आर्थिक मन्दीलाई चिर्न प्रदेश सरकार सक्षम छ : मुख्यमन्त्री कार्की
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले उद्योग व्यापार व्यवसायको क्षेत्रमा देखिएको मन्दी र निराशालाई चिरेर सरकार अगाडि बढ्ने बताएका छन् ।
शुक्रबार विराटनगरमा माहेश्वरी महिला मञ्चले आयोजना गरेको श्रावण मेलाको उद्घाटन गर्दै मुख्यमन्त्री कार्कीले सरकार अब नयाँ परिस्थितिअनुसार अगाडि बढेकाले निराशा र मन्दीलाई कम गर्ने बताए ।
उनले संघ र प्रदेशमा नयाँ परिस्थितिअनुसार सरकारको स्थायित्व दिनेगरी राजनिती अगाडि बढेकाले अब आम व्यवसायी र नागरिकमा उत्साह आउने विश्वास व्यक्त गरे ।
विराटनगर आर्थिक क्षेत्रका लागि महत्वपूर्ण भएपनि उसले आफ्नो क्षमताअनुसार काम गर्न नसकेको र विराटनगरले आर्थिक क्षत्रलाई अगाडि बढाउपर्नेगरी काम गर्न उनले आग्रह गरे ।
हाम्रा समाजिक सोच र चिन्तनले महिलाहरुलाई पछाडि पारिएको चर्चा गर्दै महिलाहरुलाई अवसर दिएमा पुरुषभन्दा राम्रो काम गर्न सक्ने बताए ।
समाजमा महिलाहरुले गरेका काम उदाहरणीय रहेको बताउदै माहेश्वरी महिलाहरुले पनि समाज परिवर्तन र व्यवसायिक क्षेत्रमा राम्रो काम गरेकोमा प्रशंसा गरे ।