लुम्बिनीमा आज नयाँ सरकार बन्दै – Nepal Press

लुम्बिनीमा आज नयाँ सरकार बन्दै

रुपन्देही । लुम्बिनी प्रदेशमा एमाले–कांग्रेसको नयाँ गठबन्धन बनेसँगै आज नयाँ सरकार बन्ने भएको छ ।

अल्पमतमा परेका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश सभामा सम्बोधन गर्दै राजीनामा दिएर साँझ नै त्यो पत्र प्रदेश प्रमुख अमिक शेरचनलाई बुझाएपछि आइतबार राती नै शेरचनले नयाँ सरकार गठनका लागि आह्वान गरिसकेका छन् ।

प्रदेश प्रमुखले संविधानको धारा १६८ को उपधारा २ बमोजिमको नयाँ सरकार गठनका लागि आह्वान गरिएको प्रदेश प्रमुखको कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ।

आइतबार प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरेका मुख्यमन्त्री जोखबहादुर महराले विश्वासको मत नपाउने निश्चित भएपछि मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि नयाँ सरकार गठनको बाटो खुलेको हो ।

सोमबार साँझ साढे ६ बजेसम्मको समय तोकिएकाले सोमबार नै एमालेबाट नयाँ मुख्यमन्त्री नियुक्त हुनेछन् । एमाले–कांग्रेसले सोमबार दिउँसो १ बजे नै दाबी पेश गर्न बुटवलस्थित प्रदेश प्रमुखको कार्यालयमा जाने योजना बनाइसकेका छन् । यही योजनाअनुसार सांसदहरूलाई तयारी रहन खबर गरिएको छ ।

कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरीले पनि पहिलो चरणमै सरकारलाई पूर्णता दिएर अगाडि बढ्ने सहमति गरिएको बताए । मुख्यमन्त्रीसहित सरकारमा सहभागी हुने मन्त्रीहरूको शपथ एक चरणमा गर्ने गरी तयारी थालिएको चौधरीले बताए ।

‘अहिले मुख्यमन्त्री सहित सबै मन्त्रीहरूले एकसाथ शपथग्रहण गर्ने गरी तयारी छ, सोमबार दिउसोसम्म टुंगाउने प्रयासमा छौँ’ उनले भने–‘दुई ठूला दल एक ठाउँमा आउने विषयले केन्द्र र प्रदेश दुवै ठाउँमा राजनीतिक स्थायित्व दिन्छ भन्नेमा हामी आशावादी छौँ, प्रदेशको औचित्य पुष्टि गर्ने गरी काम हुनेछन् ।’

लुम्बिनी प्रदेशमा अहिले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्सहित १२ मन्त्रालय छन् । अव बन्ने नयाँ सरकारले मन्त्रालयको संख्या घटाउनेदेखि प्रदेशको कामकाजलाई प्रभावकारी बनाउन जिम्मेवारी निर्वाह गर्ने तयारी गरेको देखिन्छ ।

कांग्रेसको समर्थनमा एमाले संसदीय दलका नेता लीला गिरी मुख्यमन्त्री बन्ने टुंगो लागेको एमालेका प्रमुख सचेतक तुलसी चौधरीले बताएका छन् ।

‘दलको नेता स्वयम हुँदाहुँदै बैठक बसेर निर्णय गरिरहनुपर्दैन । एमालेको तर्फबाट मुख्यमन्त्रीमा दल नेता नै मुख्यमन्त्रीको उम्मेदवार हो’चौधरीले भने,‘दल नेता नभएको खण्डमा मात्रै संसदीय दलको बैठक बस्नुपर्ने हुन्थ्यो ।’ तर एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले पार्टी केन्द्रको निर्णय केही नआएकाले एमालेबाट नेतृत्वको टुंगो नलागेको बताएका छन् ।

राजनीतिमा देखिएको अस्थिरता अन्त्य गर्दै जनताको आर्थिक अवस्था सुधार गर्ने संकल्पसहित नयाँ सरकार बन्ने एमाले संसदीय दलका नेता लीला गिरीले बताए ।

‘मुलुकमा अहिले जुन राजनीतिक परिवेश सुरु भएको छ । यो अति आवश्यक थियो । अस्थिरताले हाम्रो मुलुक अघि बढ्न सक्दैन, अव स्थिरताको बाटोबाट प्रदेशको विकास गर्ने गरी जगैबाट काम गर्नुपर्ने छ ।’

लुम्बिनीमा एमालेका २९ र कांग्रेसका २७ जना सांसद छन् । सरकार बनाउन ४४ जना सांसद भए पुग्छ । नयाँ सरकार बनाउन एमाले–कांग्रेसलाई बहुमत पु¥याउन सहज छ । प्रदेश गठन भएदेखि सधैँ सरकारमा सहभागी भएको दल नेकपा माओवादी केन्द्र भने पहिलो पटक प्रतिपक्ष दलको भूमिकामा पुगेको छ ।

सरकारले गर्ने कामको आधारमा सदनमा प्रमुख प्रतिपक्षको रूपमा भूमिका निर्वाह गर्ने प्रमुख सचेतक ईन्द्रजीत थारुले बताए ।

‘फेरि पनि हामी जनताको आवाज उठाउने, जनताकै पक्षमा सदनबाटै संघर्ष सुरु गर्ने र त्यसलाई जनताको बीचमा पु¥याउने मुख्य भूमिका रहन्छ’प्रमुख सचेतक थारुले भने,‘हामी प्रतिपक्षमा बसेर जनताको आवाज उठाइराख्ने र निरन्तर खबरदारी गरिराख्ने भूमिका रहन्छौंं ।’

मन्त्रीको नाम टुंगाउन एमाले–कांग्रेसलाई सकस
एमाले कांग्रेसका संसदीय दलका नेताहरुले मुख्यमन्त्रीसँगै पहिलो चरणमै सबै मन्त्रीहरूको टुंगो लगाउन खोजेपनि आकांक्षीको संख्या धेरै भएकाले समस्या भएको जनाइएको छ । दुवै दलका नेताहरुले आइतबार नै बसेर पहिलो चरणनै सबै मन्त्रीहरु नियुक्त गरेर पूर्णता दिने गरी समझदारी गरेको जनाएका छन् ।

११ वटा राजनीतिक दलको प्रतिनिधित्व रहेको लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ र ४, लोकतान्त्रिक समाजवादी पार्टी ३ र जनता समाजवादी पार्टी राई समूह २, यादव समूह १, नेकपा एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाका १ र १ जना र १ स्वतन्त्र गरी ८७ सांसद छन्।

लुम्बिनी प्रदेश सभामा रहेका १० दलमध्ये नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादी पार्टीबाहेक सबै दल नयाँ सत्ता गठबन्धनमा रहने बताइसकेका छन्। आइतबार प्रदेश सभामा पनि यी तीन दलबाहेक सबै एकैतिर रहेका थिए । दुई ठूला दलले सत्ता साझेदारी गर्ने भएपछि प्रदेश सभाभित्र प्रतिपक्ष खुच्चिएको अवस्थामा पुग्ने भएको छ ।

आइतबार मुख्यमन्त्री जोखबहादुर महराले बैठकलाई सम्बोधन गर्ने क्रममा सत्तापक्षको बेन्चमा नेकपा माओवादी केन्द्रका सभामुखबाहेक १०, नेकपा एकीकृत समाजवादी, स्वतन्त्र सांसद र उपसभामुख एक÷एक जना गरी जम्मा १३ जनाको बेन्च थियो । प्रदेश सभाका ७३ जना प्रदेश सभा सदस्य प्रतिपक्षमा बेन्चमा रहेका थिए । अव नयाँ समीकरणको आधारमा सरकार गठन हुँदा आइतबार प्रदेश सभामा देखिएको दृश्यको ठिक विपरीत प्रतिक्षमा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र एक स्वतन्त्र सांसद मात्रै रहन सक्ने देखिएको छ ।

साना दलहरू पनि नयाँ सरकारमा समर्थन रहेकाले एमाले कांग्रेसले आइतबार रातीसम्म मन्त्रीको संख्या टुंगाउन नसकेका हुन् ।

एमाले सचेतक तुलसी चौधरीका अनुसार निशर्त सरकारलाई समर्थन गरिने सबै दललाई स्वागत गरिने र उनीहरुको समेत समर्थनमा दाबी पेश गरिने तर कुनै शर्त अगाडि राखे त्यसलाई अहिले ध्यान नदिने रणनीति बनाएको बताए । उनले मन्त्रीको नाम र संख्या सोमबार मात्रै टुंगो लाग्ने बताए ।

कांग्रेस एमालेबाट मन्त्रीका आकांक्षीहरु अधिकांश केन्द्रीय नेतृत्वलाई भेटेर फर्केका छन् । दुवै दलले आकांक्षी धेरै भएकाले सोमबार मात्रै नाम टुंगो लगाउने जनाएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर