ओलीमाथि वर्षमानको आरोप- विगतमा १० प्रतिशतले राष्ट्रको ऋण बढाएर घिउ खाने अवस्था बनाउनुभयो (भिडिओ)
काठमाडौं । माओवादी केन्द्रका उपमहासचिव एवम् पूर्वअर्थमन्त्री वर्षमान पुनले प्रधानमन्त्री केपी शर्मा ओलीले तथ्यांक बंग्याएर भावनाको आधारमा देश नचल्ने बताएका छन् ।
आइतबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीलाई आफ्नो कार्यकालमा १० प्रतिशतले राष्ट्रको ऋण बढाएर घिउ खाने अवस्था बनाएको आरोप लगाए ।
प्रधानमन्त्री केपी शर्मा ओलीले देशको अवस्थाबारे प्रस्तुत गरेको तथ्यांकगत निराशा वास्तवमा नरहेको पुनको भनाइ छ ।
‘प्रधानमन्त्री केपी शर्मा ओली २०७४ सालमा प्रधानमन्त्री बन्दा कुल ग्रस्त उत्पादनको तुलनामा राष्ट्रिय ऋण २६ प्रतिशत रहेको थियो । त्यसपछिको अर्को वर्ष एकै पटक ३० प्रतिशत ऋण पुग्यो र २०७७/७८ तिर ३८ प्रतिशत पुग्यो । प्रधानमन्त्रीले साढे तीन वर्ष लगातार एक स्थिर सरकार बनाएर छोड्ने क्रममा हाम्रो राष्ट्रको ऋण ४०.७ प्रतिशत रहेको थियो’, उनले भने, ‘आज त्यही कुरा ४१ प्रतिशतको हाराहारीमा मात्रै रहेको छ । उहाँले साढे तीन वर्षमा साढे १० प्रतिशतले राष्ट्रको ऋण बढाउनुभयो । जुन ऋण लिएर घिउ खानेजस्तो अवस्था बन्यो । आज तीन चार वर्षको अवधिमा १ प्रतिशत मात्रै राष्ट्रको ऋण बढेको छ । कुन चाहिँ विज्ञले उहाँलाई तथ्याङ्क फिट गरिरहेको छ । कस्तो खालको टिम उहाँसँग छ । र यस्तो खाले विज्ञताले देश कतातिर लान्छ रु यसबाटै प्रस्ट हुन्छ ।’
त्यस्तै, ओलीले सत्ता छोड्दा ४.८ प्रतिशतको हाराहारीमा रहेको र बीचमा थुप्रै संक्रमणहरु भएको तरपनि अहिले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धिदर रहेको पुनले उल्लेख गरे ।
‘गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धिदर थियो अहिले ४ प्रतिशत रहेको छ । यो सकारात्मक अवस्थामा कसरी निराशाको कुरा गर्नुहुन्छ ? हो समग्र अर्थतन्त्र केही समस्यामा छ । केही शिथिलता छ । त्यसमा विश्वव्यापी प्रभाव छन् । हाम्रा आफ्ना अर्थतन्त्रका समस्याहरु छन् । तर, तथ्याङकहरुलाई यसलाई यसरी बङ्गाएर भावनाको आधारमा चल्दैन । नयाँ जेनेरेसनले भाषणमा मात्रै विश्वास गर्दैनन् । तथ्यसङमा विश्वास गर्छन्’, पुनले भने ।
‘२०७७/७८ को समयमा उहाँले सरकार छोड्दै गर्दा सोधान्तरको बचतको अवस्था १२३ करोड रहेको थियो । आज वैदेशिक मुद्राको बचतको अवस्था ४२ हजार ५२७ करोडको अवस्था छ । यो तथ्य हो कि होइन ? यो राम्रो हो कि नराम्रो ? आज १९ महिनाको वस्तु आयात गर्ने पर्याप्त विदेशी मुद्रा छ । विज्ञ साथीहरूले बेलायती कति थियो हेर्नुहोला । प्रधानमन्त्रीलाई भाषण लेखिदिने साथीले हेरिदिनुस्’, पुनले थप्दै भने, ‘आज हामी वस्तु र सेवाको आयात धान्न सक्ने अवस्थामा छौँ यो राम्रो हो कि नराम्रो हो ? १३३ करोडको बचत राम्रो हो कि ४२ हजार करोडको बचत राम्रो ? एक पटक तथ्य मात्रै भिडाएर हेर्नुस् । बेलायती व्यापार घाटा १३ हजार ९८१ थियो । आज १३ हजार १४४ को हाराहारीमा छ । यो तथ्यसङक पनि हेर्न अनुरोध गर्दछु’, पूर्व अर्थमन्त्री पुनले भने, ‘उहाँले सरकार छोड्दै गर्दा पुँजीगत खर्च ५७ प्रतिशत थियो अहिले यस्तो संक्रमण हुदाँ पनि ६० प्रतिशतको हाराहारीमा पुगेको छ । यसलाई हामीले हेर्नु पर्छ कि पर्दैन् ? प्रधानमन्त्री ज्युले जुन निराशा व्यक्त गर्नुभएको छ । त्यो वास्तवमा होइन ।’