महिला क्रिकेट टीमको असन्तुलन, को ब्याटर को बलर ?
काठमाडौं । राष्ट्रिय महिला टीममा पनि अलराउन्डरहरुको थुप्रो लगाइएको छ । यसले नेपालको ब्याटिङ लाइनअप लामो त बनेको छ, तर बलिङको सन्तुलन खल्बलिएको छ । बलिङमा कसलाई उतार्ने भन्नेमै कप्तान अल्मलिएकी छन् ।
श्रीलङ्कामा जारी एसिया कप महिला टी–२० क्रिकेटकाेप्रतियोगिता अन्तरगत पहिलो खेलमा युएईविरुद्ध ऐतिहासिक जित निकालेको नेपालले दोस्रो खेलमा पाकिस्तानविरुद्ध टीममा एक परिवर्तन गर्यो । मध्यम गतिकी बलर सबनम राईलाई बाहिर राख्दै रोमा थापालाई प्लेइङ ११ मा अटाइयो ।
बलियो पाकिस्तानविरुद्ध ब्याटिङ स्ट्रेन्थ बढाउन नेपालले बलरको ठाउँमा ब्याटरलाई समावेश गरेको हो । तर, रोमाले ब्याट समाउनै पाइनन् । छैटौँ विकेट पतन हुँदा पनि उनको ब्याटिङ गर्ने पालो आएन । सो खेलमा उनी फिल्डिङमै सीमित भइन् । स्कोरबोर्ड मात्रै हेर्ने हो भने रोमाको उपस्थिति कतै पनि देखिन्न ।
लगभग रोमाकैजस्तो अवस्था रह्यो, बिन्दू रावलको । उनी पनि विशेषज्ञ ब्याटर हुन् । उनको पालो बल्लतल्ल आठौं नम्बरमा त आयो, तर केवल एक बलको सामना गर्न पाइन् । अन्तिम बलको सामना गरेर उनी फर्किइन् । यसअघि युएईविरुद्धको खेलमा पनि बिन्दू टिममा थिइन् । त्यो खेलमा पनि उनले ब्याटिङमा पालो पाउन सकेकी थिइनन् ।
अब कुरा गरौं काजोल श्रेष्ठको । उनी नेपाली टिमकी विकेट किपर हुन् । सामान्यतया कुनै पनि टिममा विकेट किपिङका लागि मात्रै कुनै खेलाडीलाई प्लेइङ ११ मा गरिँदैन । यस्तो ब्याटरलाई राखिन्छ, जसले विकेटकिपिङ पनि गर्न सक्छ । काजल कुनै समय नेपालको ओपनर ब्याटर नै थिइन् । त्यसैले उनलाई पनि ब्याटिङकै लागि राखिएको थियो । तर, यूएई र पाकिस्तानविरुद्धको खेलमा उनको पनि ब्याटिङमा पालो आएन । दुवै खेलमा उनी विकेट किपिङमै सिमित भइन् ।
अब कुरा गरौं बलरको । पहिलोपटक नेपाली महिला टिमको खेल हेरिरहेका दर्शकहरु नेपालका प्रमुख बलर को हुन् भन्नेमै अलमलमा परे । जो विसुद्ध बलर थिए, उनीहरुले नै आफ्नो पुरा कोटा बलिङ गर्न पाएनन् । उदाहरणका लागि कृतिका मरासिनी । यूएईविरुद्धको खेलमा उनी सातौं बलरका रुपमा उनको प्रयोग गरियो । दुई ओभर बलिङ गरेर एक विकेट लिइन् । पाकिस्तानविरुद्ध पनि सातौं बलर नम्बरमा नै उनको पालो आयो । जम्मा एक ओभर बलिङ गर्न पाइन् त्यो पनि खेलको नतिजा लगभग निश्चित भइसकेपछि । स्मरणीय छ पाकिस्तानविरुद्ध खेलेकामध्ये एकजना कृतिका मात्रै विसुद्ध बलर थिइन् ।
एसिया कप महिला टी–२० क्रिकेटमा दुई खेल खेल्दा नेपाल एक जित र एक हार बेहोरेको छ । युएईविरुद्ध नेपालले बलिङ र ब्याटिङमा उत्कृष्ट प्रदर्शन गर्यो र ६ विकेटको ऐतिहासिक जित पनि निकाल्यो । पाकिस्तानविरुद्ध पनि नेपालको ब्याटिङ सन्तोषजनक नै थियो । तीन सर्वाधिक महत्वपूर्ण ब्याटरहरु रनआउट हुनु नेपालको लागि दुर्भाग्यपूर्ण रह्यो । यसका बाबजुद पनि टेस्ट टिमविरुद्ध १०६ रनको स्कोर बनाउनु सह्राहनीय नै हो । तर, नेपालको बलिङ भने फ्लप भयो । पाकिस्तानले ११.५ ओभरमै लक्ष्य भेट्दा नेपालले एक विकेट मात्रै हासिल गर्न सक्यो ।
पाकिस्तानविरुद्ध १२ ओभरको खेलमै नेपालकी कप्तान इन्दु बर्माले ७ जना बलरहरु प्रयोग गरिन् । यो उनको अधैर्यता मात्र थिएन, टीमको असन्तुलनको परिणाम पनि थियो । टीममा विशेषज्ञ बलरहरुको कमी स्पष्ट झल्कियो । विशेषज्ञ बलरभन्दा अलराउन्डरमा बढी भर पर्नुपर्ने अवस्था सुखद होइन । पहिलो खेलमा मध्यम गतिकी बलर सबनम राई समावेश थिइन् । तर, दोस्रो खेलमा उनलाई बाहिर राखिएको थियो । नेपालले तीन ओभर मात्रै फास्ट बलिङ गर्यो । नेपालको स्क्वाडमा थप तीनजना मध्यम गतिका बलर ममता चौधरी, राजमती ऐरी र डोली भट्ट रहेका छन् । उनीहरुले दुई खेलमा अवसर पाएनन् ।
नेपाली टीममा ३ जना अनुभवी खेलाडीहरु छन्– रुबिना क्षेत्री, सिता रानामगर र कप्तान इन्दु बर्मा । उनीहरु तीनैजना ब्याटिङका साथै स्पिन बलिङ पनि गर्ने गर्छन् । यस्तै, पूजा महतो, कविता कुँवर र कविता जोशी पनि अलराउन्डर हुन् । कविता कुँवरले तीन नम्बरमा ब्याटिङ गरिरहेकी छन् । युएईविरुद्ध बलिङमा राम्रो प्रदर्शन गरेकी कप्तान इन्दु दुवै खेलमा ब्याटिङमा फ्लप भइन् । रुविना क्षेत्री र कविता कुँवरको पनि ब्याट चलेको छैन ।
सामान्यतयार कुनै पनि टिममा २ वा तीन जना अलराउन्डर राखिएको हुन्छ । तर, नेपाली पुरुष टिममा जस्तै महिला टीममा पनि अलराउन्डरहरुको थुप्रो लगाइएको छ । यसले नेपालको ब्याटिङ लाइनअप लामो त बनेको छ, तर बलिङको सन्तुलन खल्बलिएको छ । बलिङमा कसलाई उतार्ने भन्नेमै कप्तान अल्मलिएकी छन् ।
नेपालले भारतसँग समूह चरणको अन्तिम खेल खेल्दैछ । भारत यो प्रतियोगिताकै सबैभन्दा बलियो टीम हो । नेपालको स्क्वाडमा रहेका तीन खेलाडीले दुई खेलमा मौका पाएका छैनन् ।