नेपाली शब्दहरूको शुद्धाशुद्धीको तथ्याङ्कशास्त्रीय गणना
विषय प्रवेश
आफ्नै देशको राजधानीलाई ‘काठमाडौं’लाई (काठमाडौं, काठमाडौ, काठमाण्डौं, काठमाण्डौ, काठमाण्डु, काठमाण्डू, काठमाँडु, काठमाडू, काठमान्डौं, काठमान्डौ, काठमान्डु, काठमान्डू) गरी १२ प्रकारले लेख्ने गरिएको पाइन्छ । भाषामा यति धेरै अराजकता र अनुशासनहीनता यो पृथ्वीमा बोलिने कुनै पनि भाषामा छैन । नेपाली भाषाको यो प्रतिनिधि उदाहरणमात्र हो । यस्ता कैयौं उदाहरण छन्, जहाँ नेपाली भाषा कति प्रकारले अशुद्ध लेखिने गरिएको छ र लेखिने सम्भावना रहेको छ भन्ने तथ्याङ्कशास्त्रीय निष्कर्षहरू यस लेखमा समावेश छन् ।
बोल्ने मानिसको अभाव, लेख्ने अभ्यासको अभाव तथा अशुद्ध लेखन भाषा लोप हुनुका कारणहरूभित्र पर्दछन् । वर्तमान समयमा नेपाली भाषा यति धेरै अशुद्ध लेखिन थालिएको छ कि यही अशुद्धताको दलदलमा फसेर नेपाली भाषा लोप हुन जाने खतरा उत्पन्न भएको छ । ह्रस्व, दीर्घ, तीन थरी ‘स’, ‘श’, ‘ष’ र जनजिब्रोका उच्चारण र ‘व’, ‘ब’, ‘ओ’ को अन्तरमिश्रणका बीच भाषा लेखनमा अनुशासनको अभावमा नेपाली भाषा अशुद्धताको महामारी यत्ति धेरै फैलिएर गएको छ कि यसमा अनुशासन नल्याउने हो भने केही समयभित्र यो भाषाको औचित्य नै समाप्त हुने खतरा उत्पन्न भएको छ । यो अवस्थाको गणितीय आधारमा विश्लेषण गरी अशुद्धताले कसरी भाषा लोप गराउँदैछ भन्ने विषय यस लेखमा प्रस्तुत गरिएको छ ।
संस्कृत जननी भएका भाषाहरूमध्ये नेपाली भाषा पनि एक हो । देवनागरी लिपिमा लेखिने नेपाली भाषा बहुदेशमा बोलिने भाषाका रुपमा चिनिन्छ । नेपाल, भारत, भुटान, म्यानमारलगायत नेपाली भाषीहरू बसोबास गर्ने विश्वका कैयौं मुलुकमा नेपाली भाषा बोलिने गरिन्छ । संवैधानिक हिसाबले हेर्दा नेपाल र भारतमा संवैधानिक मान्यता प्राप्त छ भने भुटानमा नेपाली भाषा आमसञ्चारको भाषाका रुपमा रहेको छ । बीबीसी, रेडियो चाइना इन्टरनेशनल, अलइन्डिया रेडियोलगायत विश्वका प्रसिद्ध प्रसारण संस्थाहरुमा नेपाली भाषामा समाचारलगायतमा विविधि सामग्रीहरु प्रकाशित हुने गर्दछ । नेपालका अतिरिक्त भारतका बनारस हिन्दू विश्वविद्यालयलगायतमा प्रतिष्ठित शैक्षिक प्रतिष्ठानहरुमा नेपाली भाषाको पठनपाठन हुने गर्दछ । यसरी क्रमशः विश्वव्यापी बन्दै गएको नेपाली भाषाको विकासक्रम र वर्तमान अवस्था तथा भविष्यका बारेमा यस लेखमा गणित र तथ्याङ्कशास्त्रका सूत्रमा आधारित रही समीक्षात्मक विश्लेषण गरिएको छ ।
नेपाली भाषाको विगत र वर्तमान
नेपाली भाषालाई विकासको क्रमले हेर्दा ६ वटा कालखण्डमा वर्गीकृत गर्न सकिन्छ ।
व्याकरणविहीनकाल
नेपाली भाषाको विकासको क्रममा संस्कृत भाषा प्राकृत रुपमा जनजिब्रोका भाषामा रुपान्तरण भएको कालखण्डलाई लिन सकिन्छ, जसमा निश्चित व्याकरणको अस्तित्व देखिँदैन । फलस्वरुप यस कालखण्डलाई व्याकरणविहीन कालखण्डका रुपमा लिन सकिन्छ । यस कालखण्डमा संस्कृत चाहिँ शुद्ध लेख्ने तर नेपाली भाषा भने जसरी पनि लेखे हुन्छ भन्ने अभ्यासले लामो समयसम्म जरो गाडेको देखिन्छ । यस कालखण्डमा नेपाली भाषा लेखनका केही अभ्यासहरू (प्रवृत्ति)लाई यसप्रकार वर्गीकृत गर्न सकिन्छ ।
- (क) पूरै वाक्य एकै डिकोमा लेख्ने
- (ख) एउटा शब्दको अक्षर अर्को शब्दमा जाडेर लेख्ने
- (ग) ह्रस्वदीर्घ जे जसरी पनि लेख्ने
- (घ) श, ष, स को प्रयोग जसरी पनि गर्ने
- (ङ) शिरविन्दु, चन्द्रविन्दु र ङ, ञ, न, म जस्ता अक्षरहरूलाई जहाँ जसरी मनलाग्यो त्यसरी नै प्रयोग गर्ने ।
तत्कालीन समयमा नेपाली भाषा लेखनमा प्रचलनमा रहेका उपरोक्त अभ्यासहरूका कारण त्यत्ति बेलाका लिखत, पाटापत्र, तम्सुक, चिना, टिप्पण, कर्मकाण्डका पुस्तक, चिठीपत्र, सन्धि-सम्झौताहरू, सनद, सवाल र ज्योतिषका पुस्तकहरू पढ्न असाध्य कठिन हुने गर्दछ । भाषामा विशेष दख्खल राख्ने अनुसन्धानकर्ताहरूबाहेक अरुका लागि त्यस्ता सामग्री बोधगम्य हुन नसकिरहेको दृष्टान्त हाम्रासामु रहेको छ ।
व्याकरणतर्फको यात्राकाल
नेपालसम्बन्धी व्यवस्थित ज्ञान हासिल गर्न नेपाली भाषा व्यवस्थित हुनुपर्दछ र यसको आधार भनेको नेपाली भाषाको वैज्ञानिक व्याकरण र शब्दकोश नै हो भन्ने निचोडका साथ अङ्ग्रेज विद्वानहरूमा नेपाली भाषामा व्याकरणको आवश्यकता महसुस हुन थाल्यो । यही परिवेशमा (क) नेपालका बारेमा ज्ञान हासिल गर्ने, (ख) ब्रिटिश सेनामा कार्यरत गोर्खा सिपाहीहरूका लागि अङ्ग्रेजी भाषा सिकाउने तथा (ग) बाइबललाई एकरुपताका साथ नेपाली भाषामा उल्था गर्ने ध्येयका साथ अङ्ग्रेज विद्वानहरूले नेपाली भाषाको व्याकरण लेखनको कार्य शुरू गरेको देखिन्छ । अङ्ग्रेज विद्वानका यी प्रयासहरूलाई नेपाली भाषाको व्याकरणतर्फको प्रारम्भिक यात्राका रुपमा लिन सकिन्छ ।
लज्जाबोध काल
नेपाल विश्वसँग परिचित हुँदै जाँदा विशेष गरी जङ्गबहादुर राणाको बेलायत भ्रमणपछि शिक्षाका क्षेत्रमा नेपालको हैसियत र धरातल उजागर हुन पुग्यो । समकक्षी बेलायतमा विश्वविद्यालयस्तरका शैक्षिक प्रतिष्ठानहरू सञ्चालन भइरहँदा, कला, विज्ञान, प्रविधि, साहित्य, इतिहास, कानून र दर्शनलगायतका क्षेत्रमा ग्रन्थहरूका विशाल भण्डारहरू उपलब्ध हुँदा नेपालमा व्यवस्थित शिक्षा शुरु नै हुन नसकेको, आफ्नो भाषाको व्याकरणसमेत नरहेको र पण्डितहरूका घरमा रहेका हस्तलिखित ग्रन्थहरूबाहेक नेपाली भाषामा ग्रन्थहरूको नै अभाव रहेको तथा व्यक्तिगत रुपमा व्यक्तिगत प्रयासमा सञ्चालनमा रहेका कर्मकाण्ड र ज्योतिषको ज्ञान दिने उद्देश्यले सीमित गुरूकुलबाहेक शिक्षाका क्षेत्रमा त नेपाल अन्धकार युगमा रहेको लज्जाजनक अवस्थाको तत्वज्ञान नेपाललाई केही न केही रुपमा भएको देखिन्छ ।
भारतमा अङ्ग्रेजको शासन विस्तार र सोसँगै भारतीय भाषाहरूको समेत समानान्तर विकास भएको देखी ब्रिटिश भारतमा त्यहाँको विद्वानहरूसँग नेपालीहरुको भएको घुलमिलका कारण नेपाली विद्वान र शासकहरूमा पनि निद्राबाट व्युँझे झैं आफ्नो धरातल थाहा भयो । अङ्ग्रेजी भाषा, बङ्गाली भाषा, हिन्दी भाषालगायत अन्य भारतीय भाषाको आफ्नो व्यवस्थित व्याकरण, शब्दकोश र रचनाहरूका माझ नेपाली भाषाको न वैज्ञानिक व्याकरण थियो, न शब्दकोश न त रचनाहरु नै । जङ्गबहादुरको बेलायत भ्रमणदेखि गोरखापत्र प्रकाशनअघिको कालखण्डलाई नेपाली भाषा विकासको इतिहासमा लज्जाबोधकालका रुपमा लिन सकिन्छ । यो लज्जाबोध कालमा नेपाली भाषामा व्याकरण चाहिन्छ, भाषामा रचनाहरु चाहिन्छन्, शब्दकोश चाहिन्छ र भाषाको विकासमा शिक्षण संस्थाहरूका अतिरिक्त पृथक प्रशासनिक संरचनाको पनि आवश्यक हुन्छ भन्ने तत्वज्ञान भएको पाइन्छ ।
स्वर्णकाल
लज्जाबोधकालमा नेपाली भाषामा केही गर्नुपर्दछ भन्ने तत्वज्ञान नेपाली शासक र विद्वानहरू दुवैमा हुन थाल्यो । फलस्वरुप नेपाली भाषाको व्याकरण, शब्दकोश र रचनाहरूको आवश्यकता पूर्ति गर्न सङ्गठित रुपमा कार्यारम्भ हुन थाल्यो । यस कालखण्डमा नेपाली भाषाको व्याकरण र शब्दकोशमात्र लेखिएन, नेपाली भाषामा गर्नुपर्ने विकास र सुधारलाई एकद्वार प्रणालीमा ल्याउने ध्येयका साथ गोरखा भाषा प्रकाशनी समिति (नेपाली भाषा प्रकाशिनी समिति) को गठन भयो । नेपाली भाषामा ग्रन्थहरू तयार गर्न नवरचना, अनुसन्धान, अनुवाद जस्ता कार्यहरूलाई तीव्रगतिमा प्रोत्साहन गरियो । नेपाली भाषामा पठनपाठनका अतिरिक्त समाचार सम्प्रेषणमा यस कालखण्डमा अनेक कार्यहरू सम्पन्न भएका छन् । विश्वका प्रतिष्ठित प्रसारण संस्थाहरूबाट नेपाली भाषामा समाचार सम्प्रेषण पनि यस कालकण्डमा तीव्र गतिमा हुन थाल्यो ।
उच्छृङ्खलकाल
नेपाली भाषाको विकासको प्रारम्भिक कालखण्डमा संस्कृत शुद्ध रुपमा लेखे भइहाल्यो, नेपाली त जसरी लेखे पनि हुन्छ भन्ने मानसिकता प्रभावी भए झैं यस उच्छृङ्खलकालमा अङ्ग्रेजी भाषा शुद्ध लेख्नुपर्छ, तर नेपाली त जसरी लेखे पनि भइहाल्छ भन्ने प्रवृत्ति हावी भएको छ । यस उच्छृङ्खलकालमा देहायका प्रवृत्तिहरू हावी भएको देखिन्छ ।
- (क) जस्तो बोलिन्छ, त्यस्तै लेख्नुपर्दछ भन्नेहरू
- (ख) आफू अरुभन्दा अलग्गै देखिन चर्चामा आउन अलग्गै व्याकरण लेख्ने नेपाली भाषाका विद्वानहरू
- (ग) नेपाली भाषाको अशुद्धीकरणलाई भाषा विकास र आधुनिकीकरणको पर्याय हो भन्ने भाष्य स्थापित गर्ने विद्वानहरू
- (ग) शुद्ध लेख्न अल्छी मान्ने, नजान्ने तर भाषामा कलम चलाउन चाहिँ पर्ने वर्ग
- (घ) संस्कृत र नेपाली भाषाको सम्बन्ध विच्छेद चाहनेहरू
आधुनिक समयमा प्रविधि र भाषाको अन्योन्याश्रित सम्बन्ध स्थापना हुँदै गइरहेको सन्दर्भ तथा नेपाली भाषालाई प्रविधिमैत्री बनाउने खासै प्रयास नभई रहेको सन्दर्भ तथा नेपाली भाषाको वैज्ञानिक प्रशासनको अभावमा उच्छृङ्खलकालको भूमरीको आकार दिनप्रतिदिन विकराल हुँदै नेपाली भाषा लेखन अझ अराजक हुँदै आएको छ ।
उच्छृङ्खलकालमा नेपाली भाषा लेखनमा भित्रिएका केही विकृत अभ्यासका केही उदाहरण प्रस्तुत गर्ने क्रममा चिठीपत्र, प्रतिवेदन, अनुसन्धानात्मक कृतिहरू, प्रकाशित पुस्तकहरू तथा सञ्चारमाध्यमका भेटिएका अशुद्धीहरू केही उदारहणहरु यहाँ प्रस्तुत गरिएका छन् ।
नीति शब्द ‘नीति’ तहमा सबैभन्दा बढी प्रयोग हुने शब्द हो, तर यी दस्तावेजहरूमा नीति शब्द ४ प्रकारमा (निति, निती, नीति, नीती) लेखेको पाइएको छ । नेपाली भाषा लेखनमा ‘व्यक्त’शब्द पनि ४ प्रकार ( ब्यख्त, व्यक्त, बेक्त, वेक्त)ले लेखेको भेटिएको छ । “सम्प्रेषण” शब्द १८ प्रकार ( सम्प्रेसण, सम्प्रेशण, सम्प्रेषण, शम्प्रेसण, शम्प्रेशण, शम्प्रेषण, षम्प्रेशण, षम्प्रेसण, षम्प्रेषण, सम्प्रेसन, सम्प्रेशन, सम्प्रेषन, शम्प्रेसन, शम्प्रेशन, शम्प्रेषन, षम्प्रेशन, षम्प्रेसन, षम्प्रेषन) लेखिएको भेटिएको छ । नेपालको राजधानी ‘काठमाडौं’ लाई (काठमाडौं, काठमाडौ, काठमाण्डौं, काठमाण्डौ, काठमाण्डु, काठमाण्डू, काठमाँडु, काडमाडू, काठमान्डौं, काठमान्डौ, काठमान्डु, काठमान्डू) गरी १२ प्रकारले लेखेको भेटिएको छ ।
नेपाली भाषाको शब्द रचनामा ह्रस्व र दीर्घ भेद, श, ष र स भेद, शीरविन्दु र चन्द्रविन्दु र ङ्, ञ्, म्, न्, म भेद, याँ र ञा भेद, ण र न भेद, क्र र क्र भेद, व, ओ र ब भेद, ए र य भेद, व्य र बे भेद जस्ता भेदहरू रहेका छन् । भाषामा अनुशासनको कमीले गर्दा यी भेदहरू कही कुनै रुपमा त कही कुनै रुपमा लेखिन जाँदा नेपाली भाषा लेखनमा यस्तो अराजकताको सिर्जना भएको हो ।
अनुसन्धान प्रश्नको उत्पत्ति
सरकारी चिठीपत्र, प्रतिवेदन, अनुसन्धानात्मक कृतिहरू, प्रकाशित पुस्तकहरू तथा सञ्चारमाध्यममा भेटिएका व्याप्त अशुद्ध लेखनको अभ्यासलाई केलाउँदै जाँदा दुइटा अनुसन्धान प्रश्न खडा भएका छन् । (क) नेपाली भाषामा शब्दहरूलाई कति किसिमले अशुद्ध लेख्न सकिन्छ ? र (ख) नेपाली भाषाका शब्दहरू शुद्ध लेख्न सक्ने सम्भावना कति प्रतिशत रहन्छ ?
यी दुइटा प्रश्नको उत्तर खोज्दै जाँदा गणित र तथ्याङ्कशास्त्रका प्रतिपादित सूत्रहरूको सहायता लिनुपर्ने हुन्छ । गणितले कुन शब्द कति किसिमले अशुद्ध लेख्न सकिन्छ भन्ने संख्या एकिन गर्दछ । यसका लागि कम्बिनोटोरिक्सको सहायता लिन पर्दछ । कम्बिनोटोरिक्समा क्रम परिवर्तन नगरी विभिन्न भेदहरू कति प्रकारले योजन गर्न सकिन्छ भन्ने प्रावधान रहेको छ । यसका लागि भेदहरूलाई आपसमा गुणा गरेर संख्या निर्क्योल गरिन्छ । तथ्याङ्कशास्त्रले एउटा शब्द अशुद्ध लेख्न सकिने र शुद्ध लेख्न सकिने सम्भावना कति रहेछ भन्ने निर्क्योल निकाल्न सहज हुन जान्छ ।
नेपाली भाषामा कुनै पनि शब्द कति प्रकारले अशुद्ध लेख्न सकिन्छ भन्ने कुरा गर्दा उक्त शब्द शुद्ध र अशुद्ध गरी कति प्रकारले लेख्न सकिन्छ भन्ने सङ्ख्या एकिन गर्न आवश्यक छ । यसका लागि व्यञ्जन वर्ण र स्वर वर्णका बारेमा, उच्चारणको तीव्रता, प्रतिस्थापक अक्षरहरू र उपलब्ध विकल्पका बारेमा जान्न आवश्यक हुन्छ । सारमा भन्नुपर्दा ह्रस्वको स्थानमा दीर्घ लेख्ने विकल्प, तीन वटा ‘श’, ‘ष’ र ‘स’लाई प्रतिस्थापन गरी लेख्ने विकल्प, ‘व’ र ‘ब’ लाई उच्चारण जसरी लेख्ने विकल्प, ‘ए’ र ‘य’लाई विकल्पमा रुपमा लेख्ने प्रवृत्ति, ‘ञ’, ‘ङ’, ‘न’ र ‘म’ लाई शिरविन्दु, चन्द्रविन्दुका रुपमा उपलब्ध विकल्प, ‘ण’ र ‘न’ लाई आपसमा प्रतिस्थापन गरी लेख्ने विकल्प तथा संयुक्त व्यञ्जन वर्णलाई टुक्राएर लेख्ने अभ्यासका कारण नेपाली भाषालाई अशुद्ध रुपमा लेख्न र लेखिन सक्ने सम्भाव्यदर अधिक रहेको देखिन्छ ।
सूत्र
नेपाली भाषाका शब्दहरूलाई कति प्रकारले लेख्ने सम्भाव्यताको सूत्र यसप्रकार रहेको छ । कुनै शब्दमा रहेका अक्षरहरूको भेदहरूको सङ्ख्यालाई आपसमा गुणा गर्दै जाँदा जति गुणनफल निस्किन्छ, त्यही नै संख्यामा सो शब्दलाई विभिन्न रुपमा लेख्न सकिन्छ । उदाहरणका लागि ‘कलम’ शब्दलाई लिन सकिन्छ । यहाँ ‘क’, ‘ल’ र ‘म’ शब्द एउटै रूपमा मात्र लेख्न सकिन्छ । तसर्थ ‘कलम’ शब्दमा १×१×१=१ हुन जाँदा केवल १ प्रकारले मात्र लेख्न सकिन्छ । यस्तै ‘किरा’ शब्दमा ‘कि’ मा दुइटा भेद रहेका छन् । ‘क’ या त ह्रस्व लेखिन्छ या दीर्घ लेखिन्छ । तसर्थ ‘किरा’ शब्दमा २×१=२ हुन जाँदा यो शब्द दुई प्रकारले लेख्न सकिन्छ, किरा र कीरा गरी । ‘शिर’ शब्दमा ‘श’ अक्षरमा हस्व र दीर्घ गरी दुइटा भेद र ‘श’, ‘ष’ र ‘स’ गरी तीन वटा भेद रहेका हुन्छन् ।
तसर्थ ‘शिर’ शब्द २×३×१=६ प्रकार (शिर, शीर, सिर, सीर, षिर र षीर) ले लेख्न सकिन्छ । ‘शिशु’ शब्दको पहिलो अक्षर ‘श’मा ह्रस्व र दीर्घ गरी दुइटा र ‘श’, ‘ष’ र ‘स’ गरी तीन वटा भेद तथा शिशु शब्दको दोस्रो अक्षर ‘शु’ मा पनि ह्रस्व र दीर्घ गरी दुइटा भेद र ‘श’, ‘ष’ र ‘स’ गरी तीन वटा भेद रहेको हुँदा शिशु शब्द २×३×२×३=३६ प्रकार (शिशु, शिषुु, शिसु, शीशु, शीषुु, शीसु, सिशु, सिषु, सिसु, सीशु, सीषु, सीसु, षिशु, षिषु, षिसु, षीशु, षीषुु, षीसु, शिशूू, शिषू, शिसू, शीशूू, शीषू, शीसू, सिशूू, सिषू, सिसू, सीशूू, सीषू, सीसू, षिशूू, षिषू्््, षिसू, षीशूू, षीषू, षीसू)ले लेख्न सकिन्छ । ‘वकिल’ शब्दमा ‘व’ मा ‘व’, ‘ब’ र ‘ओ’ गरी तीन वटा भेद र ‘क’ मा ह्रस्व र दीर्घ गरी दुइटा भेद रहेको हुँदा वकिल शब्दलाई ३×२=६ प्रकार (वकील, बकील, ओकील, ओकिल, वकिल, बकिल) ले लेख्न सकिन्छ ।
यसैगरी ‘शैशव’ शब्दमा ‘शै’को ‘श’मा रहेका तीन वटा भेद, ‘शै’ र ‘सई’ गरी दुइटा भेद र ‘सई’मा पनि ‘स’ मा तीन वटा भेद र ‘ई’ मा ह्रस्व र दीर्घ गरी दुइटा भेद तथा ‘व’ मा रहेका दुइटा भेद गरी कुल ३×२×३×२×२=७२ भेद (शैशव, सैशव, षैशव, शैशब, सइशव, सईशव, शईशव……..) रहेका छन् ।
यस्तै ‘स्थिति’ शब्दमा ‘थि’ को ह्रस्व र दीर्घ गरी दुइटा भेद, ‘स्’ को ‘स्’, ‘श्’ र ‘ष्’ गरी तीन वटा भेद र ‘ति’ को ह्रस्व र दीर्घ गरी दुइटा भेद हुँदा ३×२×३=१२ भेद (स्थिति, ष्थिति, श्थिति, स्थीति, ष्थीति, श्थीति, स्थिती, ष्थिती, श्थिती, स्थीती, ष्थीती र श्थीती) हुन जान्छ ।
यसरी शब्दका अक्षरमा रहेका भेदहरूको सङ्ख्यालाई गुणन गर्दै जाँदा जति गुणनफल निस्किन्छ त्यही आधारमा शब्द कति प्रकारले लेख्न सकिन्छ भन्ने निर्क्याेल हुन जान्छ ।
त्यस्तै ‘ऋषि’ शब्दमा पनि ‘ऋ’ अक्षरमा रहेको ‘रि’ र ‘ऋ’ का दुइटा भेद, अनि ‘ष’ शब्दमा रहेको ह्रस्व र दीर्घ दुई भेद तथा ‘ष’, ‘स’ र ‘श’ का ३ भेद गरी यसमा पनि २×२×३=१२ भेद (ऋषि, रिषि, रीषि, ऋसि, रिसि, रीसि, ऋशि, रिशि, रीशि, ऋषी, रिषी, रीषी, ऋसी, रिसी, रीसी, ऋशी, रिशी, रीशी) हरू रहेका छन् ।
शुद्ध र अशुद्ध लेखिन सक्ने सम्भावना
नेपाली शब्द शुद्ध र अशुद्ध लेखिन सम्भावना कति रहेको छ भन्न तथ्याङ्कशास्त्रको सूत्रको प्रयोग गर्न सकिन्छ । भेदयुक्त नेपाली शब्दमा शुद्ध रुपको शब्द केवल एउटामात्र हुन्छ । बाँकी सबै शब्द अशुद्ध हुन्छन् । उदाहरणका लाग ‘शिशु’ शब्दलाई लिन सकिन्छ । यो शब्दलाई विभिन्न ३६ प्रकारले लेख्न सकिन्छ, जसमध्ये एउटा शब्दमात्र शुद्ध हो । यसरी हेर्दा ३५ अशुद्ध र १ शुद्ध शब्द रहने ‘शिशु’ शब्द शुद्ध लेख्न सकिने सम्भावना १ भागमा ३६ भाग (०.०२७७८) अर्थात् २.७७७८ प्रतिशतमात्र रहेको हुन्छ । यसरी यस लेखमा माथि उल्लेखित शब्दहरू ‘कलम’, ‘किरा’, ‘शिर’, ‘शिशु’, ‘वकील’, ‘शैशव’, ‘स्थिति’, ‘ऋषि’, ‘व्यक्त’, ‘नीति’, ‘सम्प्रेषण’ र ‘काठमाडौं’ शब्दको शुद्ध र अशुद्ध लेखनको अवस्था तालिकामा दर्शाइएको छ ।
निष्कर्ष
उपरोक्त तालिकाबाट भेद भएका शब्दहरू अशुद्ध लेखिने सम्भावना अधिक रहेको देखिन्छ भने शुद्ध लेख्न सकिने सम्भावना अत्यन्त न्यून रहेको छ । तसर्थ नेपाली भाषालाई जोगाइराख्ने हो भने यस भाषालाई शुद्धसँग लेख्ने कडा अनुशासनको आवश्यकता यस अध्ययनको निष्कर्ष रहेको छ ।
आगामी बाटो
उपरोक्त पक्षलाई दृष्टिगत गरी नेपाली भाषालाई यसको मौलिक स्वरुप नबिगारी एकद्वार प्रणालीमा यस भाषाको पनि प्रशासन हुन आवश्यक छ । एक व्याकरण र एक शब्दकोशका आधारमा यस भाषालाई व्यवस्थित बनाउन जरुरी छ । साथै खल्ती खल्तीमा व्यक्तिगत व्याकरण अनि काखीकाखीमा व्यक्तिगत शब्दकोश च्यापेर हिँड्ने प्रवृत्तिलाई यस एकद्वार प्रणालीबाट नियन्त्रण हुन जरुरी छ । नेपाली भाषालाई अशुद्ध लेख्ने परिपाटीलाई निरुत्साहन गर्न प्रशासकीय, प्राज्ञिक, सामाजिक र प्राविधिक औजारहरूको प्रयोग हुन पनि जरुरी छ । अशुद्ध लेखनलाई निरुत्साहन गर्न प्रकाशित सामग्रीहरूको समीक्षा गर्ने र उक्त प्रकाशनमा हुने शुद्धताको प्रतिशतका आधारमा दण्ड पुरस्कार गर्ने प्रशासनिक कार्य हुन पनि जरुरी छ । सरकारी लेखापढीमा हुने अशुद्धीलाई नियन्त्रण गर्न नेपाल सरकारले कार्यसम्पादन मूल्याङ्कनमा त्यस्ता अशुद्धीहरू रेकर्डमा रहने व्यवस्था गर्न पनि जरुरी छ । यस्तै अशुद्ध लेखिएका सामग्रीहरुलाई प्राज्ञिक क्षेत्रलगायत पुस्तकालयहरुले खरिदमा निरुत्साहन गर्ने कार्यहरु गर्न पनि जरुरी देखिन्छ । सामाजिक क्षेत्रले पनि अशुद्धता भएका नेपाली भाषामा लेखिएका सामग्रीहरुलाई बेवास्ता गर्ने परिपाटीको थालनी गर्नु जरुरी छ ।
यस्तै नेपाली भाषामा अशुद्ध लेखन कार्यलाई वर्तमान सूचना प्रविधिको माध्यमबाट नियन्त्रण हुन पनि जरुरी छ । यसका लागि अशुद्ध पहिचान गरी रिपोर्ट गर्ने सफ्टवेयर तयार गरी सोअनुसार टाइप हुने व्यवस्था हुन जरुरी छ । यसैगरी कुनै सामग्री उक्त सफ्टवेयरमा राख्नासाथ कहाँ कहाँ र कति शब्द अशुद्ध छन् भनेर रिपोर्ट गर्ने प्रणालीको विकास हुन पनि आवश्यक छ । यस्तो सफ्टवेयरको विकास हुनासाथ नेपाली भाषामा तयार गरिएको पाठ्य सामग्री कति शुद्ध र कति अशुद्ध छ भनेर निर्क्योल गर्न र निश्चित प्रतिशतभन्दा बढी अशुद्ध सामग्रीलाई ग्रहण गर्न अयोग्य हुने परिपाटीको विकास हुन पनि जरुरी छ । विशेषगरी नेपाली भाषासम्बन्धी पुस्तक, पत्रपत्रिका र अन्य प्रकाशन गृहले यस्तो परिपाटी विकास गर्दा स्रोतमै भाषा शुद्ध हुन जाने र भाषामा शुद्धाशुद्धीका क्षेत्रमा हुने साधनस्रोत र समयको बचत हुने देखिन्छ ।
अत्युत्तम कार्य। यस् आलेख पढेर म अत्यन्तै प्रभावित छु। भाषा कोे शुद्धता अक्षत् राख्नुपर्छ। मेरा एउटा अर्को पनि थप विचार छ। नेपाली भाषा बाट सबै विदेशि शब्दहरूलाई निष्कासित गर्नु पर्छ। केवल संस्कृत, प्राकृत र नेपालका क्षेत्रीय भाषाहरू बाट लिएका शब्दहरू हुन पर्छ। अरबी, फारसी, अङ्ग्रेजी इत्यादि विदेशि भाषाहरू का शब्दहरूको आवश्यक छैन।