लुम्बिनी मुख्यमन्त्रीमा संसदीय दलका नेतालाई पन्छाएर उपनेता किन रोज्यो एमालेले ? – Nepal Press

लुम्बिनी मुख्यमन्त्रीमा संसदीय दलका नेतालाई पन्छाएर उपनेता किन रोज्यो एमालेले ?

रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेशमा संसदीय दलको नेतालाई पन्छाएर उपनेतालाई मुख्यमन्त्रीको जिम्मेवारी दिएपछि तरंग पैदा भएकाे छ । सोमबार बिहानसम्म प्रमुख सचेतक तुलसी चौधरी दलको नेता लीला गिरीलाई मुख्यमन्त्री बनाउन दाबी पेश गर्न दिउँसो प्रदेश प्रमुखकहाँ जाने बताइरहेका थिए, तर अपरान्ह उनलाई उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकार बनाउने तयारी गर्न पार्टी नेतृत्वको निर्देशन आयो ।

लुम्बिनी एमालेले पाउने भएपछि यसअघि साढे ३ महिनामात्रै मुख्यमन्त्री बनेका र संसदीय दलको नेता रहेका गिरीलाई नै पार्टीले जिम्मेवारी दिनेमा उनी निकटहरु ढुक्क थिए, तर अघिल्लो पटकसमेत मुख्यमन्त्रीको बलियो दावेदारी पेश गरेका उपनेता आचार्यले पार्टी केन्द्रसँग जसरी पनि नेतृत्व पाउनुपर्ने अडान लिए । त्यसो त योबीचमा गिरी र आचार्य दुवै काठमाडौं पुगेर अध्यक्ष केपी ओलीसहितका मुख्य नेताहरुलाई भेटेर फर्केका थिए । दुवै नेताहरुलाई अध्यक्ष ओलीले अन्तिम समयसम्म धैर्य गर्न भनेर पठाएका थिए ।

लुम्बिनीमा नेता गिरी उपाध्यक्ष विष्णुप्रसाद पौडेल तथा उपनेता आचार्य महासचिव शंकर पोखरेल निकट मानिन्छन् । एमालेका नेताहरु तथा केही सांसदहरुले आचार्यलाई मुख्यमन्त्री बनाउन पहिले दलको नेता बनाएको भए राम्रो सन्देश जाने बताए पनि पार्टी केन्द्रको निर्णयबारे खुलेर बोल्न चाहेका छैनन् ।

लुम्बिनीमा पार्टीको प्रदेश कमिटीको निर्वाचनका समयमा गिरी र आचार्यको फरक मत रहेको थियो । गिरी अहिलेका अध्यक्ष राधाकृष्ण कँडेलको पक्षमा थिए भने आचार्य प्यूठानका हरि रिजाललाई अध्यक्ष बनाउने अभियानमा थिए । २ मतले रिजालले कँडेलसँग निर्वाचन हारे, तर यसले पार्टीभित्र तुस रहिरह्यो ।

उपाध्यक्ष पौडेल र महासचिव पोखरेल आफैंले कुनै समूह नबनाएको सार्वजनिक रुपमै बताइरहे पनि तलका नेताहरुले बनाइरहेका छन् । यसैको परिणामस्वरुप अहिले आचार्यले मुख्यमन्त्री पाएको अनुमान गरिएको छ ।

आचार्य निकट सांसदहरु प्रदेशमा प्रभावकारी काम देखाउन उपनेता आचार्यलाई जिम्मेवारी दिएको दाबी गर्छन् । संविधानको धारा ७६ को २ अनुसार मुख्यमन्त्री बनाउँदा दलको नेता हुनु नपर्ने उनीहरुको तर्क छ ।

एमाले लुम्बिनीका प्रमुख सचेतक तुलसी चौधरीले पार्टी केन्द्रको निर्णयअनुसार उपनेता आचार्यको नेतृत्वमा सरकारमा जाने निर्णय भएको बताए ।

‘हिजोसम्म केही थिएन, अहिले उपनेता चेतनारायण आचार्यको नेतृत्वमा सरकारमा जाने निर्णय भयो, हामी त्यहीअनुसार दाबी पेश गर्न जाँदैछौं’, चौधरीले भने ।

एमाले लुम्बिनी प्रदेशका अध्यक्ष राधाकृष्ण कँडेलले पार्टी केन्द्रको निर्देशनअनुसार दलका उपनेताको नेतृत्वमा सरकारमा जान लागेको जनाए ।

मुख्यमन्त्री बन्न लागेका आचार्य यसअघि एमालेका शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानूनमन्त्री, लीला गिरी नेतृत्वको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकासमन्त्री र माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा आर्थिक मामिला तथा योजनामन्त्री बनेका थिए । दोस्रो पटक अर्घाखाँचीको निर्वाचन क्षेत्र नम्बर १ (१) बाट निर्वाचित आचार्य एमालेका केन्द्रीय सदस्य हुन् ।

एमाले संसदीय दलका नेता लीला गिरीले पार्टीको यो निर्णयप्रति असन्तुष्ट व्यक्त गरेका छन् । उनले यो निर्णयले एमाले संसदीय मूल्य मान्यताविपरीत गएको महसुस भएको बताउँदै पार्टी विधिअनुसार नभएको जनाएका छन् ।

गिरीले यो विषय पार्टी अध्यक्षलाई जानकारी गराए पनि अहिलेलाई यस्तै भएको जवाफ पाएको बताएका छन् ।

त्यसो त संसदीय दलको नेता चयन गर्ने समयमै गिरी र आचार्य दुवैले दाबी गरेका गिए । तत्कालीन समयमा गिरी र आचार्यसँगै भोजप्रसाद श्रेष्ठ र भूमिश्वर ढकाल आंकाक्षी थिए । उनीहरु दुवैलाई मिलाउन एमाले महासचिव शंकर पोखरेल, सचिव तथा तत्कालीन प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले गिरी र आचार्यलाई राखेर सहमतिमा ल्याएका थिए ।

नेता आचार्यले दलको नेतामा गिरी र उपनेतामा आफूलाई जिम्मेवारी दिएर मिलाइएको र पहिलो चरणमा लीला गिरी र दोस्रो चरणमा आफूलाई मुख्यमन्त्री बनाउने भद्र सहमति भएको जनाएका छन् ।

लुम्बिनीमा सुरुमा दलको नेता गिरीलाई मुख्यमन्त्री बनाउने, त्यसपछि उपनेता चेतनारायण आचार्यलाई मुख्यमन्त्री बनाउने सहमतिअनुसार गिरी यसअघि मुख्यमन्त्री भइसकेकाले अहिले मुख्यमन्त्रीमा आचार्यलाई अघि सारिएकोले कुनै नयाँ निर्णय नभएको दाबी आचार्यको छ ।


प्रतिक्रिया

One thought on “लुम्बिनी मुख्यमन्त्रीमा संसदीय दलका नेतालाई पन्छाएर उपनेता किन रोज्यो एमालेले ?

  1. …यसरी गुटबन्दी हाबी हुँदैजाने गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर