‘स्थानीय सरकार खोज्दा देखिने र छाम्दा भेटिने बनाएका छौं’
तुलसीपुरका मेयर टीकाराम खड्का भन्छन्- संघ र प्रदेश सरकार दायित्वबाट पन्छिदा जनअपेक्षा पूरा गर्न सकस भयो
स्थानीय सरकारको दोस्रो कार्यकालको दुई वर्ष पूरा भएको छ । पहिलो कार्यकाल सिकाइको कार्यकाल पनि भयो । स्थानीय तहको आधारभूत संरचना निर्माणमै पहिलो कार्यकाल वित्यो । तर, दोस्रो कार्यकाल सुरू हुँदा स्थानीय सरकारका आधारभूत संरचनाको विकास भइसकेको थियो । सरकार सञ्चालन र जनप्रतिनिधिको भूमिका कस्तो हुने भन्ने पहिलो कार्यकालको सिकायले दोस्रो कार्यकाललाई अझ प्रभावकारी बनाउने आधार तयार भयो । जनताको घरदैलोको सरकारलाई प्रभावकारी बनाउन तुलसीपुर उपमहानगरपालिकाले के गर्यो त ? यसै सन्दर्भमा तुलसीपुर उमपहानगरपालिकाका मेयर टीकाराम खड्कासँग गरिएको कुराकानी नेपाल टकमा
– निर्वाचित भएको दुई वर्ष बित्यो, कस्तो रह्यो कार्यकाल ?
आफूले आफैँलाई समीक्षा गर्नु त कठिन कुरा हो । नगर प्रमुखमा निर्वाचित भएको दुई वर्ष पूरा भएको छ । यो अवधिमा हामीले चुनावमा नगरबासीसमक्ष गरेका प्रतिबद्धताहरूको कार्यान्वयनकै चरणमा छौं ।
अझ भन्ने हो भने कार्यान्वयनको सुरुवाती चरणमा छौं । कोभिड महामारीपछि विश्वसहित नेपाल पनि यसबाट अछुतो रहेन । यसको प्रत्यक्ष असर आर्थिक, सामाजिक र साँस्कृतिकरूपमै पनि पर्यो । मुलतः अर्थतन्त्रमा यसको असर दूरगामी हिसाबले देखापर्यो । त्यसको मारमा तुलसीपुर उपमहानगरपालिका पनि पर्यो । त्यसकै असरका कारण हामीले पहिलो र दोस्रो बजेटमा नयाँ कार्यक्रम समावेश गर्न सकेनौं । हामीले गरेको प्रतिवद्धता तत्काल पूरा गर्ने चाहाना नभएको होइन । तर, आर्थिक समस्याले थिलो थिलोको अवस्थाबाट माथि उठ्न चाहेर पनि काम गर्न कठिनाई भयो । यति हुँदाहुँदै पनि जनताको सरकार स्थानीय सरकार नै हो भन्ने आभाष दिलाउन हामीले हरसम्भव प्रयास गरिरहेका छौं । हुन त हामीसँग तीन तहका सरकार छन् । तर, खोज्दा देखिने, छाम्दा भेटिने सरकार स्थानीय सरकार नै हो ।
सबैभन्दा नजिकको र सहारा दिने सरकार भनेकै स्थानीय सरकार रहेछ भन्ने कुराको महसुस आमजनतालाई भएको छ । जनताका कयौँ आशा अपेक्षा छन् । तर, हामीसँग सीमित साधन स्रोत छ । यसका बाबजुत पनि हामीले जनताका आशालाई निरासामा बदलिन दिएका छैनौं । जनतालाई दुःख पीडा पर्दा स्थानीय सरकारको स्रोत साधनले पुगेसम्म उहाँहरूको दुःखमा मलहम लगाउन खटिएका छौं ।
– मलहम लगाउन के-के प्रयास गर्नुयो ?
हामीसँग स्रोत साधन निकै कम छ तर जनताका आशा अपेक्षा निकै छन् । यस अवधिमा संघ र प्रदेश सरकारले हाम्रो पालिकामा दिनुपर्ने दायित्वबाट पूर्णरूफले पन्छियो भन्दा पनि हुन्छ । हामीसँग भएको साधन स्रोतबाट अपेक्षाबमोजिम काम गर्न निकै सकस भयो । सरकारसँग जनताले अपेक्षा गर्नु स्वभाविक नै हो । सकेसम्म जनताका समस्या समाधान गरेका पनि छौं । हामीले जनताले अनुभूत गर्नेगरी केही कामको सुरुवात गरेका छौं । सुकुमबासी समस्या समाधानका काम अघि बढायौं । ६ नम्बर वडामा मात्रै हामीले ६ सय भन्दा बढी अव्यवस्थित, सुकुमबासीको जग्गा नापनक्सा गरेर लालपूर्जा वितरण गर्ने अवस्थामा पुगेका छौं । यो अभियान १९ वटै वडामा निरन्तर चलिरहने छ । यसका लागि एक करोड ३२ लाख रूफैँया बजेटको समेत व्यवस्था गरेका छौं । हामीले भूमि आयोगमा पत्राचारसमेत गरिसकेका छौं ।
सुकुमबासी समस्या समाधान गर्ने निर्णय हाम्रो पहिलो निर्णय थियो । उनीहरूलाई जमिनको मालिक बनाउने चुनावमा हाम्रो मुख्य एजेन्डा थियो । यो एजेन्डा कार्यान्वयनको चरणमा छ भनेर भन्न पाउँदा म आफैंलाई गर्व लागेको छ । यस्ता थुप्रै कामको सुरूवात भएका छन् । भौतिक, पूर्वाधार विकास, सडक निर्माण, सुशासन प्रवर्द्धनजस्ता विषयमा हामी खटेरै काम गरेका छौं । यसले जनतामा केही परिवर्तन हुँदैछ भन्ने आशा पलाएको छ ।
– थुप्रै विकास भन्नाले ?
हामी निर्वाचित भएर आएपछि शिक्षा, पर्यटन, स्वास्थ्य क्षेत्रमा जनताले प्रत्यक्ष अनुभूति गर्ने काम गरेका छौं । तुलसीपुरका प्रमुख पर्यटकीय स्थलहरूको पहिचान र प्रवर्द्धनका लागि पर्यटन वृत्तचित्र तयार गरिएको छ । त्यस्तै महिलाहरूका लागि नौमती बाजा र पोशाकको व्यवस्थापन गरी यस क्षेत्रको कला संस्कृतिको जर्गेनाका साथै महिलाहरूलाई आयआर्जनका क्षेत्रमा जोड्न सफल भएका छौं । साहसिक खेलका लागि पालिकाबाट प्रसार प्रचारका काम हुँदै आएका छन् । विभिन्न मठमन्दिरहरूको मर्मत सम्भारका साथै मूर्ति कुद्नका लागि आवश्यक वस्तु प्रदान गरेका छौं ।
विभिन्न वडाहरूमा रहेका जलाशय, पार्कहरूको सौन्दर्यकरणको काम समेत भइरहेको छ । कृषि क्षेत्रमा किसान सूचीकरण कार्यक्रम अन्तर्गत यस वडा नं. १ मा १ हजार २ सय ५२ घरधुरी सूचीकरण गरिएको छ भने वडा नम्बर २ मा माटो शिविर सञ्चालन गरेर यस क्षेत्रको माटोको अवस्थाका बारेमा किसानहरूलाई जानकारी प्राप्त भएको छ । त्यसबाट माटोमा अम्लीयपना, माटो उपचार विधिका विषयमा प्राविधिकबाट जानकारी दिइएको छ ।
त्यस्तै जिओ कृषि कार्यक्रमअन्तर्गत २ हजार ८ सय कृषकलाई आबद्ध गरिएको छ । साथै तुलसीपुर तरकारी तथा फलफूल बजारमा डिजिटल मूल्यसूची राखिएको छ । यसै क्षेत्रमा उत्पादन भएका कृषिजन्य वस्तुको बजारीकरणका लागि वडा नम्बर १२ मा हाट बजार स्थल निर्माण गरेका छौं भने वडा नम्बर ५ को बसपार्क क्षेत्रदेखि पश्चिमतर्फ बिहानी समयमा किसानहरूलाई बिक्री वितरणमा सहज होस् भनेर टहरा निर्माण गरिरहेका छौं । किसानले उत्पादन गरेको बस्तु किसानले नै बिक्री वितरण गर्नका लागि सहज होस्भनेर किसान परिचय पत्र वितरण गरेका छौं भने किसान क्रेडिट कार्ड कार्यविधि नै जारी गरेर कार्यान्वयनमा ल्याएका छौं ।
यस उपमहानगरपालिकाभित्र भएका पशुचौपायाहरूमा नि:शुल्क खोप कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षातर्फ विगतदेखि नै तुलसीपुर गौरवको रूफमा सम्बन्धित तहको तहगत रूपमा दरबन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन गरिएको छ । समयसापेक्ष ज्ञान तथा प्रविधिमैत्री विद्यालय बनाउन विभिन्न किसिमका क्षमता विकासका कार्यक्रमहरू सञ्चालन गरिएको छ । साथै स्थानीय पाठ्यपुस्तक तयार गरी विद्यार्थी र विद्यालयमा पुर्याइएको छ ।
नगर स्थापनाकालदेखि नै दर्ता तथा नवीकरण नभएका संस्थागत विद्यालयहरू दर्ता तथा नवीकरण गरिएको छ । कक्षा १ देखि कक्षा ८ सम्म स्थानीय पाठ्यक्रम तयार पारेका छौं भने कक्षा ४ देखि ८ सम्मका पाठ्यपुस्तक प्रकाशन गरी विद्यार्थीमाझ पुर्याएका छौं । त्यस्तै एकदेखि ३ सम्मको पाठ्यपुस्तक छपाई प्रक्रियामा रहेको छ ।
त्यस्तै तुलसीपुर उपमहानगरपालिकाको गौरवको विषय थारु भाषामै पढाई हुने विद्यालय सुरु भएको छ । थारु भाषाको विकास,प्रवद्र्धन र पछिल्लो पुस्ताका लागि आकर्षणको विषय हो । विगतमा विद्यार्थी नभएर कक्षा स्थगन भएका विद्यालयहरूमा अहिले पढाइका साथै भौतिक संरचनाको स्तर सुधार गरेसँगै त्यहाँ विद्यार्थी भरिभराउ भएर कक्षा सुरु गरिएको छ ।
विद्यालयहरूको भौतिक संरचना सुधार गरिएको छ । जहाँ विद्यार्थी त्यहाँ शिक्षक पठाएका छौं । त्यस्तै संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कार्यान्वयनमा ल्याइएको छ । राष्ट्रिय एवम् प्रदेशस्तरीय खेलकुद प्रतियोगितामा उत्कृष्ट नतिजा ल्याउने खेलाडीहरूलाई सम्मान एवम् पुरस्कृत गरिएको छ । एक वडा एक खेल मैदान कार्यक्रमलाई निरन्तरता दिएका छौं । विभिन्न वडाहरूमा रहेका खेल मैदानहरूको स्तरोन्नतिको काम भइरहेका छन् । त्यस्तै वडा नम्बर १५ मा रहेको करिब १५ बिगाह जमिनलाई क्रिकेट मैदान निर्माण गर्नका लागि उक्त जग्गा संरक्षण गर्न थालेका छौं । प्रदेश, संघ सरकार तथा क्रिकेट सम्बद्ध संस्थाहरूको सहयोग रह्यो भने तुलसीपुर क्षेत्रकै क्रिकेट मैदानकारूपमा विकास गर्न सक्छौं । त्यस्तै हामीले सरकारी जग्गा संरक्षण अभियानलाई समेत प्राथमिकता दिएका छौं । यस्ता काम थुप्रै भएका छन् ।
– कृषिजन्य वस्तुको बजारीकरणमा उपमहानगरको भूमिका के हो ?
कृषिजन्य वस्तुको बजारीकरणका लागि हामी गम्भीर छौं । किसान परिचयपत्र दिएर हामीले किसानलाई बिहान ४ बजेदेखि ८ बजेसम्म सडकमा व्यापार गर्न दिएका छौं । नयाँ बसपार्कमा कृषि हाटबजारको व्यवस्था गर्दैछौं । यसले गर्दा स्थानीय उत्पादनलाई प्रोत्साहन भएको छ । चाडपर्वहरूमा स्थानीय उत्पादन प्रोत्साहनका लागि प्लास्टिकका माला पूर्णरूफमा बन्देज लगाएका छौं । जुन कार्यबाट पुष्प व्यवसायीहरूले प्रत्यक्ष लाभ लिइरहनुभएको छ । पुष्प व्यवसाय प्रवर्द्धनका लागि प्रचार-प्रसार लगायतका काम गर्दै आएका छौं । स्थानीय वस्तुको बजारीकरणका लागि कोशेली घर सञ्चालनमा ल्याएका छौं । यस पटकको नीति तथा कार्यक्रम प्रस्तुति गर्दा स्थानीय वस्तुकै प्रोत्साहन गर्नका लागि काँसबाट तयार पारिएको झोला प्रयोगमा ल्याएका थियौँ ।
– बजारको पार्किङ त अस्तव्यस्त छ नि !
तुलसीपुर बजारको पार्किङमा समस्या भएको साँचो हो । बजार विस्तार गर्दा नै साघुँरा सडक राखिएकाले बस्ती बढेसँगै समस्या पनि बढेको हो । तैपनि हामीले समस्या समाधान गर्ने प्रयासमै छौं । हरेक सडकमा पहिले रेखा राखेका छौं । त्यो रेखाभित्र पार्किब गर्ने व्यवस्थम गरेका छौं । अब बन्ने नयाँ व्यवसायिक भवन पार्किङसहितको बनाउन आम नागरिकलाई अपील गरेका छौं । बजारको मुख्य क्षेत्रको पार्कीङ समस्या समाधानका लागि थप संरचना बनाउन थालेका छौं । अटो पार्किङको समस्या समाधानका लागि चारैतर्फ क्षेत्र निर्धारण गरेका छौं । यसको निगरानी पनि नियमितरूपमा उपमहानगरले गरिरहेको छ ।
– तुलसीपुरको विकासका लागि दीर्घकालीन योजना के छन् त ?
हामीले केही नयाँ काम गरौँ भन्ने सोचले अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्ने केही योजना अघि सारेका छौं । जस्तो कि औद्योगिक ग्राम स्थापनाका लागि डिपिआर समेत तयारी अवस्थामा छ । जग्गाकै अभावमा योजना कार्यान्वयनमा समस्या नआओस भने तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १६ मा करिब २० बिगाह बढी जग्गा औद्योगिक ग्रामका लागि राखेका छौं । उक्त जग्गाको संरक्षण तथा तारबारको व्यवस्था पनि गर्दैछौं । त्यस क्षेत्रमा खानेपानी, विद्युत, सडक पुर्याउन थालेका छौं । संघ, प्रदेश सरकारका साथै निजी क्षेत्रको सहयोग प्राप्त गर्न सक्यौँ भने केही नयाँ कामको सुरुवातमा छौं । त्यही स्थानमा यस क्षेत्रका किसानहरूले उत्पादन गरेका फलफूल,तरकारी लामो समयसम्म राख्नका लागि शितभण्डार स्थापना गर्ने सोच बनाएका छौं । जसका लागि संघ सरकारले बजेटको समेत व्यवस्था गरेको छ ।
त्यस्तै यस क्षेत्रमा किसानहरूले पालेका बाख्रा, कुखुरा, हाँस, बंगुर, भेडाको मासु बजारीकरणमा थप टेवा पुगोस् भनेर अत्याधुनिक बधशाला निर्माण गर्ने सोच बनाएका छौं । त्यतिमात्रै होइन यस क्षेत्र सिचाइका लागि पानीको अभाव हुँदै आएको छ । यस पटकको नीति तथा कार्यक्रममा चार ‘ज’ को परिकल्पना गरेका छौं । जल, जमिन,जनता र जीविकोपार्जन कार्यक्रमलाई अघि बढाएका छौं । सबैभन्दा पहिले पानीकै संरक्षण गर्नका लागि यस क्षेत्रमा रहेका स-साना, खोलामा पानी पोखरी जलाशय बनाएर बाह्रै महिना सिँचाइ सुविधा पुर्याउने लक्ष्यमा छौं । ती जलाशयबाट सिचाइका साथै माछापालन, ढुंगा चलाएर मनोरञ्जन प्रदान गर्नुका साथै हाँसपालनमा समेत टेवा पुग्दछ ।
यसका साथै यस क्षेत्रको पर्यापर्यटनलाई समेत चलायमान बनाउने योजना रहेको छ । अर्कोतर्फ नदी खोला किनारामा रहेका जग्गाको संरक्षण र जलपर्यटनमा टेवा पुगाउनका लागि बबई र ग्वार करिडोर निर्माण गर्नुपर्छ । यसका लागि एउटा पालिकामात्र नभई उपत्यकाभित्र रहेका सबै पालिका जाग्नुपर्दछ । हामीले जिल्ला समन्वयको बैठक, सभाबाट समेत करिडोरको कुरा निर्णय गराएका छौं । संघ र प्रदेश सरकार समक्ष पठाएका छौं तर यसका लागि अझै दबाब पुगेन जस्तो छ । यसको प्रत्यक्ष प्रभाव रहन्छ । त्यस्तै दाङ मरुभूमीकरण हुँदैछ यसको दीर्घकालीन समाधान भनेकै ग्वारखोला जलाशय हो । तर यसका लागि पटक पटक आवाज उठाउँदा समेत सुनुवाई भएकै छैन । यसबाट हजारौ बिगाह जमिनमा बाह्रै महिना सिचाई सुविधा पुगाउन सकिन्छ । दाब मरुभूमीकरण हुनबाट बचाउन सकिन्छ ।
– नीति कार्यक्रममा वातावरण संरक्षणले प्राथमिकता पाएको छ त ?
हाम्रो नीति तथा कार्यक्रममै समावेश गरेर धार्मिक आस्थासँग जोडिएको जहाँ वर पिपल त्यहाँ शितल, जहाँ चौतारी त्यहाँ छहारी कार्यक्रमसमेत ल्याएका छौं । कम्तिमा हाम्रो मठमन्दिर,घाट,नदी, खोलाको किनारामा वर पिपल रोपौँ, चौतारी बनाएर संरक्षण गरौँ एकातर्फ पर्यावरणमा टेवा पुग्ने अर्कोतर्फ धार्मिक पर्यटन समेत जोडिने हुन्छ । त्यसका साथै प्रत्येक वडामा पायक पर्ने ठाउँमा जलाशय बनाऔँ र त्यहाँ वरपर सौन्दर्यकरणका बिरुवा रोपौँ, संरक्षण गरौँ एकातिर सुन्दरता अर्कोतर्फ पर्यावरणको संरक्षण दुवैतिर फाइदा पुग्ने देखियो । पानीका मुहान संरक्षणको कार्यक्रम समेत ल्याएका छौं । पानी समयमै नपर्दा खडेरीको सास्ती भोग्नुपर्ने अवस्था आउन सक्छ तसर्थ हामीले जलाशय बनायौँ, मुहान संरक्षण गर्यौँ भने त जलवायु परिवर्तनबाट हामीले भोग्नुपर्ने समस्या समाधान हुन्छ ।
कार्यकाल पूरा हुँदा कस्तो तुलसीपुरको परिकल्पना गर्नुभएको छ ?
पाँच वर्षे कार्यकालमा सुकुम्बासीलाई लालपूर्जा, शहरको सौन्दर्यकरण, प्रत्येक वडामा जलाशय,जमिनमा सिचाई सुविधा, नगरवासीहरूको घरमा खानेपानीको व्यवस्था, विशेषज्ञसहितको सेवा नगरकै अस्पतालबाट सेवा सुविधा प्राप्त, सहरको ढलको व्यवस्थापन, अत्यधुनिक बधशाला, औद्योगिक ग्राम सञ्चालन, १९ वटै वडामा विद्युतीकरण, शिक्षा र स्वास्थ्यमा सबै नागरिकको पहुँच पुर्याउने सपना छ ।
त्यस्तै गल्ने, नगल्ने फोहोरको व्यवस्थापन, गल्ने फोहोरबाट कम्पोष्ट मल उत्पादन तथा बिक्री वितरण गरेर आन्तरिक आयवृद्धि गर्ने र स्वस्थ नगरवासी व्यस्त नगरबासी हाम्रो परिकल्पना हो ।