कामु मुख्यसचिवसहित १८ सचिव र ८९ सहसचिव घर जाँदै – Nepal Press

कामु मुख्यसचिवसहित १८ सचिव र ८९ सहसचिव घर जाँदै

आर्थिक वर्ष २०८१/८२ मा २११९ कर्मचारी अनिवार्य अवकाशमा जाँदै

काठमाडौं । यस वर्ष कायममुकायम (कामु) मुख्यसचिव सहित १८ जना सचिव अर्थात राजपत्रांकित विशिष्ट श्रेणीमा कार्यरत कर्मचारीले अनिवार्य अवकाश पाउने भएका छन् । राष्ट्रिय कितावखानाको तथ्यांक अनुसार चालू आर्थिक वर्ष २०८१/०८२ मा कामु मुख्यसचिव लीलादेवी गड्तौलासहित १८ जना सचिवले अनिवार्य अवकाश पाउन लागेका हुन् ।

यसमा सबैभन्दा बढी प्रशासन सेवाका ९ जना सचिवले अनिवार्य अवकाश पाउन लागेका हुन् भने दोस्रोमा न्याय सेवाका ४ जना, ईन्जिनियरिङ, स्वास्थ्य, संघीय संसद सेवा, लेखापरीक्षण सेवा र परराष्ट्र सेवाका एक-एक जना गरेर ५ जना अनिवार्य अवकाशमा जाने छन् । उनीहरूको आउटसँगै १८ जना सहसचिवले सचिव बन्न मौका पाउनेछन् ।

कामु मुख्य सचिव गड्तौला भदौ १५ मा घर जाने छिन् । राष्ट्रिय योजना आयोगका सचिव तोयानारायण ज्ञवाली भदौ २२, कात्तिक ५ गते सञ्चारसचिव रामकृष्ण सुवेदी पनि अनिवार्य अवकाशमा जाने छन् । उनीहरू दुवै प्रशासन सेवाका । मंसिर १३ गते इन्जिनियरिङ सेवातर्फ सहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल, नेपाल कानून आयोगका सचिव तोयनाथ अधिकारी मंसिर २८ गते घर जाँदै छन् । उनले भने ४ महिनाअघि नै राजीनामा गरिसकेका छन् ।

प्रशासन सेवातर्फ महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव दिनेश भट्टराई माघ २०, स्वास्थ्य सेवातर्फ डा. रोशन पोखरेल फागुन १२ गते अनिवार्य अवकाशमा जाँदैछन् । फागुन १२ गते नै सचिव टेकनारायण पाण्डे अनिवार्य अवकाशमा जाने छन् । पाण्डे भुटानी शरणार्थी काण्डमा अहिले पुर्पक्षमा जेल छन् ।

अर्थसचिव मधुकुमार मरासिनी फागुन १६, त्यसको २ दिनपछि १८ गते गृहसचिव एकनारायण अर्याल, राष्ट्रिय तथ्यांक कार्यालयका सचिव अर्जुनप्रसाद पोखरेल २०८२ वैशाख २ मा घर जाने छन् । सर्वोच्च अदालतका रजिष्ट्रार (सचिव) निर्मला पौडेल २०८२ वैशाख ३ गते न्याय सेवातर्फ आगामी अनिवार्य अवकाशमा जाने भए पनि यस अघि नै उच्च अदालतमा न्यायाधीश नियुक्त भइसकेकी छन् ।

महालेखा नियन्त्रक विनोदप्रकाश सिंह २०८२ वैशाख २५ गते, संस्कृति पर्यटन तथा नागरिक उड्डयनसचिव गणेशप्रसाद पाण्डे वैशाख ३० गते अनिवार्य अवकाशमा जानेछन् । न्याय सेवातर्फ सत्य निरुपण तथा मेलमिलाप आयोगका सचिव उदयराज सापकोटा जेठ २८ र संघीय संसद सचिवालयका सचिव सुर्दशन खड्का जेठ ३० मा घर जाने छन् ।

विशिष्ट श्रेणीमा एउटामात्रै दरबन्दी रहेको परराष्ट्र सेवातर्फ सचिव सेवा लम्साल जेठ ५ गते अनिवार्य अवकाशमा जादाँ लेखापरीक्षण सेवातर्फ महालेखा परीक्षकको कार्यालयका उपमहालेखापरीक्षक (सचिव) वामदेव शर्मा असार ६ मा अवकाशमा जानेछन् ।

यि हुन् यस वर्ष अनिवार्य अवकाशमा जाने विभिन्न सेवाका १८ जना सचिव

 

८९ सहसचिव पनि यही वर्ष अवकाशमा जाने

यस्तै चालू आर्थिक वर्षमा नै विभिन्न सेवातर्फ ८९ जना सहसचिव अनिवार्य अवकाशमा जाने भएका छन् । ३ जनाले भने अवकाश लिइसकेका छन् । राष्ट्रिय सूचना आयोगका होमप्रसाद लुइँटेल साउन ३ गते र राष्ट्रिय सर्तकता केन्द्रका कृष्णप्रसाद पन्थ ५ गते निस्किसकेका छन् । यस्तै शिक्षा मन्त्रालयका सहसचिव राजकुमार विश्वकर्मा आज गएका छन् । भोलि राष्ट्रिय कितावखानाका सहसचिव (उपमहानिर्देशक) शान्ता अधिकारी अनिवार्य अवकाशमा जादैँछन् ।

अवकाशमा जाने सहसचिवमा ३३ जना प्रशासन सेवातर्फ, इन्जिनियरिङ सेवातर्फ २२ जना, ९ जना न्याय सेवातर्फ, स्वास्थ्य सेवातर्फ ८ जना, ६ जना कृषि सेवातर्फ, परराष्ट्र सेवातर्फ ५ जना, ३ जना शिक्षा सेवातर्फ छन् । यस्तै तथ्यांक सेवा, लेखापरीक्षण सेवा र वन सेवातर्फ एक-एक जना गरेर ३ जना पनि यस वर्ष नै अनिवार्य अवकाशमा जानेछन् ।

यि हुन् यस वर्ष अनिवार्य अवकाशमा जाने विभिन्न सेवाका ८९ सहसचिव

२ हजारभन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदै

चालू आर्थिक वर्ष ०८१/०८२ मा सबै तहका गरी दुई हजारभन्दा बढी कर्मचारी अनिवार्य अवकाशमा जाँदैछन् । राष्ट्रिय कितावखानाका अनुसार यसमा श्रेणीविहीनदेखि सचिवसम्म गरेर २ हजार ११९ जना छन् । अधिकांश कर्मचारी उमेर हदका कारण अनिवार्य अवकाशमा जान लागेका हुन् । निजामती सेवा ऐनअनुसार ५८ वर्ष सेवा अवधि पुगेपछि अनिवार्य अवकाशमा जाने व्यवस्था रहेको छ । राजपत्रांकित बिशिष्ट श्रेणी अर्थात सचिवमा मात्रै सेवा अवधि ५ वर्ष तोकिएको छ । सचिवको हकमा ५८ वर्षे उमेर हद र ५ वर्ष सेवा अवधिमध्ये जुन अगाडि आउँछ त्यसै दिन अनिवार्य अवकाशमा जाने व्यवस्था विधेयकमा छ ।

किताबखानाको तथ्यांक अनुसार आइतबारसम्म चालू आर्थिक वर्षमा सहसचिवदेखि कार्यालय सहयोगीसम्म गरेर ६९ जना कर्मचारी अनिवार्य अवकाशमा गइसकेका छन् । जसमा ३ जना सहसचिव रहेका छन् ।

यि हुन् यस वर्ष अनिवार्य अवकाशमा जाने सबै कर्मचारी


प्रतिक्रिया

One thought on “कामु मुख्यसचिवसहित १८ सचिव र ८९ सहसचिव घर जाँदै

Leave a Reply

Your email address will not be published. Required fields are marked *