विज्ञताका आधारमा पार्टी र जनवर्गीय संगठनमा पुस्तान्तरण हुनुपर्छ : क्रान्तिकारी उपाध्यक्ष डा. भट्ट – Nepal Press

विज्ञताका आधारमा पार्टी र जनवर्गीय संगठनमा पुस्तान्तरण हुनुपर्छ : क्रान्तिकारी उपाध्यक्ष डा. भट्ट

काठमाडौं । नेकपा माओवादी केन्द्र निकटको विद्यार्थी संगठन अखिल क्रान्तिकारीका उपाध्यक्ष डा. अच्युत भट्टले ऊर्जाशील पार्टी निर्माणका लागि पार्टी र जनवर्गीय कमिटीहरू पुनर्गठन गरी युवा र क्षमतावान् व्यक्तिलाई जिम्मेवारी दिइनुपर्नेमा जोड दिएका छन् ।

अखिल (क्रान्तिकारी) युनिभर्सल मुल इकाई समितिको प्रशिक्षण कार्यक्रममा भट्टले अहिले राजनीति अध्ययनबाट नभई कुनै कुण्ठाले भरिएको र स्वार्थ पूरा गर्न सामाजिक सञ्जालमा व्यक्त भएका आधारमा दृष्टिकोण बनाउने प्रचलन बढेकोमा चिन्तासमेत जनाए ।

‘अहिले विद्यार्थी संगठनहरूको सक्रियता न्यून छ । क्याम्पसमा पढ्ने विद्यार्थीमा समेत हिजोका स्कुलमा अध्ययन गर्ने बेलाका विद्यार्थीमा जति राजनीतिक चेतना छैन’, उनले भने, ‘विकल्प के हुन सक्छ र त्यसले देशलाई दीर्घकालीन रुपमा के प्रभाव दिन सक्छ भन्ने आधारमा हैन तत्काल के गर्दा आफ्नो आक्रोश मेटिन्छ, त्यही आधारमा राजनीतिक विचार र दल चयन गर्ने प्रचलन बढ्दो क्रममा छ । यो देश र जनताको लागि राम्रो कुरा होइन ।’

विश्वको राजनीतिक आन्दोलन र नेपालको समेत इतिहाल हेर्दा युवाहरू नै अग्रगामी आन्दोलनको हिस्सेदार भएको उनले बताए । अझै पनि गुटगत, व्यक्तिगत स्वार्थ, पद र शक्तिका पछाडि लागिरहेकोप्रति टिप्पणी गर्दै उनले विज्ञता र अनुभवका आधारमा युवा पुस्तामा नेतृत्व हस्तान्तरण गर्नुपर्ने औंल्याएका हुन् ।

उनले भने, ‘अब क्रान्तिकारी मजबुत, गतिशील र विद्यार्थीको प्रिय संगठन बनाउन एकपटक युवा प्राविधिक विद्यार्थीले नेतृत्व गर्नैपर्छ र सिनियर विद्यार्थी नेताहरूलाई पार्टीमा व्यवस्थापन गर्दा संगठन चलायमान हुन्छ ।’

आगामी असोज २-५ मा चितवनमा हुने २३औं राष्ट्रिय सम्मेलनलाई लिएर सातवटै प्रदेशमा तयारी भेला, बैठकसहित छलफल तीव्र पारिएको छ ।

क्रान्तिकारीका पूर्वउपाध्यक्ष तथा माओवादी केन्द्रीय सदस्य पुरण केसीको प्रमुख आतिथ्यता भएको उक्त कार्यक्रममा क्रान्तिकारी नेताहरू ई. सञ्जय काल्धन, उपदेश यादव, सञ्जीव फुयाल, जीवन खड्का, बेनुप खत्री, मनिष सडौलालगायत उपस्थित थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर