वुमन्स एसिया कपमा नेपाल पाकिस्तानसँग ९ विकेटले पराजित
काठमाडौं । श्रीलंकामा जारी नवौं संस्करणको एसिया कप टी–२० महिला क्रिकेटमा नेपाल पाकिस्तानसँग ९ विकेटले भएको छ । नेपालले दिएको १०९ रनको लक्ष्य पछ्याएको पाकिस्तानले ११ ओभर ५ बलमा १ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानकि ओपनर गुल फिरोजाले ५७ र मुनिबा अलीले ४६ रन जोडे। बलिङमा नेपालकी कविता जोशीले एक विकेट लिइन् ।
त्यसअघि श्रीलंकाको रंगिरी डम्बुला अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १०८ रन बनाएको थियो ।
नेपालका लागि कविता जोशी ३१ रनमा अविजित रहिन् । सीता रानामगर २६, पूजा महतो २५, सम्झना खड्का ४, कविता कुवर १३, कप्तान इन्दु बर्मा ० र रुविना क्षेत्री ८ रनमा आउट भएका थिए । बलिङमा पाकिस्तानकि सादिया इकबालले सर्वाधिक २ विकेट लिएकी थिइन् ।
यो फराकिलो हारसंगै नेपालको सेमिफाइनल पुग्ने सम्भावना कठिन बनेको छ । नेपालले अब मंगलबार समूह चरण अन्तिम खेल भारतसंग खेल्नेछ । सेमिफाइनल पुग्ने नेपाललाई उक्त खेल फराकिलो अन्तर जित निकाल्नुपर्ने हुन्छ । यता युएईले पाकिस्तानलाई हराउन सकेमा नेपाललाई फाइदा हुनेछ ।