुत्तिएर विपक्षमा पुगेपछि ब्युँताएका छन्। प्रचण्ड प्रधानमन्त्री भएकै बेला उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएपछि मोर्चा निष्क्रिय भएको थियो।

प्रचण्डले ओलीसँग मिलेर सरकार टिकाउन आफ्नो पार्टी विभाजन गराएको आरोप लगाउँदै सरकारबाट बाहिरिएका थिए। उपेन्द्र प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधानसहित स्वास्थ्यमन्त्री थिए।

पार्टी विभाजनपछि जसपा नेपालले समाजवादी मोर्चाको औचित्य समाप्त भइसकेको घोषणा गरेको थियो। तर, अहिले मंगलबारको बैठकले उपेन्द्रलाई पनि सहभागी गराउन पहल गर्न निर्णय गरेपछि अहिले छलफलमा रहेको बताए।

मोर्चाको बैठकमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेकपा विप्लव र महेन्द्र यादव नेतृत्वको नेसपा पनि पहिलो पटक सामेल भएको थियो। अशोक राईले पार्टी फोड्नुअघि मोर्चामा जसपा नेपाल दोस्रो ठूलो घटक थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर