उद्योगमा लाइन जोड्न कुलमानले खोजे लिखित निर्देशन – Nepal Press

उद्योगमा लाइन जोड्न कुलमानले खोजे लिखित निर्देशन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले उद्योगमा विद्युत लाइन जोड्न लिखित निर्देशन खोजेका छन् । यसअघि शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई बोलाएर लाइन जोड्न निर्देशन दिएका थिए ।

शुक्रबार प्रधानमन्त्री ओलीले बालुवाटरमा उद्योगी, नेपाल विद्युत प्राधिकारणका प्रबन्ध निर्देशक कुलमान घिसिङ, ऊर्जामन्त्री दीपक खड्का, उद्योगी पशुपति मुरारका र उद्योग मन्त्री दामोदर भण्डारी राखेर समस्या सुनेका थिए ।

प्रधानमन्त्रीको निर्देशनपछि शुक्रबार नै ऊर्जामन्त्रीसहित प्राधिकरणको सञ्चालक समितिको बैठक बसेको थियो । प्रधानमन्त्रीको लिखित पत्र नआई काटिएका उद्योगको लाइन जोड्न नसकिने भन्दै बैठक सकिएको थियो । बैठकमा अधिकांश सञ्चालक समितिका सदस्यले लिखित पत्रको अडान राखेका थिए ।

नेपाल विद्युत प्राधिकरणका प्रवक्ता चन्दनकुमार घोषले लाइन काटिएका उद्योगमा प्रधनमन्त्रीको लिखित निर्देशन नआई लाइन जोड्न नमिल्ने बताए ।

लामो समयदेखि डेडिकेटेड र ट्रंकलाइन विद्युत बक्यौता उठाउन विषय विवाद हुँदै आएको छ । विद्युत प्राधिकरणले केही समयअघि ट्रंक र डेडिकेटेड लाइन प्रयोगको बक्यौता नतिर्ने ठूला उद्योगको लाइन काट्न सुरू गरेको थियो ।

यसअघि जगदम्बा स्टिल, घोराही सिमेन्ट उद्योग, रिलायन्स स्पिनिङ मिल्स र अर्घाखाँची सिमेन्टको लाइन प्राधिकरणले काटिएको थियो ।

प्राधिकरणले २०७२ माघदेखि २०७५ वैशाखसम्म ६१ वटा उद्योगले प्रयोग गरेको डेडिकेटेड र ट्रंकलाइनको ६ अर्ब ६० करोड बक्यौता तिर्न बाँकी रहेको बताउँदै आएको छ । प्राधिकरणका अनुसार उक्त रकम जरिवानासहित करिब साढे ८ अर्ब पुगेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर