‘सम्झनाको सन्दुक’भित्र भेटिएका खजाना – Nepal Press
पुस्तक समीक्षा

‘सम्झनाको सन्दुक’भित्र भेटिएका खजाना

गोठालो जेठा (वास्तविक नाम मिलन लिम्बू) ले विगत १४ वर्षदेखि बेलायतलाई आफ्नो कर्मथलो बनाएका छन्, तर उनको मनमुटु नेपालमै छुटेको छ । उनले लेखेको आत्मकथा पुस्तक ‘सम्झनाको सन्दुक’ पढिरहँदा यही महसुस गर्न सकिन्छ ।

उमेरले ४० कटे पनि लिम्बू जीवनमा अनेक भोगाइबाट गुज्रिसकेका छन् । उनले भोगेका उतारचढावका कथाहरुमाथि एउटा गजबको व्यवसायिक फिल्म नै बन्नसक्छ । यो आत्मकथा पुस्तक पनि एउटा रोमाञ्चक उपन्यासभन्दा कम छैन । यसमा वेदना छ, संघर्ष छ, प्रेम छ, विरह छ, हन्डर छ, सफलता छ, सबैथोक छ ।

आत्मकथा लेख्दा सबैभन्दा ठूलो चुनौती हो, आफ्नो जीवन भोगाइप्रति इमानदार हुनु । थुप्रै चर्चित हस्तीहरुको आत्मकथा यही पाटोमा चिप्लिएका हुन्छन् । आफ्ना कमीकमजोरीहरुको ढाकछोप गर्ने र घटना विवरणहरुलाई ‘म्यानुपुलेट’ गर्न खोज्ने प्रवृत्तिले आत्मकथा लेखनी नै बदनाम भइरहेको छ । यो मामलामा लिम्बू धेरै हदसम्म शुद्ध निस्किएका छन् । उनी आफ्नो सवल र दुर्वल पक्षलाई विश्वनीय रुपमा चित्रण गर्न सफल भएका छन् । आफूलाई कतै पनि ‘सुपरहिरो’ देखाउन खोजेका छैनन् । उनको लेखनशैली सरल, तर परिस्कृत छ ।

लेखकले आफ्ना पिताको प्रेम र विरहबाट रोचक शैलीमा कथाको उठान गरेका छन् । पुस्तकले सुरुबाटै पाठकहरुलाई कथामा बाँधेर राख्छ । हङकङमा कार्यरत ब्रिटिश लाहुरे (तत्कालीन चलनचल्तीको शब्दमा रिकुटे) छुट्टीमा गाउँ आएको बेला मेलामा भेटिएकी एक षोडसीको प्रेममा पर्छन् । पालम गाएर उनलाई फकाउँछन्, तर आफ्नो बनाइहाल्न भ्याउँदैनन् । छुट्टी सकिन्छ र हङकङ फर्किन्छन् । लेखकको शब्दमा रिकुटेको छुट्टी भनेको मच्छडको आयु जत्ति नै हुन्छ ।

अर्को छुट्टीमा आउँदा रिकुटेले पहिलेकी षोडसी भेट्दैनन् । अर्कैसित बिहे गर्नुपर्छ । बिहे गरेर फेरि कर्मथलो फर्किन्छन् । यता श्रीमती गर्भवती बनेको खबर सुन्छन् । बाबु बन्ने दिन गनेर बस्छन्, तर त्यो दिन कहिल्यै आउँदैन । बरु सुत्केरी वेथा लागेर श्रीमतीको प्राणान्त भएको खबर आउँछ ।

विक्षिप्त भएर रिकुटे गाउँ फिर्छन् । वियोगान्तको पीडा मेटाउन फेरि पुरानै षोडसीको खोजीमा लाग्छन् । र, भाग्यवस सफल पनि हुन्छन् । ती षोडसीको अर्कैसित कुरा छिनिसकेको हुन्छ, तर उनले भगाएर बिहे गर्छन् । उनै षोडसी लेखककी आमा हुन् ।

श्रीमती र हुनेवाला सन्तान गुमाएका रिकुटेको जीवनमा वियोगको श्रृंखला रोकिँदैन । दोस्रो श्रीमतीबाट दोस्रो सन्तानका रुपमा जन्मेकी छोरीलाई बचाउन सक्दैनन् । तेस्रो सन्तानका रुपमा मिलन (लेखक) को जन्म हुन्छ । जन्मेदेखि नै रोगी उनी पनि मृत्युको मुखमा पुग्छन् । जसोतसो भगवानले हात थाप्छन् ।

त्यसपछि फेरि भोग्नुपर्छ अर्को पुत्रीवियोग । छोरापछि जन्मेकी छोरी अढाई वर्ष भएपछि गम्भीर बिरामी पर्छन् । सुरुमा धामीझाँक्री र झारफुकमा भर पर्नुपर्छ । अस्पताल लैजाँदासम्म ढिला भइसकेको हुन्छ । अस्पतालमा बहिनीको निधनपछिको घटनाक्रम असाध्यै हृदयविदारक छ । आमाले छोरीको लासलाई पिठ्यँुमा राखेर एक्लै दिनभरिको यात्रा गरेर कोशी अस्पताल विराटनगरबाट पथरी घरसम्म पुगेकी थिइन् ।

त्यसभित्रको एउटा प्रसंग

आमाले मृत बहिनीलाई बर्काेमा बेरिनन् । पिठ्युँमा लास बोकेर अस्पतालबाट बाहिर निस्किइन् । रिक्सा चढिनन् । बाटोमा सोध्दै खोज्दै बस चढ्ने ठाउँसम्म पुगिन् । पिठ्युँमा बहिनीको लास बोकेर घर जाने बस कुरिरहिन् । यो विवशता चराचर जगतमा कसैले थाहा पाएनन्, सिवाय मेरी आमा ।

केही बेरपछि बस आयो । आमा बस चढिन् । बहिनीको लासलाई काखमा राखेर बसिन् । सँगै सीटमा बस्ने एक जना महिलाले आमालाई सोधिन्, ‘कति ज्ञानी बच्चा, कति वर्षकी भइन् ?’

आमा केही बोल्न सकिनन् । ‘मेरी छोरी यो संसारमा छैन’ भन्न सकिनन् । भित्र भक्कानो फुटिरहेको थियो ।

त्यस समय (चालीसको दशक) मधेश र पहाड दुवैतर्फको जनजीवन र दुखकष्टलाई लेखकले मिहिन रुपमा चित्रण गरेका छन् । बाबु लाहुरे भएकाले परिवारमा खान-लाउनको दुख थिएन । तर, त्यस समय ग्रामीण क्षेत्रमा स्वास्थ्य सेवाको पहुँच अति कमजोर थियो । अस्पताल नजिकै नहुँदा मानिसहरु उपचारका लागि जडिबुटी र धामीझाँक्रीमा भर पर्नुपर्थ्यो । अहिले जस्तो अस्पतालमा लगेर सुत्केरी गराउने प्रचलन थिएन । हरेक महिलाले आमा बन्न मृत्युसँग संघर्ष गर्नुपर्थ्यो । जन्माएका सन्तानलाई बचाउनु पनि उत्तिकै चुनौतीपूर्ण थियो । यही दुरवस्थाका कारण रिकुटेले आफ्नो नवविवाहित श्रीमती र तीन बच्चा गुमाउन पुगे । अहिलेको शहरी पुस्ताका लागि यो दन्त्यकथा लाग्नसक्छ ।

लेखक स्वयम्को जीवन पनि अनेक विश्रृंखलता र परिवन्दहरुबाट जेलिएको छ, यसका आयाम फरक फरक खालका छन् । ८ कक्षा पढिसकेपछि लहैलहैमा लागेर उनी नेपाली सेनामा भर्ती हुन्छन् । शारीरिक परीक्षणमा ‘अन्डरवेट’ हुँदाहुँदै पनि उनी कसरी छनोट भए अहिलेसम्म पनि मेसो पाउन सकेका छैनन् । भर्ती भएपश्चातको कठोर तालिम उनको शरीरले धान्न सक्दैन । पटकपटकको प्रयासपछि उनी सेनाको जागिर छोडेर भाग्छन् ।

द्वन्द्वकालको त्यस समयमा माओवादी र सेना दुवैको तारो बन्न पुग्छन् उनी । सेनाले उनलाई भगौडा मान्छ भने माओवादीले सुराकी वा दुश्मन । सेनाको जागिर छाडिसकेर पनि निरन्तर थ्रेट भइरहेपछि उनी आखिर माओवादीमै लाग्छन् । त्यसो त विचारधारात्मक रुपमा पनि उनी माओवादीप्रति आकर्षित थिए । खासगरी आफ्नो माओवादीले बोकेका जातीय एजेन्डाहरुको उनको व्यक्तिगत अवधारणासँग मेल खान्थे ।

माओवादीमा लागेपछि ‘जातीयता’ को संक्रमणले उनलाई पूर्ण रुपमा गाँजिसकेको थियो । देशमा लोकतन्त्र आएपछि उनी जातीय पहिचानको लडाइँमा प्रत्यक्ष रुपमा होमिए । लिम्बूवान आन्दोलनका एक सक्रिय अभियन्ता बने उनी । लिम्बूवान भोलेन्टियर्सको केन्द्रीय उपकमाण्डर र जिल्ला इन्चार्जसम्म बने, तर पहिचनाको लडाइँलाई निरन्तरता दिन भने सकेनन् । नेपालमा बसेर केही पार नलाग्ने देखेपछि अन्ततः बेलायत पलायन हुन बाध्य भए ।

बेलायतलाई कर्मथलो बनाएको यतिका वर्षसम्म पनि लेखकलाई जातीयताको धङधङीले छोडेको देखिन्न । पहिचानको नाममा खसआर्यविरोधी आन्दोलनमा हिँडेका उनले विवाह भने अन्तरजातीय (क्षेत्री) सित गरेका थिए । यसले उनमा अलिकति वैचारिक विरोधाभाष अवश्य पैदा गरेको छ । जस्तो कि बेलायत पुगेपछि क्षेत्री विवाह गरेको विषयलाई आफ्नो समुदायका कतिपय व्यक्तिले सहज रुपमा पचाउन नसकेको भन्दै चित्त दुखाएका छन् ।

एकजनाले यतिसम्म भनिदिएछन्, ‘लिम्बूको छोराले किन क्षेत्रीको छोरी बिहे गरेको त ? लिम्बुनी नै बिहे गर्नुपर्थ्यो नि ! एउटा लिम्बुनीले देश हेर्न पाउँथ्यो, संसार देख्थ्यो, सुख पाउँथ्यो, उसको भाग्य खुल्थ्यो । उसको परिवारलाई अलिकति भए पनि राहत हुन्थ्यो ।’

नेपाली डायस्पोरामा जातीयताको संक्रमण कति गहिरो बनिसकेको रहेछ भन्ने यो सन्दर्भबाट उजागर हुन्छ । यसो हुनुमा नेपालमा भइरहेको कथित जातीय पहिचानको राजनीतिले कति भूमिका खेलेको छ भन्नेमा लेखकले समीक्षा गरेको पाइँदैन । हुन त जातीयता र जातीय पहिचान अलग हुन् भन्ने उनको भाष्य पनि हुनसक्छ ।

विदेशमा बस्नेहरुको जातीय आडम्बरलाई झल्काउँदै एउटा कटुसत्य उनले लेखेका छन्, ‘नेपाली समुदाय कथित जात र वर्ग मान्छ, तर विदेशी विवाह ग¥यो भने सबै चल्छ । छोराछोरीले विदेशी विवाह गरेको छ भने गर्वले छाती फुलाउँदै चार फिट उफ्रिँदै हिँड्न बाबुआमा पनि बेलायतमा छन् । विदेशीसँग नाता जोडियो भने न त जात हुन्छ न धर्म ।’

पुस्तकको उत्तरार्द्ध (बेलायत गएपश्चात) बने अलिकति निरस छ । कारण बेलायत पुगेपश्चात उनको जीवनमा कुनै उतारचढाव छैन । उनले वर्णन गरेका बेलायतका भोगाइहरु सामान्य गन्थन जस्ता मात्रै लाग्छन् । यद्यपि, बेलायत बसिरहेको नेपाली वृद्धवृद्धादेखि नयाँ पुस्ताका बारेमा केही गम्भीर विषयवस्तुहरु उठान गरेका छन् ।

लेखकमा जातीय पहिचानप्रतिको मायामोहका अतिरिक्त देशप्रेमी भावना पनि उत्तिकै प्रवल देखापर्छ । देशभन्दा जात ठूलो भन्ने भ्रममा उनी छैनन् । विदेशमा बसेर नेपाली माटोको सुगन्ध उनले बिर्सेका छैनन् । र, त यति लामो बसाइमा पनि उनले बेलायतमा एउटा घर जोड्न चाहेनन् । अन्तत्वगत्वा नेपाल नै फर्केर आफ्नो माटोमा लडिबुडी गर्ने अभिलाषा व्यक्त गरेका छन् ।

पुस्तकमा खुलेरै लेखेका छन्, ‘यो परदेशको माटोले मलाई कहिल्यै अपनत्व दिएन । मैले कहिल्यै यो माटोलाई आफ्नो भन्न सकिनँ ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *