राजीनामा दिने मूडमा लुम्बिनीका प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री महरा – Nepal Press

राजीनामा दिने मूडमा लुम्बिनीका प्रदेश प्रमुख शेरचन र मुख्यमन्त्री महरा

रुपन्देही । लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महरा अन्ततः राजीनामा दिने निष्कर्षमा पुगेका छन् । संघीय सरकारमा आफ्नो दलको नेतृत्व नभएपपछि प्रदेश प्रमुख अमिक शेरचन पनि राजीनामा दिने तयारीमा छन् । माओवादी स्रोतका अनुसार आइतबार बोलाइएको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री महराले राजीनामा घोषणा गर्ने तयारीमा छन् ।

सभामुख तुलाराम घर्तीले आइतबारका लागि प्रदेशसभाको चौथो अधिवेशनको २४औं बैठक आइतबार दिउँसो १ बजे बोलाएका छन् । मुख्यमन्त्री महराले विश्वासको मत लिनेगरी निवेदन दर्ता गराएका छन् । सदस्यहरुलाई सूचना गर्दा पनि सम्भावित कार्यसूचीमा ‘विश्वासको मत लिने प्रयोजनका लागि’ भन्ने जनाइएको छ ।

प्रदेशसभा सचिव दुर्लभकुमार पुनले पहिले दर्ता भएको निवेदनका आधारमा सम्भावित कार्यसूचीमा विश्वासको मत लिने सूचना गरिएको तर मुख्यमन्त्री महराले चाहेमा त्यो प्रस्ताव फिर्ता लिएर राजीनामा दिन पाउने ठाउँ रहेको जानकारी दिए ।

‘हामीलाई प्राप्त सूचनाका आधारमा सूचना गरेका हौं, यसअघि तत्कालीन मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पनि अन्तिममा यस्तो प्रस्ताव फिर्ता लिएर राजीनामा दिनुभएको थियो, मुख्यमन्त्रीले चाहेमा अहिले पनि त्यो स्पेश छ’, पुनले भने ।

महराले प्रदेश प्रमुख अमिक शेरचन र सभामुख तुलाराम घर्तीसँग यो विषयमा छलफल गरेका छन् । माओवादीका केही नेताले संवैधानिक अधिकारअनुसार अझै समय बाँकी रहेको र मन्त्रिपरिषद्मा केही निर्णय गरेर नियुक्तिका बाँकी काम पूरा गर्नुपर्ने प्रस्ताव राखे पनि मुख्यमन्त्री महराले अस्वीकार गरेको स्रोतले जनाएको छ ।

स्वास्थ्यमन्त्री दीपेन्द्र पुनले विभिन्न अस्पतालमा खाली रहेको विकास समिति अध्यक्ष तथा सदस्य नियुक्तिका लागि फाइल तयार गरे पनि मुख्यमन्त्री महराले चासो दिएका छैनन् ।

मुख्यमन्त्रीलाई प्रदेश प्रमुख शेरचनले पनि अल्पमतमा परेपछि जतिसक्दो छिटो मार्गप्रशस्त गर्न सुझाएका थिए । शेरचनले मुख्यमन्त्री महराले राजीनामा दिएपछि तत्काल नयाँ सरकार गठनको जिम्मेवारी पूरा गरेर आफूले पनि राजीनामा दिने सोच बनाएको बुझिएको छ । केन्द्रमा नयाँ गठबन्धनको सरकार बनेपछि आफूलाई हटाउनुअगावै राजीनामा दिएर बाहिरिने सोच उनले बनाएका छन् ।

माओवादी केन्द्रबाट मुख्यमन्त्री बनेका महरालाई समर्थन गरेको नेकपा एमालेले असार २० गते समर्थन फिर्ता लिएको छ । त्यस्तै असार ९ गते जसपा सांसद अम्बिका काफ्लेले समर्थन फिर्ता लिएकी थिइन् । त्यसको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने बाध्यतामा छन् मुख्यमन्त्री महरा ।

माओवादी स्रोतका अनुसार पार्टीका प्रदेश अध्यक्ष सुदर्शन बरालसहित केही नेताले स्पष्ट अल्पमतमा परेपछि राजीनामा दिनु नै उपयुक्त हुने सुझाव दिए पनि माओवादीकै केही नेता र प्रदेशसभा सदस्यले कांग्रेस नेतृत्वमा सरकार बनेमा राजीनामा दिने र एमाले नेतृत्वमा बन्ने अवस्थामा विश्वासको मतमै जाने सुझाव मुख्यमन्त्री महरालाई दिएका थिए ।

महराले इमानदारिता देखाउन पनि असम्भव हुने बाटो नजाने सन्देश पहिले नै नेताहरुलाई दिएका थिए । उता एमालेले दुई पटक मुख्यमन्त्री महरालाई भेटेर राजीनामा दिएर सहयोग गर्न आग्रह गरिसकेको छ । कांग्रेसले पनि मार्गप्रशस्त गर्न सुझाएको छ ।

महरा मुख्यमन्त्रीबाट बाहिरिने निश्चित भए पनि यहाँ कांग्रेस र एमालेमध्ये कसले प्रदेश सरकारको नेतृत्व गर्ने भन्ने औपचारिक सहमति बाहिर आएको छैन । एमाले लुम्बिनी प्रदेशसभाको पहिलो दल हो ।

एमालेका प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले एमालेकै नेतृत्वमा सरकार बन्ने दाबी गरे । उनले एमाले संसदीय दलका नेता लीला गिरी नै मुख्यमन्त्री हुने गरी तयारी भइरहेको बताए ।

तर, एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले एक पटक सरकारको नेतृत्व गर्न पाउनुपर्ने दाबी गरिरहेका छन् । कांग्रेसका नेताहरूले पनि लुम्बिनीमा आफ्नै नेतृत्वमा सरकार गठन गर्नेगरी दबाब बढाएको एमाले स्रोतले जनाएको छ ।

कांग्रेस प्रमुख सचेतक जन्मजय तिमिल्सिनाले सरकारको नेतृत्व कांग्रेसले गर्नु स्वाभाविक भएको तर यहाँको निर्णयले मात्रै केही नहुने स्वीकार गरे ।

कांग्रेसका प्रदेश सभापति अमरसिंह पुनले लुम्बिनीमा कांग्रेसकै नेतृत्वमा सरकार गठन हुनुपर्ने दाबी गर्दै केन्द्रमा पनि दबाब दिइरहेको बताए ।

एमाले प्रदेश उपाध्यक्ष भोजप्रसाद श्रेष्ठले भने लुम्बिनीमा एमालेबाटै मुख्यमन्त्री बन्ने निश्चित रहेको बताए । ‘दलको नेता, ज्येष्ठता, पार्टीको पद्धतिलगायतका कारण अहिले लीला गिरी नै मुख्यमन्त्री बन्नुहुन्छ’, उनले भने, ‘चेतनारायणजीले पनि मेरो पालो हो भन्नु स्वाभाविक नै हो, तर कुनै विवाद हुँदैन ।’

उनले आइतबार दिउँसोसम्म को मुख्यमन्त्री बन्ने भन्ने पार्टीले टुंगो लगाएर सरकार गठनको प्रक्रिया अघि बढाइने बताए ।

लुम्बिनी प्रदेशमा एमालेका २९ सदस्य छन् । कांग्रेसका २७ जना छन् । दुई दलको मात्र जोड्दा ५६ पुग्छ । अल्पमतमा परेका मुख्यमन्त्री महराको समर्थनमा अहिले माओवादीका १०, नेकपा एस र राष्ट्रिय जनमोर्चाका एकएक गरी १२ सदस्यमात्र छन् ।

एक स्वतन्त्रले अझै निर्णय लिएका छैनन् । ८७ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४४ प्रदेशसभा सदस्य आवश्यक पर्छन् । ठूला दलले सरकार बनाउने भएपछि प्रदेशका राप्रपा, नागरिक उन्मुक्ति, लोसपा, जनमत, जसपा, जसपा नेपाललगायतका दलले पनि एमाले-कांग्रेसको सरकारलाई समर्थन गर्ने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर