उपसभामुखको बचाउ गर्दै रास्वपाले भन्यो- पदीय लेनदेन मिलाउन अनर्गल प्रचार – Nepal Press

उपसभामुखको बचाउ गर्दै रास्वपाले भन्यो- पदीय लेनदेन मिलाउन अनर्गल प्रचार

काठमाडौं । आफ्नो पार्टीबाट निर्वाचित उपसभामुख इन्दिरा राना गम्भीर विवादमा मुछिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीले यसबारे औपचारिक धारणा सार्वजनिक गरेको छ ।

रास्वपाले आज एक विज्ञप्ति जारी गर्दै उक्त विषयमा पार्टीको ध्यानाकर्षण भएको जनाएको छ । पुरानो पत्रलाई अहिले अनर्गल प्रचार गरेर कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको जिकिर रास्वपाको छ ।

‘संघीय संसद सचिवालय लगायत अन्य उच्च पदासीन व्यक्तिहरूलाई पहिले नै जानकारी रहेको भनिएको विषयलाई अहिले अनर्गल प्रचार गरिनुमा पक्कै पनि कुनै क्षणिक पदीय लेनदेनको हिसाब मिलाउने प्रयास भइराखेको छ भन्ने सहजै अनुमान गर्न सकिन्छ’, कावा प्रवक्ता मनिष झाको हस्ताक्षरमा जारी विज्ञप्तिमा भनिएको छ ।

रास्वपाको छवि धूमिल पार्ने दूषित मनसायबाट छद्भम रुपमा गतिविधि भइरहेको भन्दै झाले यस्ता गलत प्रहारहबाट विचलित नहुने बताएका छन् ।

रास्वपाले रानामाथि यो विवाद झिकेर गठबन्धनले चाल गरेको जिकिर गरेको छ ।

उक्त पत्रबारे पार्टीमा सूचना आएपछि तुरुन्तै सोधखोज गरिएकोमा सिफारिस गरिएका व्यक्ति देश बाहिर गएको नदेखिनुका साथै कुनै आर्थिक लेनदेन भएको भन्ने तथ्य र प्रमाण उपलब्ध हुन नसकेको रास्वपाले बताएको छ ।

धेरै राजनीतिक दलका नेताहरूले अन्तर्वार्ता मितिमात्र नभई भिसाकै लागि लिखित वा मौखिक सिफारिस गर्ने गरेको अभ्यास पाइएको विज्ञप्तिमा लेखिएको छ ।

उपसभामुखको निष्कलंक र उज्यालो छविकै कारण रास्वपाले उनलाई पहिले सांसद र पछि उपसभामुखको उम्मेदवारका रूपमा प्रस्तुत गरेको पार्टीको भनाइ छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर