अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउँछ: अर्थमन्त्री पौडेल (भिडिओ)
काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अहिलेको अभावलाई सम्बोधन गर्नेगरी मौद्रिक नीति आउने बताएका छन् ।
सोमबार मन्त्रालयमा नेपाल होटल संघ (हान) का पदाधिकारीसँगको भेटमा उनले मौद्रिक नीतिमा छलफल भइरहेको र केही दिनभित्रै मौद्रिक नीति आउने बताए ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबारे आवश्यक छलफल गरेर सञ्चालन गर्ने बताए ।
होटललाई उद्योगको मान्यता दिने कुरामा सरकार गम्भीर रहेको बताउँदै अर्थमन्त्री पौडेलले नीतिको निरन्तरता हुन नसक्दा समस्या पैदा भएको औंल्याए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीकै नेतृत्वको सरकारको पालामा बजेटमा होटललाई उद्योग क्षेत्रको मान्यता दिने भनेर लिएर आएको हो । त्यसको निरन्तरता हुनुपर्दथ्यो । नीति निरन्तरताको धेरै ठूलो अर्थ हुन्छ’, उनले भने ।
उक्त अवसरमा हानका अध्यक्ष विनायक साहले ३०÷३५ लाख पर्यटकलाई सेवा दिनसक्ने भए पनि बर्सेनि १० लाखभन्दा बढी पर्यटक नआएको भन्दै धेरैभन्दा धेरै पर्यटक आउने वातावरण मिलाउन आग्रह गरे ।
उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउन आग्रह गरे ।
सडक पूर्वाधारहरु सुरक्षित नहुँदा पनि पर्यटकहरु नेपाल आउन नचाहने गरेको भन्दै अध्यक्ष साहले भने, ‘आउँदो मौद्रिक नीतिमा बैंकबाट लिएको ऋण तिर्ने समय केही थप गरिदिन आग्रह गर्छु । कालोसूचीमा राखिदिन्छ, लिलाम गरिदिन्छ । हामी पलायनको अवस्थामा छौं ।’