पुष्पलालको विचारमा हिँडेको नेपाली कम्युनिष्ट आन्दोलन – Nepal Press
सन्दर्भः ४६औं पुष्पलाल स्मृति दिवस

पुष्पलालको विचारमा हिँडेको नेपाली कम्युनिष्ट आन्दोलन

नेपालमा पहिलो कम्युनिष्ट घोषणा

‘पहाड, पर्वत, खोला, नाला, जग्गा, जमिन सबको ! मालिक हामी दास बनौं किन, हिस्सा सबमा सबको !!’ भन्ने नारा सार्वजनिक गर्दै पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, मोतीदेवी श्रेष्ठसहितका ५ जनाले ‘नयाँ जनवादको निम्ति नेपालका जनताको बाटो’ कम्युनिष्ट घोषणापत्र भएको ठहर गर्दै २००६ साल वैशाख १० गते कलकत्ताको श्यामबजारको एउटा घरमा बसेर नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए । त्यो ऐतिहासिक र महत्वपूर्ण घटनाले आज ७५औं वसन्त पूरा गरेर ७६ औं वसन्तमा प्रवेश गरेको छ ।

नेपालमा कम्युनिष्ट पार्टीको स्थापनापश्चात जारी गरिएको पहिलो पर्चाले पूर्ण नागरिक स्वतन्त्रता, पढ्ने, लेख्ने, बोल्ने र सभा संगठन गर्ने अधिकार, मजदुरको तलबमा वृद्धि, किसानको मालको उचित मूल्य र उचित अधियाँ बालीको मुद्दा सार्वजनिक गर्दै नेपाली जनताका नाममा ‘मजदुर किसानसँग गला मिलाउ र साम्राज्यवादी डाकाहरुका विरुद्ध बन्दुक उठाउ’ भनी अपील गर्नुको साथै राणासँग मेलमिलापको नीतिको भण्डाफोर गर्दै संघर्षको राष्ट्रिय आह्वान गरेको थियो ।

जिउनयोग्य तलब, दिनमा आठ घण्टामात्र काम, रोजगारीको ग्यारेन्टी र सुरक्षा, वृद्धहरुलाई भत्ता, विनाफिसमा शिक्षा, काम गर्ने मजदुरलाई उपभोगको मुख्य अधिकार, जोत्नेलाई जमिन, बाँझो पर्ति जमिन खेतालालाई, कोसेली र दाइजो प्रथाको अन्त्य, तिमागा प्रथा जारी, सुत्केरी र बालबच्चाको सुरक्षा, विदेशी साम्राज्यवादीका सेवक भएका नेपालीलाई स्वदेश फिर्ता, सच्चा स्वतन्त्रताको निम्ति प्रजातन्त्र र शान्तिको शंखघोष गरिएको कम्युनिष्ट घोषणापत्रले नेपालको राजनीतिमा एउटा नितान्त फरक तरंगको प्रवाह गरेको सजिलै बुझ्न सकिन्थ्यो ।

विकसित राजनीति र कमरेड पुष्पलाल

संविधानसभा निर्वाचनको लागि संघर्ष गरौं !’ भन्ने उद्घोष गर्दै २०१० सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय महाधिवेशनले कमरेड मनमोहन अधिकारीलाई पार्टी प्रमुखको जिम्मेवारी बोकायो । यही पहिलो महाधिवेशनको नारालाई निरन्तरता दिँदै २०१४ सालमा सम्पन्न दोस्रो राष्ट्रिय महाधिवेशनले केशरजंग रायामाझीलाई पार्टी नेतृत्व जिम्मा लगायो । समयअनुसारको सान्दर्भिक विचार र नेतृत्वको तादात्म्यता मिलेन भने क्रान्तिले गति लिनसक्ने रहेनछ भन्ने एउटा साँचो यथार्थ चित्र हेर्न रायमाझीको नेतृत्वले कम्युनिष्ट आन्दोलनलाई दरवारको गुलाम र निरंकुश पञ्चायती व्यवस्थाको दास बनाउने गरी गरेको नाटकीय समर्थनका कारण पुष्पलालले परिकल्पना गर्नुभएको समतामूलक समाज र क्रान्तिले धेरै लामो समय अलमलिनु परेको तीतो यथार्थ हामीमाझ घाम जतिकै छर्लङ्ग छ ।

नेपालमा प्रजातान्त्रिक पद्धतिको निरन्तरताको लागि जननिर्वाचित संस्थाबाटै अगाडि बढ्न राम्रो हुने भन्दै कमरेड पुष्पलालले २०१५ सालमा राजा महेन्द्रद्वारा विघटन गरिएको संसदको पुनःस्थापनाको मुद्दा अगाडि सार्नुभएको थियो । त्यसैगरी संविधानसभाको निर्वाचनबाट तत्कालीन राजनीतिलाई समाधानमा पुर्‍याउने विषय कमरेड मोहनविक्रम सिंहले र सर्वसत्ता सम्पन्न संसदको मुद्दा कमरेड तुलसीलाल अमात्यले अगाडि सार्नुभएको थियो । तुलसीलालको विचारलाई महाधिवेशनले पारित गरेपछि ‘राष्ट्रिय प्रजातन्त्र जिन्दावाद ! सार्वभौम सत्ता संसद स्थापना गरौं !!’ भन्ने मूल नारा तय गरिएको २०१९ सालमा सम्पन्न नेपाल कम्युनिष्ट पार्टीको तेस्रो महाधिवेशनले कमरेड तुलसीलाललाई पार्टी नेतृत्व जिम्मा लगाएको थियो ।

पुष्पलाललाई तत्कालीन सहयोद्धाहरुले नचिनेर सही जिम्मेवारी दिन नसक्दा कम्युनिष्ट आन्दोलनले धेरै समय गुमाएको निष्कर्ष निकाल्न सकिन्छ । पार्टी स्थापनाको नेतृत्व गरेपछि कम्युनिष्ट आन्दोलनको संकट र खडेरीको वेला जसको विचार, उसैको नेतृत्वको नीतिअनुसार कमरेड पुष्पलाललाई नेतृत्वमा निरन्तर गर्न सक्नुपर्दथ्यो, जुन हुन सकेन र कम्युनिष्ट आन्दोलनले सही गति लिन नसकेको हुनसक्छ ।

तेस्रो महाधिवेशनपश्चात नेपालको कम्युनिष्ट आन्दोलनमा विचारको विविधता देखापर्‍यो र एउटाले अर्कोलाई प्रतिगामी देख्ने, कम क्रान्तिकारी देख्ने, व्यक्ति-व्यक्तिका नाममा पार्टी जन्माउने संकार देखापर्न थाल्यो र कम्युनिष्ट आन्दोलनले वास्तविक गति लिन सकेन । पुष्पलालले पञ्चायती व्यवस्थाका विरुद्ध वाम प्रजातान्त्रिक शक्तिको संयुक्त जनसंघर्षको आवश्यकतामा जोड दिनुभएको थियो, तर त्यतिवेलाका मौसमी कम्युनिष्ट पार्टी र उनका सहयोद्धाहरुको साथ पाउन नसक्दा त्यो सम्भव हुन सकेन । बरु उल्टो नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्ने मूल नेतृत्व गर्ने कमरेड पुष्पलाललाई क्रान्तिमा अविश्वास गरेर आफ्नै सहयोद्धाहरुले ‘गद्दार पुष्पलाल’को आरोप भिराइदिए ।

पञ्चायती दमन बढ्दै जानु र प्रतिरोधको योजना बन्न नसक्नुले क्रान्तिकारीहरुका बीच मतभेद र निराशा बढिरहेको सन्दर्भमा प्रभावकारी प्रतिरोधको योजना आवश्यक थियो । यसै परिवेशलाई आत्मसात गर्दै २०२८ सालमा पुष्पलाल समूहबाट विभाजित भएको झापा जिल्ला कमिटी र पूर्व कोशी प्रान्तीय कमिटीले पूर्वबाट विद्रोहको घोषणा गरेका थिए, जसले आफूलाई पछि कोअर्डिनेशन केन्द्रको रुपमा संगठित गरेको थियो भने ‘देशभक्त तथा जनतान्त्रिक शक्तिहरुको सरकारको लागि संघर्ष’को उद्घोष गर्दै २०३१ सालमा मोहनविक्रम सिंहले केन्द्रीय न्युक्लियस गठन गरेका थिए । २०३१ सालमा स्थापना गरिएको कम्युनिष्ट कोअर्डिनेशन केन्द्र २०३२ पछि रातो झण्डा समूह, दाङको सन्देश समूह र मुक्तिमोर्चा समूहहरु मिलाई २०३५ सालमा नेकपा मालेको स्थापना गरिएको थियो । संघर्षका विभिन्न रुपको अनुभवबाट खारिएर एउटा ठोस बाटो अवलम्बन गर्ने र यी विभिन्न समूहको एकताबाट निर्माण भएको नेकपा माले नेपालको कम्युनिष्ट आन्दोलनलाई पुनः संगठित र एकीकृत पार्ने एउटा अभियान पनि थियो भन्न सकिन्छ ।

उता नेपालको कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी योद्धाहरुको रगतले सिञ्चित गरिरहेको थियो । यसक्रममा परिवर्तन र क्रान्तिसँग आतंकित भएका पञ्चायती शासकहरुले सुखानीको जंगलमा २०२९ साल फागुन २१ गते जेल सार्ने नाउँमा रामनाथ दाहाल, नारायण श्रेष्ठ, कृष्ण कुइँकेल, विरेन राजवंशी र नेत्र घिमिरेलाई पञ्चायती तानाशाहहरुले हत्या गरिसकेका थिए भने २०३१ सालको ओखलढुंगाको टिमुरे काण्डमा राम लक्ष्मण मारिएका थिए भने क्रान्तिकारी योद्धा रत्नकुमार वान्तवालाई २०३५ सालमा इलामको देउमाईको किनारमा लगी हत्या गरिएको थियो । त्यसैगरी ऋषि देवकोटा र जयगोविन्द शाहलाई फाँसीमा चढाइसकिएको थियो ।

‘कविला जातिका बीचमा पार्टीलाई पुर्‍याऔं’, ‘मार्क्सवाद भक्तिवाद होइन, व्यवहारको निम्ति बाटो देखाउने सिद्धान्त हो’, ‘कम्युनिष्ट पार्टी नेता प्रधान होइन, नीति प्रधान हुनुपर्दछ’, ‘सिद्धान्तअनुसारको भौतिक स्थिति खोज्ने होइन, भौतिक स्थितिअनुसारको सिद्धान्त हुनुपर्दछ’, ‘राजनीति जालझेल होइन, वास्तविक वस्तुस्थितिको आधारमा वर्गीय विश्लेषणको निचोड हो’, ‘सबभन्दा पहिले सिद्धान्त, त्यसपछि संगठन र त्यसपछि संघर्षको योजना तर्जुमा गर्नुपर्दछ’, जसलाई तीन ‘स’को सिद्धान्त पनि भनिन्छ । यी सबै २००६ देखि २०३५ सालको बीचको अवधिमै व्यक्त कमरेड पुष्पलालका महत्वपूर्ण भनाइहरु हुन् । जुन विचारहरु जतिवेला पुष्पलाल कहिल्यै सम्मानित हुनुभएन, त्यतिवेलै कमरेड पुष्पलालको नेतृत्वमा भएका कम्युनिष्ट सम्मेलन र अधिवेशनमा प्रस्तुत प्रतिवेदनहरुबाट निकालिएका समय सान्दर्भिक वाणीहरु हुन् ।

कमरेड पुष्पलाल जसले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्‍यो र कम्युनिष्ट घोषणापत्र जारी गरेर परिवर्तनको विचार नेपाली जनतामा सवार गरायो । उसैलाई गैरक्रान्तिकारी देख्ने, उसैलाई विश्वास गर्न नसक्ने, उसैलाई नेतृत्व दिएर अगाडि बढ्न नसक्नुले नेपालको कम्युनिष्ट आन्दोलनलाई भएको क्षतिको मूल्यांकण तत्कालीन नेतृत्वले समयमा गर्न सकेन भन्न सकिन्छ ।

यी सबै घटनाक्रमले पुष्पलाल कहिल्यै बेठीक हुनु भएन । सधैं कम्युनिष्ट आन्दोलनलाई मजबुत बनाउन र गति दिन प्रयत्नशील हुनु भयो । बरु पुष्पलाललाई तत्कालीन सहयोद्धाहरुले नचिनेर सही जिम्मेवारी दिन नसक्दा कम्युनिष्ट आन्दोलनले धेरै समय गुमाएको निष्कर्ष निकाल्न सकिन्छ । पार्टी स्थापनाको नेतृत्व गरेपछि कम्युनिष्ट आन्दोलनको संकट र खडेरीको वेला जसको विचार, उसैको नेतृत्वको नीतिअनुसार कमरेड पुष्पलाललाई नेतृत्वमा निरन्तर गर्न सक्नुपर्दथ्यो, जुन हुन सकेन र कम्युनिष्ट आन्दोलनले सही गति लिन नसकेको हुनसक्छ । अर्को पाटोबाट हेर्दा कमरेड पुष्पलाल पदप्रति मोह पनि नगर्ने त्यागी रहेछन् भन्न सकिन्छ । वाम प्रजातान्त्रिक शक्तिहरुको एकतासहितको संयुक्त जनसंघर्षबाट निरंकुश सत्ता ढाल्ने विचारका पक्षपाती कमरेड पुष्पलाल जसले नेपालमा कम्युनिष्ट पार्टी स्थापना गर्‍यो र कम्युनिष्ट घोषणापत्र जारी गरेर परिवर्तनको विचार नेपाली जनतामा सवार गरायो । उसैलाई गैरक्रान्तिकारी देख्ने, उसैलाई विश्वास गर्न नसक्ने, उसैलाई नेतृत्व दिएर अगाडि बढ्न नसक्नुले नेपालको कम्युनिष्ट आन्दोलनलाई भएको क्षतिको मूल्यांकण तत्कालीन नेतृत्वले समयमा गर्न सकेन भन्न सकिन्छ ।

नेपाली कम्युनिष्ट आन्दोलनको सार, एमाले निर्माणको आधार

कृषि क्रान्तिबाट नै नेपाली जनताको उन्नति, प्रगति र विकासको सम्भावना देखेर ‘नेपाली नौलो कृषि क्रान्ति जिन्दावाद’ भन्ने मूल नारा तय गर्दै २०३५ सालमा सम्पन्न नेपालको कम्युनिष्ट आन्दोलनको नयाँ आयाम पहिलो राष्ट्रिय सम्मेलन नेपाली राजनीतिको एउटा अत्यन्तै महत्वपूर्ण सन्दर्भ थियो भन्न सकिन्छ । २००६ सालदेखि २०३५ सम्मको कम्युनिष्ट आन्दोलनका उकालीओरालीको निर्मम समीक्षाको सार थियोे यो पुनर्गठन, विभिन्न व्यक्ति समूहमा विभाजित कम्युनिष्ट टुकडीहरुको एकताको राष्ट्रिय अभियान र प्रारम्भ थियोे यो पुनर्गठन, कमरेड पुष्पलाल र उनको विचारलाई गहिरिएर समीक्षा गर्न क्रमशः सकारात्मक रुपमा देख्न थालिएको एउटा कालखण्डको प्रारम्भ थियो यो पुनर्गठन, नेपाली कम्युनिष्ट आन्दोलनको मूलधार निर्माणको पहिलो पाइला थियो यो पुनर्गठन, विचारको नवीनताको खोजी गर्ने चिन्तनको शुरुवात थियो यो पुनर्गठन, जबजका प्रणेता कमरेड मदन भण्डारी जन्माउने आधारभूमि थियो यो पुनर्गठन । यो पुनर्गठनबाट निर्माण गरिएको ‘नेपाल कम्युनिष्ट पार्टी माले’ आजको एमालेको बाल्यकाल थियो ।

नयाँ नेपाल बनाउने भरपूर सपना देखेर जनताका आवाज अगाडि सार्दै संगठित गरिएको यो पार्टीको योजनामा २०३५/३६ सालको ऐतिहासिक विद्यार्थी आन्दोलन तीव्र गतिमा अगाडि बढेको थियो । नेपालमा विद्यार्थी संगठनको प्रभावकारी भूमिकाको पहिचान र लोकप्रियता स्थापित गर्न सफल यो आन्दोलन समग्र नेपाली राजनीतिको परिवर्तनमै महत्वपूर्णमात्रै होइन, कोशेढुंगा नै सावित हुन पुग्यो । २०३६/३७ सालको जनमत संग्रहमा समेत यो आन्दोलनको प्रभाव राम्रैसँग परेको थियो, तर पनि पञ्चायत हारेन र २०४६ सालको आन्दोलन आवश्यक पर्न गयो । पार्टी स्वतन्त्रता कि राजनीतिक स्वतन्त्रता भन्ने पार्टीको आन्तरिक संघर्षले २०३५ सालको सम्मेलनबाट निर्वाचित महासचिव कमरेड सीपी मैनालीलाई हटाएर २०३९ सालमा कमरेड झलनाथ खनाललाई पार्टी नेतृत्व सुम्पिएको थियो ।

‘पञ्चायती व्यवस्थाका विरुद्ध संयुक्त जनआन्दोलन’ भन्ने मूल नारा तय गर्दै २०४६ सालमा नेपाल कम्युनिष्ट पार्टीको चौथो ऐतिहासिक राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो र अधिवेशनले कमरेड मदन भण्डारीलाई प्रमुख नेतृत्वको जिम्मेवारी थमाएको थियो । पञ्चायतका विरुद्ध निर्णायक आन्दोलनको अभिभारा बोकेको यो नेतृत्वले कमरेड पुष्पलालको विचारको अनुशरण गर्दै वाम लोकतान्त्रिक शक्तिहरुको संयुक्त संघर्षको शंखघोष गरिएको यो पञ्चायती व्यवस्थाविरोधी जनआन्दोलनले निरंकुशताको अन्त्य गर्दै नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो । यो आन्दोलनमा नेपाली कांग्रेस सँगसँगै नेकपा माले, मार्क्सवादी र अन्य वाम पार्टीहरुको पनि महत्वपूर्ण भूमिका रहेको थियो । यो संघर्ष र परिणामले प्रजातान्त्रिक आन्दोलनमा कम्युनिष्टहरुको भूमिकालाई स्थापित गर्नुको साथै नेपालको कम्युनिष्ट आन्दोलनमा कमरेड पुष्पलाल धेरै आदरणीय व्यक्तित्व हुनु हुँदोरहेछ भन्ने आत्मानुभूति गराउन थप बल पुर्‍याएको थियो ।

जनताको बहुदलीय जनवाद र मदन भण्डारी

२०४६ सालको जनआन्दोलनमा प्रभावकारी भूमिका निर्वाह गर्दै आएको नेकपा माले र मार्क्सवादीसहितको वाममोर्चालाई एकताको मालामा उन्ने शुरुवात २०४७ को माले मार्क्सवादी एकतापछि निर्माण गरिएको नेकपा एकीकृत माले पार्टीले गरिरहेको थियो । पार्टी एकतापछि फेरि औपचारिक रुपमा नेपाली कम्युनिष्ट आन्दोलनका संस्थापक नेता कमरेड पुष्पलालको राजनीतिक भूमिसहित कमरेड मनमोहन अधिकारी र वाममोर्चाकी अध्यक्षसमेत रहेकी सहाना प्रधानको राजनीतिक घर एउटै बन्न पुग्यो ।

पञ्चायतका विरुद्ध निर्णायक आन्दोलनको अभिभारा बोकेको यो नेतृत्वले कमरेड पुष्पलालको विचारको अनुशरण गर्दै वाम लोकतान्त्रिक शक्तिहरुको संयुक्त संघर्षको शंखघोष गरिएको यो पञ्चायती व्यवस्थाविरोधी जनआन्दोलनले निरंकुशताको अन्त्य गर्दै नेपालमा संवैधानिक राजतन्त्र र बहुदलीय प्रजातन्त्रको स्थापना भएको थियो ।

चौथो राष्ट्रिय महाधिवेशनमा नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको विषय छलफल आरम्भ भएको थियो । कमरेड मदन भण्डारीको अगुवाइमा २०४९ सालको पाँचौं राष्ट्रिय महाधिवेशनमा यो विषय व्यवस्थित र ठोस प्रस्तावको रुपमा प्रस्तुत भै जनताको बहुदलीय जनवादका नाममा पारित विचारको रुपमा अगाडि आएको थियो । ‘जडसूत्रवाद र विसर्जनवादको विरोध गरौं ! मार्क्सवादको सृजनात्मक प्रयोग र विकास गरौं !!’ भन्ने प्रमुख नारा तय गर्दै सम्पन्न नेपाल कम्युनिष्ट पार्टी एमालेको पाँचौं राष्ट्रिय महाधिवेशनले कमरेड मदन भण्डारीलाई पुनः नेतृत्व सुम्पिएको थियो ।

जनताको बहुदलीय जनवाद मार्क्सवादको सिर्जनात्मक प्रयोग, मार्क्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्त, कम्युनिष्टहरुको नयाँ परिचय, कम्युनिष्टहरुप्रतिका सबै अवाञ्छित भ्रमको पर्दा खोल्ने विचार, विश्व कम्युनिष्ट आन्दोलनको निर्मम समीक्षाको परिणाम, नेपालको माटो सुहाउँदो प्रगतिशील र क्रान्तिकारीहरुको लागि मौलिक विचारको रुपमा अगाडि सारिएको नयाँ चिन्तन र विचार थियो । अझै अर्को अर्थमा जबज नेपाली कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरणको सिद्धान्तको रुपमा परिभाषित गर्न सकिन्छ । ‘शान्तिपूर्ण आन्दोलनको माध्यमबाट आमूल परिवर्तन’ को कार्यदिशा बोकेको नेपाली क्रान्तिको मौलिक सिद्धान्तको रुपमा चित्रण गर्न पनि सकिन्छ ।

मदन भण्डारीको लोकप्रिय, आकर्षक र प्रभावशाली व्यक्तित्वले नेतृत्व र कमरेड मनमोहन अधिकारीको कुशल अविभावकत्वको कारण २०४८ सालको आमनिर्वाचनमा नेकपा एमालेले अप्रत्याशित ढंगले धेरै स्थानमा विजय हासिल गरी नेपालको दोस्रो शक्तिको रुपमा आफूलाई खडा गरेको थियो । यही विजय र कमरेड मदन भण्डारीको करिश्मेटिक नेतृत्वले अगाडि सारेको यो विचार महाधिवेशनले पारित गरेपछि नेपालको कम्युनिष्ट आन्दोलनले एउटा नयाँ मोड लिन पुग्यो । आजको एमाले र बल्खुको आकर्षणको मुख्य केन्द्रविन्दु यही घटना थियो ।

२०५० साल जेठ ३ गते दासढुंगाको रहस्यमय हत्याले मदन भण्डारी र जीवराज अश्रितलाई गुमाउनु परेपछि नेतृत्वविहीन भएको नेपालको कम्युनिष्ट आन्दोलनलाई मदन भण्डारीको अभाव परिपूर्ति गर्ने नेतृत्व चाहिएको थियो, तर सिंगो पार्टी पंक्ति एमालेको भलो चिताउने नेपाली जनताले खास नेतृत्व देखिरहेका थिएनन् । यस्तो वेला जसरी पनि नेतृत्व धान्न पर्ने परिस्थिति थियो । यतिवेला महासचिवको रुपमा दोस्रो वरियतामा रहेका नेता कमरेड माधव नेपाल अगाडि सारिएको थियो । मदन भण्डारीको नेतृत्वको तेज, जबजको विचार र रमस्यमय हत्याको सहानुभूतिसमेत बोकेको नेकपा एमाले २०५१ सालको मध्यावधि निर्वाचनमा नेपालको सबैभन्दा ठूलो पार्टी बनेपछि सन्दर्भले एकल सरकार निर्माण गर्ने एउटा स्वर्णिम अवसर जुरेको थियो । कमरेड मनमोहन अधिकारीको नेतृत्वमा सानो तर छरितो सरकारले गरेका ‘आफ्नो गाउँ आफै बनाऔं’, ‘नौस’को कार्यक्रम, वृद्ध भत्ता, विधुवा भत्ता, गाउँगाउँमा ३/५ लाख, समान तलबको वृद्धि, ‘गाउँगाउँमा सहकारी, घरघरमा रोजगारी’ जस्ता जनमुखी काम नेपाली जनताले कहिल्यै भुल्न सक्ने छैनन् । यही सरकारको कामले बढाएको जनाकर्षणको परिणामस्वरुप २०५४ सालको स्थानीय निर्वाचनमा यो पार्टीले जनस्तरमा प्रभाव पार्नुको साथै ऐतिहासिक विजय हासिल गरेको थियो ।

माओवादी विद्रोह, एमालेको विभाजन र गतिरोध

एमालेलाई अलिकति सत्ताको मोहले बिगारेको, व्यक्तिहरुभित्र उच्च महत्वाकांक्षाले घर गरेको यो परिस्थितिमा ‘विकृति र विसंगतिका विरुद्ध संघर्ष गरौं ! विचारधारात्मक रुपमा पार्टीलाई एकताबद्ध पारौं !!’ भन्ने प्रमुख नारा बनाउँदै २०५४ सालमा नेकपा एमालेले छैटौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनले कमरेड मनमोहन अधिकारी र माधव नेपाललाई नेतृत्व सुम्पिएको थियो । पार्टीको विभाजनको बीच रोपिएको यो महाधिवेशनले आफ्ना नेताहरुको सत्तामोह र महत्वाकांक्षाको व्यवस्थापन गर्न सकेन र फेरि पार्टी विभाजन भयो । यो विभाजनले कम्युनिष्ट आन्दोलनको मूलधारको रुपमा जबरजस्त आफूलाई स्थापित गरिरहेको एमालेको गतिलाई एक हदसम्म दिगभ्रमित बनाएको थियो । यो विभाजनपछि २०५२ सालदेखि युद्धको घोषणा गरेको नेकपा माओवादीका लागि भने एउटा उर्बर भूमि बन्न पुगेको थियो ।

जनताको बहुदलीय जनवाद मार्क्सवादको सिर्जनात्मक प्रयोग, मार्क्सवाद लेनिनवादको लोकतान्त्रीकरणको सिद्धान्त, कम्युनिष्टहरुको नयाँ परिचय, कम्युनिष्टहरुप्रतिका सबै अवाञ्छित भ्रमको पर्दा खोल्ने विचार, विश्व कम्युनिष्ट आन्दोलनको निर्मम समीक्षाको परिणाम, नेपालको माटो सुहाउँदो प्रगतिशील र क्रान्तिकारीहरुको लागि मौलिक विचारको रुपमा अगाडि सारिएको नयाँ चिन्तन र विचार थियो ।

२०५६ सालको आमनिर्वाचनमा विभाजित पार्टी नेकपा मालेले एक स्थानमा पनि विजय हासिल गर्न नसकेपछि यसमा संगठित कार्यकर्ताहरुको ठूलो पंक्ति त झन माओवादी विद्रोहको लाइनमा समाहित भए । पार्टी विभाजनपछि २०५६ सालमा सम्पन्न आमनिर्वाचनमा नेकपा एमाले फेरि कम्युनिष्ट आन्दोलनको ठूलो शक्तिकै रुपमा स्थापित भएपछि केही दिग्भ्रमहरु तोडिए, पार्टी एकता पनि भयो, तर त्यो एकताले सबैलाई एकताको मालामा समाहित गर्न सकेन ।

राजाविरोधी संघर्ष र शान्ति प्रक्रियामा एमालेको भूमिका

मनमोहनको देहान्त भैसकेको थियो । माओवादी द्वन्द्वको प्रभाव बढिरहेको थियो । एमालेको ठूलो कार्यकर्ता पंक्तिलाई माओवादी आन्दोलनले लट्पट्याइरहेको थियो । यति वेला पार्टी जीवनमा ठूलै संकट परिरहेको थियो । यस्तो संकटपूर्ण घडीमा पार्टी नेतृत्वले आफ्नो शक्तिको प्रभाव बढ्ने कार्यक्रमको योजना बनाउन नसक्नु र आफ्नो विचारलाई जिउँदो रुपमा राख्न नसक्दा आन्दोलनको एजेण्डा र विचार सही भएर पनि दिगभ्रमित भए जस्तो हुन पुग्यो । २०५८ सालमा भएको रहस्यमय नारायणहिटी हत्याकाण्डले राजा वीरेन्द्रको वंशनाश गरिसकेको थियो । राजा ज्ञानेन्द्रले महेन्द्र रुपी निरंकुशताको दुस्साहसको यात्रा प्रारम्भ गरिसकेका थिए । २०५४ सालमा फुटेको पार्टी आफ्ना धेरै कार्यकर्ता माओवादीलाई बुझाएर फेरि एकतामा बाँधियो । यसैबीचमा पार्टी एकतापश्चात ‘दक्षिणपन्थ र उग्र वामपन्थको विरोध गरौं ! प्रजातन्त्रको रक्षा र शान्तिको लागि संघर्ष गरौं !!’ भन्ने मूल नाराका साथ २०५९ सालमा नेकपा एमालेको सातौं महाधिवेशन सम्पन्न भएको थियो, तर पार्टी नेतृत्वमा खासै नयाँपन आएन । पुनः माधव नेपाल पार्टी प्रमुख चुनिनुभयो ।

माओवादी द्वन्द्वको प्रहारबाट मारिएका आफ्ना सयौं कार्यकर्ताको लासमाथि उभिएरै भए पनि ज्ञानेन्द्रबाट प्रजातन्त्रको रक्षा र माओवादीको त्रासबाट जनतालाई उन्मुक्ति दिन शान्ति प्रक्रियामा सिलिगुडी, लखनउ, रोल्पा आदि ठाउँमा पुगेर माओवादीसँग गरेको वार्ता र १२ बुँदे सहमति तथा २०६२/६३ सालको शान्तिपूर्ण जनविद्रोहको आकर्षक वातावरण तयार गर्न एमालेको भूमिका धेरै महत्वपूर्ण रह्यो । परिणामस्वरुप शान्तिपूर्ण आन्दोलनको बलमा बन्दुकहरु हारे र नेपाली जनताले जिते । राजाको निरंकुशतामात्र हारेन, २४० वर्षको शाही इतिहासको जगसमेत समाप्त हुनेगरी आन्दोलनले सफलता प्राप्त गर्‍यो ।

एमालेको चुनौतीको रुपमा नेकपा माओवादी

नेपालमा दर्जनौं कम्युनिष्ट पार्टीहरु खोलिँदै, एकअर्कामा एकता र आन्दोलनको मोर्चा बनाउँदै, विभाजनमा पनि रमाउँदै हिँड्ने चलन छँदै थियो । मजदुर किसान पार्टीले आफूलाई देशव्यापी राष्ट्रिय पार्टी बनाउनै सकेन । राष्ट्रिय जनमोर्चाले संगठनको सञ्जालको ठूलो जालो तयार गर्नै सकेन । अरु ससाना कम्युनिष्ट समूहहरु कोठामै रमाए । एमाले जबरजस्त कम्युनिष्ट आन्दोलनको प्रमुख शक्ति बनेर अगाडि आइरहेको थियो । नेपाली राजनीतिको साँचो हातमा बोकेका गिरिजाप्रसाद दाइना भइदिनाले समान हैसियतका साथ पछिल्लो समय शान्ति प्रक्रियाको एउटा पक्ष भएर सत्ता राजनीतिमा निर्णायक शक्तिको रुपमा प्रस्तुत हुन पाउनु नेकपा माओवादीको लागि अवसर बन्यो भने यो परिवर्तनमा सहेर, धैर्यताका साथ जिम्मेवारीपूर्वक जनपरिचालनको नेतृत्व गर्ने नेकपा एमालेलाई साक्षी किनाराको पात्र जस्तोमात्रै बनाउन खोजिएको थियो ।

२०६४ सालको संविधानसभा निर्वाचन निष्पक्ष त थिएन । बन्दुकको छायाँमा भएको यस निर्वाचनमा जबरजस्त प्राप्त गरेको सफलता एमाओवादीको लागि महत्वपूर्ण अवसर र एमालेको लागि एउटा विशाल चुनौती बनेर खडा भयो । यसैबीचमा ‘यथास्थिति, अराजकता र विखण्डनका विरुद्ध आठौं महाधिवेशन ! राष्ट्रिय एकता, सामाजिक सद्भाव र संघीय लोकतान्त्रिक गणतन्त्रको लागि नयाँ संविधान !!’ भन्ने मूल नाराका साथ नेकपा एमालेले आफ्नो आठौं राष्ट्रिय महाधिवेशन सम्पन्न गर्‍यो । पहिलो पटक उच्च लोकतान्त्रिक पद्धतिको प्रयोग गर्दै प्रत्यक्ष निर्वाचनको अभ्यास पनि गर्‍यो र पार्टी प्रमुखको जिम्मेवारी कमरेड झलनाथ खनालले समाल्नु भयो ।

क्रिया प्रतिक्रिया समयको गति र प्रवाहमै हुने कुरा हुन् । कमजोरी नेकपा एमालेले पनि गरेकै थियो । आधा प्रतिगमन सच्चिएको निष्कर्ष निकाल्नु, सत्तामोह देखाउँदै जस्तासुकै सरकारमा सामेल हुनु, निष्ठा र अनुशासनको मान्यताबाट पर भाग्न खोज्नु, यसभित्र देखिएको विचलनका संकेतहरु यस बीचमा नआएका होइनन् ।

नेकपा एमाले विचार, संगठन र भूमिकाले पहिलो शक्तिको रुपमा खडा हुनु पर्दथ्यो, त्यो निर्वाचन परिणामले सम्भव हुन सकेन । नेपाली कम्युनिष्ट आन्दोलनको वैचारिक केन्द्र एमाले भएर पनि निर्वाचनको शक्ति एमाओवादीको हातमा भएपछि एमालेभित्र पनि दुइटा वैचारिक समूहहरु देखापरे र एउटा पक्ष माओवादीलाई शक्ति केन्द्र मानेर तत्काल वामपन्थी एकता गर्ने र अर्को एमालेलाई वैचारिक र सांगठनिक शक्ति केन्द्र मानेर कम्युनिष्ट आन्दोलनलाई एकीकृत गर्नुपर्छ, तर त्यो समय अहिले अनुकूल छैन भन्ने अर्को समूह बन्यो । दोस्रो मान्यता बोक्नेहरुलाई एकताविरोधीको बिल्ला भिराउने प्रयास पनि गरियो । यस समूहको नेतृत्व कमरेड केपी ओलीले गरिरहनु भएको थियो । समय क्रममा यो विचार नै मूल विचारको रुपमा पार्टी जीवनभित्र प्रभावी बन्यो ।

नेपाली कम्युनिष्ट आन्दोलनको मूलधारको राजनीतिक हैसियत जोगाउन नेकपा एमालेमाथि खडा भएको यो चुनौती नेपाली कम्युनिष्ट आन्दोलनमा महत्वपूर्ण घटनाको रुपमा लिन सकिन्छ । माओवादीले यो ऐतिहासिक अवसरलाई उपयोग गर्न सकेन । एमालेले आफ्नो सामुन्ने खडा भएको चुनौतीलाई सानदार ढंगले सामाना गर्‍यो । परिणामस्वरुप २०७० सालको दोस्रो संविधानसभाको निर्वाचनमा एमालेले आफूलाई सवल रुपमा प्रस्तुत गर्न सक्यो । माओवादीले आफ्नो हैसियत जोगाउन सकेन । पार्टी नेतृत्वको व्यवस्थापन गर्न नसक्नु, जातीय मुद्दा बोकेर चुनावमा जानु, राज्यको पुनर्संरचनाको सवालमा सही मुद्दा बोक्न नसक्नु माओवादीको यो असफलताका प्रमुख कारण थिए भन्न सकिन्छ ।

निष्कर्ष : कम्युनिष्ट आन्दोलनको मूलधार र नेतृत्वको रुपमा पुनः एमाले

क्रिया प्रतिक्रिया समयको गति र प्रवाहमै हुने कुरा हुन् । कमजोरी नेकपा एमालेले पनि गरेकै थियो । आधा प्रतिगमन सच्चिएको निष्कर्ष निकाल्नु, सत्तामोह देखाउँदै जस्तासुकै सरकारमा सामेल हुनु, निष्ठा र अनुशासनको मान्यताबाट पर भाग्न खोज्नु, यसभित्र देखिएको विचलनका संकेतहरु यस बीचमा नआएका होइनन् । समष्टिमा हेर्दा नेपालको कम्युनिष्ट आन्दोलनमा इतिहासबाट शिक्षा लिने पार्टी एमाले बन्न पुग्यो, पार्टी नेतृत्वको आकांक्षालाई व्यवस्थापन गर्नसक्ने क्षमता यसले प्रदर्शित गर्‍यो । लोकतान्त्रिक मूल्य र मान्यताको पक्षमा दृढ अडान राख्दै पार्टीभित्र उच्च लोकतान्त्रिक अभ्यास गराउने कम्युनिष्ट पार्टी एमाले नै भयो । आवधिक निर्वाचन र नेतृत्व परिवर्तनको श्रृंखलालाई यसैले आत्मासात गर्न सक्यो । देशव्यापी असल र इमानदार कार्यकर्ता निर्माण गर्दै कहिलेकाहीँ नेतृत्वको कमीबाट पनि पार्टी जोगाउन सक्ने क्षमता यसैले प्रदान गर्‍यो । पछिल्लो समय जनताको बहुदलीय जनवादको वैज्ञानिक विचार र समय सान्दर्भिक गति यसको मूल विशेषता बन्न पुग्यो । संविधान निर्माणमा यसको प्रभावकारी भूमिका र राज्यको पुनर्संरचनामा यसले अगाडि सारेका राजनीतिक मुद्दा यसको सफलताका कारण बन्न पुगे ।

नेतृत्वमा केपी ओलीको उदय

पार्टीको मूल नेतृत्वमा नहुँदा पनि पार्टीको दृष्टिकोण निर्माण गर्न कमरेड ओलीले खेलेको भूमिका धेरै महत्वपूर्ण र निर्णायक हुने गर्दथ्यो । माओवादी आन्दोलनको कमजोर पक्ष र गलत निर्णयहरुको कटाक्ष गर्न होस् या हत्या र हिंसाको विरोध गर्न होस्, आफ्नो पार्टीलाई सही बाटोमा हिँडाउन होस् या पीडितहरुको मलाम वा सारथि बनेर उभिने विषयमा होस्, राष्ट्रियताको पक्षमा कडा अडान राख्ने सन्दर्भमा होस् या कार्यकर्ता संरक्षणको सवालमा होस्, अत्यन्त महत्वपूर्ण र प्रभावकारी भूमिका निर्वाह गर्दै आउनुभएका कमरेड केपी शर्मा ओलीलाई यस अवधिमा मूल नेतृत्वको जिम्मेवारी प्राप्त हुन्छ ।

२०७९ सालको निर्वाचनबाट नेपालको लोकप्रिय जनमत प्राप्त पार्टी प्रमाणित भएको थियो । पछिल्लो समय लोकतन्त्रको रक्षा, विकास र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जाने सहमतिमा पुग्नुले वाम लोकतान्त्रिक शक्तिको एकताबाट निकासको पुष्पलाल यात्रा पुनः प्रमाणित गरेको छ ।

‘शान्तिपूर्ण जनक्रान्तिका उपलब्धिहरुलाई संस्थागत गरौं ! जनताको बहुदलीय जनवादको मार्गदर्शनमा समृद्ध नेपाल निर्माण गरौं !!’ भन्ने प्रमुख नारा तय गर्दै नेकपा एमालेले २०७१ असार अन्तिम साता आफ्नो नवौं राष्ट्रिय महाधिवेशन सम्पन्न गरेको थियो । अधिवेशनले कमरेड केपी शर्मा ओलीलाई पार्टी प्रमुखको जिम्मेवारी सुम्पिएको थियो ।

एमाले र माओवादीबीच पार्टी एकता

पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा नेकपा एमालेले नयाँ उचाइ प्राप्त गर्‍यो । संविधान जारी गर्ने सवालमा निर्णायक भूमिका खेलेको एमालेले पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वमा ९ महिना सरकार चलाउने अवसर प्राप्त गर्‍यो । यस अवधिमा प्रधानमन्त्रीले गरेको काम खासगरी सीमा विवाद समाधानको पहलकदमी, भारतको नाकावन्दीविरुद्धको अडान र राष्ट्रिय स्वाधीनताका मुद्दाहरुको विषयले प्रधानमन्त्री केपी ओली र नेकपा एमालेको परिचय थप अग्लो भयो र ओलीको नेतृत्व र एमालेको आकर्षण र अपेक्षाको अंश बाँकी हुँदै जबरजस्त सरकारबाट बाहिरिनुपरेको थियो ।

आफूलाई वैज्ञानिक कदम चाल्ने चतुर राजनीतिज्ञ मान्ने कमरेड प्रचण्डको अस्थिरता कहिले घातक र कहिले साधक बनेर राजनीतिक गतिलाई तलमाथि पारिरहन्थ्यो । समयको आवश्यकता र राजनीतिक स्थायित्वको बाध्यात्मक परिस्थितिलाई विश्लेषण गरी पार्टीले अगाडि सारेका आर्थिक विकास समृद्धिका योजना सफल बनाउन निर्वाचनमा बहुमत ल्याउने लक्ष्य राखी पार्टी एकतासम्म पुर्‍याउने योजनाका साथ माओवादीसँग चुनावी सहकार्य र कार्यगत एकता गर्ने सहमति भएबमोजिम झण्डै दुई तिहाइ नजिकको बहुमतसहित निर्वाचनमा एउटा सफलता प्राप्त भयो ।

पाँच वर्ष केपी ओली नेतृत्वमा सरकार बनाउने नारा बोकेर गरिएको निर्वाचनको सफलता थियो । त्यसलाई जबजको प्रकाशमा समृद्ध नेपाल निर्माण गर्ने योजना सार्वजनिक गर्ने, नयाँ संविधान जारी गर्ने, माओवादीलगायतका अरु कम्युनिष्ट पार्टीलाई ठूलो हृदयका साथ एकताको प्रक्रियामा समाहित गर्ने र समृद्ध नेपाल निर्माणको व्यवस्थित खाका प्रस्तुत गर्ने युगीन दायित्व नेकपा एमालेको काँधमा रहेको छ । पछिल्लो समय पार्टी नेतृत्वले राष्ट्रिय राजनीतिमा लिएको अडान र भूमिकाले पार्टीको उचाइ अझै माथि उठेको छ ।

केपी ओलीको नेतृत्वमा पार्टी पुनर्गठनको अभियानलाई नेपाली जनता र एमाले पार्टी पंक्तिबाट भएको साथका कारण पार्टीका शीर्ष मानिएका नेताहरुको असहयोग र ओली समाप्त पार्ने प्रयास असफलमात्र भएन, फेरि केपी ओली आफ्नै योजना र नेतृत्वमा देशको ठूलो जनशक्ति कमाण्ड गर्ने नेताको रुपमा स्थापित हुनुभयो र फेरि एमाले कम्युनिष्ट आन्दोलनको मूलधार र एउटा जनताको भरोसायोग्य राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन पुग्यो ।

नेपाली कम्युनिष्ट आन्दोलनका शुरु देखिका दुई धार एमाले र माओवादी पार्टीको एकता भएको यस अवधिमा भएको थियो । कम्युनिष्ट आन्दोलनका शुरुवातदेखिका दुई धारको एकताबाट देश-विदेशमा रहेका वामपन्थी प्रगतिशील शक्तिहरुलाई उत्साहित बनाएको थियो, तर एमाले र माओवादी एकतापछि सरकारको नेतृत्वमा आलोपालोको प्रचार हुनु र पार्टी एकतापछि निरन्तर कमरेड प्रचण्डले पार्टीभित्र शक्ति संघर्षको अभ्यास शुरु गर्नुभयो । जसका कारण पार्टी एकता चिर स्थायी हुन सकेन र फेरि एमाले र माओवादी अलग अलग हुने परिस्थिति निर्माण भयो र अदालतले यो मनोविज्ञानलाई सहज हुने गरी फैसला सुनाइदियो ।

केपी ओलीको नेतृत्वमा फेरि पार्टी पुनर्गठन

पार्टी एकतापश्चात शक्ति हत्याउने प्रयासमा कमरेड प्रचण्डले एकताका मुख्य सूत्रधार कमरेड ओलीको राजनीतिक हत्याको योजना बनाउनु भएको आभास पाएपछि क्रमशः सम्बन्ध चिसिँदै गएको थियो । पार्टी अध्यक्ष कमरेड केपी ओलीको तेजोवध गर्न लगाइएका कपोलकल्पित १९ पेज लामो आरोप कमिटीको नियोजित बहुमतबाट पारित गराएर पार्टी अध्यक्षबाट निष्कासन गर्र्ने प्रयासलाई असफल बनाउन बाध्यात्मक कदमको रुपमा संसद विघटन गर्नु परेको थियो । यसपछि भएका जनप्रदर्शन र पार्टीका दुई धारको संघर्ष उत्कर्षमा पुगेको थियो ।

केपी ओलीको नेतृत्वमा पार्टी पुनर्गठनको अभियानलाई नेपाली जनता र एमाले पार्टी पंक्तिबाट भएको साथका कारण पार्टीका शीर्ष मानिएका नेताहरुको असहयोग र ओली समाप्त पार्ने प्रयास असफलमात्र भएन, फेरि केपी ओली आफ्नै योजना र नेतृत्वमा देशको ठूलो जनशक्ति कमाण्ड गर्ने नेताको रुपमा स्थापित हुनुभयो र फेरि एमाले कम्युनिष्ट आन्दोलनको मूलधार र एउटा जनताको भरोसायोग्य राष्ट्रिय शक्तिको रुपमा स्थापित हुन पुग्यो । २०७९ सालको निर्वाचनबाट नेपालको लोकप्रिय जनमत प्राप्त पार्टी प्रमाणित भएको थियो । पछिल्लो समय लोकतन्त्रको रक्षा, विकास र राजनीतिक स्थायित्वका लागि नेकपा एमाले र नेपाली कांग्रेस मिलेर जाने सहमतिमा पुग्नुले वाम लोकतान्त्रिक शक्तिको एकताबाट निकासको पुष्पलाल यात्रा पुनः प्रमाणित गरेको छ ।

यो सत्य इतिहासको साथमा पुष्पलालको विचारको रक्षक, इतिकासको निरन्तरताको पर्याय र नेपाली लोकतान्त्रिक तथा वामपन्थी शक्तिको केन्द्र र नेपाली बलियो राष्ट्रिय शक्तिको रुपमा आफूलाई स्थापित गर्दै नेकपा एमाले मूलधार बनेको छ । सिंगो कम्युनिष्ट आन्दोलनका राजनीतिक घटनाक्रमले पार्टी स्थापना भएको कोलकाताको एउटा पुरानो घरदेखि आजको नेकपा एमालेको केन्द्रीय कार्यालय मदननगर बल्खुु हुँदै धुम्मबाराही र च्यासलसम्मको यात्रालाई प्रमाणित गरेको छ ।


प्रतिक्रिया

One thought on “पुष्पलालको विचारमा हिँडेको नेपाली कम्युनिष्ट आन्दोलन

  1. ्रसुन्दर सन्तुलित र समसामयिक विचार प्रवाहित भएको छ प्रिय नेतृत्व

Leave a Reply

Your email address will not be published. Required fields are marked *