विश्वासको मत मागेर संसद बैठकबाट कता लागे ओली ? – Nepal Press

विश्वासको मत मागेर संसद बैठकबाट कता लागे ओली ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले मागेको विश्वासको मतलाई लिएर अहिले संसदमा छलफल चलिरहेको छ । विश्वासको मतको पक्ष र विपक्षमा सांसदहरूले धारणा राखिरहँदा प्रधानमन्त्री अकस्मात् बैठकबाट बाहिर निस्किए ।

विश्वासको मत माग्दै ओलीले करिब एक घण्टा लामो सम्बोधन गरेका थिए । उनको सम्बोधनमा यसपालि विपक्षीहरूमाथि गालीगलौज र घोचपेच थिएन । बरु आफ्नो सरकारको सैद्धान्तिक विषयवस्तु र भिजन उनले प्रस्तुत गरे ।

प्रधानमन्त्रीपछि कांग्रेस सभापति शेरबहादुर देउवा र त्यसपछि एमालेकै गोकर्ण विष्टले रोष्टममा आएर बोले । दुवैले बोल्दा प्रधानमन्त्री ओली आफ्नो आसनमै थिए । माओवादी केन्द्रका महासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुनले बोल्दा भने उनी उठेर हिँडे । पुनले ओलीको सम्बोधनको प्रतिवाद गरेका थिए ।

पुनपछि बोलेका राप्रपा अध्यक्ष राजेन्द्र लिङदेनले ओलीको खोजी गरेका थिए ।

उनले भने, ‘प्रधानमन्त्रीज्यू हुनुहुन्न, सायद कतैबाट सुन्दै हुनुहुन्छ होला ।’

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले भने ओली हिँडेकोप्रति असन्तुष्टि जनाए । प्रधानमन्त्री बैठकबाट बेपत्ता बनेको टिप्पणी उनले गरे ।

नेपालले भने, ‘प्रधानमन्त्रीले विश्वासको मत मागिरहनु भएको छ । तर, अहिले यो हलबाट बेपत्ता हुनुहुन्छ । उहाँले संसदलाई महत्त्व नदिनुभएको जस्तो लाग्यो । आजको सदनमा उहाँको पूरा उपस्थिति आवश्यक थियो । सबैका विचार र धारणा सुन्ने धैर्यता राख्नुपर्थ्यो । सायद अरूका बचन सहन नसक्ने हो कि !’

स्रोतका अनुसार ओली संसदभित्रै छन् । उनी आफ्नो कार्यकक्षमा गएर बसेको बताइएको छ । केहीबेरमा जवाफी सम्बोधनका लागि उनी फेरि बैठकमा आउनुपर्ने हुन्छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर