धार्मिक रुढीवादविरुद्ध ‘एन्टिथेसिस’ बहस : वैज्ञानिक चेतना निर्माणमा विकल्पको साहस – Nepal Press
किताबी कुरा

धार्मिक रुढीवादविरुद्ध ‘एन्टिथेसिस’ बहस : वैज्ञानिक चेतना निर्माणमा विकल्पको साहस

‘एन्टिथेसिस’ पढिरहँदा मलाई कार्ल मार्क्सका दुई भनाइ स्मरणमा आयो । एउटा ‘धर्म मानिस/जनताका लागि अफिम हो’ र अर्को ‘आफ्नो मालिक आफैँ बन्नुपर्छ ।’ सन् १८४८ मा कम्युनिष्ट घोषणापत्र जारी गर्दाताका मार्क्सले धर्म शासकहरूले शासनको बागडोर सम्हालेर शक्तिमा रहिरहन रचेको र जनतालाई नशाका रूपमा लादिएको बताएका थिए । त्यसले विश्वमा ठूलै हलचल ल्याएको मात्रै थिएन । त्यही कम्युनिष्ट विचार बोकेका आजका देशमा पनि धर्मलाई सकेसम्म नकार्न खोजिन्छ ।

अर्को भनेको आफ्नो मालिक आफैं बन्नुपर्छ । यो जीवन नितान्त आफ्नो हो । एकपटकका लागि हो तसर्थ यो जिन्दगीको नियन्त्रण आफैंमा हुनुपर्छ भन्ने आशय उनले व्यक्त गरेका थिए । अवश्य पनि यसको प्रत्यक्ष आशय ‘एन्टिथेसिस’ मा भेटिन्छ ।

२८५ पाना र २८ विभिन्न विषयसूचीको यस पुस्तक एउटा स्वसहयोगी कृतिको रूपमा पनि रहन सक्छ । ‘देश किन बनेन ?’ र ‘समृद्धिको रोडम्याप’ पछि जन्म भएको ‘एन्टिथेसिस’ को समग्र पक्षलाई यहाँ चिरफारको प्रयास गरिएको छ ।

एन्टिथेसिसले भइरहेको रुढीवाद र धर्म संस्कारमाथि धावा बोल्न र निर्मम भएर प्रश्नमात्रै उठाउन जागरुक गराउँदैन त्यस्ता तत्वहरूलाई निषेध नै गर्नुपर्छ भन्न कट्टर वकालतसमेत गरेको छ । लेखक लेख्छन्, ‘जीवनमा एन्टिथेसिसको प्रयोगबाट नै उत्साह, ऊर्जा, आत्मविश्वास र सफलता मिल्दछ ।’

लेखक एवं सुशासनका अभियन्ता प्रकाश विकल्पको तेस्रो कृति ‘एन्टिथेसिस’ ले नेपालमा एउटा बहसको सुरूवात गरेको छ । हुन त माओवादी युद्धले धर्म, संस्कृतिमा प्रश्नमात्रै उठाएको होइन धावा नै बोलेको थियो । यद्यपि अहिलेसम्म आउँदा राजनीतिमा परिवर्तन ल्यायो । एक किसिमको सोचमा पनि बदलाव भयो नै । तर, पनि समाजको आमूल रूपान्तरण भएन । अन्धविश्वास र रुढीवादमा अझै पनि ठूलै तप्का नेपाली नागरिक अभिसप्त छन् । विकल्पले त्यही धर्म, अन्धविश्वास, रुढीवादी चालचलन अनि वैज्ञानिक कारणविनाका संस्कारविरुद्ध एन्टिथेसिसमा दह्रो खुट्टा टेकेका छन् ।

मानव मस्तिष्कको विशाल क्षमताको संक्षिप्त वर्णनमार्फत सुरू भएको विचारको ज्वाला अन्त्यमा ऊर्जाशील र उत्प्रेरक कवितामा समाप्त हुन्छ । अनुकूलताका नियम र वातावरणीय संयोगले संसार सृष्टि गरेको उद्घोष एन्टिथेसिसले गरेको छ । त्यही वातावरणीय संयोगको क्रिया र प्रतिक्रिया मिल्दा शिकारी युगबाट कृत्रिम बौद्धिकताको युगमा मानव सभ्यता प्रवेश गरेको विकल्पको ठम्याइ छ । मस्तिष्कको चर्चामा मानवले निर्माण गरेको एआई पनि सीमित क्षमताको हुने तर मानव मस्तिष्कमा असीमित क्षमता मौज्दुत भएको पुस्तकमा भेटिन्छ । त्यसैले, यसको प्रयोग यथेष्ट गर्नुपर्नेमा जोड दिइएको छ ।

धर्मले मानिसलाई सीमित रहन सिकाएको, कोही ठूलो पुजनीय हुने कोही निरीह हुने कुरा देखाएको, त्यस्तै संस्कार पालना गराएकोले मानिस आफैंभित्रको अथाह शक्तिशाली मस्तिष्क बोकेर पनि सामान्य र अर्थहीन जीवन बाँचिरहेको लेखकको जिकिर छ ।

एन्टिथेसिसले भइरहेको रुढीवाद र धर्म संस्कारमाथि धावा बोल्न र निर्मम भएर प्रश्नमात्रै उठाउन जागरुक गराउँदैन त्यस्ता तत्वहरूलाई निषेध नै गर्नुपर्छ भन्न कट्टर वकालतसमेत गरेको छ । लेखक लेख्छन्, ‘जीवनमा एन्टिथेसिसको प्रयोगबाट नै उत्साह, ऊर्जा, आत्मविश्वास र सफलता मिल्दछ ।’

एन्टिथेसिस लोकार्पण समारोह । (१५ असार, २०८१)

नेपालीहरूले अहिलेको अवस्थामै चित्त बुझाएर बस्नु वा सोचेजस्तो हासिल नहुनुमा धार्मिक अन्धविश्वास रहेको प्रधानताका साथ किताबमा उल्लेख छ । धर्मले मानिसलाई सीमित रहन सिकाएको, कोही ठूलो पुजनीय हुने कोही निरीह हुने कुरा देखाएको, त्यस्तै संस्कार पालना गराएकोले मानिस आफैंभित्रको अथाह शक्तिशाली मस्तिष्क बोकेर पनि सामान्य र अर्थहीन जीवन बाँचिरहेको लेखकको जिकिर छ ।

मान्छेले चाहेर पनि नहुने र नसक्ने प्राय केही नभएको जस्ता ऊर्जाशील उत्प्रेरक विचारले पुस्तकमा यथेष्ट स्थान पाएको छ । नेपाल नबन्नुमा के छ त ? भन्ने प्रश्नमा लेखकले निकै जोडबलका साथ धर्मलाई दोष दिन्छन् । धर्मले नै मानिसलाई प्रयोगात्मक र वैज्ञानिक बनाउन रोकेकाले केही कुरामा प्रयोग नभएको उनको बुझाइ छ ।

प्रश्न उठाउने, असहमति जनाउने, नयाँ खोज अनुसन्धान नगर्ने, आफ्नो मस्तिष्कको प्रयोग नगर्ने जस्ता अवस्था भनेको जुनसुकै धर्ममा अन्धभक्त हुनुले भएको उनको ठम्याइ छ । धर्मविशेषमा उनी छैनन् । उनले कुनै एक धर्मलाई दोषेका भने होइनन् । विश्वकै परिवेशमा उदाहरण पेश गर्दै जुन देश नास्तिक छ तुलनात्मक रूपमा तिनै देश विकसित भएको उनको तर्क छ ।

आफू सीमित भएपछि आफ्नो प्रयास र कर्म वा एक इँटाले समाज, देश र विश्वलाई के नै फरक पर्छ र भन्ने मानसिकतालाई चिर्दै लेखक ‘डोमिनो ईफेक्ट’बारे जानकारी दिन्छन् । डोमिनो ईफेक्ट भनेको सानै सुरूवात पनि धेरैबाट निरन्तर भयो भने कालान्तरमा त्यसको प्रभाव देखिन सक्छ । सबै कुरा एकबाटै सुरू भएको हो । ‘एक थिएन भने सय हुने नै थिएन’, विकल्प यसरी मानिसमा ऊर्जा भर्छन् कि केवल एक व्यक्तिको भूमिका पनि संसारमा अहम हुन सक्छ भनेर ।

लेखक गतिमा विश्वास गर्छन् । आजको युग एआईको युग भएकोले पनि अब देश र व्यक्तिगत जीवनको उन्नतिका लागि पनि समय धेरै नभएको उनको बुझाइ छ । त्यसैले उनी समयको तीन होइन चार काल भएको र त्यो ‘तत्काल’ भएको मान्छन् ।

‘हरेक साधारण मान्छेसँग असाधारण मान्छे बन्ने क्षमता हुन्छ । सवाल यति हो ऊ असाधारण मान्छे हिँडेको बाटो हिँड्न तयार हुन्छ कि हुँदैन’, एउटा प्रश्नपूर्ण उद्गारसहित एन्टिथेसिसको महत्व पुस्तकमा औंल्याइएको छ ।

अग्रगामी रूपान्तरणको सोच, विचार, चेतना र कर्म नै एन्टिथेसिस हो । विपन्नताबाट सम्पन्नताको बाटो एन्टिथेसिस हो । यथास्थितिविरुद्धको विचार, दृष्टिकोण र व्यवहार प्रदर्शन नै आजको आवश्यकता हो । हरेक मानिसमा सफल र अदभूत बन्ने क्षमता भएर पनि त्यसो नहुनुमा यथास्थितिवादी चेतना र कर्म रहेकाले हो । धार्मिक जडतालाई त्याग्नेबित्तिकै जीवन सफल हुनसक्छ । यस्ता धारणा पुस्तकमा पाइन्छन् । यो सुरूमा स्वीकार्न गाह्रो हुनेमा पनि विकल्प आफैं सुझाउँछन् । अनि किन गाह्रो हुन्छ त ? किनकी वर्षौंदेखिको उही संस्कार र चालचलनमा भएकाले हो विकल्पको तर्क छ ।

‘हरेक साधारण मान्छेसँग असाधारण मान्छे बन्ने क्षमता हुन्छ । सवाल यति हो ऊ असाधारण मान्छे हिँडेको बाटो हिँड्न तयार हुन्छ कि हुँदैन’, एउटा प्रश्नपूर्ण उद्गारसहित एन्टिथेसिसको महत्व पुस्तकमा औंल्याइएको छ । एशियाका मानिसहरूको धार्मिक आस्थामा जकडिएको कूरीति र अन्धविश्वासले नै देश नबनेको कुरालाई पुष्टि गर्न विभिन्न प्रसंगहरू पुस्तकमा छन् ।

वैज्ञानिक चेतनाले सिर्जित गरेको कृत्रिम बौद्धिकता मान्छेको उन्नत पुस्ता जस्तो बनेको छ । यसरी आफूमा रुढीवादी संस्कार छोडेर वैज्ञानिक संस्कारमा लाग्दा सिर्जना हुन्छ । पुस्तक जति सम्पादन गरियो उति उत्कृष्ट हुन्छ । ठीक त्यसैगरी जीवन पनि नियमित अपडेट गर्नुपर्छ । ‘जीवन अप्रकाशित पुस्तक हो । निरन्तर सम्पादन गर्नुपर्छ’, यो पंक्ति सोचनीय छ । यसले समाज रूपान्तरणमा लाग्ने राजनीतिज्ञलाई पनि घच्घच्याउन सक्छ यदि सच्चा सेवाकै लागि आएका हो भने । राजनीति गर्नेले जसरी पनि पढ्नै पर्ने पुस्तक हो यो । अन्य आम मानिसले पनि आफ्नो विचार र जीवनशैलीमा प्रश्न गर्न एउटा साधन बन्न सक्छ एन्टिथेसिस ।

आफैंमाथि प्रश्न गरैरे बुद्धले निर्वाण प्राप्त गरेका हुन् । बाल्यकालमा मन्दवुद्धि कहलिएका अल्बर्ट आइन्स्टाइन २० औं शताब्दीकै महान वैज्ञानिक बन्नु पनि प्रश्न नै थियो । प्रश्न गर्ने गुणकै कारण बाल्यकालमै ‘मर्छ’ भनी डाक्टरले घोषणा गरेका स्टेफन हकिङ ७६ वर्षको लामो जिन्दगी मात्रै बाँचेनन् ब्राह्मण्ड उत्पतिसम्बन्धी अद्भूत सिद्धान्तहरू प्रतिपादन गरे ।

मेरो नजरमा लेखक विकल्पको सराहनीय पक्ष उनी आफैंले स्वीकारेका छन् कि- १० वर्षअघि उनी भयंकर आस्तिक थिए । अहिले नास्तिक बने । आफूले कुनै धार्मिक कर्मकाण्ड नगरेको, अन्धविश्वास चेतना त्यागेको, गत असार १५ मा पुस्तक विमाेचनका क्रममा अतिथिहरुलाई खादा माला लगाउने संस्कार नगरेकाे, आफ्नो अल्टरनेटिभ फाउण्डेशनमा ओ माइ गड, दुर्भाग्यवशजस्ता धार्मिकतासँग सम्बन्धित कुरा त्यागेको जस्तो पक्षले के पुष्टि गर्छ भने उनले फगत अरुलाई सिद्धान्त र आफ्नो बौद्धिकता छ भन्ने आडम्बर देखाउनमात्रै एन्टिथेसिस लेखेका होइनन् । आफ्नै व्यवहारगत पक्षको प्रतिबिम्ब पनि यसमा छल्किएको बुझ्न सकिन्छ ।

‘एन्टिथेसिस’ ले विद्यमान परम्परावादी अवैज्ञानिक विचार, कार्य, प्रणालीमाथि प्रश्न गर्न घच्घच्याउँछ । आफैंमाथि प्रश्न गरैरे बुद्धले निर्वाण प्राप्त गरेका हुन् । बाल्यकालमा मन्दवुद्धि कहलिएका अल्बर्ट आइन्स्टाइन २० औं शताब्दीकै महान वैज्ञानिक बन्नु पनि प्रश्न नै थियो । प्रश्न गर्ने गुणकै कारण बाल्यकालमै ‘मर्छ’ भनी डाक्टरले घोषणा गरेका स्टेफन हकिङ ७६ वर्षको लामो जिन्दगी मात्रै बाँचेनन् ब्राह्मण्ड उत्पतिसम्बन्धी अद्भूत सिद्धान्तहरू प्रतिपादन गरे । उनले नै संसारमा कृत्रिम बौद्धिकता आउँछ भनि भविष्यवाणी समेत गरेका थिए । त्यस्तै, नेल्सन मण्डेलाले वेथिति र अन्यायविरुद्ध प्रश्न गरेकै कारण असल राजनेता बनेँ । नेपालमै पनि तत्कालीन राजनीतिप्रति बीपी, पुष्पलाल, मदन भण्डारी, प्रचण्ड, बाबुरामहरूले प्रश्न गरेकैले प्रजातन्त्र आएको, गणतन्त्र आएको हो । यसरी मानिसले विद्यमान विशेषगरी रुढीवादी प्रथाप्रति प्रश्न उठाउनुपर्ने र उठाउनलाई एन्टिथेसिसले जोड दिन्छ ।

पुस्तकको मूल ध्येय भनेकै धर्ममाथि प्रश्न हो । लेखकले त प्रश्नमात्रै भन्दैनन् आज तपाईं जे जे गर्दै हुनुहुन्छ पक्कै पनि उति धेरै सन्तुष्ट हुनुहुन्न होला । यदि त्यसो हो भने आजै धर्म नामको भ्रमलाई त्याग्नुस् भन्ने विकल्पको आग्रह छ । आफ्नै उदाहरण दिँदै पनि उनी भन्छन्, ‘मैले धर्म र पूजाअर्चना त्यागेको एक दशक भइसक्यो ।’

समयको गति अघि बढिसक्यो । यसलाई फर्काउनु भनेको पश्चगामी चेतना भएको पुस्तकमा उल्लेख छ । यसलाई लेखकले निकै खरो तवरले जोड दिएका छन् । उदाहरण नै दिएर पनि बुझाउने कोसिस गरेका छन् कि अब रूपान्तरणको बाटो जहिल्यै अगाडि हुन्छ । पछाडि फर्कनुले कसैको पनि प्रगति हुने अवस्था नहुने उनको बुझाइ छ । आजको गणतन्त्र केबल केही वर्षको संघर्ष र चेतना नभइ सदियौंदेखिको प्रयासको प्रतिफल हो । अब राजतन्त्रको वकालत गर्नेहरूले देशलाई कतै लैजान नसक्ने, आजको युगको प्रतिनिधित्व गर्न नसक्ने आशय पुस्तकमा समेटिएको छ ।

यसै त नेपालीहरू अन्य विकसित मुलुकको दाँजोमा निकै पछि परेको आधुनिक सूचकदेखि अन्य सम्पूण विकासका आयामहरूले जनाउ दिएका छन् । त्यसमा पनि राजनीतिक व्यवस्थालाई पुनः हिजोको दिनमा फर्काउनुको आशय उल्टो गाडा चलाउनु हो । पुस्तकमा आक्रोशमिश्रित शब्दसहित लेखकले जोड दिएका छन् ।

विकासका लागि एन्टिथेसिस

पुस्तकको मूल ध्येय भनेकै धर्ममाथि प्रश्न हो । लेखकले त प्रश्नमात्रै भन्दैनन् आज तपाईं जे जे गर्दै हुनुहुन्छ पक्कै पनि उति धेरै सन्तुष्ट हुनुहुन्न होला । यदि त्यसो हो भने आजै धर्म नामको भ्रमलाई त्याग्नुस् भन्ने विकल्पको आग्रह छ । आफ्नै उदाहरण दिँदै पनि उनी भन्छन्, ‘मैले धर्म र पूजाअर्चना त्यागेको एक दशक भइसक्यो ।’

रुढीवादी सोच र चेतनाले नै २४० वर्ष राजा जसमध्ये १०४ वर्ष राणा शासनले देशलाई अधोगतितिर लग्यो भन्ने एन्टिथेसिसको भनाइ हो । यो धेरै हदसम्म तथ्यपूर्ण छ । एकात्मक राज्य व्यवस्थाले समग्र नागरिकको हित चिताएको थिएन । शिक्षा, स्वास्थ्यजस्ता आधारभूत कुराबाट जनता बञ्चित थिए । विकल्पले शासनका ती खण्डको विरोधमात्रै गरेका छैनन् । वि.सं. १९७७ मा सती प्रथा उन्मुलन गर्नुले चन्द्र शमशेरलाई तत्कालीन राणाहरूभन्दा एन्टिथेसिस बुझ्न सकिने कुरा पनि दर्शाएका छन् । नेपालमा धार्मिकताका कारण मानिसको मनोविज्ञानमा आएको रुढीवाद, अन्धविश्वास, अवैज्ञानिक, सीमितता जस्ता कारणले जातीय विभेद, उत्पीडन, उत्पन्न छाउपडी, दाइजो प्रथा, महिनावारीमा बार्ने चलन, देशको दुर्गतिलगायत समस्याको पहिचान पुस्तकमा भेटिन्छ । साथै केरलाको नांगेली, नेपालकै योगमाया, देवी खड्का जस्ता एन्टिथेसिस समातेका सशक्त महिलाहरूको संघर्ष पनि उल्लेख छ।

पुस्तकले समाधानको सुझावहरू पनि प्रस्तुत गरेको छ । कर्मचारीतन्त्रको भोलिवाद र ढिलासुस्तीलाई भर्खरवादमा रूपान्तरण गर्ने, टाइम कार्ड र स्वमूल्यांकन गर्ने, नेताहरूमा दोस्रो तेस्रो पुस्ताका युवा तर अग्रगामी सोच भएकालाई अवसर दिने, बजेटमा अग्रगामी नीति, नेतामा स्मार्ट छविको नेता, आम नागरिकमा पनि वैज्ञानिक संस्कार बोकेको मान्छे भएमा देश बदलिने विकल्पको विश्वास छ । त्यसका लागि चेतना बदल्नुपर्ने, चेतना बदल्न संगत, ज्ञानको स्रोत, हेर्ने, सुन्ने कुराको पृष्ठभूमि बदल्नुपर्ने उनी सुझाउँछन् । जीवनमा हाेस् वा देश विकासमा हाेस् सफलता र क्रमभंगताबीच प्रत्यक्ष सम्बन्ध रहेकाे आौंल्याउँदै क्रमभंगताको तर्कपूर्ण कार्यान्वयनका लागि आह्वान गरेका छन् । अब जे जे भइरहेका छन् । तिनीहरुले परिणमा नदिने सिद्ध भएकाले अब आक्रामक ढंगले क्रमभंगता अंगाल्नुपर्ने लेखकको ठम्याइ छ ।

सबैभन्दा गजब पक्ष उनले २१ औं शताब्दीको वैचारिकीमा वैज्ञानिक मानवतावाद हुनु पर्ने भनेका छन् । यसमा उनले सामाजिक न्याय, समावेशिता, खोज अनुसन्धान र सबैको मानवताको रक्षाको विषय दमदार ढंगले उठाएका छन् । त्यस्तै, अबको समाज साइन्सबेस्ड अप्रोचमा अघि बढ्न सक्ने उनको विचार छ । र अन्त्यमा कोरिएको कविताले सम्पूर्ण मानवलाई जाग्न र अग्रगामी सोचको निम्ति लाग्न जागरुक बनाएको छ ।

धर्म, रुढीवाद, अन्धविश्वासको खरो आलोचनामा लेखक उत्रिएका छन् । जबकी हरेक धर्ममा मानिसकै जीवन राम्रो बनाउनका लागि प्रयोग गरिने कतिपय रीतिरिवाज र दैनिकी छन्, ती पक्षलाई विज्ञानले पनि प्रमाणित गरेका छन् । ती विषयलाई स्वीकार्न लेखकलाई गाह्रो भएको देखिन्छ ।

एन्टिथेसिस एउटा सशक्त ननफिक्सन अझभन्दा सेल्फहेल्प कृति हो । केही टिप्पणीको रूपमा लेखकले वातावरणीय संयोगलाई उति परिभाषित नगरेको महसुस भयो । किनकी संयोग त सम्भवत: धार्मिकतासँगै जोडिएको हो कि ? त्यस्तै, २१ औं शताब्दीमा हामीले सबैलाई समेट्नु पर्छ । विचार राख्ने स्वतन्त्रता पक्कै पनि आ-आफ्नै छ । तसर्थ कुनै वाद वा अग्रगमन पश्चगमनको नाममा निषेध गर्न वा बन्देज लगाउनु ठीक होइन । जबकी पुस्तकले नै अबको शताब्दीको विकल्पको रूपमा मानवतावादको वकालत गरेको छ । यो अलिक तादाम्यता नमिलेको हो कि ?

धर्म, रुढीवाद, अन्धविश्वासको खरो आलोचनामा लेखक उत्रिएका छन् । जबकी हरेक धर्ममा मानिसकै जीवन राम्रो बनाउनका लागि प्रयोग गरिने कतिपय रीतिरिवाज र दैनिकी छन्, ती पक्षलाई विज्ञानले पनि प्रमाणित गरेका छन् । ती विषयलाई स्वीकार्न लेखकलाई गाह्रो भएको देखिन्छ । बुद्धको प्रशंसक देखिएका लेखकले होलिस्टिक अप्रोचलाई नजरअन्दाज गरेका हुन् कि !

विकल्पको ‘एन्टिथेसिस’ को सार नै यही हो कि मान्छे भएर जन्मनुको अर्थ प्रमाणित गर्न खोज्नुपर्छ । त्यसका लागि फरक सोच्नुपर्छ । फरक सोच्न, फरक र उन्नत चेतना हुनुपर्छ । त्यसका लागि त्यस्तै किसिमका ज्ञान, पुस्तक अध्ययन, संगत, हेर्ने, सुन्ने गर्नुपर्छ । त्यसपछि चेतना बदलिन्छ । र, उन्नत एवम् वैज्ञानिक चेतनाले नै समग्र जीवन, समाज र राष्ट्र बदल्छ ।

एन्टिथेसिस नयाँ बहस नै हो भने केही कन्टेन्ट अपूरो र सतहीजस्तो देखियो । सुरूवाती मानव चार महादेशमध्ये एशियामा धर्मका कारण अविकसित भयो भनिरहँदा अमेरिकी डलरमा आज पनि ‘ईन गड वी ट्रस्ट’ लेखिएको हुन्छ । त्यसकारण केही रुढीवाद, अन्धविश्वास हटाउन जुनसुकै धर्मबाट पनि पक्कै आवश्यक छ । तर, सबैको दोष धर्म र संस्कृतिमा लगाउन नमिल्ला ! युरोपमा जीआरडिनो ब्रुनोलाई जिउँदै जलाइएको प्रसंग पुस्तकमा धेरै ठाउँ भेटिन्छ । जो कि युरोपका थिए । तर त्यस्तै, प्रसंग नेपालमा नभएर हो कि उल्लेख छैन । यदि नभएकै हो भने त नेपालमा धर्मलाई विचारमा बन्देज गरेको रहेनछ पनि भन्न सकिन्छ कि ?

त्यस्तै, मस्तिष्कसम्बन्धी जानकारी साँच्चै संक्षिप्त छ । निकै छोटो । अलिक पर्याप्त सूचना दिँदा अझै उत्तम हुन्थ्यो । मनोविज्ञानको पाटोलाई खासै उठान गरिएको छैन । जबकी सोच र चेतनाको विकासमा यसको अमूल्य योगदान रहन्छ । पुस्तकमा राजतन्त्र फर्काउनु पश्चगामी भनिएको छ र नामै तोकेर उदाहरण दिइएको छ । के त्यसो गर्नु जरुरी नै थियो र ? साथै केही केही पानामा भाषागत त्रुटि देखिएका छन् । आशा छ आगामी संस्करणमा सुध्रने छ ।

एक वाक्यमा भन्नुपर्दा यदि तपाईंको जीवन सोचेजस्तै भइरहेको छ भने बधाई छ त्यही बाटो हिँड्नु्स् जुन हिँडिरहनुभएको छ । यदि छैन भने बाटो बदल्नुस्, कहिले ? यो वर्ष ? होइन, यो महिना ? होइन, आज पनि होइन, अहिल्यै बदल्नुस् । एकैपटक त नबद्लेला । तर, बदल्छु भन्ने निर्णय, प्रण र अठोट त अहिल्यै, यही पलमा गर्न सकिन्छ नि !

विकल्पको ‘एन्टिथेसिस’ को सार नै यही हो कि मान्छे भएर जन्मनुको अर्थ प्रमाणित गर्न खोज्नुपर्छ । त्यसका लागि फरक सोच्नुपर्छ । फरक सोच्न, फरक र उन्नत चेतना हुनुपर्छ । त्यसका लागि त्यस्तै किसिमका ज्ञान, पुस्तक अध्ययन, संगत, हेर्ने, सुन्ने गर्नुपर्छ । त्यसपछि चेतना बदलिन्छ । र, उन्नत एवम् वैज्ञानिक चेतनाले नै समग्र जीवन, समाज र राष्ट्र बदल्छ । यही प्रक्रिया समाज रूपान्तरणमा पनि अनुसरण गर्नैपर्ने एन्टिथेसिसको सार हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *