प्रधानमन्त्री ओलीको निजी सचिवमा सहसचिव कुँवर नियुक्त – Nepal Press

प्रधानमन्त्री ओलीको निजी सचिवमा सहसचिव कुँवर नियुक्त

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको निजी सचिवमा सहसचिव बिनोदबहादुर कुँवर नियुक्त भएका छन् । निजी सचिवमा नियुक्त आफुले आइतबारदेखि सिंहदरबार पुगेर काम थालिसकेको कुँवरले नेपाल प्रेससँग बताए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका जनसंख्या प्रशासन महाशाखा प्रमुख रहेका कुँवरलाई प्रधानमन्त्री ओलीले निजी सचिव नियुक्त गरेसँगै उनको सरुवा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सरुवा भइसकेका छन् ।

२०८० मंसिरमा स्वास्थ्य मन्त्रालयमा आउनुअघि कुँवर गण्डकी प्रदेशमा ३ वर्ष प्रदेश सचिवको जिम्मेवारी सम्हालेर आएका थिए । गण्डकी प्रदेश जानु अघि भने उनी आन्तरिक राजस्व विभागमा १४ महिना महानिर्देशकको जिम्मेवारीमा रहेका थिए ।

विभागमा भन्दा पहिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत रहदाँ प्रवक्ताको जिम्मेवारीमा समेत थिए । त्यस अघि लोकसेवा आयोगमा काम गरेका थिए । यसैगरी प्रधानमन्त्री ओलीको निजी उपसचिवको जिम्मेवारीमा विष्णु सुवेदी आएका छन् ।

प्रधानमन्त्रीको निजी सचिवमा यस अघि उपसचिव बस्दै आएकोमा प्रधानमन्त्रीको निजी सचिवालय प्रभावकारी बनाउन भन्दै तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहसचिव नवराज ढुङ्गानालाई निजी सचिव नियुक्त गरेका थिए । पछि उनलाई राजस्व अनुसन्धान विभागको महानिर्देशकको जिम्मेवारी दिएर पठाएपछि सहसचिव अर्जुन भण्डारीले पूर्व प्रधानमन्त्री प्रचण्डको निजी सचिवालयको नेतृत्व गर्दै आएका थिए ।

मन्त्रीको निजी सचिव पनि उपसचिव र प्रधानमन्त्रीको पनि उपसचिव नै हुँदा नमिलेको भन्दै त्यसलाई मिलाउनको लागि सहसचिव कायम गरिएको थियो ।

मन्त्री तथा प्रधानमन्त्रीको निवासमा स्वकीय र मन्त्रालय तथा कार्यालयमा निजी सचिवालय रहने व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर