खेलाडीकाे ओलम्पियन चाहना, पदाधिकारीलाई घुमघामकाे बहाना – Nepal Press

खेलाडीकाे ओलम्पियन चाहना, पदाधिकारीलाई घुमघामकाे बहाना

काठमाडौं । हालै कोपा अमेरिकाको उपाधि अर्जेन्टिनाले जितेपछि दीपक विष्टले लियोनल मेस्सीको साथ खिचेको तस्विर सामाजिक सञ्जालमा राखेर बधाई दिए । अर्जेन्टिना र मेस्सीले प्राप्त गर्ने सफलतामा विष्ट अक्सर उक्त तस्विर सामाजिक सञ्जालमा पोस्ट गरिरहन्छन् ।

‘खाना खाने समय थियो । अचानक मेस्सीलाई अगाडि देखें । म कुनै समय म्याराडोनाको खुब फ्यान थिएँ । उनले खेल्न छाडेपछि मेस्सीको । नजिकै गएर आफ्नो परिचय दिँदै नेपालको ब्याच दिएँ । उनको शालिनता देखेर अचम्म लाग्यो’, सन् २००८ को ग्रीष्मकालीन बेइजिङ ओलम्पिकको घटना विष्टले सम्झिए ।

ओलम्पिक यही कारण खेलाडीका लागि विशेष रहन्छ, जहाँ विश्वभरका सबै एकसेएक खेलाडीहरु एकै थलोमा जम्मा हुन्छन् । उनीहरुसँग देखभेट हुने अवसर जुर्छ । अरु खेलका खेलाडीहरुले पनि प्रदर्शन नियाल्ने अवसर पाउँछन् ।

‘त्यसैले ओलम्पिकको महत्व प्रतियोगिताभन्दा माथि रहन्छ । विभिन्न खेलका खेलाडीबीच परिचय हुने, सांस्कृतिक आदानप्रदान हुन्छ’, विष्ट भन्छन् ।

बेइजिङ ओलम्पिक दीपकका लागि विशेष रहने अन्य कारण पनि थिए । उनी छनोट चरण पार गरेर ओलम्पिकमा पुगेका थिए । त्यसअघि यस्तो सफलता पहिलो पटक संगीना वैद्यले चार वर्षअघि मात्र प्राप्त गरेकी थिइन् । सन् २००४ मा ग्रिसको एथेन्समा आयोजित ओलम्पिकमा संगीना छनोट चरण पार गरेर सहभागी भएर नेपाली खेलकुदमा इतिहास रचेकी थिइन् । संयोग, दीपक र संगीना दुवै तेक्वान्दो खेलाडी थिए ।

बेइजिङ ओलम्पिक आयोजना भएको १६ वर्षपछि दुई जना नेपाली खेलाडी छनोट चरण पार गरेर यसै साता फ्रान्सको पेरिसमा आयोजना हुने ओलम्पिक खेल्दैछन् । त्यस्तो सफलता प्राप्त गर्ने टेबल टेनिसका स्यान्टु श्रेष्ठ र जुडोकी मनिता श्रेष्ठ प्रधानसहित ६ खेलका ७ जना खेलाडीले ओलम्पियन बन्ने सपना पूरा गर्दैछन् ।

एथलेटिक्सकी सन्तोषी श्रेष्ठ, ब्याडमिन्टनका प्रिन्स दाहाल, सुटिङकी सुस्मिता नेपाल तथा पौडीका अलेक्जान्डर शाह र डुबाना लामाले पनि पेरिस ओलम्पिकमा प्रतिस्पर्धा गर्नेछन् । हरेक चार वर्षमा आयोजना हुने यो प्रतियोगितामा नेपालले यस पटक ब्याडमिन्टन र टेबलटेनिसमा डेब्यु गर्दैछ ।

एथलेटिक्सकी सन्तोषी तथा पौडीका डुबाना र अलेक्जान्डर ‘युनिभर्सियालिटी’ कोटाअन्तर्गत सहभागी हुन लागेका हुन् । ओलम्पिक खेलकुदमा हरेक देशको प्रतिनिधित्व होस् भनेर अन्तर्राष्ट्रिय ओलम्पिक काउन्सिल (आईओसी)ले पौडी र एथलेटिक्समा हरेक देशको सहभागिता सुनिश्चित गरेको हुन्छ ।

पौडीमा २ र एथलेटिक्समा एउटा कोटा दिइन्छ । सन् २०१६ को ओलम्पिकसम्म यी दुवै खेलमा २-२ वटा कोटा दिइने गरिएको थियो । ब्याडमिन्टनका दाहाल र सुटिङकी सुस्मिता वाइल्ड कार्डमार्फत सहभागी हुन लागेको नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्दराज श्रेष्ठले जानकारी दिए ।

‘ओलम्पिकका लागि छनोट प्रतियोगिता सकिएपछि आईओसी, सम्बन्धित खेलको अन्तर्राष्ट्रिय महासंघ र स्थानीय आयोजक (ट्रेपाटाइट कमिटी)को बैठकले वाइल्ड कार्डको संख्या निर्धारण गरेर कुन क्षेत्रलाई कति दिने भन्ने निर्णय गर्छ । त्यहीअनुसार खेलाडीको र्‍याङ्किङका आधारमा कसले वाइड काल्ड पाउने भन्ने निर्णय हुन्छ’, एनओसी महासचिव श्रेष्ठ भन्छन् ।

पेरिस ओलम्पिकका लागि १० खेलका १० नेपाली खेलाडीलाई मासिक ७५० अमेरिकी डलरका दरले ओलम्पिक स्कलरसिप दिइएको थियो । त्यस्तो स्कलरसिप पाएका ३ जना खेलाडीले पेरिस ओलम्पिकको यात्रा तय गरेको श्रेष्ठले बताए ।

‘सुटिङकी सुस्मिता, ब्याडमिन्टनका प्रिन्स र जुडोकी मनिताले उक्त स्कलरसिप पाएका थिए । मनिता भने छनोट चरण पार गरेर ओलम्पिक खेल्ने भएकी छिन्’, उनले भने ।

नेपाल ओलम्पिक कमिटीका अनुसार ओलम्पिक स्कलरसिप पाएका सबै १० खेलाडीका लागि वाइल्र्ड कार्डमार्फत पेरिस ओलम्पिकमा सहभागी हुन ‘अप्लाइ’ गरिएको थियो।

नेपालले सन् १९६४ देखि ओलम्पिक खेलकुद खेल्न थालेको हो । हालसम्म ८८ जना नेपाली खेलाडीले ग्रीष्मकालीन ओलम्पिक खेलेका छन् । सन् १९६४ को टोकियो ओलम्पिकमा एथलेटिक्सका दुई खेलाडी भुपेन्द्र सिलवाल र गंगाबहादुर थापा तथा बक्सिङका नामसिंह थापा, ओमप्रसाद पुन, रामप्रसाद गुरुङ र भीमबहादुर थापासहित ६ जना नेपाली खेलाडी सहभागी थिए ।

सन् १९७२ मा जर्मनीको म्युनिखमा आयोजित ओलम्पिक एथलेटिक्समा जीतबहादुर केसी र भक्तबहादुर सापकोटाले खेलेका थिए । सन् १९७६ मा क्यानडाको मन्ट्रेयलमा आयोजित ओलम्पिकमा एथलेटिक्सका बैकुण्ठ मानन्धरमात्र सहभागी थिए । त्यसको ४ वर्षपछि रुसको मस्कोमा भएको प्रतियोगितामा नेपालबाट ३ खेलका १२ जना खेलाडी सहभागी थिए । नेपालले पहिलो पटक भारात्तोलनमा पनि प्रतिस्पर्धा गर्दै थियो ।

एथलेटिक्स र बक्सिङमा ५-५ र भारात्तोलनमा दुई जना नेपाली खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सन् १९८४ मा अमेरिकाको लस एन्जलसमा आयोजना भएको ओलम्पिकमा नेपालबाट तीन खेलका ११ खेलाडी सहभागी थिए । एथलेटिक्सका ५, बक्सिङका ४ र भारात्तोलनका दुई खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

सन् १९८८ मा दक्षिण कोरियाको सिउलमा आयोजना भएको ओलम्पिकमार्फत नेपालले जुडो, सुटिङ र तेक्वान्दोमा पनि डेब्यु गर्‍यो । नेपालबाट १८ खेलाडी सहभागी थिए । तेक्वान्दोलाई प्रदर्शनी खेलका रुपमा समावेश गरिएको थियो । एथलेटिक्सका ७, बक्सिङका ५, जुडोका २, तेक्वान्दोका २ तथा सुटिङ र भारात्तोलनका एकएक जना नेपाली खेलाडीले उक्त ओलम्पिकमा प्रतिस्पर्धा गरेका थिए ।

एथलेटिक्सका बैकुण्ठ मानन्धर लगातार चौथो पटक ओलम्पिकमा सहभागी भएका थिए । सन् १९९२ मा स्पेनको बार्सिलोनामा आयोजित ओलम्पिकमा तेक्वान्दोका ३ तथा सुटिङ र एथलेटिक्सका १-१ गरेर नेपालका ५ खेलाडी सहभागी थिए । त्यसको चार वर्षपछि अमेरिकाको एटलान्टामा आयोजित संस्करणमा नेपालले पौडीमा पनि डेब्यु गरेको थियो । पौडी र एथलेटिक्सका २-२ र भारात्तोलन र सुटिङका एकएक खेलाडी सहभागी थिए ।

सन् २००० मा अस्ट्रेलियाको सिड्नीमा आयोजित ओलम्पिकमा पौडी र एथलेटिक्सका २-२ र सुटिङका एक खेलाडी सहभागी थिए । सन् २००४ मा ग्रिसको एथेन्समा नेपालले ४ खेलमा प्रतिस्पर्धा गरेको थियो । एथलेटिक्स र पौडीका २-२ तथा सुटिङ र तेक्वान्दोमा एकएक खेलाडी सहभागी थिए ।

सन् २००८ मा चीनको बेइजिङमा भएको संस्करणमा नेपालबाट ६ खेलमा ८ खेलाडी सहभागी थिए । एथलेटिक्स र पौडीमा २-२ तथा सुटिङ, तेक्वान्दो, भारात्तोलन र जुडोमा एकएक खेलाडीले प्रतिस्पर्धा गरेका थिए । चार वर्षपछि लन्डनमा भएको ओलम्पिकमा पौडीका २, एथलेटिक्सका २ र सुटिङका एक खेलाडी नेपालबाट सहभागी थिए ।

सन् २०१६ मा ब्राजिलको रियो दी जेनेरियोमा भएको ओलम्पिकमा पौडी र एथलेटिक्सका २-२ तथा जुडो, आर्चरी, तेक्वान्दोमा एकएक खेलाडीले प्रतिस्पर्धा गरेका थिए । आर्चरीमा नेपालको यो पहिलो ओलम्पिक सहभागिता थियो । चार वर्षअघि जापानको टोकियोमा भएको पछिल्लो संस्करणमा नेपालबाट पौडीका २ तथा एथलेटिक्स, जुडो र सुटिङमा एकएक खेलाडी सहभागी थिए ।

नेपालले अहिलेसम्म बक्सिङ, एथलेटिक्स, भारात्तोलन, सुटिङ, जुडो, आर्चरी, तेक्वान्दो र पौडीमा मात्र ओलम्पिक प्रतिस्पर्धा गरेको छ । नेपाल ओलम्पियन एसोसियसनका अध्यक्षसमेत रहेका विष्टले हालसम्म ग्रीष्मकालीन ओलम्पिकमा नेपालबाट ८८ जना खेलाडीले प्रतिस्पर्धा गरेको र तीमध्ये १० जनाको मृत्यु भइसकेको जानकारी दिए ।

नेपाल ओलम्पिक कमिटीसँग करिब ३० को संख्यामा ओलम्पिक खेलका राष्ट्रिय संघहरु आबद्ध छन्, तर औंलामा गन्न सकिने खेलमा मात्र नेपालले ओलम्पिक सहभागिता गरेको छ, त्यसमा पनि वाइल्ड कार्ड र युनिभर्सियालिटीको भरमा । ओलम्पिकमा सहभागी हुन थालेको झण्डै ६ दशक लामो इतिहासमा नेपालको स्थिति निराशजनक छ ।

सन् १९८८ मा सिउलमा आयोजित ओलम्पिकमा प्रदर्शनी खेलका रुपमा समावेश गरिएको तेक्वान्दोमा विधान लामाले प्राप्त गरेको कास्यलाई नेपालले अहिलेसम्मको ठूलो सफलता मान्नुपर्ने अवस्था छ । नेपाली खेलाडीहरुका लागि हरेक पटक व्यक्तिगत प्रदर्शन र राष्ट्रिय कीर्तिमान सुधार नै ठूलो लक्ष्य बन्ने गरेको छ ।

दक्षिण एसियाली खेलकुद (साग)मा चार स्वर्ण जितेर कीर्तिमान बनाएका विष्ट खेलाडीले आफ्नो सक्दो प्रदर्शन गरेको बताउँछन् ।

‘हाम्रोमा ओलम्पिक सुरु हुनुभन्दा १-२ महिना अघिसम्म को खेलाडीले नेपालको प्रतिनिधित्व गर्दैछ भन्ने थाहा हुँदैन । पदकका लागि वर्षौंको लगानी र तयारी चाहिन्छ । पदक जितेका देशले कसरी तयारी गरिरहेका हुन्छन् भन्ने हेर्‍यौं भने त्यो थाहा हुन्छ’, विष्ट भन्छन्, ‘हाम्रोमा ओलम्पिकमा जान सरकारले बजेट छुट्याउँछ, तर । ओलम्पिकको तयारीका लागि बजेट आउँदैन । संघहरुले राष्ट्रिय खेलकुद परिषद्को मुख ताक्ने र राष्ट्रिय खेलकुद परिषद्ले सरकारको मुख ताक्ने अवस्था छ । खेलाडीले आफ्नै खर्चमा तयारी गर्ने अवस्था छैन ।’

ओलम्पिक पदकलाई करोड पुरस्कार कागजमा सीमित

ओलम्पिकभन्दा पछाडि नेपालले खेल्ने दोस्रो ठूलो अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिता एसियाली खेलकुद (एसियाड) हो, जहाँ एसियाभरका विभिन्न खेलका खेलाडीहरु एकै थलोमा जम्मा हुन्छन् ।

गत वर्ष चीनको हाङ्जाउमा आयोजित १९औं एसियाडमा नेपालले २९ खेलमा प्रतिस्पर्धा गरेको थियो, २५३ खेलाडी सहभागी थिए । यति धेरै खेलमा यति धेरै खेलाडी सहभागी हुनु पछाडिको कारण भनेको यो प्रतियोगिता खेल्न कुनै छनोट खेलिरहन पर्दैन ।

सन् १९५१ देखि सहभागी हुँदै आएको एसियाडको पछिल्लो संस्करणमा नेपालले एक रजत र एक कास्य जित्यो । रजत जितेको कराँते ओलम्पिकमा समावेश छैन । नेपालले एसियाड इतिहासमै जम्मा तीन रजत र २३ कास्य जितेको छ । हरेक पटक एसियाडमा नेपाललाई पदककै खाता खोल्न हम्मेहम्मे पर्छ ।

‘नेपालले ओलम्पिकभन्दा पहिला एसियाडमा राम्रो गरेर देखाउनुपर्छ । जबसम्म हामी एसियाडमा स्वर्ण पदक जित्दैनौं, तबसम्म ओलम्पिकमा पदकको आशा गर्नु व्यर्थ हुन्छ’, विष्ट भन्छन् ।

उल्लेखनीय छ, ओलम्पिकमा समावेश धेरै खेलमा एसियाली दबदबा छ । ओलम्पिकका लागि कमजोर तयारी गरे पनि नेपालले त्यसमा जित्न सक्ने पदकका लागि भने मोटो रकमको पुरस्कार व्यवस्था गरेको छ ।

ओलम्पिकमा व्यक्तिगत स्पर्धामा स्वर्ण जित्नेलाई एक करोड ३० लाख, रजत जित्नेलाई ९७ लाख र कास्य जित्नेलाई ६५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ । यस्तै टीम स्पर्धामा रजत जित्नेलाई ५२ लाख, रजत जित्नेलाई ३५ लाख र कास्य जित्नेलाई २६ लाख रुपैयाँ दिइने व्यवस्था छ ।

म्यानेजरको आवरणमा ओलम्पिक पदाधिकारीको पेरिस यात्रा

ओलम्पिक खेलकुदमा जाने नेपाली टोलीमा अघिल्ला संस्करण झैं यस पटक पनि नेपाल ओलम्पिक कमिटीका पदाधिकारीहरुले आफ्नो ‘हक’ जमाएका छन् । हरेक खेलमा प्रशिक्षक र टीम म्यानेजरलाई बेवास्ता गर्दै ओलम्पिक कमिटीका पदाधिकारीले आफूलाई छुटाउन चाहेनन् ।

ओलम्पिक कमिटीमा पदाधिकारी रहेका अशोकरत्न बज्राचार्य, दीपकहर्ष बज्राचार्य, रामजीबहादुर श्रेष्ठ, ज्योति राणा र पिताम्बर तिम्सिना टीम अफिसियलका रुपमा जाँदैछन् । सामान्यतया सम्बन्धित खेल संघभित्रकै व्यक्तिलाई टीम म्यानेजरको जिम्मा दिइने गरिन्छ ।

अध्यक्ष वा महासचिवहरु टीम म्यानेजर भएर गएको पाइँदैन । राणा लन टेनिस संघकी अध्यक्ष हुन् भने अशोकरत्न बज्राचार्य पौडीका पूर्वअध्यक्ष हुन् । यस्तै दीपकहर्ष बज्राचार्य जुडोका अध्यक्ष हुन् । रामजी ब्याडमिन्टन संघका पूर्वअध्यक्ष हुन् ।

ओलम्पिक कमिटीका महासचिव श्रेष्ठ टीम अफिसियलले नै टीम म्यानेजरको काम गर्ने बताउँछन् । सम्बन्धित खेलको सिफारिसमा टीम अफिसियल तोकिएको उनले दाबी गरे ।

‘ओलम्पिक कमिटीको यसमा कुनै भूमिका हुँदैन, सम्बन्धित खेल संघले नै सिफारिस गरेका हुन्’, श्रेष्ठले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *