जटिल रोगलाई जितेर राजनीतिमा जोडिएका चेतनारायण – Nepal Press

जटिल रोगलाई जितेर राजनीतिमा जोडिएका चेतनारायण

पार्टी नेतृत्वलाई रिझाएर बने लुम्बिनीको छैठौं मुख्यमन्त्री

रुपन्देही । एक दशकअघि क्यान्सर, मिर्गौलाजस्ता गम्भीर रोग लागेर जीवनप्रति निराशामा गएका अर्घाखाँचीको अर्घाका चेतनारायण आचार्य पुनः फर्केर राजनीतिमा आउने धेरैलाई विश्वास थिएन ।

नेपाल भारतका नाम चलेका अस्पतालमा लाखौं खर्चेर ठीक नभएका उनी प्राकृतिक उपचारपछि निको भएर पुनः राजनीतिमा क्रियाशील भएका हुन् । उनै आचार्य नेकपा एमालेका नेतैनेता भएको प्रदेशमा आफूभन्दा सिनियर नेतालाई पछि पार्दै लुम्बिनीको मुख्यमन्त्री बनेर सबैलाई आश्चर्यमा पारेका छन् ।

आचार्यले सोमबार एमालेका २९ र कांग्रेसका २७ सांसद गरी ५६ सांसदहरूको हस्ताक्षरसहित मुख्यमन्त्री दाबी पेश गरे र प्रदेश प्रमुख अमिक शेरचनले धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई मुख्यमन्त्री नियुक्त गरे ।

सोमबार बिहानसम्म धेरैलाई उनी मुख्यमन्त्री बन्ने विषयमा अड्कल नै काट्न सकेका थिएनन् । तर पार्टी नेतृत्वसँग सकारात्मक आश्वासन पाएका उनी ढुक्कसँग बोलेका थिए पार्टी केन्द्रको निर्णय नआउन्जेल अहिले केही नबोलौं । लुम्बिनीमा एमाले संसदीय दलका नेता रहेका लिला गिरी पनि उसैगरी ढुक्क थिए ।

पार्टीमा पनि उनीभन्दा सिनियर पोलिटब्यूरो सदस्य र दलमा पनि नेता भएकाले चेतनारायणलाई आफ्नो पक्षमा पार्न सहज थिएन । तर राजनीतिमा चतुर खेलाडी मानिएका आचार्यले शीर्ष नेताहरुलाई रिझाएरै आफ्नो पक्ष निर्णय गराए ।

अर्घाखाँचीमा टोपबहादुर रायमाझीका कारण संघीय सांसदमा ०६४ देखि ब्रेक लागेका उनी उनै टोपबहादुरसँगको सहकार्यमा ०७४ मा प्रदेश सभामा निर्वाचित भएका हुन् । अहिले रायमाझी शक्तिमा नभएको बेला आचार्य भने शक्तिशाली मुख्यमन्त्री बनेका छन् ।

कानूनमा स्नातक तह उत्तीर्ण आचार्य यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा आन्तरिक मामिला तथा कानून मन्त्री, एमाले–माओवादी गठबन्धनमा एमाले दल नेता लिला गिरी नेतृत्वको सरकारमा खानेपानी तथा सहरी विकास मन्त्री र माओवादीका जोखबहादुर महरा नेतृत्व सरकारमा आर्थिक मामिला तथा कानून मन्त्री थिए । अर्घाखाँची निर्वाचन क्षेत्र १ ९क० बाट निर्वाचित सांसद् हुन् ।

अर्घाखाँची निर्वाचन क्षेत्र नं। १ क बाट प्रदेश सभा सदस्यमा दोस्रो कार्यकालका लागी निर्वाचित नवनियुक्त मुख्यमन्त्री आचार्यले बुधवार पद तथा गोपनियताको शपथग्रहण गर्ने कार्यतालिका छ ।

मुख्यमन्त्रीसहित एमाले र कांग्रेका मन्त्रीहरुले पनि शपथ ग्रहण गर्ने योजना बनेको छ । एमालेबाट मुख्यमन्त्रीसहित चार र कांग्रेसबाट पाँच जना गरी ९ जना मन्त्रीले शपथ ग्रहण गर्ने तयारी रहेको एमालले जनाएको छ । बाँकी तीन जना मन्त्री साना दलको छलफलपछि नियुक्त गर्ने तयारी छ ।

को हुन् चेतनारायण ?

बुवा टिकाराम आचार्य र आमा तारादेवी आचार्यको माइलो छोराको रुपमा वि।सं। २०२५ साल जेठ २१ गते अर्घाखाँची जिल्लाको सन्धिखर्क–९ अँधेरीमा जन्मिएका चेतनारायण आचार्यले कानुन विषयमा स्नातक गरेका छन् ।

२०३५ सालमा सिद्धार्थ माध्यमिक विद्यालय हंसपुर अध्ययन गर्दैगर्दा विद्यार्थी राजनीतिमा लागेका उनी अनेरास्ववियूको प्रारम्भिक कमिटीको अध्यक्ष बनेका थिए । उनलाई एमाले नेता विष्णु पन्थीले पहिलोपटक संगठित बनाएका थिए ।

०३९ सालमा जिल्ला सदस्य हुँदै ०४३ देखि ०४५ सालमा बुटवल बहुमुखी क्याम्पसमा अनेरास्ववियुको अध्यक्ष र रुपन्देही जिल्ला सदस्यको जिम्मेवारी सम्हालेका थिए । २०४६ सालमा अर्घाखाँची फर्केर पार्टीको इलाका कमिटी सदस्य, २०४७ सालमा जिल्ला कमिटी सदस्य तथा सचिवालय सदस्य बनेका थिए ।

२०५४ सालमा पार्टी जिल्ला सचिव ९ जिल्ला पार्टी प्रमुख० भएर ११ वर्ष काम गरेका उनले २०६५ सालमा अञ्चल कमिटी सदस्य हुँदै पुनः २०६९ सालमा पार्टीको जिल्ला अध्यक्ष भएर ९ वर्ष काम गरेका थिए । २०७७ सालमा पार्टीको केन्द्रीय सदस्य बनेका उनी अहिले दाङ जिल्ला इञ्चार्ज रहेका छन् ।

यसअघि शंकर पोखरेल नेतृत्वको प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री, त्यसपछि एमाले नेता लिला गिरी नेतृत्वमा बनेको सरकारमा ग्रामीण खानेपानी तथा सहरी विकास मन्त्री र माओवादी नेता जोखबहादुर महराको नेतृत्वमा बनेको सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री बनेका आचार्य अहिले मुख्यमन्त्री बनेका हुन् ।

क्यान्सर, मिर्गौला रोग लागेर जीवनप्रति निराशामा गएका उनी प्राकृतिक उपचारपछि निको भएर पुनः राजनीतिमा क्रियाशील भएका हुन् । उनका पिता टिकाराम आचार्य अर्घाखाँची जिल्लाको कम्युनिष्ट पार्टीको संस्थापक नै भएकोले बुवा एवं परिवारको प्रभावबाट राजनीतिमा आवद्ध भएको स्मरण गर्दछन् ।

२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा अर्घाखाँची क्षेत्र नं। १ वाट तत्कालीन नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीसँग पराजित भएका थिए । २०७४ सालका भएको प्रदेश सभा निर्वाचनमा अर्घाखाँची प्रदेश क्षेत्र नं। १ बाट निर्वाचित आचार्य २०७९ सालको प्रदेश सभा निर्वाचनमा गठवन्धनका विरुद्ध सोही क्षेत्रबाट जितेर एमाले संसदीय दलको उपनेता बनेका थिए । कानुन विषयमा स्नातक गरेका आचार्य पार्टीमा पूर्णकालिन भई काम गरिरहेका छन् ।

उनका १ दाजु, २ भाइहरु, २ दिदीहरु र १ बहिनी रहनुभएको छ । आचार्यको जीवनसंगिनी दिपा आचार्य अनेमसंघ अर्घाखाँची जिल्ला कमिटी अध्यक्ष र पार्टी जिल्ला कमिटी सदस्यको रुपमा क्रियाशील छन् भने साइला भाई खुबिराम आचार्य पार्टी जिल्ला कमिटी सदस्य छन् । उनको १ छोरा डा.सुवास र १ छोरी डा.सुप्रभा रहेका छन् ।

आचार्य पञ्चायत र तत्कालीन राजा ज्ञानेन्द्र शाहको शासनविरुद्ध लाग्दा पटक–पटक पक्राउ परेका थिए । पार्टीमा कुशल संगठन र विकासप्रेमी नेताको रूपमा आचार्यको छवि रहेको र कार्यकर्ताले रुचाएको नेता भएको एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर