लमही नगरपालिकाको बजेट तथा आर्थिक विधेयक पारित
रुपन्देही । दाङको लमही नगरपालिकाले आर्थिक वर्ष २०८१्०८२ को बजेट तथा आर्थिक विधेयक पारित गरेको छ । गत असार १० गते १५ औं नगर सभाको पहिलो बैठकमा वार्षिक नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो । पहिलो बैठक बसेको २६ दिनमा दोस्रो बैठक बस्दै बजेट तथा आर्थिक विधेयक पारित गरेको हो । बजेट तथा आर्थिक विधेयक पास नहुँदा नगरपालिका बजेटविहीन भएको थियो ।
वडा तहबाट प्रदान गरिने सेवा सुविधाहरु समेत प्रभावित भएका थिए । अब नगर सभाबाट बजेट तथा आर्थिक विधेयक पास भएकाले कुनै समस्या नपर्ने प्रवक्ता तथा वडा नं. ७ का वडा अध्यक्ष मोहन गिरीले जानकारी दिए । शुक्रबार बसेको नगर सभाको दोस्रो बैठकले आर्थिक वर्ष २०८१/०८२ को कर तथा गैह्रकरका दरहरु समेटिएको आर्थिक विधेयक २०८१ पारित गरेको छ ।
यस्तै आर्थिक वर्ष २०८१/०८२ को लागि अनुमानुति बजेट, योजना तथा कार्यक्रमसहितको विनियोजन विधेयक २०८१ पारित गरिएको छ ।
यस्तै नगर सभाले लमही नगरपालिकाको स्वास्थ्य नीति २०८१, लमही नगरपालिकाको आर्थिक विकास रणनीति २०८१, खानेपानी सरसफाई तथा स्वच्छता ऐन २०८१, दिसाजन्य लेदो व्यवस्थापन विनियम २०८१, लमही नगरपालिकाका पुराना भवनहरुको अभिलेख व्यवस्थापन सम्वन्धी निर्देशिका २०७५ चौथो संशोधन २०८१ नगर सभाबाट पारित भएको छ । आइतबार सबै सेवा सुचारु हुने नगर प्रमुख जोगराज चौधरीले जानकारी दिए ।
‘नगर सभाबाट आर्थिक विधेयक, बजेट सबै पारित गरेका छौं’उनले भने‘विचमा नगर सभा बस्न नसक्दा केही ढिला हुन गयो । अहिले सबै ऐन नियमहरु पारित गरेर सेवा प्रवाहलाई तिब्र बनाउछौं ।’
लमही नगरपालिकाले समयसीमाभित्र बजेट र आर्थिक ऐन पारित नगर्दा वडाबाट हुने सिफारिस तथा राजश्व संकलनको काम समेत ठप्प भएको भन्दै नेकपा एमाले लमही नगर कमिटीले नगर प्रमुख जोगराज चौधरीलाई ध्यानाकर्षणपत्र बुझाएको थियो । ध्यानाकर्षण पत्र बुझाएको भोलीपल्ट नगर सभाले बजेट तथा आर्थिक विधेयक पारित भएको हो । लमही नगरपालिकाले ८४ करोड ५१ लाख २४ हजार रुपैयाँको बजेट ल्याएको थियो ।
संघीय सरकार समानीकरण अनुदान १४ करोड ६ लाख, संघीय राजश्व बाँडफाँड १४ करोड ६ लाख, संघीय सशर्त अनुदान चालुतर्फ २३ करोड ३२ लाख ५ हजार, पुँजीगततर्फ १० करोड ३६ लाख, संघीय सरकार समपुरक अनुदान एक करोड ५० लाख, प्रदेश सरकार समानीकरण अनुदान ९९ लाख २ हजार, सशर्त अनुदान ११ करोड ९६ लाख २ हजार, समपुरक अनुदान १० लाख पाँच हजार, प्रदेश राजश्व बाँडफाँट सवारी साधन कर १७ करोड ६९ लाख ५ हजार, आन्तरिक श्रोत ८ करोड १४ लाख ५५ हजार, राजश्व बाँडफाँड स्थानीय ६ करोड, बैंक मौज्दात २ करोड, लमही अस्पताल आन्तरिकतर्फ एक करोड १० लाखको स्रोत अनुमान गर्दै बजेट ल्याएको थियो ।
सिकलसेल एनिमिया/थालासेमियाको पहिचान एवं औषधि ब्यवस्थापनको कार्यलाई प्राथमिकता दिने, विरामीले प्राप्त गर्दै आएका सेवा सुविधा निरन्तरता दिने, मेयरसँग ज्येष्ठ नागरिक घरदैलो कार्यक्रम र ‘उपमेयरसँग आमा कार्यक्रमलाई निरन्तरता दिने, लमही अस्पताल, सतवरिया स्वास्थ्य चौकी र सोनपुर स्वास्थ्य चौकीबाट सुरक्षित गर्भपतन सेवा उपलब्ध हुने, लमही अस्पताललाई कम्तिमा १० बेडको सुविधा सम्पन्न ईमर्जेन्सी भवन निर्माण गर्न पहल गर्ने र चौबिसै घण्टा सेवामा खटिने विशेषज्ञ डाक्टर र मेडिकल अफिसरहरुलाई विशेष प्रोत्साहन गर्ने व्यवस्था मिलाईने, लमही अस्पताललाई सुविधा सम्पन्न जिल्ला अस्पतालको स्तरोन्नति गर्न सर्पदंश केन्द्र, रक्तसञ्चार केन्द्र र आधुनिक प्रयोगशाला स्तराेन्नति गर्न संघ, प्रदेश सरकारसँग थप छलफल गरी अघि बढिने नीति तथा कार्यक्रममा समेटिएको थियो ।