एसईईपछि नेपालमा पढाइ हुने यी हुन् ७० प्राविधिक विषय, कति लाग्छ खर्च ? – Nepal Press

एसईईपछि नेपालमा पढाइ हुने यी हुन् ७० प्राविधिक विषय, कति लाग्छ खर्च ?

काठमाडौं । पछिल्लो समय नेपालमा परम्परागत शिक्षाभन्दा व्यवहारिक, व्यवसायिक र सीपयुक्त प्राविधिक शिक्षाप्रति आकर्षण बढ्दो छ । प्राविधिक शिक्षा लिएकाहरु बेरोजगार बस्न नपर्ने भएकाले पनि प्राविधिक शिक्षामा झुकाव रहेको हो ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा प्रकाशन सँगसँगै प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी)ले भर्ना खोलेको थियो । पूर्ण छात्रवृत्तिका लागि असार १५ देखि साउन ४ गतेसम्मको समय दिइएको थियो । जम्मा पढाइ हुने संख्याको १० प्रतिशतलाई छात्रवृत्तिको व्यवस्था रहेको छ ।

यस वर्षको एसइईको नतिजा असार १३ गते सार्वजनिक भएको थियो । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक ‘लेटर ग्रेडिङ निर्देशिका २०७८’ अनुसार एसईईको नतिजा सार्वजनिक गरेको थियो । परीक्षामा सहभागी भएका चार लाख ६४ हजार ७८५ मध्ये ४७.८६ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए । नियमिततर्फ दुई लाख ४२ हजार ९२ जना विद्यार्थी उत्तीर्ण भए ।

परीक्षामा सहभागीमध्ये ५२.१४ प्रतिशत परीक्षार्थीले ननग्रेड (एनजी) ल्याए ।

०००

सीटीईभीटीले ३ वर्षे डिप्लोमा तथा प्रमाणपत्र तह र १८ महिने प्रि-डिप्लोमा (साविकको प्राविधिक एसएलसी) तथा २ वर्षे अप्रेन्टिसिपसम्बन्धी लामो अवधिका कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

डिप्लोमा तहतर्फ कृषि तथा वनमा ४, स्वास्थ्यमा १२, इन्जिनियरिङमा १६, होटल म्यानेजमेन्ट तथा अन्यमा २ गरी जम्मा ३४ वटा कार्यक्रम सञ्चालनमा छन् । प्रि–डिप्लोमा तहतर्फ कृषिमा ३, इन्जिनियरिङमा १०, हस्पिटालिटी र अन्यमा ५ तथा अप्रेन्टिसिपअन्तर्गत ८ गरी जम्मा २६ वटा विषय पढ्न सकिने सीटीईभीटीका सूचना अधिकारी एकराज अधिकारीले जानकारी दिए ।

अधिकारीले भने, ‘एसईईको परीक्षा दिएका सबैले प्राविधिक शिक्षा पढ्न पाउँछन्, तर डिप्लोमातर्फ स्वास्थ्यको प्राविधिक शिक्षा लिन २ जीपीए आउनुपर्छ । अन्य डिप्लोमा पढ्न १.६ जीपीए ल्याएकाले पनि पढ्न पाउँछन् । १८ महिने प्रि-डिप्लोमातर्फको प्राविधिक शिक्षा लिन एसईईमा सामेल सबै विद्यार्थीलाई खुला छ ।’

प्राविधिक शिक्षातर्फ स्वास्थ्य, इञ्जिनियरिङ, कृषि तथा वन विज्ञान र अप्रेन्टिसिपलगायतका विषय अध्ययन गर्न पाइनेछ । यी कार्यक्रमको अवधि १८ र ३६ महिने रहेको छ ।

प्राविधिक शिक्षा २, ३, १० र १८ महिने पनि छन् । छोटो समयको प्राविधिक शिक्षा लिँदा तालिमबाट सीपमात्र सिकिन्छ । यी छोटा अवधिका तालिमले माथिल्लो तहको स्नातक पढ्न भने पाइँदैन । ३ वर्षे डिप्लोमा तह कोर्ष पढेपछि भने उच्च शिक्षा अध्ययनको अवसर पनि हुन्छ ।

डिप्लोमा र स्वास्थ्यतर्फ कुन-कुन विषय पढ्न पाइन्छ ?

स्वास्थ्यसँग सम्बद्ध कार्यक्रममा १२ वटा विषयको अध्ययन गर्न सकिने सीटीईभीटीले जनाएको छ । जसमा प्रमाणपत्र तहको नर्सिङ, नेत्रविज्ञान, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, डाइग्नोस्टिक रेडियोग्राफी, दन्तविज्ञान, सामान्य आयुर्वेद चिकित्सा, अकुपञ्चर एण्ड अकुप्रेसर तथा डिप्लोमा इन फार्मेसी, डिप्लोमा इन फिजियोथेरापी र डिप्लोमा इन योग एण्ड नेचुरोप्याथी पढ्न पाइन्छ ।

स्वास्थ्यतर्फ ३ हजार ६३७ पुरुष र ७ हजार ५८५ महिला गरी ११ हजार २२२ जनाले अध्ययन गर्न सक्नेछन् । स्वास्थ्यमा डिप्लोमातर्फका विषय अध्ययन गर्न २ जीपीए ल्याएको हुनुपर्छ । यसअघि प्रमाणपत्र तथा डिप्लोमा तहका स्वास्थ्यतर्फका सम्पूर्ण कार्यक्रमका लागि अंग्रेजी, गणित र विज्ञानमा न्यूनतम सी ग्रेड र जीपीए २ प्राप्त गरेको हुनुपर्ने व्यवस्था थियो । अहिले त्यो हटेको छ ।

स्वास्थ्यतर्फ महिला र पुरुष गरी १३ हजार ९०१ जनाले पढ्न पाउँछन् ।

इञ्जिनियरिङतर्फ के-के छन् विषय ?

इञ्जिनियरिङसम्बन्धी कार्यक्रममा १६ वटा विषयको अध्ययन गर्न सकिने परिषद्ले जनाएको छ । परिषद्का अनुसार डिप्लोमा इन सिभिल इञ्जिनियरिङ, डिप्लोमा इन कम्प्युटर इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन जियोम्याटिक्स इञ्जिनियरिङ, डिप्लोमा इन इलेक्ट्रोनिक्स एण्ड इलेक्ट्रिकल इञ्जिनियरिङ, डिप्लोमा इन मेकानिकल इञ्जिनियरिङ, डिप्लोमा इन अटोमोबाइल इञ्जिनियरिङ, डिप्लोमा इन इन्फर्मेसन टेक्नोलोजी, डिप्लोमा इन आर्किटेक्चर इञ्जिनियरिङ, डिप्लोमा इन बायोमेडिकल इक्विपमेट इञ्जिनियरिङ, डिप्लोमा इन रेफ्रिजरेसन एण्ड एअर कन्डिसनिङ, डिप्लोमा इन सिभिल इञ्जिनियरिङ (हाइड्रोपावर), डिप्लोमा इन मेकाट्रोनिक्स इञ्जिनियरिङ, डिप्लोमा इन बायो मेडिकल इञ्जिनियरिङ र डिप्लोमा इन एग्रिकल्चर इञ्जिनियरिङ अध्ययन गर्न पाइन्छ ।

डिप्लोमा इञ्जिनियरिङतर्फ पुरुष र महिला गरी ७ हजार ७८३ जनाले अध्ययन गर्न पाउने परिषद्ले जनाएको छ । डिप्लोमा इञ्जिनियरिङतर्फका सम्पूर्ण कार्यक्रमका लागि १.६ जीपीए आउनुपर्छ ।

कृषि तथा वनविज्ञानमा ४ वटा विषय

कृषि तथा वनविज्ञानसँग सम्बद्ध कार्यक्रममा ४ वटा विषयको अध्ययन गर्न पाइन्छ । जसमा डिप्लोमा इन एग्रिकल्चर (बालीविज्ञान), डिप्लोमा इन एग्रिकल्चर (पशुविज्ञान), डिप्लोमा इन फुड एण्ड डेरी टेक्नोलोजी र डिप्लोमा इन फरेस्ट्री छन् । जुन पुरुष र महिला गरी ४ हजार ४७९ जनाले अध्ययन गर्न सक्नेछन् ।

हस्पिटालिटी तथा अन्य

हस्पिटालिटी तथा अन्यतर्फ डिप्लोमा इन होटल म्यानेजमेन्ट र डिप्लोमा इन सोसियल वर्क पढ्न पाइन्छ । जसमा पुरुष २६९ र महिला ११७ गरी जम्मा ३८३ जनाको कोटा रहेको छ ।

प्रि-डिप्लोमातर्फ इञ्जिनियरिङ १०, कृषिमा ३, हस्पिटालिटी तथा अन्यमा ५ र अप्रेन्टिसिप ८ गरी २६ वटा विषय अध्ययन गर्न पाइन्छ ।

परिषद्का सूचना अधिकारी अधिकारीका अनुसार ५ हजार ४१० जनाले निःशुल्क प्राविधिक शिक्षा लिन पाउनेछन् । सरकारी विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरूमध्ये डिप्लोमामा ३ हजार ७६३ र प्रि-डिप्लोमामा १ हजार ६४७ जनाले पूर्ण छात्रवृत्ति पाउने उनले जानकारी दिए ।

डिप्लोमा र प्रि-डिप्लोमामा ७० हजार ४०४ जनाको कोटा रहेको छ ।

कति कलेजमा हुन्छ प्राविधिक शिक्षाको पढाइ ?

सीटीईभीटीमार्फत सञ्चालित आंगिक शिक्षालय ६६, साझेदारी शिक्षालय ५८, सामुदायिक विद्यालय ६३९ र निजीस्तरका ४ हजार ७ कलेजमा प्राविधिक शिक्षा अध्ययन गर्न सकिन्छ । सबै गरेर १ हजार १७० शैक्षिक संस्थामा प्राविधिक शिक्षाको पढाइ हुने परिषद्ले जनाएको छ ।

कति छ शुल्क ?

प्रि-डिप्लोमा तहतर्फ आंगिक शिक्षालयहरुमा विषयअनुसार कार्यक्रम अवधिभरको अधिकतम १५ हजारदेखि २२ हजार रुपैयाँसम्म लाग्छ । सामुदायिक विद्यालय र साझेदारी स्वरूपमा सञ्चालित शिक्षालयहरूमा विषयअनुसार अधिकतम शुल्क ५५ देखि ६५ हजारसम्म रहेको छ ।

त्यसैगरी डिप्लोमा/प्रमाणपत्र तहअन्तर्गतका विषय पढ्न आंगिक शिक्षालयहरुमा विषयअनुसार तीन वर्षको अधिकतम शुल्क ८५ हजारदेखि १ लाख ६० हजार रुपैयाँसम्म लाग्छ ।

त्यसैगरी साझेदारी शिक्षालय र सामुदायिक विद्यालयहरुमा विषयअनुसार अधिकतम शुल्क १ लाख ७५ हजारदेखि २ लाख ५ हजारसम्म शुल्क लाग्छ । निजीस्तरमा सञ्चालित कलेजहरुमा प्रमाणपत्र तह नर्सिङको लागि चार लाख ७५ हजार र सामान्य चिकित्साको लागि चार लाख चार हजार तथा डिप्लोमा इन फार्मेसी पढ्न तीन लाख ३७ हजार ८०० अधिकतम शुल्क तोकिएको छ ।

विद्यार्थीहरुले प्रशिक्षण शुल्क तीन किस्तामा बुझाउन सक्नेछन् । जसमध्ये पहिलो किस्ता तोकिएको शुल्कको ४० प्रतिशत, दोस्रो र तेस्रो किस्ता ३०-३० प्रतिशत गरी बुझाउन सकिने व्यवस्था रहेको सीटीईभीटीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *